site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अधिकांश साहित्यकार ढोंगी छन्
Sarbottam CementSarbottam Cement

– अक्षर काका



– “वाऊ ! क्या लेख्छौ !” 

– “यस्ता शब्दहरू के खाएर अङ्कुरण गराउँछौ ?”

Prabhu Bank
Agni Group
NIC Asia

– “अघि बढ, तिमी निकै अघि लाग्ने युवती हौ, तिमीमा साहित्यको अथाह भण्डार छ !”

यी त सामान्य प्रशंसा हुन्, निरूपा प्रसूनले लेखन–यात्रामा सुनेका । यसबाहेक स्वनामधन्य लेखकहरूले उनलाई धेरै चिने । प्रशंसाका फूल ओइर्‍याए । हौसलाको जलप लगाए । कतिले त बाटो देखाउँछु भनी भ्याए ।

Global Ime bank

प्रशंसाबाट पुलकित भएर सुरूसुरूमा त उनले सोचिन्– साँच्चै राम्रो लेख्छु कि क्या हो ? 

तर, जब ती लेखकहरूको नियत उदाङ्दो हुँदै गयो, प्रशंसादेखि घीन लाग्न थाल्यो । अचेल प्रेरणाका शब्दमा स्वार्थभोगको गहिरो छाया देख्छिन् उनी ।

लेखनमा एउटा र यथार्थमा अर्को मानिस बाँचिरहेका ठुल्ठूला पुरुष साहित्यकारहरूले उनको मस्तिष्काका अनेकौं विम्ब भत्काए । त्यसअघि ती साहित्यकारहरूका अनेकौं आदर्शले निरुपाको मथिङ्गल तरङ्गित तुल्याएका थिए । अर्कै ग्रहबाट पर्दापण गरेका, अद्वितीय लाग्थे । तर, एकपछि अर्को गरी तिनका नियत पटाक्षेप हुन थाले । मस्तिष्कमा तिनका अनुहारमा कुरूपता, विद्रूपता पोतिँदै गयो, क्रमशः ।

गिनेचुनेका पुरुष साहित्यकारप्रति उनको अनन्य श्रद्धा थियो, भक्तिभावसमेत थियो कतिपयमा । तर, जब तिनका कलुषित चाहनाले मर्यादाको लक्ष्मणरेखा पार गरे र महिलालई फगत भोग्य वस्तु ठाने, त्यही दिनदेखि हो उनले कलम बलियो गरी समातेको । र, सामाजिक विकृति र विसंगति नाङ्गेझार पार्न थालेको ।

एउटा घटना स्मरण गर्छिन् उनी–

०६४/६५ सालतिरको घटना हुनुपर्छ, सम्झनाको प्रष्ट चित्र छैन उनीसँग । स्मृतिको धूमिल आभामात्रै छ । मथिङ्गलमा लेखनको हुटहुटी थियो । मनभित्र समाजभित्रका अनेकन विकृति र विसङ्गतिका कथाभ्रूण थिए  । कतिले कापीका पानामा प्राण पाउँथे । कतिको नियति गर्भपतनसमान हुन्थ्यो ।

एकजना पत्रकार थिए । “कस्तो राम्रो लेख्छ्यौ निरुपा ! तिम्रो साहित्यचेतको जबर्जस्त प्रशंसक हुँ म,” फेसबुकमा अन हुनेबित्तिकै प्रशंसाको बुकी बोकेर इनबक्समा भित्रिइहाल्थे ती । हैरानै पारे भनौं । कुरैकुरामा एकदिन तिनले चाह पोखिहाले, “यस्ती राम्री साहित्यकारको अन्तर्वार्ता लिन पाउनुपर्‍यो नि गाँठे !”

साहित्यको धुलेटोमा कखरा कोर्न सिक्दै गरेको । अन्तर्वार्ता नै प्रकाशित हुन्छ भने नाइँ कसरी भन्नू ? उनले टार्न, नकार्न सकिनन् । गइन् ।

अन्तवार्ता सकिएर रेकर्ड अफ गरेपछि ती पत्रकारले सीधै प्रस्ताव गरे, “यत्रो कुराकानी भयो, किस पनि गर्दिनौ त ? झन् आजको पूर्णचन्द्रको रात !”

आकाशतिर हेर्दै पत्रकारले व्यहोरा देखाउन थालेपछि उनको मनमा भुइँचालो गयो । टेकेको जमिन थररर्र काँपेजस्तो भयो । उनी पसिनापच्छे भइन् । ओठमा आठ रेक्टरको भूकम्प गयो । तर, ती पत्रकारको अनुहारको भावमा बदलाव आएन । बरू मुहारमा साहसको जून थपेर अझै भने, “किन हिच्किचाउँछौ ? किस न मागेको हुँ, अर्थोक त देऊ भनेको छैन नि !”

उनीसँग जवाफ दिन शब्द थिएन । जुरुक्क उठिन् । बोल्दै नबोली बाटो लागिन् ।

घरमा पुग्दा नपुग्दै मोबाइलमा सन्देश–धून बज्यो । मोबाइल खोलेर हेर्दा उनी तीन छक परिन् । ती पत्रकारले ‘यी फलानाफलानासँग मैले रात नै बिताएको छु, तिमीसँग चुम्बन न मागेको थिएँ, दिइनौ, अन्तर्वार्ता छापिँदैन’ आशयको सन्देश पठाएका थिए । पढ्दा अचम्मित भइनन् उनी ।

“प्रस्ताव स्वीकार नगरेर अन्तवार्ता नछापिएकोमा जति गर्भानुभूति थियो, त्यति नै ती पत्रकारको अक्षम्य हर्कत र स्त्रीविलासी चरित्रले मेरो मन अमिल्यायो,” उनी सम्झिन्छन् अहिले ।

त्यस्तै अर्को घटना पनि छ–

अग्रज पुरुष साहित्यकारहरूको यौनजन्य हर्कतबाट आहत थिइन् उनी । दुर्व्यवहारजन्य कृत्यले छातीमा भुङ्ग्रो खडा गरेको थियो । कथा लेखेर जलन निभाउने प्रयत्न गरिन् । तर, झनै पीडा पो आइलाग्यो ।

कथा बुझाउन पुग्यो, सम्पादकको कक्षमा । जवाफ सुन्नुपर्ने– यस्तो होइन, तिमीले यौनकथा लेख ।

कथा प्रकाशित भयो, अग्रज पुरूष साहित्यकारहरूको प्रतिक्रिया सुन्नुपर्ने– शब्दमा यस्तो सौन्दर्य छ, शरीर कस्तो होला ?

कतिपय अग्रजहरू अझै अघि बढेर प्रस्ताव गर्थे, “बेड सेयर गरौं न !”

दिक्क हुन्थिन् र तिनै स्त्रीभोगी साहित्यकारहरूको नकाव उतारेर ‘वरिपरि’ लेखिन् । कथा प्रकाशित भएपछि एकजना साहित्यकारसँग रातो मुख नै गर्नुपर्‍यो । “तैंले यस्तो लेख्ने ? तेरै बदनाम गरिदिन्छ,” चर्काचर्की नै गरे तिनले ।

यतिसम्म प्रताडित भइन् कि आत्महत्या गर्ने सोचसमेत आयो उनमा ।

‘वरिपरि’ पढेर भागिरथी श्रेष्ठले समेत जिब्रो काढिन्, “अहिले पनि नवोदित साहित्यकारहरूलाई यत्ति गाह्रो छ है ? हामी त यसका भुक्तभोगी हौँ । त्यतिबेला पनि पुरुष साहित्यकारहरू निकै ढोँगी थिए ।”

० ० ०

हराभरा जंगल । प्रकृतिको सुमनोहर काख थियो, खैरहनी, चितवन । सौराहाको चिसो सिरोटेले सिंगै चितवनलाई त्राण दिएझैं लाग्थ्यो । पैत्रिक सम्पत्ति प्रशस्त । आयस्था पनि मनग्गे हुन्थ्यो । ठूलो दराई टोल । तिनै दराईका बालबच्चासँगै बित्यो उनको बाल्यकाल । जब समाज बुझ्न, चिन्न र घटना, दुर्घटनासँग साक्षात्कार हुन थालिन्, तिनले उनलाई लेख्न घच्घच्याउन थाले ।

घरनजिकै चितवन राष्ट्रिय निकुञ्ज थियो । निकुञ्ज नभई विश्वविद्यालयजस्तो थियो त्यो ।

दराई समुदाय, उनीहरूको आफ्नो एकधुर जग्गा थिएन । अर्काकै जग्गा–जमिनमा ओत लाग्थे । काँसपरालका छानोयुक्त घर कतिबेला हात्तीले भग्न तुल्याइदिने हो, यकिन थिएन । साहूमहाजनको जग्गा अधियाँमा कमाएर गृहस्थी धान्थे । तथापि उनीहरूको अनुहारमा तुष्ट हाँसो थियो । भनौं न, त्यही हाँसोले उनलाई जिउन सिकायो ।

दिनभरि बनुबुतो गर्थे, बेलुका टन्न खान्थे । उनीहरूका घरद्वारमा सपनाका ठुल्ठूला पोका पन्तुरा झुन्ड्याइको हुँदैनथ्यो । भरपेट मानो, र ओतलाग्ने छानोभन्दा पर्तिर उनीहरूका सपना थिएनन् । दराईहरूले मस्तिष्कबाट गरिबीको परम्परागत परिभाषा मेटाइदिएका थिए, उनको ।

सिर्जनासँग साइनो

उनका बाबा पनि छद्मनामबाट चिताउन चाहन्थे– ‘चितवन शिखरबास’ । शिखरबास कविता लेख्थे । सुनाउँथे । छपाउँथे कतिपय । त्यही जैविक गुण उनीमा पनि सर्‍यो । “सिर्जना त विरासतमा पाएकी हुँ नि, साहित्य रगतमै छ मेरो !” अनुहारमा अट्टहास छाउँछ उनको ।

बाबु लेखरचनामा उद्यत भएकाले उनको रस पनि कवितामै बस्यो । कविता कोर्थिन् । कुद्दै बाबुलाई सुनाउन पुग्थिन् । तर, बाबु पत्याउँदै नपत्याउने । बरु अत्याउँथे, “जस्तो पायो त्यस्तै कविता र जसले पायो त्यसले कविता लेख्छ ?”

उनी निराश हुँदिनथिन् । बरु झनै मस्काउँथिन् । उजिल्याउने कृत्यमा लाग्थिन् । “बाबुले त्यसो नभनेको भए कविता गहन विधा हो, सामान्य जप, तप र अनुष्ठानले कविता लेख्न सकिँदैन भन्ने पर्दैनथ्यो,” पिताप्रति कृतज्ञ छिन् उनी ।

बाबुले कविता सुन्न नमान्दा सुनिदिने उनको ठूलोबुबा हुनुहुन्थ्यो । उनले कविता सुन्थे र यस्तो लेख्नुपर्छ भन्दै सुझाउँथे पनि  ।

पिताले त्यसो भने पनि स्कुलमा उनले वाहवाही बटुल्थिन् । कक्षा ७ मा पढ्दा विद्यालयमा कविता प्रतियोगिता भएको थियो । त्यसबखत ‘खाते बालक’ शीर्षकको कविता लेखेर उनले प्रथम स्थान हात पारेकी थिइन् । तिनताका ४ भदाैमा राष्ट्रिय बाल दिवस मनाइन्थ्यो । त्यही सन्दर्भमा आयोजित प्रतियोगितामा उनी पुरस्कृत भएकी हुन् ।

“त्यसले कहाँ लेख्नू, बाबुले लेखिदिए होलान्, अनि पुरस्कृत भई नि !” तर, अरूले सजिलै पत्याइदिएनन् । खिन्न हुन्थिन् उनी ।

‘खाते बालक’बाट सुरू भएको उनको काव्यिकयात्रा ‘अभिलाषा’मा पुगरे सङ्गृहीत भयो । “०६३ सम्म आइपुग्दा कवितामा आफू वनका काँडासरह तिखारिएको प्रतीत भयो र कविता सङ्ग्रह निकाल्ने साहस गरेँ,” सम्झिन्छिन् उनी । त्यसका अतिरिक्त कवितामा उनी दुईवटा राष्ट्रिय पुरस्कारबाट विभूषित भएकी छन् । राष्ट्रिय महिला आयोग र भानुभक्त आचार्यको जन्मदिनका अवसरमा नेपाल सरकारले मनाएको दोस्रो शतवार्षिकी समारोहको अवसरमा आयोजित कविता प्रतियोगितामा उनी उत्कृष्ट ठहरिएकी हुन् ।

अस्तित्व निर्माण, समाजसँगको संवाद र उपस्थिति नै उनको काव्यमार्ग हो । “जति हिँडेँ, उती अस्तित्व देखाउन सकेँ,” सन्तुष्टै छिन् उनी । ०६३ पछि भने उनले कथाको बाटामा पाइला हालिन् ।

त्यसबखतको एउटा किस्सा छ–

दाजु व्यवस्थापना सङ्कायका विद्यार्थी थिए । तथापि उनी साहित्यमा रूचि राख्थे । देशदेशावरका सिर्जना उनका पठनीय विषय थिए ।

दाजुको पढ्ने टेबलमा एकदिन उनले एउटा पुस्तक फेला पारिन् । पुस्तकको नाम सुनेरै उनी तर्सिइन् । किताब थियो– मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ ।

‘लुकीलुकी के किताब पढ्नुहुन्छ भनेको त यस्तो पो !’ दिमागमा अर्कै विम्ब पो ठिङ्ग उभियो ।

किताबको नाम सुनेरै अत्ताल्लिएकी निरुपाले पछि आफैं त्यो कथा सङ्ग्रह पढिन् । एकपटक होइन, तीन पटक । एउटै थलोमा बसेर । त्यसैबाट प्रभावित भएर जन्माइन्– ‘तिम्रो लोग्ने र म’ !

“पुरुषले ‘तिम्री स्वास्नी र म’ लेख्न हुने, महिलाले ‘तिम्रो लोग्ने र म’ लेख्न किन नहुने ? मनमा यही प्रश्न सघन बनेपछि लेखेकी हुँ त्यो,” हाँस्छिन् उनी ।

‘तिम्रो लोग्ने र म’भन्दा अघि नै उनले कथामा खुट्टा राखिसकेकी थिइन् । स्नातक तह पढ्दा उनी डिल्लीबजारमा बस्थिन् । त्यहीँबाट ‘पुष्पाञ्जली’ पत्रिका प्रकाशन हुन्थ्यो । ‘पुष्पाञ्जली’मा प्रकाशित ‘नजुरेको साइनो’ नै उनको ‘डेब्यु’ कथा हो ।

‘तिम्रो लोग्ने र म’ कथाचाहिँ ०६८ मा ‘मधुपर्क’मा प्रकाशित भएको हो । पछि १३ वटा कथा समेटेर संग्रह प्रकाशित गरिन् र पुस्तकको नाम ‘तिम्रो लोग्ने र म’ शीर्षकथाबाटै छानियो ।

‘तिम्रो लोग्ने र म’ कथा प्रकाशित भएपछि ब्राजाकीले पुलकित हुँदै उनलाई टेलिफोन नै गरे, “तिम्री स्वास्नी र म’ प्रकाशित भएताका नै मैले सोचेको थिएँ, कोही महिलाले यस्तै शीर्षकमा लेख्ने आँट गरोस्, लेखोस्, अहिले आएर त्यो इच्छा पूरा भो ।”

ब्राजाकीको प्रतिक्रिया सुनेर उद्विग्न भइन् उनी ।

‘तिम्रो लोग्ने र म’ लेखेपछि होच्याउनेहरू पनि ननिस्किएका होइनन्– कथा त ठीकै रहेछ, शीर्षकचाहिँ किन चोरेको नि !

० ० ०

कुनै समय थियो, उपनामबाट चिनिने । बाबु नै छद्मनामबाट पचिरिचत थिए । त्यसैले ढुङ्गाना थरलाई झिकेर प्रसूनको फुर्को झुन्ड्याइन् । त्यो पनि शब्दकोषबाट शब्द खोजीखोजी ।

उनलाई आफू कहिल्यै पूर्ण लागेन । केही अपुग, केही अभाव खट्किइरह्यो । त्यसो त मानव स्वयं पूर्णताका परिचायक पनि होइन । यसैलाई चित्रण गर्ने गरी नामभन्दा पछाडि प्रसूनको फुर्को झुन्ड्याएकी हुन् उनले ।

“कविता, कथामा म प्रसून अर्थात फक्रनै लागेको फूल हुँ नि,” विम्बमा आफैंलाई बुझाउँछिन् उनी ।

धिमा गति नै सही, उनी साहित्यमा बाटो नबिराई हिँडिरहेकी छन् । उपन्यासको पाण्डुलिपि सकेको दुई वर्ष भयो । प्रकाशन गर्न हतार पनि गर्दिनन् । किन त ? सपाट उत्तर छ, “मलाई कहीँ पुग्नु नै छैन, कसैलाई उछिन्नु छैन । कतै जानु, कतै पुगेर थकाइ मार्नु, सुस्ताउनु भए पो हतार गर्नु । कछुवा–हिँडाइ नै सही, हिँडिरहन चाहन्छु म ।”

त्यसो त उनी आफूलाई शान्त तलाउ भन्न रुचाउँछिन् । न अचाल न छाल, आफ्नै लयमा तरङ्गित छिन् उनी ।

० ० ०

पछिल्लो समय नारीवादका नाममा अहंकारवाद मौलाएको छ भन्छिन् प्रसून । पुरुषलाई होच्याएर, दपेटेरैमात्रै अधिकार स्थापित हुँदैन भन्ने तर्कमा उभिँदै आएकी छन् उनी ।

त्यसो त समाज–लेखनमा ‘नारीवादी’ छवि बनाएका कतिपय अघिकारकर्मी लेखिकाहरू आफैं पीडक बनेका दृष्टान्त पनि छन् उनीसँग । 

“समाजमा अन्याय छ, अत्याचार छ, बग्रेल्ती पीडा पनि छन् । तर, आफैं पीडक हुँदाहुँदै पीडाको पैरवी गर्नुको के उपादेयता ?” उनले प्रश्न उठाउने यही प्रवृत्तिमाथि हो ।

समाज–सत्तामा बराबरीको प्रसंग पेचिलो बन्दै गएको छ । तर, यो एकले अर्कालाई निषेध, उषेध गरेर सम्भव छैन । “बराबरीको कुराचाहिँ उठाउँछन् तर महिलाहरूले आफूभन्दा आर्थिक, सामाजिक, शैक्षिक हिसाबले दुर्बल पुरूष स्वीकार्न सक्दैननन्, आफूभन्दा सबल नै खोजिरहेका, रोजिरहेका हुन्छन् । यस्तो ‘प्याराडक्स’ रहुन्जेल, लैङ्गिक समानताको बहस निरर्थक र निस्कामप्रायः हुन्छ,” अन्तिममा थप्छिन् उनी ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC