site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालीमा जिब्रो फट्कार्दै विदेशी
Sarbottam CementSarbottam Cement

विश्व भूमण्डलीकरणसँगै संसारभर फिँजिएका नेपालीलाई अन्तर्राष्ट्रिय भाषामा आफ्नो उपस्थिति देखाउन अंग्रेजी बोल्नु अनिवार्यजस्तै भइसकेको छ । त्यसैले त पछिल्लो समय अग्रेजी भाषाप्रति मोह बढेको छ ।

तर, विदेशीहरूमा भने नेपाली भाषाप्रति आकर्षण छ । 

मंगलबार मध्याह्न शान्त थियो प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस । कोठा नम्बर ८ मा गुरूङ सुशान्त नेपाली भाषा पढाउँदै थिए विदेशीहरुलाई । उनको कोठा पार गरेर भर्‍याङतिर अघि बढ्नेबित्तिकै पिठ्युँमा झोला बोकेका विदेशी अनुहारका दुई युवतीसँग जम्काभेट भयो । उनीहरू छिँडीतिर ओर्लंदै रहेछन् । मुसुक्क हाँस्दै हात जोडे र चिनियाँ लवजमा बोले– “नमस्ते ! सञ्चै हुनुहुन्छ ?”

Prabhu Bank
Agni Group
NIC Asia

अर्को सिँढी पुगेर बायाँतर्फ मोडिँदै गर्दा पुस्तकालयको आडैमा भेटिए, दक्षिण कोरियाका स्योङ्गबोक ली ।

झन्डै एक वर्षअघिदेखि काठमाडौँमा बसेका उनको एकमात्र ध्येय रहेछ– नेपाली सिक्ने ।

Global Ime bank

तर, उनी विश्वभाषा क्याम्पसमा भर्ना भएका छैनन् ।

“उसो भए किन आएको त ?”

“श्रीमतीलाई सहयोग गर्न, मेरी श्रीमती भित्र कक्षामा पढ्दै हुनुहुन्छ,” मज्जाले पो नेपाली बोले उनले ।

म्याकमा आँखा दौडाउँदै नेपाली शब्द खोजिरहेका थिए उनी । कुनै शब्द नबुझे गुगल ट्रान्सलेटको सहयोग पनि लिँदा रहेछन् । 

बारम्बार प्रयोग हुने र दैनन्दिन चाहिने कोरियन भाषाको नेपाली अनुवादको पीडिएफ फाइल नै राखेका रहेछन् मोबाइलमा । त्यसलाई पन्छाए कुरा गर्न  थाले । 
शुद्ध उच्चारणको कडी बातचित नै हो । समय किन खेर फाल्थे र उनी !

दक्षिण कोरियाको राजधानी सोलका उनीहरू एक वर्षदेखि काठमाडौँमा छन्, नेपाली सिक्नकै लागि । श्रीमतीकै सान्निध्यताले होला, स्योङ्गबोकले नेपाली भाषा लेख्न, बोल्न र पढ्नसमेत जानेछन् । 

बिहान साढे ११ बजेदेखि १ बजेसम्मको कक्षा । श्रीमतीलाई पर्खिरहेका रहेछन् उनी । तर, उनी फुर्सदमा थिएनन् । इन्टरनेटको माध्यमबाट नेपाली भाषा खोजिरहेका थिए र नयाँ शब्द फेला परे कापीमा लेखिहाल्थे । बोल्नजस्तो सजिलो कहाँ हुन्थ्यो लेख्न । “नेपाली लेख्न गाह्रो । सकिँदो रहेनछ,” शिशु बालकको झैँ लाग्ने तोते लवज थियो उनको ।

नेपालीको दुःखले भाषा सिक्न कर लगायो
६० को दशकदेखि नेपालीहरु रोजगारीको सिलसिलामा कोरिया जाने क्रम बढ्यो । त्यही बेलादेखि स्योङ्गबोक लीको परिवारसँग नेपालीको बसउठ बाक्लियो । जस्तै विपद्मा मुस्कुराइ रहने र सङ्लो मनका नेपाली देखेर सुरूमा त अचम्मित भए । सुरूसुरूमा एकाध त्यस्ता होलान् लागेको थियो तर जतिसँग सङ्गत बढ्यो, ती सबै समान प्रकृतिका भेटिएपछि नेपालै घुम्न आएका रहेछन्, स्योङ्गबोकको दम्पत्ति ।

“नेपाली सफा मनका छन्, कोरियन यस्ता छैनन्, खुसी भए पनि बताउन जान्दैनन्,” एकएक गरी भाषा मुखारु बनाएका, निकै गाह्रो गरी बोले तिनले ।

नेपालबाट बर्सेनि हजारौँको संख्यामा काम गर्न जान्छन् । भाषा नबुझ्दा निकै मर्कामा परेका छन् नेपाली कामदार । नेपाल आएको बेला भाषा सिक्न पाइयो भने आफ्नो देश फर्किएर आपत्विपद्मा परेका नेपालीलाई मद्दत गर्न पाइन्छ । भाषा सिक्नुको उद्देश्य यही रहेछ उनीहरूको । र त आफू जन्मे–हुर्केको परिवशभन्दा माइलौँ टाढाको लिपी सिक्न मरिहत्ते गर्दैछन् उनीहरू ।

कसरी हाँस्न सक्छन् नेपाली ?

नेपाली भाषा सिक्ने हुटहुटी छ तर सिक्न सजिलो छैन । त्यस्तै गाह्रो पर्‍यो बुझ्न नेपालीको स्वभाव ।

जताजतै फोहोर छ । टुकुचाको दुर्गन्धले विश्वभाषा क्याम्पसमा समेत नाक नथुनी बस्न सकिँदैन । धुवाँधुलो उस्तै । कसरी हाँस्न सकेका होलान् नेपाली ? उनलाई आश्चर्य लागेको यही हो ।

“नेपाली त हिमालको देशका मान्छे तर मरुभूमिबासीजस्तै पानी किनेर तिर्खा मेटाउँदा रहेछन्,” हाँस्न पो थाले स्योङ्गबोक ।
“नेपालीको दुःख सम्झिएर मलाई नै पीर लाग्यो,” उद्विग्न देखिए उनी ।

जस्तै दुःखमा नेपाली हाँस्छन् भन्ने सोलमै अनुभूत गरेका रहेछन् उनले । दश–बाह्र घन्टा फार्ममा काम गर्नेको पनि कहिल्यै मुख अँध्यारो हुँदैनथ्यो ।
“यहाँ त ठुल्ठूला हिमाल रहेछन् । त्यही हिमालले हास्न सिकायो कि ?,” रोकिई रोकिई बोले पनि लखसमेत काट्छन् उनी । 

यहाँका धनी बाँड्न जान्दा रहेनछन्

कोरियामा नेपाली गरिब छैनन्, दुःख पनि छैन । फोहोर र दुर्गन्ध पनि भेटिँदैन तर कोरिया र नेपालमा एउटा कुराको अचम्मको समानता रहेछ । नेपालका धनी बाँड्न जान्दा रहेनछन् । तिनै गरिबको रकम निचोरेर धनी भएकाहरू गरिबलाई बाँड्दा रहेनछन् । कोरियामा पनि ठीक यस्तै समस्या छ । त्यहाँका धनी पनि आफैँमात्र कुम्ल्याउन पाए हुन्थ्यो ठान्छन् । स्योङ्गबोकले पहिल्याएको कुरा हो यो ।

“धनीले कमाएको रकम समाजलाई नदिने, गरिबलाई नदिने हो भने देश कहाँ उँभो लाग्छ र ?,” अलिअलि अंग्रेजी, केही कोरियन र अधिकांश नेपाली शब्दको सहायतामा प्रश्न गर्छन् उनी ।

“यही अव्यवस्थाले होला कोरियामा मेरा थुप्रै नेपाली साथी छन्, प्रदीप, दिनेश आदि । तर, ती नेपाल आउनै मान्दैनन् । बिहान ८ बजेदेखि राति दश बजेसम्म १४ घन्टा खट्न तयार छन्, दुःख गर्न खुसी हुन्छन् । तर नेपाल जाऊँ भन्दा हुँदैन भन्छन्,” उनले दुखेसो पोखे ।

त्यसको कारण पनि नेपालै आएर पत्ता लगाए उनले– यहाँ त रोजगारी नै नपाइने रहेछ । बन्द हड्तालमात्रै भइरहँदो रहेछ । 

“कोरियामा कार्यरत नेपालीको परिवारको के हाल होला,” आफैँ तरङ्गित हुँदा रहेछन् उनी ।

नेपालमा बसेर उनले भाषामात्रै सिकेका छैनन् । मसिनोसँग समाजसमेत पढेका छन् । कोरियामा दश–बीस वर्ष काम गर्‍यो भने जीवनको सुरक्षा हुन्छ । मजाले जिन्दगी निर्वाह गर्न सकिन्छ । तर, नेपालमा ३० औँ वर्ष काम गर्‍यो, काम छाडेको भोलिपल्ट भोकै पर्न सकिन्छ । यहाँको रोजगारीको अवस्थाबारे स्योङ्गबोकले गरेको अध्ययन हो ।
० ० ०
करिब ३० मिनेटपछि स्योङ्गबोककी पत्नी उन्सुक आइन् । खररर्र बोल्दिरहिछन् नेपाली । कहिलेकाहीँ नेपाली नै भन्ठानेर सुस्मिता नेपाल शिक्षिकासमेत झुक्किनुहुन्छ । मंगोलिन बोली, प्रष्ट उच्चारण । कोरियन महिला हो भनेर धेरैलाई पत्याउनै मुस्किल पर्छ ।

“नेपाली जनजीवन र संस्कृति मन पर्छ । अझ हिमालहरूले त लोभ्याउँछन् मलाई,” नेपाली सिक्नुको तात्पर्य बताइन् ।

तर, नेपाली भाषा सिक्न सजिलो छैन । कोरियन र चाइनिजहरूलाई कखरा सिक्नसमेत वर्षौं लाग्न सक्छ । कोरियन लिपीमा आधा र संयुक्त अक्षरको प्रयोग नै हुँदैन । अक्षरको होइन, जीवनकै नयाँ नियम सिकेको आभास पो भइरहेको छ उनलाई ।

यही फेब्रुअरीमा विश्वभाषामा भर्ना भएकी हुन्, पहिलो सेमेस्टरमा । तर, उनी राम्रैसँग बोल्न, लेख्न जान्दछिन् ।

कसरी ?

“भूकम्पअघि पनि हामी नेपाल आएको थियौँ । र, कीर्तिपुर क्याम्पस बसेर ८ महिना नेपाली भाषा लेखपढ गर्न सिकेकी हुँ,” सुनाउँछिन् उनी ।

अब तीन वर्ष नेपाल बसेर छैटौँ सेमेस्टर पूरा गर्ने र कोरिया नै फर्किएर त्यहाँ काम गर्ने नेपालीलाई मद्दत गर्ने ध्येय उनको पनि छ ।

१३६ जना छन् यो सिजनमा 
माघदेखि जेठसम्म पढाइ हुने यो सिजनमा १३६ जना विदेशी नेपाली भाषामा भर्ना भएका छन् । त्यसमध्ये अधिकांश कोरियन नागरिक छन् । “त्यस्तै ७० प्रतिशतको हाराहारीमा होलान्, विश्वभाषा क्याम्पस, वैदेशिक विभाग हेर्ने शाखा अधिकृत रीतादेवी निरौला बताउँछिन् । त्यसबाहेक नेवारीमा ८, संस्कृतमा २ र पाली भाषामा ४ जना भर्ना भएका छन् । तुलनात्मक रूपमा यो सिजनमा विदेशी कम भर्ना हुन्छन् । जुलाइ महिनामा भने बढी विद्यार्थी भर्ना हुन्छन् । गत वर्षको जुलाइमा २६३ जना भर्ना भएका थिए । 

एउटा मातृभाषा बोलि, लेखिरहेकालाई अर्को मातृभाषा लेखपढ गर्न गाह्रो हुने भइहाल्यो । तर, पढ्न निधो गरेर आएका विदेशी तीन वर्ष आनन्दपूर्वक पढ्छन् । र, निकै कम ड्रपआउट (कक्षा छाड्ने) हुन्छन् । पहिलो सेमेस्टरमा पढाइ, लेखाइ, सुनाइ, बोलाइ र दोस्रो सेमेस्टरदेखि भने श्रव्यदृष्यमाध्यमको समेत प्रयोग गरिने क्याम्पस प्रशासन बताउँछ ।

विश्वभाषाले एक सेमेस्टको ५०० डलर शुल्क लिने गरेको छ । भर्ना हुन विद्यार्थी स्वयम् उपस्थित हुनुपर्छ भने प्रत्येक सेमेस्टरमा १५ सय डलरको बैंक स्टेटमेन्ट देखाउनुपर्छ । त्यसपछि भर्ना प्रक्रिया सुरू हुन्छ र भिजा प्रक्रिया पनि क्याम्पसले नै गर्छ । 

सन् १९६१ मा स्थापना भएको हो, विश्वभाषा र १३ भन्दा बढी भाषा पठनपाठन हुन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC