तेह्रथुम । एक नंम्बर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् ।
राष्ट्रिय फूल लालीगुराँससहित एकै ठाउँमा यति धेरै प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले चर्चित छ । यही क्षेत्र भएर कञ्चनजंघा आधार शिविरतर्फ अघि बढेको पदमार्ग अहिले सडक निर्माणका कारण मासिएपछि अहिले पर्यटकको आवागमन पातलिएको हो । प्राकृतिक स्रोत साधनले भरिपूर्ण टिएमजे क्षेत्रको राम्रो व्यवस्थापन एवं पर्यटकीय वातावरण विकास गर्न नसक्दा ओझेलमा परेको हो ।
पैदल हिँड्ने बाटोसँगै सडकको ट्र्याक खुल्ला भएपछि सडकमा उड्ने धुलोले पैदल हिँडिसक्नु छैन । सडकमा सुविधायुक्त र साना सवारी साधन गुड्दैनन् । यहाँको प्रकृति र सुन्दरतासँग रमाउँदै पैदल हिँडेर टिएमजे छिचोल्दै ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन, तमोरमा र्याफ्टिङ, कञ्चनजंघा, मकालुलगायत हिमशृखंलाको अवलोकन आदि उद्देश्यले आउने पर्यटकको संख्या ह्वात्तै घटेको छ ।
सडकले ती क्षेत्रका बासिन्दालाई उपभोग्य सामान ढुवानीदेखि आवातजावातका लागि सहज बनाए पनि पैदल हिँड्दै प्रकृतिसँग रमाएर मनोरञ्जन लिन चाहने पर्यटकले प्रयोग गर्दै आएको पदमार्ग भने मासिएको छ । ‘‘सडक बनेपछि सवारी साधन त गुडे तर मान्छे नै आउन छाडे,’’ चौकीबजारका उदय तामाङले भने, “सडकले सुविधा भए पनि यो क्षेत्रको सुन्दरता क्रमशः कुरुप बन्दै गएको छ”।
‘‘सडक छ, गाडी त गुड्छन्, तर हामीलाई यसले फाइदा दिएनँ,’’ गुफाबजारका हरि खनालले भन्नुभयो । तेह्रथुमको वसन्तपुरदेखि टुटे, घुर्मिसे, तीनजुरे, संखुवासभाका चौकी, मंगलबारे, गुफा हुँदै ताप्लेजुङको साँघुसम्म अहिले दैनिक बस, ट्याक्सीलगायत सवारीका साधन पुगिरहेका छन् ।
सडकले आवातजावतका लागि सहज भए पनि यो क्षेत्रको पर्यटकीय सुन्दरता मासिँदै गएको खनालले बताउनुभयो । सडक बनेपछि आन्तरिक पर्यटकको संख्या भने बढेको छ । कोशी राजमार्गको धरान–धनकुटा हुँदै वसन्तपुरबाट एकै दिनमा तीनजुरेसम्म पुगेर फिर्नेको संख्या बढेको छ । वसन्तपुरसम्म कालोपत्रे सडक भए पनि यहाँ भन्दामाथि कच्ची सडक भएर यात्रा गर्नुपर्छ तर पर्याप्त सवारी साधन छैनन् ।
साना सवारी साधन गुड्दैनन् । चाहिएका बेला घुम्न आउने पर्यटकले भाडाका सवारी साधन पाउँदैनन् । पैदल हिँडेर माथिसम्म पुग्न धुलाम्मे सडकमा हिँडिसक्नु छैन । सडकले यहाँको प्राकृतिक सुन्दरतामा प्रत्यक्ष असर पुर्याएको वसन्तपुरका पर्यटन ब्यवसायी छिरिङ लामाले बताए । ‘‘पहिले वर्सेनि हजारौँको संख्यामा विदेशी पर्यटक आउथेँ, पैदलै यी क्षेत्र घुमेर कञ्चनजंघासम्म पुग्थे तर यहाँका सडकमा गाडी कुद्न थालेपछि विदेशी पर्यटक देखा परेका छैनन्,’’ उनले भने ।
विदेशी पर्यटकहरु आउँदा वसन्तपुरबाट गुफासम्म पुग्नै तीन दिन लगाउँथे । यहाँका हरेक पाँच किलोमिटरको दुरीमा रहेका लेकाली बजारमा होटल, ब्यवसाय र स्थानीय उत्पादनको व्यापार गर्नेको ब्यवसाय फष्टाएको थियो तर अहिले सडक बनेपछि त्यहाँ ब्यवसाय गर्ने पलायन हुन थालेका छ,’ उनले भने । जथाभावी सडक निर्माणका कारण पदमार्ग प्रभावित भएको उनको भनाइ छ ।
पदमार्ग भएर आउने पर्यटक प्रभावित भएपछि यहाँका गन्तव्यस्थल छायाँमा परेको पर्यटन व्यवसायी लामाले बताए । यो क्षेत्र नेपाल पर्यटन बोर्डले सूचीकृत गरेको पूर्वी नेपालका पाँच उत्कृष्ठ पर्यटकीय गन्तव्यस्थल मध्येको एक हो ।
सरकारले गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न लामो समयदेखि अध्ययन गरिरहेको भए पनि यहाँको पदमार्ग जोगाउनेतर्फ कसैको ध्यान गएको छैन । सडक निर्माणले यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन ब्यवसाय नै प्रभावित भएकोे पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताए ।
अहिले वसन्तपुरदेखि ताप्लेजुङको दोभान जोडिने सडक मदन भण्डारी लोकमार्गको रुपमा निर्माणाधीन छ ।निर्माणाधीन सडकमा सवारी साधन गुडाउदा आसपासको पर्या–पर्यटनमा प्रत्यक्ष असर पुगेको र कुरुपबन्दै गएको उहाँले बताउनुभयो । यहाँको पदमार्ग मासिएपछि बाह्य देशबाट आउने पर्यटकले अन्यत्रैबाट आउनेजाने गर्न थालेका छन् ।
यस क्षेत्रमा मात्रै २८ प्रजाति पाइनाले पनि यो क्षेत्र विश्वभर चर्चित छ । हरेक वसन्त ऋतुसँगै गुराँस फुलेर राताम्मे बन्ने यहाँका डाँडाकाँडा, वनपाखा र लेकाली जनजीवन, गुराँस फुल्दा मात्रै हैन, प्राकृतिक, जैविक र सांस्कृतिक रुपमा पनि उत्तिकै महत्वपूर्ण छन् । यो क्षेत्र बाह्रैमहिना पर्यटक आउने क्षेत्र हो ।
तर प्रशस्तै सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमनको संख्या अत्यन्तै न्यून बन्दै गएको छ । बाहै्रमहिना अध्ययन, अवलोकन र पैदलयात्राका लागि उपयुक्त मानिने यो क्षेत्रको अधिकांश भू–भाग एउटै उचाइमा छ ।
करिब दुई हजारदेखि तीन हजार ३०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्रका अनेकन विशेषता छन्् ।
चैत, वैशाखमा यो क्षेत्रमा विभिन्न प्रजातिका रंगीचंगी गुराँस फूलेर ढकमक्क भएको हुन्छ । अन्य समयमा यहाँका डाँडाकाँडा, पाखापखेरा, सुन्दर प्राकृतिक पोखरी, लोपोन्मुख वन्यजन्तु, चराचुरुंगी र वनस्पति, आकर्षक मकालु र कञ्चनजंघा सहितका हिमशृंखलाको दृश्यावलोकन गरेर आनन्दलिन सकिन्छ । यहाँका लेकाली–हिमाली जनजीवनसँगै चौंरीपालन र भेँडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ ।
यो क्षेत्रमा पदमचाल, कुड्की, बिखुमा, सतुवा, ठूलो ओखत, विष, वन लसुन, यार्सागुम्बा जस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पनि पाइन्छन् । एक सय २० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ, जातिको परम्परा, संस्कृति, वेषभूषा, रहनसहन यहाँका सांस्कृतिक आकर्षण हुन् ।
हरेकवर्ष साउनदेखि जेठसम्म पर्यटकको भीड लाग्छ । यहाँको पदमार्ग भएर पर्यटक ‘भदांैदेखि पुससम्म ओहोरदोहोर गर्छन् तर अहिले सडकले पदमार्ग प्रदूषित भएपछि पदमार्ग मासिएको गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् ।
सरकारीस्तरको लगानीबाट पर्यटकका लागि सूचना केन्द्र स्थापना गर्ने भनेर भवन निर्माण गरे पनि त्यो वर्षांदेखि प्रयोगविहीन छ । पर्यटन सूचना केन्द्र सञ्चालनमा छैन । यहाँ आउने अधिकांश मानिस यहाँको खास महत्वनै बुझ्नै नपाई फिर्ता हुन बाध्य छन् ।
–प्रकाश धौलाकोटी (रासस)