site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पदभन्दा कामको मोह
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


पत्रकार बन्न समाचार लेख्नुपर्छ । कुनै पनि पत्रकारको जग उसले लेख्ने समाचार हो । पत्रकारितामा समाचारको बनोट र त्यसको प्रस्तुतिको प्राथमिक महत्व हुन्छ । समाचारै नलेखे के पत्रकार !

तर, धर्मेन्द्र झा त्यस्ता पत्रकार हुन्, जसले पहिलो पटक सम्पादकीय लेखेर पत्रकारिता शुरु गरे । मोफसलदेखि राजधानीसम्म, ट्याब्लोइडदेखि ब्रोडशिटसम्म र हार्डकोर समाचारदेखि फिचर, लेख र सम्पादकीय लेखनसम्मको अनुभवले खारिएका धर्मेन्द्रले नेपाल पत्रकार महासंघका अध्यक्षसम्म भएर इतिहास रचेका छन् । मधेसी समुदायबाट महासंघको नेतृत्व गर्ने उनी एक्ला मधेसी हुन् । यसपटक उनै धर्मेन्द्रको पत्रकारिता यात्रा उधिन्ने प्रयास गरेका छौं—

Agni Group

आन्दोलनकारी धर्मेन्द्र

पञ्चायतविरोधी आन्दोलन चर्किएको थियो । धर्मेन्द्र जसरी पनि त्यो व्यवस्था फ्याँक्ने उद्देश्यले सडकमा उत्रिएका थिए । प्रशासनले वारेन्ट जारी गरेको थियो । धर्मेन्द्र भागेर धनकुटा पुगेका थिए । पञ्चायतविरोधी आन्दोलनमा लागेको अभियोग थियो उनलाई । प्रहरीमै रहेका साथीभाइले सुराकी गरेपछि उनले टाउको लुकाउने ठाउँ खोजे । बुबा थिए, क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका सहायक निर्देशक । उनी रातारात त्यहीँ पुगे ।

Global Ime bank

धनकुटामा रहेकै बेला बीएको परीक्षाफल प्रकाशित भयो । धर्मेन्द्रलाई एमएको कक्षाले स्वागत गर्‍यो । साँझ बुबाले भने, “छोरा ! पञ्चायतविरोधी आन्दोलन टुङ्गोमा पुग्ने हो कि होइन, ठेगान छैन । अब सरकारी काम गर्नुपर्छ । म शिक्षामा हुँदा शायद मैले भनेको केही लाग्छ ।”

धर्मेन्द्रले भने, “सोच्नुपर्छ ।”

भोलिपल्ट बिहान बुबाले सोधे, “सोचिस् त ?”

“सोचें ।”

“के सोचिस् ?”

“काम नगर्ने !”

“ठीक छ, काम नगर् तर पछि दुःख पाएका बेला मलाई केही नभन्नू,” बुबाले भने । 

प्रमुख जिल्ला अधिकारीसम्म भइसकेका बुबा राजेन्द्र झा कामकै कारण तनावमा पर्ने गरेको देखेर धर्मेन्द्रले निर्णय लिएका थिए, “म यस्तो तनाव झेल्नुपर्ने काम गर्दिनँ । स्वतन्त्र भएर काम गर्छु ।”

बुबा सरकारी जागिरे भएकाले जताजता बुबाको जागिर, उतैउतै धर्मेन्द्रको पढाइ हुन्थ्यो । एसएलसी दिँदासम्म उनले पश्चिम दार्चुलादेखि पूर्व झापासम्मका ८ वटा विद्यालयमा अध्ययन गरेका थिए ।

एसएलसीपछि भने उनी धनुषामै बसेर आईए पढ्न थाले । बुबा सरकारी कार्यालयका हाकिम थिए । धर्मेन्द्र भने पञ्चायतविरोधी आन्दोलनका आन्दोलनकारी । 

‘तेरा कारणले मलाई प्रभाव पर्छ, आन्दोलनमा नलाग्’ भन्थे बुबा । धमेन्द्रलाई भने राजनीतिक आन्दोलनको प्रभाव परिसकेको थियो । “मैले मलाई लागेको कुरा गर्न पाउनुपर्छ, व्यक्तिगत स्वतन्त्रता उपभोग गर्न सबैले पाउनुपर्छ । म तपाईंको काममा बाधा पुर्‍याउँदिनँ । यसलाई हामीले जसरी पनि म्यानेज गर्न पाउनुपर्छ,” भन्थे उनी । लोकतन्त्र र स्वतन्त्रताका पक्षमा होमिइसकेका धर्मेन्द्रलाई उनका बुबाको आग्रहले रोक्न सकेन ।

