site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिडियो कल 
Ghorahi CementGhorahi Cement

– अनिता लामा 


हेल्लो !
हेल्लो कान्छा !
सञ्चै छौ ?!
सञ्चै छु, 
त्यहाँ कस्तो छ ?
सबैलाई ठीक छ नि ?!
ठीकै छ, । 
म भाइसँग भिडियो कलमा छु—

सपनाहरूको चाङ लिएर 
जिम्मेवारीको भ्वाङ टाल्न 
जब तिमी हानियौ नि परदेश
ओहो ! देशको नकुरा गरौं
अन्यथामा असाध्यै जुट्ने 
तर जात, धर्म र भूगोलमा खुशीले फुट्ने 
थाहा नै छ, यी चल्तीको नकुरा गरौं

Agni Group

आऊ !
तिम्रो कुशलै कुशलताको मंगल गाउँदै
दुवै आँखामा घडा जमाएर बसेकी
आमाको कुरा गरौं ।
मुटुमा सूर्य, चन्द्र, गोलाद्र्ध 
सबै सम्हालेर बाबु यहीँ त छ
भन्दै तातो हत्केलाले 
छाती सुम्सुम्याउँदै बसेका बुबाको कुरा गरौं ।
कान्छा ! नदेखाऊ मलाई 
अट्तैन यो स्क्रिनमा विशाल समुन्द्र 
देश, परिवार, रहनसहन टाढिएको झोंकमा
हामी हाँसेको देख्न
तिमीले हाँसेको ख्याउटे हाँसो म बुझ्दछु
एक झुल्को नै सही– 
तिमी नै देख्न पाइरहोस् भन्ने आह्वानमा
त्यो आकाश भेद्ने टावरको हैकम हेर्नु छैन मलाई

त्यसैले,
नदेखाऊ टावर, ब्रिज, क्लब, सडकका अनुशासन
अव्यवस्था, अविकास र अस्तव्यस्त नै सही
यहाँको माटो, पानीले दिने माया 
कम्तीमा कलुषित र कुपोषित छैन
यसकारण सान्त्वना दिँदैन हामीलाई
त्यो निर्जीवताले । 

Global Ime bank

सुन त कान्छा !
सधैं तिमी खोज्नेहरूले
जतातता तिमी सोध्नेहरूले
फलोस्, फुलोस् उसलाई केही नहोस्
दुःखको मेसै नहुने गरी
खुशी र हाँसो भागमा परिरहोस् भन्दै 
बाबु, कान्छा, भाइ, छोरू भनेर
तिमीलाई दिइरहने 
ती सबै–सबै मायाहरूको बारेमा 
आऊ कुरा गरौं । 

पोहोर चैते बतासले घरको छानो उडाउँदा
बिजुली चम्केको, चट्याङ पड्केको
डरलाग्दो आकाशमुनि
आमाको काखमा हामी गुजुल्टा परेका थियौं
आऊ डरको घेरामा शक्ति बनेको
त्यो जेलिएको मायाको कुरा गरौं ।
‘अर्को साल ढलान गरूँला’
‘यो पाली ऋण उतारूँला’ 
‘दिदीबहिनीको बन्दोबस्ती मिलाउँला’
‘आमा, बुबालाई सुखको दिन ल्याउँला’

भाइ !
तिम्रा सपनाको यी बेलिबिस्तार चाङ 
तिम्रो कदभन्दा होचो हुन्जेल
नयाँ सपनाका चाङ अग्लिसक्छन्
तिम्रो जीवन, जवानी र समयले
त्यहाँका चौडा सडक नाप्दै
हज्जारौं माइल स्पिड कुदिसक्छन्
सपनाका चाङ कति भ्वाङ पर्छन्
कति थपिन्छन्, कति पुरिन्छन्
लेखाजोखाको ‘फायल मास्टर’ नबन बाबु
हड्डी घोटेर सपना टुंगिँदैन 
आऊ हामी टुंगिने आयुको कुरा गरौं
सबैको दीर्घायुको कुरा गरौं । 
‘जब देशबाट बाहिरिन्छन् नि छोरो
तब देशप्रेमको कुरा गर्छन् ब्रो’
भन्ने तर्क कुल्चिन पनि 
आऊ ! तिमीजस्तै अधुरो सपनामा 
घोत्लिएको देशको कुरा गरौं 
तिम्रो, मेरो र देशको 
साझा सपनाको कुरा गरौं ।
हाम्रा यी कुराहरू पूरा गर्ने कुरा गरौं ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC