ब्लग

नातिको मोडेल बन्दा पञ्चायतको सम्झना

नातिको मोडेल बन्दा पञ्चायतको सम्झना

समाज आधा शताब्दी पहिलेभन्दा अगाडि बढेको छ कि छैन भनेर किटेर भन्न गाह्रै रहेछ । कैलालीको घोडाघोडी नगरपालिकाकी एक जना युवतीलाई बोक्सीको बात लगाएर मरणासन्न हुनेगरी नारी दिवसकै दिनमा एक जना ढोंगीले कुटपिट गरेछ । त्यहाँका नगरपालिका प्रमुख र प्रहरी कार्यालयका इन्चार्जसमेतले पक्राउ गरिएको ढोंगीलाई रिहा गरिदिएछन् । आधा शताब्दी पहिले पनि यसभन्दा खासै फरक के पो हुँदो हो र ? त्यतिबेला पनि प्रहरी र जनप्रतिनिधि असल परेका भए कारबाही हुन्थ्यो । अहिलेका जस्तै भए यस्तै हुन्थ्यो । 

टर्कीका राष्ट्रपति रिजेप एरदोआन झन् झन् सर्वसत्तावादी हुँदैगएका छन् । उनका देशका नागरिकहरू विदेशमा शरण लिन बाध्य भएका छन् । कतिपय मुलुकमाथि टर्कीको दबाब परेको छ रे ! त्यस्ता मुलुकबाट निकालिएका टर्कीका नागरिकमध्ये अधिकांशको राहदानी खोसेर राखिएको छ रे ! शीतयुद्ध सकिएपछि यस्ता विषयमा कसैले खासै चासो राखेको देखिँदैन । मानवअधिकार रक्षक केही संस्था छन् र समाचारसम्म बन्ने गरेका हुन्छन् अर्को मुलुकका यस्ता घटना । त्यसैले सर्वसत्तावादीहरूले मानवअधिकारकर्मी र पत्रकारलाई तह लगाउने अनेकौं जुक्ति गर्छन् । केही लागेन भने ‘आतंककारी’ भन्यो थुनिदियो । उस्तै परे मारिदियो । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको टर्की शाखाका संस्थापक र वर्तमान अध्यक्ष तानेर किलिच पनि सर्वसत्तावादी शासन यस्तै फन्दामा परेका रहेछन् । अदालतले उनलाई रिहा गर्ने आदेश दिएलगत्तै उनलाई फेरि पक्रेर थुनिएको रहेछ । टर्की गएको र टर्कीस भाषा सिकेको भएर होला मेरो नाति अभिज्ञको टर्कीका बारेमा गहिरो रुचि छ । उसका पुराना शिक्षकहरूसँग सम्पर्क पनि हुँदोरहेछ । अहिले तिनीहरूमध्ये धेरै त पश्चिमी मुलुकहरूमा शरणार्थी छन् क्यार । तीमध्ये कसैले अभिज्ञलाई तानेरको रिहाइका लागि नेपालबाट अपिल गर्न भनेछन् । उसले मलाई तानेरको रिहाइमा अपिल गर्ने मोडल बन्न आग्रह गर्‍यो । अनि कसैको मुक्तिको आग्रह गर्दा तस्बिर खिच्नका लागि सबैभन्दा उत्तम स्थान स्वयंभू हुन्छ जस्तो लागेर शनिबार बिहान त्यतै लागियो ।

स्वयंभू आजभन्दा ५१ वर्ष पहिले काठमाडौं आउँदा मैले सबैभन्दा पहिले देखेको स्मारक पनि हो । म बीजेश्वरीमा बस्थेँ त्यतिबेला । यसैले किशोरावस्थाका धेरै सम्झना छन् । स्वयम्भू रोज्नुको कारण सायद मेरो लगाव पनि थियो होला तर नेपाल चिनाउने सबैभन्दा टड्कारो प्रतीक पनि त हो । जेहोस्, फेदीमै नातीले तस्बिर खिच्ने सुरसार गर्‍यो । मलाई ‘तानेर किलिचलाई रिहा गर‘ लेखिएको एक पाना कागज हातले समातेर छातीमा टाँस्न भन्यो । मैले त्यसै गरेँ । उसले तस्बिर खिच्यो । नजिकै उभिएका प्रहरीहरूले हेरिरहेका थिए । हेर्दा त्यहाँका कमान्डरजस्ता लाग्ने साधा पोसाकमा रहेका एक जनाले नजिकै आएर सोधे – के गर्नुभएको ? मैले सहजरूपमा भने टर्कीका एक जना अस्थाका बन्दीलाई मुक्त गर्न आग्रह गरेको तस्बिर खिचेको । त्यसो गर्न पाइँदैन त भनेनन् तर त्यसपछि तिनले मैलै गर्नै नहुने काम गरेजस्तै थप सोधपुछ गर्न थाले । मैले उनलाई एमनेस्टी इन्टरनेसनलका बारेमा थाहा छ कि भनेर सोधेँ । छैन पनि भनेनन् भएजस्तो पनि गरेनन् । उनले स्पष्ट भनेनन् तर त्यसरी तस्बिर खिच्न स्वीकृति लिनुपर्ने भन्न भने खोजे । मैले यो गैरकानुनी काम हैन र कसैलाई क्षति पुग्ने काम पनि हैन भने । उनले मेरो नाम सोधे । नाम बताएपछि ‘मैले तपाईँका लेख पढेको छु । अहिलेलाई यत्ति गरौँ ‘ भने । हामी उकालो लाग्यौँ ।

पञ्चायत कालमा एमनेस्टीको कारणले प्रहरी निगरानीमा परेको सम्झना भयो । म राष्ट्रिय विकास सेवाअन्तर्गत गोरखाको छोप्राकमा कार्यरत थिएँ । एमनेस्टी इन्टरनेसनलको बुलेटिन २०३० देखि नै नियमितरूपमा मलाई आउँथ्यो । आँबुखैरेनीको हुलाकमा आएपछि हुलाक हाकिमको काम पनि गर्ने ज्ञानु थकालीले राखिदिन्थे । अनि मेरै हातमा दिन्थे । काठमाडौं बस्दा मैले ठेगाना बदलिन । कुन्नि के लाग्यो अहिले बिर्सेँ राविसेमा जाँदा मैले ठेगाना परिवर्तन गरेको थिएँ गोरखा भएर छोप्राक आउने गरी । त्यसपछि एमनेस्टीको बुलेटिन आउने क्रम गडबडिन थाल्यो । आएकै बुलेटिन पनि च्यातिएर झुत्रो हुन्थ्यो । बरु, प्रहरीको निगरानी बढेको संकेत प्रधानअध्यापकले दिए । साथीहरूलाई भन्ने कुरा पनि भएन । मन र विचार मिल्ने गौतम न्यौपाने त्यहीँ पढाउँथे । उनलाई भने । उनले आफ्ना चिठीहरू पनि च्यातिएर आउने गरेको बताएपछि बल्ल कुरो बुझेँ । गोरखाका २०२८ सालमा उनको नाममा पत्रिका आएको भन्दै पक्राउ गरेपछि प्रहरी निरीक्षकले यातना दिएर होमनाथ ढकालको हत्या गरेको घटना गौतमजीले सम्झाए । त्यसपछि मैले एमनेस्टीलाई ठेगाना आँबुखैरेनी नै बनाउन पत्र लेखेँ । जनमत संग्रहको घोषणापछि हाम्रो टोली राविसेबाट आधा वर्षमै फर्काइयो । राजनीतिक वातावरण पनि खुकुलो भयो । पछि एमनेस्टी इन्टरनेसनलको बुलेटिन पनि आउन छाड्यो ।

पञ्चायतमा राजनीतिक गर्दाको अर्को रमाइलो अनुभव छ । म २०३९ सालमा तनहुँ जिल्ला पञ्चायतमा निर्वाचित भएको थिएँ । नेपाली कांग्रेस प्रतिबन्धित भए पनि खुला संगठन जस्तै थियो । कम्युनिस्टहरूले पनि खुलारूपमै पञ्चायतमा भाग लिन थालेका थिए । जिल्ला पञ्चायतका पदाधिकारीका हैसियतमा हामी गाउँमा जान्थ्यौँ । त्यति बेला अहिलेजस्तो सबै गाउँमा मोटर पनि पुगेको थिएन । एकपटक रिसिङ रानीपोखरीको गाउँसभामा जाँदा प्रहरीका सुराकी दमौलीबाटै पछि लागे । हामीले चिनेर पनि नचिनेजस्तै गर्‍यौँ । कार्यक्रम सकिएपछि बेलुका बास बस्ने बेला भयो । खानपिन गर्ने सुविधा त सीमित थियो । प्रहरी हामीलाई छाड्न पनि नसक्ने र हाम्रो नजिक पर्न पनि नसक्ने । उनको अप्ठेरो बुझेका एकजना साथीले हामी सँगै बस्न र खान खोलाए । हिचकिचाउँदै ती प्रहरी आए । साँझमा केही रमझम त हुने नै भयो । अलिकति लागेपछि प्रहरीलाई बोलाउने साथीले भने – तिमीले हामीले बोलुन्जेल के के लेखिरहेका थियौ । देखाउ त के के लेखेका छौ ? बिचरा प्रहरी अप्ठेरोमा परे । आलटाल गर्दै थिए साथीले उनको खल्तीबाट नोट बुक झिकेर पढ्न थाले । प्रहरीले त सात सालको कुरा गरेको, सत्र सालको कुरा गरेको प्रजातन्त्र र पञ्चायतको कुरा गरेको, स्कुलको कुरा गरेको भनेर टिपेका रहेछन् । के कुरा गरेको भन्ने लेखेकै रहेनछन् । किन नलेखेको त भन्दा बुझेको कुरा भए पो लेख्नु भने । हामी सबै हास्यौँ र नोटबुक फिर्ता दिए साथीले । 

आज पनि प्रहरीहरू तस्बिर खिच्दा सोधखोज गर्दैरहेछन् । धन्न मुख भने छाडेनन् तर अलिअलि धम्क्याएजस्तो गरेका थिए । त्यहाँ त्यसरी तस्बिर खिच्न कुनै कानुनले निषेध गरेको भए सूचना टाँस्नुपर्थ्यो । नेपालको कुनै कानुनले मानवअधिकार हननमा बोल्न निषेध गरेको पनि छैन । प्रहरीले कानुन पालना गराउने हो आफैँले कानुन बनाउने हैन । तर, पञ्चायत कालमा जस्तै अहिले पनि तिनलाई यति सामान्य सत्य पनि बुझाउन सकिएको छैन रहेछ । कैलालीमा बोक्सीको बात लगाएर मरणासन्न हुनेगरी कुट्ने पाखण्डीलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाउँछ । काठमाडौंमा तस्बिर खिच्दा केरकार गर्छ । एक्काइसौँ शताब्दीमा पनि प्रहरी यस्तै रहने हो ?
 

तपाईंको मत