पत्रकारिता यात्रा

०४३ मा जनकपुर आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएपछि उनको स्तन्त्रताको चाहनाले आकार ग्रहण गर्न थाल्यो । उनीहरुले भित्ते पत्रिका थियो ‘चहलपहल’ । उक्त साप्ताहिक पत्रिकामा सिन्धुलीका पूर्वसांसद् मोहन बराललगायतका चार जना सम्पादक समूहमा थिए । पत्रिका लोकप्रिय भयो । सबैले तारिफ गर्न थाले । ‘चहलपहल’को सफलतापछि स्ववियूले ‘जागृति’ नामक मासिक पत्रिका निकाल्न थाल्यो । मुखपत्र जस्तो उक्त पत्रिकामा पनि उनी सम्पादक समूहमा थिए ।

‘जागृति’मात्रै लोकप्रिय भएन, धर्मेन्द्र पनि लोकप्रिय भए । जनकपुर बजारमा ‘धर्मेन्द्रले लेख्न सक्छ’ भन्ने चर्चा शुरु भएको थियो । साहित्यमा पनि रुचि भएका उनी कविता पनि लेख्थे ।

जनकपुरमा त्यो बेला ‘जनआकांक्षा’ नामक साप्ताहिक पत्रिका लोकप्रिय थियो । माधव आचार्य सम्पादक थिए । जनकपुरमा कवि गोष्ठी थियो । त्यसमा माधव आचार्यलाई पत्रकारका रूपमा सम्मान गरियो । धर्मेन्द्रलाई लाग्यो— पत्रकारलाई त सम्मान पनि गर्दा रहेछन् । पत्रकार हुन पाए त सम्मानित पनि भइने रहेछ ।

कार्यक्रम सकियो । माधव आचार्यसँग धर्मेन्द्रले चिनजान गरे । “ओहो ! तिमी नै हो धर्मेन्द्र ? मैले सुनेको छु तिम्रोबारेमा । पत्रकारिता गर्ने हो ?” उनले सोधे ।

धर्मेन्द्रले भने, “मैले पत्रकारिता गरेको छैन, के सक्छु होला र ?”

“सकिहाल्छौ नि, म सिकाउँछु नि । भोलि बिहान आऊ ।”

बिहानै धर्मेन्द्र माधवलाई भेट्न ‘जनआकांक्षा’को कार्यालय पुगे । धर्मेन्द्र समाचार लेखेर घर फर्किए । 

भोलिपल्ट बिहान उनले लेखेको समाचार त सम्पादकीयका रूपमा छापिएछ ।

“पहिलोपटक व्यावसायिक पत्रिकामा त्यति ठूलो स्पेस पाएर मैले लेखेको कुरा छापिएको थियो,” धर्मेन्द्र नोस्टाल्जिक हुँदै जनकपुरतिर फर्किन्छन्, “जिन्दगीमा सबैभन्दा पहिलोपटक म धेरै खुसी भएको दिन त्यही हो जस्तो लाग्छ । सम्पादकीय पत्रिकाको महत्वपूर्ण सामग्री हो भन्ने थाहा पाएको थिएँ । त्यसरी पहिलोपटक नै सम्पादकीय छापिएकाले पनि म खुसी भएको थिएँ ।”

० ० ० 

जनकपुरमा फेरि कवि गोष्ठी भयो । धर्मेन्द्र पनि कवितासहित सहभागी भए । भोलिपल्टको ‘गोरखापत्र’मा १०–११ जनाको नाम छापियो । २४–२५ जना कविले सहभागिता जनाए पनि ‘गोराखापत्र’ले धर्मेन्द्र झासहित दुई दर्जन कविले कविता वाचन गरेका थिए भनेर लेख्यो । काठमाडौंबाट छापिएका पत्रिकाले सबैको नाम नछापेर उनको नाम छाप्दा धर्मेन्द्रलाई लाग्यो— मभन्दा अरु कनिष्ठ रहेछन् र त छापिएन उनीहरुको नाम !

यो उनको अर्को खुसी हुने दिन थियो । लेख्न सक्ने रहेछु भन्ने आफैंले जानकारी पाए र यसले उनलाई लेखन कार्यमा लाग्न हौस्यायो ।

०४६ सालमा उनी नेविसंघ क्याम्पस एकाइको अध्यक्ष भए । सरकारविरोधी आन्दोलन चर्कियो । उनी पनि आन्दोलनमा सहभागी भए । प्रहरीले वारेन्ट जारी गरेको थियो । ‘जनआकांक्षा’मा सरकारको कुदृष्टि पर्‍यो । पत्रिका बन्दजस्तै भयो ।

महेन्द्रले खोसेर लगेको प्रजातन्त्र फर्कियो । प्रजातन्त्रको पारिलो घाममा पत्रकारिता फस्टाउने मौसम थियो । माधव आचार्यले भने, “प्रजातन्त्र आयो, अब केही सहज होला । ‘जनआकांक्षा’लाई दैनिक बनाऊँ ।”

दैनिक पत्रिकामा परिणत भयो, ‘जनआकांक्षा’ । सम्पादक मण्डलमा धर्मेन्द्र पनि बसे । पत्रिका राम्रै चलिरहेको थियो ।

उनको विवाह भइसकेको थियो । त्यहीबेला घरबाट अब पैसा आउने राम्रो काम गर्नुपर्छ भन्न थालेका थिए । पत्रिका चले पनि उनले त्यहाँबाट पैसा पाउँदैनथे । पैसाको कुरा गर्दा आचार्य आफैं विज्ञापन खोज भन्थे । त्यही बेला जनकपुरका अन्य पत्रिकाले पनि उनलाई बोलाउन थालेका थिए । ठीक त्यही समय सरकारले पत्रिकाले सम्पादकीय लेख्नै पर्ने नियम ल्यायो । धर्मेन्द्र आफू काम नगरेका पत्रिकामा पनि सम्पादकीय लेखिदिन थाले । एउटा सम्पादकीय लेखेको सय रुपैयाँ पाउँथे उनी ।

एउटा सम्पादकीय लेखेको त सय रुपैयाँ पाइन्छ भने त्यही काम गर्‍यो भने त कति पैसा हुन्छ होला ? धर्मेन्द्रले निर्णय लिए– अब छोड्छु यो पत्रिका । 

त्यसपछि ‘विदेह’ दैनिकमा काम गर्न थाले । सम्पादक थिए विष्णुमणि खनाल । ०४७–४९ सम्म उनले त्यसमा काम गरे । यो पत्रिका छोड्दा उनी कार्यकारी सम्पादक भइसकेका थिए । यो पत्रिकामा काम गर्दा पनि अरु पत्रिकाका लागि सम्पादकीय लेख्न भने छोडेका थिएनन् । तर, यसको सुइँको कसैलाई पनि थिएन ।

एमए पास गरे । घरबाट अब क्याम्पस पढाउनुपर्छ, सरकारी जागिर खानुपर्छ भन्न थाले । उनलाई भने मानसिक प्रेसर खप्न सरकारी जागिर खानु हुँदैन भन्ने नै थियो । आफ्नो अडानबाट उनी हल्लिएनन् । धर्मेन्द्रले ‘मिथिला वाणी’मा पनि काम गरे ।

०५० मा पुगेपछि उनको मनमा कुरा खेल्यो– म यति दुःख गरेर अरुका लागि किन काम गरुँ ? आफैंले पत्रिका निकाले त केही पैसा पनि हुन्छ ।

बुबाले साथ दिए । धर्मेन्द्रले दर्ता गरे ‘नवविचार’ साप्ताहिक । प्रकाशक तथा सम्पादक आफैं भए । जनकपुरमा राम्रो पत्रिका निकाल्नुपर्छ भन्ने महत्त्वाकांक्षा थियो । 

पत्रिका निकाल्न थाले । हरेक सोमबार पत्रिका छापिन्थ्यो । समाचारदेखि सम्पादकीयसम्म उनी आफैं लेख्थे । अन्तर्वार्ता आफैं लिन्थे । विज्ञापन आफैं खोज्ने उनी लेटर प्रेसमा कम्पोज पनि परिआए आफैं गर्थे, प्रुफ हेर्थे र पत्रिका निस्किएपछि साइकलमा आफैं बाँड्न हिँड्थे ।

“मैले पत्रिका निकाल्नुभन्दा अगाडि जनकपुरमा स्टेसनरीसम्म पत्रिका पुग्दैनथ्यो । मैले भने ७ सय नियमित ग्राहक बनाएको थिएँ । १ हजार पत्रिका छाप्थें,” जनकपुरमा संघर्षका नागबेली दिनहरू सम्झँदै धर्मेन्द्र भन्छन्, “पत्रिका बाँडेर घर फर्किंदा मंगलबारको बिहान हुन्थ्यो । कहिलेकाहीँ त पत्रिकाको हेडलाइन पढेर कराउँदै पत्रिका बेच्दै पनि हिँड्थें ।”

अवधेश पोखरेलको प्रेस थियो । उनले पोखरेललाई कागजको पैसा दिए तर छपाइको पैसा नाफामा गएपछि दिन्छु भनेका थिए । पत्रिका पाठकले मन पराएका थिए । तर, सोचेजस्तो भएन । एक वर्षमा ३९ हजार घाटा लाग्यो ।

गर्ने के ? रहर मरेको थिएन तर आर्थिक अवस्था बाधक बनिरहेको थियो । त्यही बेला (०५२ साल)मा काठमाडौंबाट चारवटा ब्रोडशिट दैनिक निस्किने भए– ‘लोकपत्र’, ‘श्री सगरमाथा’, समाचारपत्र’ र ‘हिमालय टाइम्स’ । 

सबैमा ‘अप्लाइ’ गरे धर्मेन्द्रले । ‘हिमालय टाइम्स’ले मात्रै बोलायो । सम्पादक थिए मुरारी शर्मा । कात्तिक ४ गते उनलाई आफ्नै अफिसमा फोन आयो, आजै हिँड भने ।

समस्या ! पैसा छैन । बुबा तेह्रथुममा थिए । श्रीमती र आमासँग भएको भेला गर्दा सय रुपैयाँ जम्मा भयो । गाडी भाडामात्रै डेढ सय रुपैयाँ थियो । अवधेश पोखरेलसँग उनले आफ्नो समस्या सुनाए । अवधेशले भने, “कति छ तिमीसँग पैसा ?”

“सय रुपैयाँमात्रै ।”

अवधेशले गाडीको टिकट काटिदिए । धर्मेन्द्र काठमाडौंको नाइट गाडी चडे । ‘हिमालय टाइम्स’को अफिस खोज्दै उनी बानेश्वर पुगे र अन्तर्वार्ता दिए । सम्पादक मुरारी शर्मा, समाचार सम्पादक कुमार सापकोटा र फिचर सम्पादक गोविन्द अधिकारी अन्तर्वार्तामा बसेका थिए । 

धर्मेन्द्रलाई एउटा समाचार लेख्न लगाए, लेखे उनले । राससको अंग्रेजी समाचार उल्था गर्न दिए, गरे उनले । काम गरिरहेका थिए, कुमार सापकोटाले भने, “काम गर्ने हो धर्मेन्द्र ?”

धर्मेन्द्रले भने, “काम गर्ने भनेरै आएको हो सर, गर्छु ।”

“त्यसो भए आजै घर गएर सामान लिएर आउनुस् ।”

धर्मेन्द्र अलमलिए ।  शायद कुमार सापकोटाले बुझे । 

“पैसा छ ?” उनले सोधे ।

धर्मेन्द्र फेरि अकमकिए । उनको अभाव कुमारले अनुहारमै पढे शायद । त्यसैले ५ सय रुपैयाँ दिँदै भने, “यो लिएर जानुस् तर यो पैसाचाहिँ फिर्ता गर्नुपर्छ । तपाईं यहाँको जागिरे हो ।”

प्रमुख जिल्ला अधिकारीको छोरा भए पनि काठमाडौंमा संघर्ष गर्नुपर्छ भन्ने थियो । स्वाभिमानले पनि शायद उनलाई मजबुत बनाएको थियो । धर्मेन्द्र घर त गए तर केही पनि ल्याएनन् । लाखेचौरमा एउटा सानो कोठा लिएका थिए । चिसो छिँडीजस्तो कोठामा पाँच महिना उनी पातलो कपडा ओढेर भुइँमै सुत्थे ।

५ गते बिहान काठमाडौं आइपुगेका धर्मेन्द्र त्यही साँझ जनकपुर फर्किए । ६ गते साँझ काठमाडौं फर्किए र ७ गतेबाट काम थाले ।

साढे ४ हजार रुपैयाँ तलब थियो । सुरुमा उनी समाचारमा थिए । डेस्कमा पनि काम गरे । गोविन्द अधिकारीले उनलाई भने, “समय छ भने ओपेड पेज पनि हेर्नुस् ।”

बिहान १० नबज्दै कार्यालय पुग्ने उनी अपरान्हसम्म ओपेड पेज हेर्थे । त्यसपछि डेस्कमा बस्ने धर्मेन्द्र घर पुग्दा मध्यरात हुन्थ्यो ।

गोविन्द अधिकारीले नै ‘काम धेरै, तलब थोरै’ भन्दै उनको तलब ५० प्रतिशत बढाउन सिफारिस गरे । काम शुरु गरेको केही महिनामै उनको तलब ६७ सय रुपैयाँ भयो ।

सुरुमा निकै लोकप्रिय बनेको पत्रिका बिस्तारै आर्थिक रूपमा दुर्बल बन्दै गयो । १० वर्ष काम गरेपछि ०६३ सालमा धर्मेन्द्रले ‘हिमालय टाइम्स’ छोडे । छोड्दा उनी त्यहाँको कार्यकारी सम्पादक थिए । 

‘हिमालय टाइम्स’मा हुँदाहुँदै उनले विभिन्न प्रकाशनमा काम गर्न थालेका थिए । नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)मा पुगेका थिए । वैशाखमा ‘हिमालय टाइम्स’ छोडे, साउनमा उनलाई ‘अन्नपूर्ण पोस्ट’ले बोलायो । गोविन्द अधिकारी समाचार सम्पादक थिए । उनले डेपुटी समाचार सम्पादक भएर काम गरे ।

कार्यकारी सम्पादक भएको मान्छे डेपुटी समाचार सम्पादकमा किन ? जवाफ पनि छ धर्मेन्द्रसँग, “पत्रकारितामा पदभन्दा पनि काम महत्वपूर्ण कुरा हो । संस्थाको आकारले पनि पद निर्धारण गर्छ । हिमालय टाइम्सभन्दा निकै ठूलो आकारमा थियो अन्नपूर्ण पोस्ट । अर्को कुरा— जसलाई मैले आदर्श मानेको छु गोविन्द अधिकारी, उहाँको अन्डरमा बसेर काम गर्न मलाई कुनै आपत्ति थिएन ।”

धर्मेन्द्र गएको एक महिना नपुग्दै गोविन्द अधिकारीले ‘अन्नपूर्ण पोस्ट’ छोडे । जिम्मेवारी धर्मेन्द्रको काँधमा आयो । उनी समाचार सम्पादक भए । ०७० सालमा धर्मेन्द्रले ‘अन्नपूर्ण पोस्ट’ छोड्दासम्म उनले डेपुटी एडिटरको जिम्मेवारी सम्हालिसकेका थिए ।

राजनीति

नेपाली कांग्रेसले धर्मेन्द्रलाई समानुपातिक सांसदको सूचीमा नाम सिफारिस गरेको थियो । त्यसैले नैतिक चरित्रभित्र बसेर पत्रकारिता गर्नुपर्छ भन्ने धर्मेन्द्रलाई पत्रकारिता गर्न उनको आत्माले दिएन र राजीनामा दिए ।

“पत्रकारले पत्रकारिता गरिरहेका बेला अरुथोक गर्नु भएन र अरु काम गरिरहेका बेला पत्रकारिता गर्नु भएन भनेर मैले राजीनामा दिएको थिएँ,” धर्मेन्द्र भन्छन्, “समाचार कक्ष स्वतन्त्रताका हिसाबले अक्षुण्ण हुनुपर्छ भन्ने मान्यता राखेर म समानुपातिकको सूचीमा परिसकेको व्यक्ति नै पत्रकारिता गरेर बसिराखे मैमाथि औंला उठ्ने सम्भावना भएकाले छोडेको हुँ ।” 

‘पत्रकारिता मेरो जीवन हो, यो त्याग्न त म सक्दिनँ । केही समयका लागि विश्राम लिएको मात्रै हुँ’ भन्दै उनी ‘अन्नपूर्ण पोस्ट’बाट बिदा भए ।

०७० कात्तिकमा काम छोडेका धर्मेन्द्र बेरोजगारजस्तै भए । यद्यपि उनी एनपीआईको प्रशिक्षक थिए । विभिन्न संस्थाका पब्लिकेशनहरू हेर्थे । पत्रकारको दक्षता अभिवृद्धिमा लागे । जागिर हुँदा होस् या नहुँदा, आर्थिक रूपमा सबल हुँदा होस् या कमजोर हुँदा, धर्मेन्द्रलाई उनकी श्रीमती र परिवारले सधैं सहयोग गरिरह्यो । जनकपुरमा ३९ हजार घाटा बेहोर्दा होस् या त्यसअगाडि वर्षौंसम्म बिनापैसा काम गर्दा- कहिल्यै पनि उनलाई श्रीमतीबाट दबाब महसुस भएन ।

समानुपातिकको सूचीमा कांग्रेसले राखे पनि अन्ततः उनको नाम हट्यो । न रह्यो जागिर, न भए सांसद । तर पनि समय दाहिना नै थियो । ‘हिमालय टेलिभिजनले उनलाई न्युज कन्सल्ट्यान्टका रूपमा भित्र्यायो । कन्सल्ट्यान्ट भने पनि उनी सम्पादकको काम गर्थे । त्यहाँ उनी खासै रमाउन सकेनन् । एक वर्षमा बिदा लिए ।

पत्रकार महासंघ

धर्मेन्द्रले नेपाल पत्रकार महासंघको अध्यक्ष भएर पत्रकारको नेतृत्व गरे । नेतृत्वमा रहँदा उनलाई थुप्रै धम्की र आक्रमण भए । ०६६ सालमा सिरहाको लहान पुग्दा उनी चढेको गाडीमा ढुङ्गामुढा भयो । भूमिगत संगठनले गरेको उक्त आक्रमणका दोषीलाई उनैले छाड्न लगाए ।

सिरहामै उनको पुतला दहन भयो । समाचार र नेतृत्वका विषयलाई लिएर थुप्रै धम्की आए । तर, उनले सार्वजनिक गरेनन् । 

किन त ?

देशभरका पत्रकारको नेतृत्व गरिरहेका व्यक्ति त सुरक्षित छैन र उसले धम्की खेप्दै त्रासदीपूर्ण वातावरणमा बाँच्नुपर्छ भने अरु पत्रकारले कसरी काम गर्छन् भनेर उनले धम्कीका घटना सार्वजनिक गरेनन् ।

० ० ०

महासंघको ६ दशक लामो इतिहासमा मधेसी समुदायबाट नेतृत्व गर्ने धर्मेन्द्र एक्लो हुन् । सुनको किस्तीमा कसैले ल्याएर राखिदिएको पद थिएन त्यो । धर्मेन्द्रले प्रतिस्पर्धामा लडेर लिएको र पत्रकार प्रतिनिधिको मन जितेर हात पारेको जिम्मेवारी थियो ।

जनकपुरमा पत्रकारिता गर्दा कोषाध्यक्षमा लडे पनि पराजय भोगेका उनले त्यो बेला आफूले भनेको सम्झन्छन्, “मलाई तिमीहरुले पत्याएनौ, म एकदिन केन्द्रमा जितेर देखाइदिन्छु ।” त्यहाँ उनले दुई भोटले हारेका थिए ।

०५४ सालमा उनले महासंघमा चुनाव लडे तर हार नै हात पर्‍यो । काठमाडौं आएको दुई वर्षमात्रै भएको थियो । जित्नेको अन्तिम मत ६९ थियो भने धर्मेन्द्रको ५४ । उनले यो नतिजालाई आफ्नै ढंगले विश्लेषण गरे— मलाई यतिले विश्वास गर्नु पनि ठूलो कुरा हो । ५४ जनाले विश्वास गर्दा अरुले पनि त विश्वास गर्न सक्लान् नि !

०५६ को निर्वाचनमा पनि धर्मेन्द्र केन्द्रीय सदस्यमै चुनाव लडे । पहिलोपटक उनले जितको स्वाद चाखे । ०५९ सालमा सचिवमा लडे । यो पटक भने जितले निरन्तरता पाएन । तर, उनले अघिल्लो पटक सदस्यमा जितेको बेलाभन्दा यो पटक सचिवमा पाएको मत धेरै थियो । यसले उनलाई आत्मविश्वास दियो । ०६२ मा धर्मेन्द्र महासचिवको प्रत्यासी भए । यो पटक पनि उनको हारले नै निरन्तरता पायो । तर, अघिल्लो पटक सचिवमा पाएको मतभन्दा यो पटक मत बढेकै थियो ।

अध्यक्षमा लड्दा पनि उनले उपाध्यक्षमा लड्ने सोच बनाएका थिए । जित्नुभन्दा पनि प्रतिस्पर्धामा उत्रिँदा मधेसको प्रतिनिधित्वका हिसाबले पनि उचित हुन्छ भन्ने सोच थियो । ०६४ मा परिस्थिति अध्यक्षमा उठ्ने बन्यो, निर्वाचन जिते । उनले अध्यक्षमा जितेको भोटको प्रकृति हेर्ने हो भने उनीअनुकूल थिएन । १,०४० भोटर रहेकामा ३९ भोटरमात्रै मधेसी थिए ।

अहिलेको पत्रकारिता

तुलना गर्दा राम्रो तर गर्न बाँकी धेरै छ । प्रविधि, शिक्षा र व्यक्तिका हिसाबले पत्रकारितामा अभाव छैन तर गुणस्तरमा भने ध्यान दिनुपर्छ । आवाजहीनहरूको आवाज भनिए पनि त्यो व्यवहारमा उत्ति साह्रो लागू भएको छैन ।

०५१ सालमा जनकपुर पुगेका रामकृष्ण रेग्मी, मोहन भण्डारी र गोकुल पोखरेलले आधा दिन दिएको तालिमको आधारमा पत्रकारिता सुरु गरेका धर्मेन्द्र आज स्कुल– कलेजमा पत्रकारिता पढाइ हुँदा दक्ष जनशक्ति उत्पादनका लागि एकेडेमिक संस्था रहनु पत्रकारिताका लागि सकारात्मक ठान्छन् । पत्रकारिता सुरु गरेपछि अमेरिका, भारतलगायत विभिन्न ठाउँ पुगी पत्रकारिताको तालिम लिएर आफूलाई कुशल पत्रकार बनाएका धर्मेन्द्र आज पत्रकारिता पढिसकेर समाचार लेख्न शुरु गर्न पाउनु पनि नेपाली पत्रकारिताका लागि सुखद पक्ष भएको बताउँछन् ।

पत्रकारितामा राजनीति हाबी भएको प्रति भने उनलाई चित्त बुझेको छैन । “नेपाली पत्रकारितामा राजनीति हाबी भयो । राजनीतिक आस्थाका आधारमा पत्रकारहरूको कित्ताकाट हुने अवस्था आयो,” उनी भन्छन्, “पत्रकारले राजनीति बुझ्नुपर्छ, गर्दा पनि हुन्छ तर पत्रकार हुन्जेलचाहिँ पत्रकारले राजनीति गर्नु हुँदैन ।”

राजनीति र पत्रकारिता सँगसँगै गर्दा समाचारमा आग्रह जन्मिन्छ भन्छन् धर्मेन्द्र । “पत्रकार कुन राजनीतिक आस्थाका आधारमा चल्छ, त्यो उसले आफ्नो समाचारका शब्द र लाइनमा व्यक्त गर्छ,” धर्मेन्द्र भन्छन्, “नेपाली पत्रकारिता यही परिस्थितिबाट गुज्रिरहेको छ । जुन पत्रकारिताको व्यावसायिकताका लागि घातक हो ।”

धर्मेन्द्र तीतो सत्य सुनाउँछन्, “सामाजिक सञ्जालमा राजनीतिक दल र नेताको पक्षमा वकालत गर्ने पत्रकार समाचार कक्षमा सन्तुलित हुन खोजे पनि सक्दैनन् र त्यो आजका पाठकले सहजै ठम्याउँछन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC