– रवि मिश्र
आदिकवि भानुभक्त आचार्य रामायण सुन्दरकाण्डमा लेख्नुहुन्छ -
"तर्छु क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी ।
श्रीरामका चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी ।।
भन्छन् वीरहरूलाई ताहिँ हनुमान हे वीर हो ! पार तरी ।
सीताजीकन भेट्छु म अहिले जान्छु बडो वेग गरी ।।"
भानुभक्तले हनुमानजीको बारेमा स्पष्टै लेख्नु भा'छ- उनी उम्दा सेवकदेखि पराक्रमी लडाकुसम्म थिए । लङ्कामा माक:फुइँया देखाउनेदेखि अयोध्या राज्यको पुनर्संरचनासम्ममा उनको देन अतुलनीय छ । उनी द्रोणाचल पर्वतका बुटीले लक्ष्मणको उपचार गर्ने वैद्यदेखि रामको अघि छाती चिरेर देखाउने शल्य चिकित्सकसम्म थिए ।
तर, आदिकविज्यूले त्रेताजुगका हनुमानजीको मात्रै चर्चा गरेर आधीमात्रै हनुमान चालिसा वर्णन गरेको हुँदा यो सिङ्गो मनुस्से कलिजुगका हनुमानजीको चालिसा वर्णन गरेर हनुमान चालिसा कहन चाहन्छ ।
भानुभक्तीय रामायणका ‘रघुनाथ’ त्रेताजुगका श्री रामचन्द्रजीका परमभक्त हनुमानजीहरु कलीजुगमा समेत प्रख्यात छन् । उनको असीम रामभक्तिले उनी रामचन्द्रजीजत्तिकै चर्चित छन् । उनी यस्ता भक्त थिए रे कि आफ्नो छाती च्वार्रर चिरेर सीताराम देखाउन सक्थे रे ! लक्ष्मणजीको उपचारका निम्ति पूरै द्रोणाचल पर्वत बोकेर ल्याउँथे रे ! उनले सबकुछ त्यागेर आफ्नो पूरै जिन्दगी श्री रामचन्द्रजीका सेवामा लगाए । त्यसबखत श्री रामचन्द्रजी खुसी भएर हनुमानजीलाई ‘तिम्रा क्लोनले डाँडाकाँडा ढाकून्’ भनेका रै'छन् के हो, अचेल जताततै हनुमानजीहरु फैलिएर उधुम छ ।
अचेल समाजका गौंडा-गौंडामा हनुमानजीहरु गदामा जलप लगाउँदै बसिरहेका देखिन्छन् । कोही रुख चढ्दै भेटिन्छन् । कोही श्रीरामका तलुवामा खाक्सी दल्दै भेटिन्छन् । कोही क्षार समुद्र तर्न 'अन योर मार्क गेट सेट...' को पोजिसनमा बसेर श्रीरामचन्द्रजीबाट 'गो'को आदेश पर्खिरहेका हुन्छन् । कोही पुच्छरमा कपडा बेरेर पेट्रोलको ड्रममा चोप्दै हुन्छन् । कोही पुच्छर सल्काउन सलाई कोर्दै हुन्छन् । कोही सल्काउने ठाउँको खोजीमा झ्याल, ढोका टुँडाल, दलिन नियाल्दै हुन्छन् । अचेल हनुमानजीहरुको सक्रियता बढेको देख्दा यो मुलुक फड्को मारेर लङ्कै भइसकेछ कि जस्तो पो लाग्छ । लङ्कामा नि समृद्धिको खुबै चर्चा हुन्थ्यो रे ! यता नि चर्चा चल्न थाल्या छ ।
उहिले त्रेताजुगका हनुमानजी र अहिलेका हनुमानजीको शारीरिक बनोटमा केही फरक छ । पहिलेका हनुमानजीहरुका लामा पुच्छर हुन्थे । अहिलेका हनुमानजीहरु आफैं ‘रघुनाथजी’का पुच्छर हुन्छन् । पहिलेका हनुमानजीहरु द्रोणाचल पर्वत बोक्थे । अहिलेका हनुमानजीहरू पार्टीका झन्डा बोक्छन् । परिआए आफ्ना रघुनाथ नेताजीलाई नै बोक्छन् । रघुनाथ नेताज्यूलाई केही बिमार आए वा अनिष्ट भए सञ्जीवनी बुटी खोज्न द्रोणाचल जाँदैनन् बरु खुद ‘रघुनाथजी’का इच्छा र आज्ञाले रघुनाथजीलाई बोकेर दिल्ली, थाइल्यान्ड वा अमेरिका कुद्छन् । उहिलेका हनुमानजी बानर प्रजातिका थिए तर व्यवहार मान्छेको देखाउँथे । अहिलेका हनुमानजीहरू ‘नर’ प्रजातिका हुन्छन् तर व्यवहार बाँदरको देखाउँछन् ।
हनुमानजीहरुको बढ्दो हनुसंख्यासँगै अचेल रामचन्द्रजीहरुको पनि बिगबिगी बढेको छ । हनुमानजीहरुका भक्ति र तपको प्रभावस्वरूप अचेल एकसेएक रामचन्द्रजीहरुका औतारहरु प्रकट भइरहेका छन् । राजनीति, प्रशासनदेखि संघसंस्था, शिक्षा, स्वास्थ्य क्षेत्र, पत्रकारिता, कला, साहित्यसम्म जताततै हनुमानजी र रामचन्द्रजीहरुको जगजगी देख्न सकिन्छ । जताततै अहिले रामलीला र रामचन्द्रजीका भक्तहरुको हनुलीलाले उत्पात छ ।
उहिले हनुमानजीहरु श्रीरामका मात्रै भक्त हुन्थे । अचेल रावणका पनि भक्त हुन्छन् । अझै भनुँ भने अहिले रामभक्त हनुमानभन्दा रावणभक्त हनुमानहरु ज्यादा देखिन्छन् । त्यसो त अचेल रामैका पनि १० टाउका देखिन्छन् । टाउकै १० नभए नि १० जिब्राचाहिँ पक्का । एकै श्रीरामका १० कुरा । अचेल राम र रावणका भेद सकिएका हुन् कि खुद रामले नै रावण अवतार लिएका हुन्— ‘कन्फ्युज’ छ ।
अचेलका हनुमानजीहरु बडा अनौठा प्राणी लाग्छन् । उहिलेका हनुमानजीको जस्ता पुच्छर त हुँदैन हुँदैन । तिनमा बुद्धि-विवेकसमेत हुँदैन । उहिलेका बाँदरमा मान्छेको जस्तै बुद्धि र विवेक पलाएर तिनी हनुमानजी बने । अहिलेका मान्छेहरुमा बाँदरमा जस्तै बुद्धि र विवेक भएर हनुमानजी बने । हनुमान बन्न कि त बाँदरको मानवीकरण हुनुपर्दो रहेछ, कि मानवको बाँदरीकरण । कलिजुगे हनुमान हुन गृहस्थीले संन्यासी हुन टुप्पी काटेजस्तै उसले मान्छेले आफूभित्रको मानवीय स्वभाव काट्नुपर्दो रहेछ । अनि आफ्नो खोपडीभित्रको दिमाग भन्ने वस्तुलाई मिल्काएर ‘ख्वामित’को दिमागअनुसार चल्नुपर्ने रहेछ । त्यसपछि मानवले ‘हनुमानत्व’ प्राप्त गर्दो रहेछ ।
हनुमानत्व प्राप्त भएसि आँखाले देखेका र मनले बोध गरेका सबै कुरा भ्रम हुँदो रहेछ । संसारका एकमात्र सत्य आफ्ना श्रीरामजी हुनुहुँदो रहेछ । उहिलेका हनुमानजी पहाडै बोक्दा नि फुर्ती लाउँदैनथे । अचेलका हनुमानजीहरु जाबो झन्डा बोक्दा नि अरुलाई मान्छे गन्दैनन् ।
हनुमानजीहरुमध्ये पार्टीका हनुमानजीहरु सबैभन्दा विशिष्ट श्रेणीका हनुमानजी हुन् । लाग्छ– उनीहरूले नै उहिलेका हनुमानजीले पहाड थामेझैं यो मुलुक थामेका छन् । उनीहरुको सोचाइमा उनीहरुभन्दा फरक विचारका, उनीहरुले भन्दा फरक श्रीरामजी मान्ने, सबै पृथ्वीका भार हुन् । उहिलेका हनुमानजीले बोकेका ठूलो गदाजस्तै । गदाकै कुरा गर्दा नि उहिलेका र अहिलेका हनुमानमा फरक छ । उहिलेका हनुमानजी गदा बोक्थे, अहिलेका गधा ।
हनुमानत्व प्राप्त गरेसि कालोलाई कालो भन्नु हुन्न— यदि श्रीरामजीले त्यसलाई कालै हो भन्नुहुन्न भने । सेतोलाई सेतो हो भन्नु हुन्न यदि श्रीरामजीले त्यसलाई सेतै हो भन्नुहुन्न भने । यदि श्रीरामजीले कालोलाई सेतो भन्नुभो भने त्यो कालो हैन, सेतै हो । फेरि सेतोलाई कालो भन्नुभो भने त्यो सेतो हुन्न, कालै हो । हनुमान चालिसामा कालो र सेतो आँखाले देखेर छुट्टिँदैन, श्रीरामले भनेर मात्रै छुट्टिन्छ । श्रीरामको बोली यो चराचर जगतको अन्तिम सत्य हो । गलत त्यो बेलासम्म मात्रै गलत ठहरिन्छ, जब त्यसमा श्रीरामजीको संलग्नता देखिँदैन । सही त्यो बेलासम्म मात्रै सही रहन्छ, जबसम्म त्यहाँ श्रीरामजीको संलग्ना देखिन्छ, ठहरिन्छ । हनुमानजीको मान्यतामा सही र गलत, सत्य र झुट भन्ने कुरा श्रीरामजीको अनुकूलता र प्रतिकूलता हो ।
आधुनिक हनुमान चालिसामा एउटै चुनाव श्रीरामजी वा उनको फौजले जित्यो भने त्यो निष्पक्ष र धाँधलीरहित हुन्छ । त्यही चुनाव श्रीरामजी वा उनको फौजले हाऱ्यो भने त्यो घोर धाँधली हुन्छ । श्रीरामजीले कसैको अगाडि शिर झुकाउनु भो भने त्यो श्रद्धा वा महानता हुन्छ । उहाँइतरकाले परेला उँधो झारे नि लम्पसारवाद हुन्छ । श्रीरामजीले नदीनाला बेच्नुभो भने नि ‘चलाखीपूर्ण कूटनीति’ हुन्छ । अरुले प्राकृतिक स्रोतमा द्विपक्षीय हितका कुरा गरे नि राष्ट्रघात हुन्छ । श्रीरामजीहरु निरंकुशता र दमनका बाबजुद पनि ‘जनप्रेमी’ हुन्छन् । अरुले लोकतन्त्रकै लागि लडे नि जनविरोधी हुन्छ । श्रीरामजीको समर्थन पायो त सरकार रामराज्य, विरोध भयो त शिखण्डी । अरुले कमाए भ्रष्टाचार, श्रीरामजीले भ्रष्टाचार नै गरे नि आर्थिक क्रान्ति ।
उहिलेका हनुमानजीभन्दा अहिलेका जटिल छन् बुझ्नलाई । उपद्र्याहा पनि । उहिलेका हनुमानजीले लंका तहसनहस गरेथे, अहिलेका हनुमानजीले आफ्नै देश ! देशलाई हनुमानजीहरुबाट बचाऊँ । श्रीरामजीहरुलाई अयोध्या फर्काऊँ ।