site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अविराम यात्री
Sarbottam CementSarbottam Cement

– राजेश खनाल 


चार वर्षको उमेरमै उनी देहरादुन पुगे । भारतीय गोर्खा सैनिकमा कार्यरत पिताजीले उनको भविष्य उज्ज्वल बनाउन आफूसँगै देहरादुन लगेका थिए ।

स्याङ्जामा कोस हिँडेर स्कुल पुग्नुपर्ने अवस्था, उता देहरादुनमा गोर्खा सैनिकका छोराछोरीलाई पढाउनका लागि खोलिएको गोर्खा मिलिट्री स्कुल । त्यसैले पनि उनका पिताजीले छोराछोरीलाई देहरादुन लगेर तिनको भविष्य रंग्याउने सपना देखे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले उनी पुगे, पितासँगै देहरादुन । र, पढ्न थाले— अंग्रेजी, हिन्दी माध्यमबाट १, २ हुँदै माथिका कक्षाहरू, क्रमैसँग । सँगै उनले आफ्नो मातृभाषा पनि अध्ययन गर्दै गए । भेटेसम्मका नेपाली किताब पढ्दै गए । कक्षामा नेपाली विषय पढ्न नपाए पनि नेपाली भाषाका किताब खोज्दै हिँडे । देहरादुनमै रहेका नेपालीहरूको घरमा फेला परेका नेपाली किताब ल्याएर उनले पढेकै हुन्थे ।

नेपाली चलचित्र क्षेत्रका उज्ज्वल नक्षत्र चेतन कार्की ७९ वर्ष पुगिसक्दा पनि नेपाली गीत, कविता, गजल, मुक्तक, उपन्यास लेखनका क्षेत्रमा उत्तिकै सक्रिय छन् ।

Global Ime bank

० ० ०

एक समय नेपाली सिनेमाको कथा, पटकथा र संवाद लेखनमा उनको बराबरी गर्ने मानिस थिएनन् । भन्ने हो भने अहिले पनि चेतनको उचाइलाई कसैले छुन सक्दैन ।

उनले सिनेमामा मात्रै होइन, उपन्यास, गीत, कविता, मुक्तक र गजलमा पनि उत्तिकै समय खर्चिएका छन् । उनका किताब पाठकका हात–हातमा पुगिरहेकै छन् । नेपाली भाषामा उनको योगदान निरन्तर छ ।

सिनेकर्म उनको जीवनको एउटा पाटो हो भने साहित्यमा संलग्नता र योगदान, अर्को पाटो । यहाँ उनको सिनेकर्म भन्दा पनि साहित्यका बारेमा चर्चा गर्न खोजिएको छ, जसको प्रारम्भ देहरादुनबाटै भएको हो । उनको पहिलो काव्य रचना सन् १९५२ मा प्रकाशित भएको थियो ।

नेपाली साहित्यका यी अविराम यात्री भन्छन्, “नेपाली साहित्यको श्रीवृद्धिमा मैले कुनै योगदान दिएको छु भन्ने लाग्दैन । तर, यो सत्य हो कि आजभोलि मैले आफूलाई लेखनप्रति नै एकाग्र गराएको छु ।”

नेपाली लोकगीत—संगीतको खोजिनितीमा समेत सक्रिय चेतनले लेख्न शुरु गरेको लामो समय बितिसकेको छ । ६५ वर्षअघि नै उनको कलमले कविता कोर्न थालेको हो । 

चेतनको ताजा पुस्तक ‘बयाज’ संग्रहका रूपमा प्रकाशित भएको छ, हालै । ‘बयाज’ मिश्रित काव्यसंग्रह हो । नाम हो, ‘दिल जिगरके टुकडे’ । यो कविता संग्रहमा उनले अहिलेको परिवेशलाई उल्लेख गरेका छन् । बितेका सात–आठ वर्षमा उनले पाँच वटा जति किताब निकालेका छन् ।

यो अवधिमा उनले आफ्नो पहिलो उपन्यास ‘आत्मा बेचेको छैन’को तेस्रो संस्करण पनि प्रकाशित गरे । साथै, ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’ (कवितात्मक टुक्राटाक्री संग्रह), ‘हो देश मेरो पनि’ (गजल संग्रह), ‘बसिबियाँलो’ (कथा संग्रह), ‘माया–प्रीतिको चोखो कथा’ गीत संग्रह पनि प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त उनको उपन्यास ‘हनिमून’, लघु उपन्यास ‘ढलेको गिलास’ पनि प्रकाशित छन् ।

यिनको ‘कल्पना टुट चुकी है’ हिन्दी कविता संग्रह सन् १९८० मा प्रकाशित भएको थियो, जसमा उनले कलेज समयमा लेखेका कविता संग्रह गरेका थिए ।

० ० ०

विज्ञान विषयमा स्नातक चेतनको त्यसपछिको पढाइ–कथा झनै रोचक छ ।

विद्यार्थीकालमा चेतन फुटबलका घाघडान खेलाडी थिए । उनको खेलप्रेमदेखि सबै शिक्षक अवगत थिए । बीएस्सी गरिसकेपछि उनले दुई वर्षमा कानुनको पढाइ पनि पूरा गरे । त्यसपछि केही समय अलमलिएर बसे । अब के गर्ने भन्ने सवालको जवाफ शायद उनी खोजिरहेका थिए ।

त्यसै बेला उनलाई कलेजका प्रिन्सिपल आफैं खोज्दै आए । उनले चेतनलाई फेरि कलेज ज्वाइन गर्न भने । चेतनले कारण सोधे । जवाफ आयो, “तिमी आगरा युनिभर्सिटिको फुटबल क्याप्टेन हुन सक्छौ । तिमी क्याप्टन बन्नु नै पर्छ । हाम्रो कलेज पनि आगरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्त भएकोले तिम्लाई कलेजले फुटबल खेलाउनैका लागि भए पनि पुनः एड्मिसन गर्न भनेको हो ।”

पूर्वमा गोरखपुरदेखि पश्चिमको इन्दौरसम्मका कैयन कलेजले आगरा विश्वविद्यालयसँग सम्बन्धन लिएका थिए । त्यतिबेला ७४ वटा डिग्री कलेजहरू आगरा विश्वविद्यालयअन्तर्गत थिए । त्यसैले चेतन फुटबलको क्याप्टेन हुनु भनेको ७४ वटामध्ये एउटा कलेजको क्याप्टेन हुनु थियो । यसमा कलेजले पनि गर्व गर्ने अवस्था थियो । त्यसैले पनि कलेजले चेतनलाई दबाब दिइरहेको थियो ।

तर, साहित्यप्रति रुचिका कारण हो वा अरु केही— उनलाई विज्ञान लिएर मास्टर्स गर्न मन लागिरहेको थिएन । त्यसैले उनले कलेजका प्रिन्सिपललाई सिधै भने, “म हिन्दी विषय लिएर एमए पढ्छु । एमएससी वा अरु विषय पढ्दिनँ ।”

तर, चेतनले बीएससी पास गरिसकेकाले प्राध्यापकहरू उनको फ्याकल्टी परिवर्तन गर्न राजी भएनन् । यता चेतनले पनि आफ्नो अडान तलमाथि हुन दिएनन्, “पढे हिन्दी पढ्छु, नत्र अरु पढ्दिनँ ।” 

उनको एकोहोरो अडानले प्रिन्सिपललाई पनि गलायो । त्यसबेला  आगरा विश्वविद्यालयमा देहरादुनको कलेजकै पुराना प्राध्यापक सक्सेना जी उपकुलपति भएर गएका थिए । त्यसैले पनि प्रिन्सिपलले उनीसँग विशेष अनुमति लिएर चेतनलाई हिन्दी भाषामा एमए गर्ने वातावरण मिलाए ।

फुटबललगायतका खेलमा चेतनको नाम अग्रणी थियो । त्यसैले एमएमा भर्ना लिएर कलेजको क्याप्टेन बनाउन चाहन्थ्यो कलेज प्रशासन । यसैकारण पनि कलेज प्रशासन गलेको थियो । र, चेतनले हिन्दी विषय पढ्ने मौका पाएका थिए । उनका गुरुहरू पनि भन्थे अरे, “तुम क्युँ पढ्ते हो ? तुम फुटबल खेलो । बास्केटबल खेलो ।”

हिन्दी भाषामा उनको अध्ययन फुटबल खेलकै कमाल थियो । यसलाई चेतन स्वीकार्छन् पनि ।

किन हिन्दी नै ?

उनी भन्दै थिए, “किनभने मलाई भाषा विज्ञानमा रुचि थियो । अर्को कुरो, मैले हिन्दी भाषा ६ कक्षादेखि नै पढ्दै आएको थिएँ ।”

हिन्दी विषय लिएर एमएको पहिलो दिन कक्षामा जाँदाको घटना सम्झिए । पहिलो दिन विभागीय प्रमुखको क्लास थियो । उनले हाजिरी लिए र भने, “सीबी कार्की ।” उनले पनि ‘उपस्थित श्रीमान्’ भनेर जवाफ दिए ।

उनले चेतनलाई हेरेर भने, “हिन्दी भाषाको क्लास फुटबल, बास्केटबल खेलेजस्तो सजिलो ठानेका छौ कि क्या हो ? हिन्दी गाह्रो विषय हो । यो महासागर हो । पढ्न सक्छौ ?”

चेतनले जवाफ फर्काए, “तपाईंजस्तो तारणहार भएपछि त हिन्दी कुन ठूलो कुरो भयो र ? तपाईंको कृपा भयो भने पढछु नै ।”

शिक्षक गमक्क फुलेछन् ।

हिन्दी भाषा विज्ञानलाई विषय बनाएर अघि बढेका चेतनको साहित्य सेवा भने योभन्दा धेरै अगाडिदेखि नै शुरु भइसकेको थियो । उनले ७–८ कक्षामा पढ्दा एउटा विषय संस्कृत लिएका थिए । संस्कृत त ज्ञानको अपार भण्डार रहेछ भन्ने उनले त्यतिबेलै थाहा पाइसकेका थिए । तर ९ कक्षामा संस्कृत पढ्ने विद्यार्थी उनी एक्लै भएपछि प्रिन्सिपलले उनलाई संस्कृतबाट हटाएर विज्ञानतर्फ पठाए । र, १० पछिको पढाइ पनि विज्ञान नै भयो ।

संस्कृत, अंग्रेजी, हिन्दी, उर्दू विषयका ज्ञाता चेतन भन्दै थिए, “संस्कृत पढ्दा कविरका दोहा, चाणक्य र विदूरका दर्शनलगायत पढियो । एउटा कुनै श्लोक थियो, जसको अर्थ थियो– ‘जहाँ सुइको काम जरुरी मानिन्छ, त्यहाँ तरवारको के काम ?’ यस्तै दर्शनले मलाई संस्कृतप्रतिको मोहमा जकड्दै लग्यो ।”

यसरी संस्कृत हुँदै उनको पकड विभिन्न भाषाहरूमा बढ्दै गयो । योसँगै साहित्यप्रतिको मोह पनि चुलिँदै गयो ।

त्यसो त सन् १९५२ मा देहरादुनको गोर्खा मिलिट्री स्कुलमा ९ कक्षा पढ्दै गर्दा चेतनको पहिलो कविता हिन्दी भाषामा छापिएको थियो । यसरी बितेका ६७ वर्षदेखि साहित्यसँग उनको सम्बन्ध जोडिएको छ । अहिले पनि यसैमा क्रियाशील छन् । तर, अहिलेको नेपाली भाषाका कतिपय प्रसंगहरूमा उनको दुखेसो छ ।

उनी भन्छन्, “म हिन्दी माध्यममा पढेको लाहुरेको छोरो । नेपाली भाषाका बारेमा मलाई खासै जानकारी थिएन । तर, आफैंले मेहनत गरेर नेपाली पढ्दै र बुझ्दै गएँ । आज नेपाली भाषामाथि जुन किसिमको खेलवाड भइरहेको छ, त्यो देखेर मलाई दुःख लाग्छ । मैले मास्टर्स गर्दा भाषा विज्ञान पनि पढेको हुनाले भाषा विज्ञानप्रति मेरो अगाध अभिरुचि रहेको हो । तसर्थ भाषाका कुरामा म बडो चाख राख्छु र शब्दका अर्थहरू मिहिन रूपमा केलाउने प्रयास गर्छु ।”

चेतनका अनुसार कुनै पनि शब्दको हुर्मत लिने काम गर्नु हुँदैन । तर, नेपालका स्वनामधन्य विद्वानहरूले अरबी शब्दको दीर्घ ‘ई’को मात्रालाई नेपालीमा ल्याएर ह्रस्व ‘इ’को मात्रा लगाएर हामीले नेपालीकरण ग¥यौं भन्दै आएका छन्, जसलाई उनी कत्ति पनि मन पराउँदैनन् ।

उनी भन्छन्, “शब्द जहाँबाट आए पनि जस्ताको त्यस्तै राख्नुपर्छ । नेपालीकरणको नाममा भाषा बङ्ग्याउनु हुन्न । यो त ‘मोही माग्नु ढुंग्रो लुकाउनु’ भएन र ? भाषा चोरी गर्ने, भाषा भिख माग्ने तर नेपालीकरणको नाममा त्यसको हुर्मत लिने ? आश्चर्य ! यसलाई कसरी स्वीकार्न सकिन्छ ?”

संस्कृत भाषामा पनि ज्ञान राख्ने चेतनले नेपालीकरणको कुरा उप्काउँदै एउटा प्रसंगमा जिज्ञासासहित जोडदिए, “चतुस्पदीको प्रचलन त संस्कृतबाटै आएको हो नि । त्यो पनि अनादिकालदेखि, जसलाई अहिले रुवाई वा मुक्तक भनिन्छ । तर, चतुस्पदीय काव्यको प्रचलन संस्कृतबाटै आएकोले त्यसलाई हामीले किन अरु कुनै नाम दिने ? संस्कृतकै नाम दिएको भए राम्रो हुन्थ्यो होला नि, हैन ?”

यो घूसपैठ किन त ?

चेतन भन्दै थिए, “यो हाम्रो दुर्भाग्य हो ! हामी आफैं संस्कृतको हुर्मत लिँदैछौं । जर्मन भाषा वैज्ञानिक म्याक्स मुलरले ४० वर्षसम्म संस्कृतको अध्ययन गरेर संस्कृतमा भएका केही महत्वपूर्ण साहित्यलाई जर्मन भाषामा अनुवाद गरे । सारा जर्मन नागरिकले अहिले ऋगवेदलाई जर्मन भाषामा अध्ययन गरिरहेका छन् । तर, हामी भने संस्कृतलाई भुल्दै गइरहेका छौं । मुलरले जे अनुवाद गरे, त्यसलाई पढेर सबै चकित भए र भने– संस्कृत त ज्ञानको अथाह भण्डार रहेछ !”

कुराकानीकै क्रममा चेतनले डा. स्वामी प्रपन्नाचार्यको प्रसंग उप्काए । काले राईले संस्कृत अध्ययन गरेर विद्यावारिधि गर्दै डा. स्वामी प्रपन्नाचार्यको नामबाट ख्याति कमाएको सुनाए । “तर आश्चर्य छ, यहाँका नेताहरूले यो ‘लामो नाकको भाषा’ भनेर विस्थापित गर्ने प्रयत्न गर्दैछन् । तिनलाई थाहा छैन– संस्कृतजत्तिको पूर्ण भाषा संसारमा अरु कुनै छैन । त्यसैले त काले राई हुन वा जर्मन भाषा वैज्ञानिक म्याक्स मुलर— तिनले संस्कृतलाई विश्वमा स्थापित गर्ने काम गरेकै हुन् ।”

हामी नेपालीले प्रयोग गरिरहेको नेपाली भाषा धेरै समृद्ध भएको चेतन बताउँछन् । “हाम्रो भाषा धेरै फराकिलो छ । जस्तोः दिदी–बहिनी, सानिमा, ठूली आमा जस्ता शब्दहरू । जेठो, माहिलो, साहिँलो, काइँलो, राइँलो, ठाइँलो गर्दै १२ जनासम्मलाई गन्न सकिन्छ । अरु कुनै भाषामा यस्तो पाइँदैन,” उनले भने ।

० ० ०

हिन्दीमा स्नातकोत्तरको परीक्षा दिइसकेपछि चेतन आफ्नै देशमा केही गर्ने भन्दै नेपाल आए । तर, आउनासाथै उनले कुनै जागिर पाएनन् । जागिरका लागि उनको संघर्ष जारी थियो । फुटबल खेलाडी भएकोले उनी यहाँ पनि फुटबल खेल्न ठाउँठाउँ भने पुुग्थे ।

देहरादुन हुँदा फुटबल खेल्न कहिले कानपुर जान्थे त कहिले मेरठ, कहिले श्रीनगर त कहिले बरेली । यो क्रम काठमाडौं आएपछि पनि छुटेन ।

“काठमाडौं आएपछि मलाई सुशील शमशेरले आफ्नो टिमबाट खेलाउन खोजे । म कहिले उनको टिमबाट त कहिले भारतीय दूतावासको टिमबाट खेल्थें । त्यसबेला रोमबहादुर मध्यमाञ्चल डीआईजी थिए । डी. राज भन्ने शायद आईजीपी थिए,” चेतनले सुनाए, “एकपटक मैले एउटा गेममा पुलिसलाई ६ गोल हान्दिएँ । त्यसपछि उनीहरूले मलाई डीएसपी पदमा जागिर दिने आश्वासन दिए । त्यसपछि मैले कहिलेकाहीँ पुलिसको टिमबाट पनि खेलेँ । तर खेल्नुमात्रै प¥यो, पुलिसमा जागिर कहिल्यै पाइएन ।”

त्यसपछि उनी फिसरिज अफिसर भएर पोखरा पुगे, जागिरको सिलसिलामा । साहित्य, कविता, गीत, संगीत र संस्कृतिसँग आत्मीय सम्बन्ध राख्ने चेतनको त्यसैबेला पहिलोपटक भेट भयो कविता क्षेत्रका अर्का नक्षत्र भूपि शेरचनसँग । उनको सम्बन्ध र संगतले चेतनलाई साहित्यको क्षेत्रमा अग्रसर हुन अभिप्रेरित गर्दै गयो । भूपिसँगको भेटपछि नेपाली कविताका क्षेत्रमा उनको आशक्ति झनझन् बढ्दै गयो ।

देहरादुनमै हुँदा मित्रसेनका गीतहरू सुन्दै त्यसबाट प्रेरित भएर उनले केही गीत लेखेका थिएँ । जस्तैः

बाटो हेर्दा सम्साँझै निरमाया उजेलो भैगयो
आउँछौ भनी पर्खेर बस्दा निरमाया जोवन गैगयो...

पोखरा बसाइका क्रममा भूपिको संगतबाट उनलाई झन् ऊर्जा मिल्यो । उप्रान्त उनी कवितासँगै गीत लेखनतर्फ लागे । 

उनको पहिलो गीत तारादेवी र भुवन थापाको आवाजमा स्वरबद्ध भयो—

दाइलाई बोलाऊँ भने 
लेक स्वर पुग्दैन 
बोलाइरहन हुँदैन... 

त्यसपछि ‘जुन निदाउन थाले तारा निदाउन थाले’ बोलको गीत तारादेवीको आवाजमा गुञ्जियो । त्यस्तै ‘बैनीको दया छ भने रोदी घर दाइ नाचे नभने’, ‘बुझ्नै सकिनौ तिमिले आँखाको भाखा मेरो’ (नारायण गोपालको स्वर) जस्ता कैयन् कालजयी गीत लेखे, जुन विभिन्न स्वरकर्मीहरूका आवाजमा सजिएर स्रोताका कानमा गुञ्जिरहेका छन् ।

चेतन भन्छन्, “पोखरा पुगिसकेपछि नेपाली लोक–संस्कृतिको मेरो अभिरुचिले झन् मौलाउने मौका पायो । त्यसपछि नै यी गीतहरू आएका हुन् । यसरी धेरै गीतहरु लेखिँदै गयो । गाइँदै गयो ।”

त्यसपछि उनको अर्को इनिङ सुरु भयो– चलचित्रकर्मको । हीरा सिंहको सानिध्यमा रहेर उनले चलचित्र लेखन तथा निर्देशनको कर्मलाई अगाडि बढाए । तर, साहित्यप्रतिको उनको आशक्तिमा कुनै कमी आएन । गीत, कविता, गजल, मुक्तक, उपन्यासलगायत विधामा उनको कलम दगुर्दै रह्यो ।

नेपाली साहित्यको अहिलेको अवस्थामा चर्चा गर्दै उनले भने, “साहित्यमा लेखनको समुचित प्रयोग भइरहेको देखेको छैन मैले । अहिलेको लेखनमा केही विकृतिहरू देखिरहेको छु । नेपाली जनजीवनसँग अहिलेको साहित्य त्यति नजिक छैन । अहिले नेपाली साहित्यकार भनाउँदा व्यक्तिहरूले हिन्दी, उर्दू वा अरु कुनै साहित्य पढेर रोमन र ग्रिक पात्रहरूको नामलाई नेपाली साहित्यमा उद्धृत गर्दै आफ्नो विद्वता देखाउने कोसिस गरिरहेका छन् । त्यसैले पनि नेपाली साहित्यको स्तर खस्कँदो छ ।”

यतिबेला चेतन नेपालका पुराना नृत्य–निर्देशक भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’ नामक नृत्यलिपि पुस्तकको हिन्दी अनुवादमा सक्रिय छन् । हिन्दीमा लेखिएको एउटा आत्मकथालाई पनि नेपालीमा अनुवाद गरिरहेका छन् ।

(तस्बिर साभारः चन्द्रबहादुर आले, ‘पहिलोपोस्ट.कम’)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC