काठमाडौं । नेपालले इतिहास रच्दै पहिलो पटक एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई र नेदरल्याण्डले हङकङलाई पराजित गरेसँगै नेपालले एक दिवसीय मान्यता पाएको हो ।
नेपालले प्लेअफको खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेपनि एक दिवसीय मान्यताको लागि हङकङ र नेदरल्याण्डबीचको खेल कुर्नुपरेको थियो । नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेसँगै नेपालको एक खेलअघि नै भाग्य खुलेको हो ।
हङकङले जित हात पारेको भए सातौं स्थानको लागि प्रतिस्पर्धा हुने नेपाल र हङकङबीचको विजेताले एक दिवसीय मान्यता पाउने थियो । तर नेदरल्याण्डले यसअघि नै आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो बन्दै एक दिवसीय मान्यता पाइसकेकाले नेपालको भाग्य खुलेको हो ।
विश्वकप छनोटको सातौं स्थानको लागि नेपालले अब शनिबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबको मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पारेको हो । पपुवा न्युगिनीले दिएको ११५ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए । त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रनभन्दा बढी बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
नेपालले अहिलेसम्मकै उच्च सफलता पाएको हो । नेपालले एक दिवसीय मान्यता पाएसँगै ट्वान्टी–ट्वान्टी क्रिकेटको मान्यता पनि पाएको छ । नेपाल एक दिवसीय मान्यता पाएसँगै रेलिगेशनबाट पनि जोगिएको छ ।