site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘मूर्तिमा छ कि मान्छेमा छ ईश्वर ?’
Sarbottam CementSarbottam Cement

“मूर्तिमा छ कि मान्छेमा छ ईश्वर ?,” दैलोभित्र पस्नेबित्तिकै मैले प्रश्न गरेँ ।

“मान्छेमै छ नि, नपत्याए हेर्नुहोस् त मैले लहरै भगवान खडा गरेको छु । र, खुुरुखुरु बेच्छु,” मुसुक्क हाँसे उनी ।

हम्मरको टुकटुके आवाज निष्प्राण तुल्याएर फेरि बोले, “आफूभित्रको ‘ईश्वर’ चिन्न नसकेर त हो मानिस भौँतारिने । ठम्याउन सके आफैँभित्र भेटिँदोरहेछ भगवान ।”

Prabhu Bank
Agni Group
NIC Asia

 ० ० ० 

पाटन वास्तु, धातु, काष्ठ, प्रस्तर मूर्तिकलाको आदिम चिनारी हो । तर, पछिल्लो समय यो भूकम्पको पनि जीवित संग्रहालय बनेको छ । भुइँचालाले चरचरी चिरा पारेका परम्परागत, मौलिक मुकाम । टेको लगाएर उभ्याएका खण्डहर घर । गजुर भत्किएका, टुँडाल खसेका र सरकारको सुस्ततालाई खिसिट्युरी गरिरहेका जिउँदा सांस्कृतिक धरोहरले ०७२ को भू–कम्पन ताजा गराइदिन्छ, सबैलाई ।

Global Ime bank

मूल सडकमा अड्याएर ठड्याएको टेको पछ्याउँदै जाँदा पुगिन्छ, बाबुरत्नको मूर्ति पसल । ढुङ्गामा ‘रत्न’ खोज्ने भएकैले होला, पिताले नै राखिदिएछन् उनको नाम– बाबुरत्न ।

“अहिले त मूर्ति कुँद्दाकुँद्दै जीवनको फूर्ति निख्रियो, के जानौँ हजुर,” नेवारी लवजमा बोले– कान्छा छोरा त्रिरत्न ।

बाबुबाट नाममात्रै होइन, पेसा पनि विरासतमा पाएका छन् उनले । २९ वर्षदेखि ढुङ्गासँगको सिँगौरीले विश्राम पाएको छैन ।

“ढुङ्गामा छिनो नबजारे कसरी मुखमा माड लगाउनु हजुर ?,” प्रतिप्रश्न गर्छन् उनी । 

बज्राचार्य हुन् उनीहरू, रैथाने मूर्तिकलाका शिल्पी । ढुङ्गामा भगवानको आकृति बनाउँछन् र त्यसबाटै गृहस्थी चलाउँछन् ।

मुखमा दोहोरो मास्क । आँखा ढाक्ने चस्मा । टुक्.. टुक्.. एकनास ढुंगामा छिनो बजारिहेका थिए उनी । एक हप्ता भयो २० इन्चको ढुङ्गामा शिल्पी भर्न थालेको । तर अझै सकिने छाँट छैन । यो साइजको मूर्ति सक्न घटीमा पनि २० दिन लाग्छ । यो अवधिमा ढाडले धनुष बिर्साइसक्छ । पीडा आफ्नै छन् उनका ।

० ० ०

पाटन, सुन्धाराको धालाछेँ, यो फगत टोल होइन, कलाकौशलको अद्वितीय गाउँजस्तो लाग्छ ।

पाटन दरबार क्षेत्र– आन्तरिक एवम् वाह्य पर्यटकहरूको गन्तव्य पनि । त्यही दरबारक्षेत्रबाट पूर्वतिर सोझिएर ग्वार्कोतर्फ अघि बढ्छ, प्रतिमामार्ग ।

घरैपिच्छे प्रस्तरकलाको ‘प्रदर्शनी’ भएकाले होला गल्लीको नामै प्रतिमामार्ग राखिएको छ, शायद । त्यही टोलमा महाध्यभागमा छ त्रिरत्नको पसल ।

“त्यस्तै आठ वर्ष भयो, यहाँ पसल खोलेको । तर, पहिलाजस्तो बिक्री हुन छाड्यो । फेरि ढुङ्गा पनि भनेको बेलामा फेला पर्दैन,” कुराकानीको सुरूआतमै उनले पेसाका दुःख उधिने ।

२०३९ सालमा जन्मिएका उनी । जन्मिएको दश वर्षदेखि नै छिनो चलाउन थाले । आजसम्म आइपुग्दा २५ वर्ष व्यतीत भइसक्यो । “गर्भमै सिकेजस्तो लाग्यो । जान्ने हुँदा बायाँ हातमा छिनो र दायाँ हातमा हम्मर थियो,” अट्टहास गर्छन् उनी ।

सुरूसुरूमा मनग्गे आम्दानी हुन्थ्यो । दशकयता भने ढुङ्गा पाइन छाडे । सरकारले पाषाण उत्खनन् र पैठारीमा कडाइ गर्न थालेपछि संकट पर्न थालेको हो उनीहरूलाई ।

“फिटका हिसाबले गोदावरीबाट ल्याउँथ्यौँ । अहिले ढुङ्गा पाइनै छाड्यो । यो लहरै स्टोन कार्भिङका पसलहरू थिए । तर, अहिले सबैले छाडेर अरू नै पेसा व्यवसाय गर्न थालेका छन्,” औँला तेर्स्याएर टोल देखाउँछन् उनी ।

उमेर छँदा बाबु निकै खटे । दाजु सुवर्णको लगाव त्यस्तै थियो । उमेर घर्किंदै गएपछि बाबुको दृष्टि ओरालो लाग्न थाल्यो । उनी कोरा काट्नमात्रै सक्छन् । र, बिँडो थाम्ने जिम्मेवारी त्रिरत्नको भागमा परेको छ ।

“बा र दाइ कोरा काट्नुहुन्छ । उहाँहरूले आकार दिएको मूर्तिमा मसिना बुट्टा कुँद्ने र साजसज्जाको कामचाहिँ म गर्छु,” कामको फेहरिस्त बताउँछन् उनी ।

कुराकानी गर्दैगर्दा उनको अघिल्तिर २० इन्च उचाइको गणेशको मूर्ति थियो । र, उनी त्यसमाथि जादुयी शिल्पी फिजाउँदै थिए । करिब २० मिनेटको अन्तरालमा उनले सिसाकलम र कम्पासको सहायताले गोलो घेरा बनाउँदै पाँचवटा बुट्टा कुँदे । 

“बुट्टाले लय समातेको छ कि छैन भनेर सुक्ष्मातिसुक्ष्म ढङ्गले विचार पुर्‍याउनुपर्छ,” केहीबेरअघि कुँदी भ्याएको बुट्टा देखाए उनले ।

सजिलो छैन बुट्टा काट्न । कहिले छिनो चिप्लिएर हातमा लाग्छ । “यी अस्ति भर्खरै आफैँले हानेँ,” हातको गहिरो चोट देखाए उनले । कोरा काट्दा त ढुङ्गा उछिट्टिएर आँखामै चोट लाग्छ । मूर्ति काट्दा उडेको छारोधूलोले गम्भीर रोग निम्त्याउने खतरा उस्तै छ ।

“सानैदेखि यसमै हात बसिहाल्यो । जस्तै भए पनि बाबुबाजेको पेसा,” पितृ सीपप्रति कृतज्ञ छन् उनी ।

० ० ०

पसल पत्थर–कलाको पुख्र्यौली संग्रहालय बनेको छ । शिव–पार्वती, राधा–कृष्ण, गृणेश, शिव–लिङ्गका आदिम कौशल उनको पसलको विशेषता हुन् । 

चाडपर्वताका त मूर्ति किन्न आउनेको भीड नै लाग्छ । त्यसो त पाटन मूर्तिकलामा ख्याति कमाएको ठाउँ । वास्तुकौशल खोज्नेहरूको गन्तव्य हुने नै भइहाल्यो । त्यसबाहेक पाषाण–कला पारखीहरू पनि पाटन नपुगी चित्त बुझाउँदैनन् ।

“चाडवाडको बेलामा त मासिक डेढ लाखसम्मको व्यापार हुन्छ । अघिपछि पनि एक लाख घट्दैन,” आम्दानीसमेत खुलासा गर्छन् उनी ।

त्यसो त उनको पसलमा डेढ लाख रुपैयाँ एउटै मूर्तिको पर्छ । “यो तीन फिटको शिव लिङ्ग बिक्री भएर थाइल्याण्ड जाँदैछ, यसको नेपाली रुपैयाँ डेढ लाख पर्छ,” हातले इसारा गरे उनले ।

हिन्दू देवी देवताको मूर्ति कुद्न तुलनात्मक रूपमा सजिलो छ । आफ्नो कला पस्कन पाइन्छ । तर, बुद्धको मूर्ति कुँद्न भने पापड नै बेल्नुपर्छ । 

“मूर्तिको साइज सुहाउँदो हात, गोडा, शीर आँखा कुद्नुपर्छ । ग्रन्थले निर्दीष्ट गरेअनुपातकै साइजमा हात–आँखा बनाउनुपर्छ । जस्तो पायो त्यस्तै कला मिसाएको मूर्ति ग्राहकले रोजाइमा पर्दैन,” फिस्स हाँस्छन् उनी ।

पसलमा विदेशी आगन्तुक पनि मूर्ति किन्न आउँछन् तर उनीहरू नेपाली ग्राहकजस्ता सजिला भने हुँदैनन् । फाइन आर्ट नै मन पराउँछन् विदेशी ग्राहक ।

“यही नै मूर्ति किन्छु भनेर आउँदैनन् । सौन्दर्यले तान्यो भने जुनसुकै मूर्ति किन्न सक्छन् उनीहरूले,” त्रिरत्न बताउँछन् ।

सौन्दर्यपरक विम्ब । वास्तुकला । शिल्पी । विदेशी आकर्षित गर्ने कडी भएको उनको बुझाइ छ ।

विशेषतः बुद्ध र केही हिन्दू देवी देवताका मूर्तिमा आँखा लगाउँछन्, त्यसबाहेक हामीले मूर्ति कुँदेको अघाउञ्जेल हेर्छन्,” त्रिरत्नको अनुभव छ ।

० ० ०

पाषाण–कलामा मात्रै विशेषज्ञता झल्कँदैन, औपचारिक शिक्षा छ उनको । स्नातक पढ्दै थिए तर मूर्ति–कलाको कामले फुर्सद नदिएपछि प्रतिमा मार्गमा बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म छिनो चलाउन थाले उनी ।

विगतमा ढुङ्गाको काम गर्ने भनेर होच्याएको कटु अनुभवसमेत छ उनीसँग । तर, पछिल्लो समय सबै पेसाले सम्मान र पहिचान पाउँदै गएको अनुभूति गर्छन् उनी ।

“प्रस्तर कलामा नेपालको कौशल अन्तर्राष्ट्रिय तहमा फिँजिदै थियो तर, यता ढुङ्गा पाइनै छाड्यो,” यति भनेर कुराकानी बिटमारे उनले ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement