site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी हुन् आज हुने संभावित मन्त्रीहरू
Ghorahi CementGhorahi Cement

गोरखापत्रमा लक्की चौधरीले संप्रेषण गरेको आज मन्त्रिपरिषद्को विस्तार हुने समाचार छापिएको छ । समाचारअनुसार शुक्रवार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले)का प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटा, प्रेम आले मगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल पर्ने संभावना  छ । सोही समाचारमा माओवादी केन्द्रबाट पनि जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, बीना थापा मगर, गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने विषयमा छलफल भएको लेखिएको छ । संघीय समाजवादी फोरम पनि मन्त्रिपरिषद्मा समावेश हुने तयारीमा रहेको भए पनि सो दलबाट अझै नाम भने सिफारिस गरिएको छैन । फोरम पार्टी अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको र यस दलबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष रेणु यादव पनि सरकारमा जाने चर्चा छ ।

यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल र डा. युवराज खतिवडा मन्त्री बनिसकेका छन् । त्यस्तै माओवादीबाट रामबहादुर थापा ‘बादल’ तथा मातृका यादवले मन्त्री पदमा आशन जमाइसकेका छन् ।

हिमालय टाइम्सका अनुसार दुई तिहाइ समर्थन दिएर सरकारलाई बलियो बनाउने सबै दललाई समावेश गर्दै प्रधानमन्त्री केपी ओलीले आज सरकार विस्तार गर्ने संभावना छ । सत्ता साझेदारीका लागि राजपा नेपाल र संघीय समाजवादी फोरमसँग ठोस सहमति नजुटेकै अवस्थामा सरकार विस्तारको तयारी भएको सो दैनिकले जनाएको छ । प्रतिनिधि सभामा राजपा नेपालका १७ र संघीय समाजवादी फोरमका १६ सांसद छन् । राजपा नेपालले उपराष्ट्रपतिसहित तीन मन्त्रालय माग गरेको छ ।

Agni Group

फोरमले पनि तीन मन्त्री मागेको र त्यसमा कुरा मिल्न बाँकी रहेको समाचार पहिलै आइसकेको छ । तर, प्रधानमन्त्री ओली भने राजपाका लागि वाम गठबन्धनको राष्ट्रपति तथा उपराष्ट्रपतिको सम्झौता तोड्ने पक्षमा देखिएका छैनन् । उता राजपाका नेता महेन्द्र रायले पनि आफूहरू मधेस आन्दोलनमा एमालेविरुद्ध लडेको हुनाले उसको नेतृत्वमा सरकारमा जान केही आधार चाहिने स्पष्ट पारेका छन् ।

क्रिकेटमा रचियो इतिहास

Global Ime bank

नेपालले पहिलोपल्ट एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ । जिम्बावेको हरारेमा खेलिरहेको नेपाली टोली हिजोसम्म निकै चुनौतीपूर्ण अवस्थामा पुगिसकेको थियो । आफूलाई पहिले तीनपल्ट जितीसकेको पपुवा न्युगिनीलाई हिजो हराउनै पर्ने अवस्था थियो । पपुवा न्युगिनीसँग हारेको भए नेपाल रेलिगेसनमा परेर डिभिजन २ मा झर्नुपथ्र्यो ।

तर, जितेरमात्र पनि हिजै नेपाल एक दिवसीय टोलीको मान्यता पाउने अवस्था थिएन । यसका लागि हङकङ र नेदरल्यान्डस्बीचको खेलले पनि फरक पार्ने वाला थियो । हिजो ती दुई देशको खेलमा हङकङ विजयी भएको भए नेपालका सामु हङकङ एउटा चुनौती हुने थियो । तर, हिजो नेदरल्यान्डस विजयी भएकोले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एक दिवसीय टोलीका रूपमा मान्यता पाएको हो ।

यो समाचारलार्इृ कान्तिपुर तथा राजधानीले सबैभन्दा ठूलो स्थान दिएका छन् । ‘वान–डे अन्तर्राष्ट्रिय मान्यता’ शीर्षकलाई सात कोलमको ब्यानर समाचार बनाएर कान्तिपुरले आजका अन्य सबै दैनिकभन्दा बढी स्थान दिएको छ । राजधानीले ‘नेपाललाई एक दिवसीय मान्यता’ शीर्षकमा समाचार दिएको छ । फोटोलाई मात्र ६ कोलममा प्रकाशित गरेर अन्नपूर्ण पोस्टले पनि यसलाई ‘ऐतिहासिक छलाङ’ भनेको छ ।

सबै पत्रिकाले आईसीसीबाट फोटो प्राप्त गरेको भए पनि कसैले फोटोको स्रोत खुलाएका छन् भने कसैले खुलाएका छैनन् । अन्नपूर्ण पोस्टले फोटोको सबैभन्दा राम्रो प्रयोग गरेको छ । आईसीसीको वेबसाइटको पहिलो पृष्ठमा प्रयोग भएको सन्दीप लामिछाने तथा रोहित पौडेल उफ्रिएर खुसी मनाएको तस्बिरलाई पोस्टले प्रयोग गरेको छ । तस्बिरको स्रोत खुलाएको भए प्रस्तुतीकरण अझ सशक्त हुनेथियो । राजधानीले पनि पोस्टले प्रयोग गरेकै तस्बिर प्रयोग गरेको छ तर अलि सानो आकारमा र उसले पनि स्रोत खुलाएको छैन । सोही खुसी मनाएको अवसरको अर्को एंगलको तस्बिर कान्तिपुरले र हिमालय टाइम्सले प्रयोग गरेका छन् । टाइम्सले पनि फोटोको स्रोत खुलाएको छैन ।

क्रिकेटको समाचारलाई नागरिक, नयाँ पत्रिका तथा हिमालय टाइम्सले चार चार कोलममा प्रकाशित गरेका छन् । नागरिकले पपुवा न्युगिनीविरुद्धको म्याचका प्लेयर अफ द म्याच दिपेन्द्र सिंह ऐरीको तस्बिर प्रकाशित गरेको छ । ऐरीले सो म्याचमा अर्ध शतक हानेका थिए भने चार विकेट पनि झारेका थिए । गोरखापत्रले यो समाचार एन्कर बनाएको छ । गोरखापत्रले पनि अन्नपूर्ण पोस्टले प्रयोग गरेकै फोटो सानो बनाएर प्रयोग गरेको छ र स्रोत पनि खुलाएको छैन । नयाँ पत्रिकाले लामिछाने र पौडेलले हात जोडेको राम्रो तस्बिर प्रकाशित गरेको छ ।

 

विचार र दृष्टिकोण

परिवर्तनको सार्थक सन्देश : गोरखापत्रका सम्पादक निर्मलकुमार आचार्य आफ्नै पत्रिकामा लेख्दै भन्छन् — जनाधार प्राप्त नेताले राम्रो काम गर्नका लागि कुनै साइत कुर्नु जरुरी छैन । साथै उनी भन्छन् — मुलुकमा भ्रष्टाचार रहुन्जेल, भ्रष्टाचारीले टाउको उठाएर हिँडुन्जेल, दण्डहीनता नमेटिउन्जेल र विधिको शासन कायम नहोउन्जेल विगतभन्दा भिन्न शासन प्रणालीको कल्पनासमेत गर्न सकिँदैन ।

‘स्मार्ट सिटी’ कसरी बनाउने : कान्तिपुरमा सहरी विकास मन्त्रालयका पूर्व सचिव तथा विवेकशील साझा पार्टीका नेता किशोर थापाले सूचना प्रविधिको विकास र नवीकरणीय ऊर्जाको प्रयोग गर्ने छरितो सहर, योजनाबद्ध बस्ती विकास, साइकल मार्ग, पैदल मार्ग भएको छरितो पूर्वाधार भएको सहरलाई स्मार्ट सिटी भनिने तर्क गरेका छन् । त्यस्तै, सार्वजनिक सेवामा सूचना प्रविधिको अत्यधिक प्रयोग तथा नागरिक पनि सभ्य र जवाफदेही हुनुपर्ने उनको सुझाव रहेको छ ।

गणतन्त्रको गञ्जागोल : नागरिक दैनिकमा साक्षी किनारा कोलम लेख्दै लेखक सीके लाल भन्छन् बाहुनवादी गठबन्धन र नेपाली सेनाको छनोटअनुसार पनि विद्या भण्डारी पुनः राष्ट्रपति हुने पूर्वनिश्चित थियो । उनी लेख्छन् — रामप्रित पासवान एमालेले पहिले ठड्याएको प्रतीक मात्र थियो । उनको विचारमा ‘पहाडी पुरेतहरूको पार्टी’ भनिने पार्टीले एक त मधेसी त्यसमाथि दलित पासवानलाई आफूलाई प्रतीकात्मक प्रत्याशी बनाइएको थाहा थियो ।

तर, सोही कुरा अष्टलक्ष्मी शाक्यलाई थाहा भएन । उनले मुख्यमन्त्री हुने चाहना देखाइन् र उनको दलले उनको वास्तविक हैसियत देखाइदियो । सीके लालको विचारमा सामान्य जनताका लागि गणतन्त्र पनि एक गन्जागोल बाहेक केही होइन । ‘जति नै सामन्तवादीको उपमा भिडाइए पनि कम्तीमा कमैया प्रथा अन्त्य भएको घोषणा गर्ने आँट कांग्रेसले देखाएको थियो,’ भन्दै सीकेलाल लेख्छन्, ‘दाहालमार्गीहरूले न केही गर्न सके न त केही गर्न सक्ने संभावना नै देखिन्छ ।’

 

सम्पादकीय

‘पराजुली प्रकरणको पाठ’ शीर्षकमा सम्पादकीय लेख्दै कान्तिपुर भन्छ शक्तिको चरम दुरुपयोग गरेका लोकमानसिंह कार्की राजनीतिक दल र सम्बन्धित निकायको नालायकीका कारण भागेर विदेश पुगे । तर, यही स्थिति पराजुलीका सन्दर्भमा दोहोरिनु हुँदैन । गल्ती गर्नेलाई उन्मुक्ति दिँदै जाने हो भने गलत माध्यमबाट पदमा पुग्ने र शक्ति दुरुपयोग गरेर अराजकता मच्चाउने प्रवृत्ति रोकिन सक्दैन । कान्तिपुरको सम्पादकीय जिकिर गोपाल पराजुलीले गलत निर्णय गरेर देशलाई अर्बौ घाटा लगाएको हुनाले ती फैसलाको पुनरावलोकन हुनुपर्छ भन्ने देखिन्छ ।

अन्नपूर्ण पोस्टले न्यायालयमा भएको अहिलेको अव्यवस्थाको विषयमा सम्पादकीय लेख्दै यसका लागि राजनीतिक दलमात्र जिम्मेवार नभई स्वतन्त्र प्रेस, नागरिक समाज र व्यक्ति विशेषले के भूमिका खेले सो कुराको पनि मूल्यांकन हुनुपर्ने तर्क गरेको छ । विवादित प्रधान न्यायाधीशबारे संविधानसम्मत संसदीय अभ्यासबाटै समस्या निरुपण गर्नु उचित हुन्थ्यो भन्ने पोस्टको धारणा रहेको छ ।

हिमालय टाइम्सले भने अब सर्वोच्च अदालतमा आउने नयाँ नेतृत्वले न्यायालयको साख फर्काउने जिम्मेवारी पाएको जानकारी गराएको छ ।

नयाँ पत्रिकाले अदालतलाई संसद् र जनताप्रति उत्तरदायी बनाई नियुक्तिसम्बन्धी वर्तमान प्रावधान परिवर्तन गरेरमात्र यसलाई बढी जबाफदेही र कम विवादास्पद बनाउन सकिने टिप्पणी गरेको छ ।

गोरखापत्रले सातै प्रदेशको मुख्यमन्त्रीको सोच निजीक्षेत्रसँग सहकार्य गर्ने रहेको र त्यसका लागि भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति हुनुपर्ने विचार व्यक्त गरेको छ ।

राजधानीले पेट्रोलियम पदार्थको ढुवानीमा लकिङ प्रणाली लागू गर्न खोज्दा ढुवानीकर्ताबाट भएको विरोधका सन्दर्भमा सम्पादकीय लेख्दै विरोधीलाई कारबाही गर्नुपर्ने अडान राखेको छ ।

नागरिकले राष्ट्रपति विद्या भण्डारीलाई अर्को अवसर प्राप्त भएकोमा जिम्मेवार भएर कार्य गर्न सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC