ल्याक्मे फेसन विकमा पुगेर आफ्नो फराकिलो पहिचान बनाउन सफल तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला नेपालमा छिन् । भारतकै विभिन्न फेसन शो तथा सुटिङमा व्यस्त रहेकी उनी तेस्रोलिंगी भएर यति ठूलो फेसन शोमा पुग्ने पहिलो तेस्रोलिंगी मोडल हुन् । अधिकांश मोडलको सपना बन्ने गरेको यो फेसन शोमा पुग्न अञ्जलीले नुवाकोटदेखि काठमाडौंसम्म र काठमाडौंदेखि भारतसम्म गरेको संघर्ष तथा फरक लैंगिक पहिचान भएकै कारण भोग्नुपरेको विभेदबारे उनी लामासँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
आजकाल नेपालभन्दा पनि इन्डियामा धेरै बस्नुहुन्छ, हैन ?
पछिल्लो एक वर्षदेखि कामका कारण म इन्डियामै बस्दै आएको छु ।
विश्वकै प्रतिष्ठित ल्याक्मे फेसन विकमा पुग्नुभयो, कसरी भयो सम्भव ?
मुख्य कारण त मेरो प्रयास नै हो । अथक प्रयासकै कारण सम्भव भएको हो । मैले हिम्मत गरेको थिइन भने पक्कै पनि पुग्ने थिइन ।
कसरी ल्याक्मे फेसन विकमा जाने सोच आएको थियो ?
सबै जनाको सफलताका पछाडि धेरैको हात हुन्छ । मैले जेजति सफलता पाएँ, त्यसमा पक्कै पनि मेरा आफ्ना आफन्तको हात छ । तर, त्यो भन्दापहिला त मेरो प्रयास नै हो । म गर्नसक्छु भन्ने आँट, मेहनत र लगन चाहिँ आफैंमा हुनुपर्छ, त्यो आँट मैले पनि गरेँ ।
अधिकांश तेस्रोलिंगी त हामीलाई परिवारको साथ हुँदैन, समाजले नै विभेद गर्छ भन्छन्, तपाईंलाई चाहिँ परिवारको साथ थियो ?
सुरुआतको चरणमा त अरुलाई त गाह्रो हुन्छ भने हामी तेस्रोलिंगीहरुलाई त झन् गाह्रो हुने नै भयो । जब मैले सन् २००५ मा आफ्नो यौनिक पहिचान समाजलाई बताएँ, त्यो बेला मेरो पनि कोही थिएन । साथीभाइ, समाज र परिवार कोही पनि थिएन मसँग । मजस्तै साथी थिए र उनीहरुमात्रै थिए मसँग बोल्ने । मलाई कसैले सहयोग गर्दैन भनेर घरभित्रै बसेर कसैले सहयोग गर्दैन । म के गर्ने हो र के गर्नसक्छु पहिला बाहिर आउनुपर्यो, त्यसपछि मात्रै सहयोग गर्ने व्यक्ति भेटिन्छन् ।
सुरुमा आफ्नो पहिचान अरुलाई दिँदा मभोलि यो लेभलको मोडल बन्छु भन्ने थियो ?
पक्कै पनि थिएन ।
अनपेक्षित सफलता हो त्यसो भए ?
म नुवाकोटको विकट ठाउँबाट आएको व्यक्ति । मैले एसएलसी दिँदा टुकी बत्ती बालेर पढ्नुपथ्र्यो । स्कुल जान दुई घण्टा र फर्किन दुई घण्टा हिँड्नुपथ्र्यो । त्यस्तो विकट ठाउँबाट आएको हुँ म । अहिले पनि कति गाउँमा त फेसन र मोडलिङ भनेको थाहा पनि छैन । त्यस्तो ठाउँबाट आएको व्यक्ति हुँ म । जब म काठमाडौं आएँ मेरो हाइटको सबैले तारिफ गर्थे । मोडलिङ गर भन्थे । मैले विस्तारै यो क्षेत्रबारे बुझेँ र यो क्षेत्रबारे केही गर्न सक्छु भनेर मोडलिङमा प्रवेश गरेँ । काम गर्दैगएपछि आत्मविश्वास बढ्दै गयो । कोसिस गर्दै जाँदा आज यो ठाउँसम्म आइपुगेँ ।
सुरुका दिनमा कतिको सजिलो थियो ?
सन् २००९ मा म्यागेजिनका लागि कवर फोटो सुट गरेपछि मेरो मोडलिङको यात्रा सुरु भएको थियो । तर त्यसको दुई वर्षसम्म मैले केही पनि काम पाइन ।
तेस्रोलिंगी मोडल भनेर फरक नजरले हेर्थे कि समान व्यवहार हुन्थ्यो ?
विभेदको नजरले हेर्थे । कति ठाउँमा पाइसकेको कामबाट निकालिन्थ्यो । समान क्षमता भएका साथीहरुले काम पाउँदा मैले पाउँदिन थिएँ । कति शोबाट मलाई मेरो फरक पहिचानकै कारण रिजेक्ट गरियो । तर पनि मैले हिम्मत हारिन । निरन्तर कोसिस गरिरहेँ । जब मलाई अरुले रिजेक्ट गरेर विभेद गर्न थाले, त्यसले नै मलाई आत्मविश्वासी बनायो र बलियो बनाउँदै लग्यो । त्यो बेला मलाई जव विभेद हुन्थ्यो त्यो समय मेरो मनमा कुनै न कुनै दिन गरेर देखाउँछु भन्ने इख हुन्थ्यो ।
ल्याक्मे फेसन विक अधिकांश मोडलको सपना हो, तर सबै त्यहाँसम्म पुग्न सक्तैनन् । कसरी त्यति ठूलो सपना देख्नुभयो ?
जब म नेपालमा मोडलिङ गरिरहेको थिएँ, त्यतिबेला मेरा साथीहरुले तिम्रो हाइट र बडी स्ट्रक्चर राम्रो छ किन इन्टरनेशनल फेसन शोहरुका ट्राइ गर्दैनौ भनेर भनिरहेका थिए । त्यस्तो हौसलाले मलाई पनि ट्राइ गर्न मन थियो । तर मसँग त्यति धेरै पैसा पनि थिएन, स्ट्रङ नेटवर्क पनि थिएन र साथमा पैसा पनि थिएन । सन् २०१६ सम्म आइपुग्दा मैले नेपालमा जति गरेँ, म यहाँभन्दा माथि जाने ठाउँ छैन । त्यसपछि मैले सोचेँ इन्डियामा जाँदा मलाई भाषाको पनि समस्या हुँदैन । सन् २०१६ मा मैले ल्याक्मे फेसन विकमा अप्लाइ गरेँ तर भएन । अर्को वर्ष पुनः प्रयास गरेपछि मात्रै छनोट भएँ ।
इन्डियामा पनि नेपालमा जस्तो विभेद हुँदोरहेछ ?
तेस्रोलिंगीहरुलाई जहाँ पनि विभेद छ । तर भारतमा मेरो करिअर नै विश्वकै प्रतिष्ठित मध्येको एक ल्याक्मे फेसन विकबाट भयो । त्यसले गर्दा मैले यहाँजस्तो विभेद भएन । अहिले त्यहाँ मैले कामहरु पाइरहेको छु । सबैकुरा त भन्न मिल्दैन मैले पनि । तर विभेद कुनै न कुनै रुपमा छ । विकसित राष्ट्रहरुमा त भर्खर अधिकारका कुराहरु आएका छन् भने एशियाली देशमा त झन् विभेद हुने नै भयो ।
नेपालको तुलनामा बलिउडको मोडलिङमा के फरक पाउनुभयो ?
निश्चय पनि भारतको तुलनामा नेपाल सानो देश हो । यहाँको तुलनामा भारतमा धेरै अवसर पाइन्छ । भारतको मुभी र फेसन विश्वकै टप पोजिशनमा छ । त्यहाँ एउटा सानो अवर पाइयो भने पनि त्यो विश्वभर पुग्छ ।
जे सोचेर तपाईं बलिउड जानुभएको थियो, त्यो पाउनुभयो ?
मान्छे कहिले पनि सन्तुष्ट हुँदैन । सायद त्यो गुण ममा पनि छ । यहाँभन्दा धेरै राम्रो सफलता पाएको छु भन्ने लाग्छ ।
कामप्रति तिव्र इच्छाशक्ति र बलियो आत्मविश्वास भएका नेपाली कलाकार तथा मोडलले विश्वका जुनसुकै चलचित्र तथा फेसन उद्योगमा गएर काम गर्न सक्छन् ?
व्यक्ति स्वयम्मा भरपर्ने कुरा हो यो । आफूले काम गरिरहेको क्षेत्रमा ऊ कति पोख्त छ, यसमा कति ज्ञान छ भन्ने कुराले मुख्य भूमिका खेल्छ । म आफ्नो कुरा गर्दा पनि मैले अझै पनि धेरै सिक्न र गर्न बाँकी छ भन्ने लाग्छ । प्रतिस्पर्धाको कुरा गर्दा म आफ्नो बारेमाभन्दा विश्वको जुनसुकै फेसन शोमा गएर प्रतिस्पर्धामा उत्रिन सक्छु भन्ने लाग्छ । मेहनत गर्दै जाने हो, आत्मविश्वास बढाउँदै लैजाने हो ।
बलिउड गएपछि न्युज कभरेज र आर्थिक पाटोमा भने सन्तुष्ट हुनसक्नु भयो ?
आर्थिक पाटोका कुरा गर्दा अझै सन्तुष्ट हुन सकेको छैन । न्युज कभरेजत मैले धेरै राम्रो पाएको छु । सोचेभन्दा पनि धेरैभन्दा पनि हुन्छ । ल्याक्मे फेसन विकमा छनोट भएँ भने नेपाल र भारतमा म पहिलो तेस्रोलिंगी मोडलको रुपमा स्थापित हुन्छु भन्ने सोचेको थिएँ तर विश्वभर नै चर्चा भयो ।
ल्याक्मे फेसन विकले रातारात सेलिसिब्रेटी बनायो हैन ?
रातारात भन्ने शब्द प्रयोग गर्ने कि नगर्ने भन्ने हो । नेपालमा बसेर धेरै वर्ष संघर्ष गरिसकेको थिएँ ।
तर, तपाईंले नेपालमा गरेको संघर्ष त अधिकांशलाई थाहा थिएन भन्ने स्वीकार्नु हुन्न ?
हो । तर सबैको एउटा समय आउँछ । मलाई त्यो समय अथवा चर्चा ल्याक्मे फेसन विकले दियो । नोटिस ल्याक्मेबाट पाए पनि त्यसका लागि मैले लामो समय नेपालमै संघर्ष गरिसकेको थिएँ ।
न्युयोर्क, लण्डन र पेरिसका विश्वचर्चित फेसन शोमा जाने सोच छ कि, रहर पुग्यो ?
धेरै माथि जानुछ अझै । सबैका सबै इच्छा चहानाहरु पूरा हुन्छन् भन्ने त नहोला तर सपना नै नदेख्ने भन्ने अवश्य हुँदैन । म आशावादी र कोसिस गर्ने व्यक्तिमा पर्छु त्यसैले अझै माथि जाने प्रयासमा छु । सुरुमा नायक बन्ने सपना पालेको व्यक्तिलाई नायक बनिसकेपनि नम्बर वन नायक भन्ने रहर भएजस्तै हो । त्यो रहर ममा पनि छ । वल्र्डकै सुपर मोडल बन्ने रहर मलाई पनि छ ।
त्यसका लागि कहाँकहाँ प्रयास गर्दै हुनुहुन्छ ?
वल्र्डका टपटप फेसन विकमा हिँड्ने रहर साँचेर बसेको छु, त्यसका लागि प्रयास गरिरहेको छु । हेरौं कतिको सफल भइन्छ ।
बीचमा नेपाली चलचित्र ‘लाउरे’ मा काम गर्ने कुरा थियो । तर, पछि ड्रप गरेको कुरा सुनियो । किन ?
निर्माता सुनिल रावलले मलाई चलचित्रका लागि प्रस्ताव गर्नुभयो । मैले त्योसमय भर्खर ल्याक्मे फेसन विकमा काम सुरु गरेकी थिएँ । मलाई अभिनयमा खासै रुची पनि थिएन । मैले मेरा साथीभाइहरुसँग कुरा गर्दा अवसर हो, नयाँ अनुभव पनि हुन्छ गरन त भने । मैले १० दिनका लागि हो भने हुन्छ भनेँ । पछि उहाँहरुको चलचित्रको छायांकनको मिति सर्यो । मैले समय निकाल्न सकिन । त्यसैले त्यो प्रोजेक्ट छोडेँ ।
आगामी दिनमा चलचित्रमा अभिनय गर्नुहुन्छ कि हुन्न ?
चलचित्रमा आउने योजना नै त बनाएको छैन । अभिनयमा त्यती धेरै रुची पनि छैन । तर मैले निभाएको क्यारेक्टरले देश र समाजका लागि सकारात्मक सन्देश दिनसक्छ भने सोच्ने छु । तर, मैले हिरोइन नै बन्ने चाहना पालेर बसेको छैन ।
यो सम्भावना बलिउडमा झन् धेरै रहन्छ होला हैन ?
हो । बलिउडमा पनि मैले माथि भनेजस्तो रोल भएको खण्डमा काम गर्नेछु । तर नायिकाकै रुपमा भने सायद गर्दिन होला । त्यसका लागि म पूर्ण योग्य पनि छैन जस्तो लाग्छ अभिनयका दृष्टिले । म केमा दक्ष छु भन्ने कुरा मैले पनि बुझ्नुपर्छ । बलिउडमा पनि मलाई एकपटक प्रस्ताव आएको थियो । चलचित्र निर्माण युनिटसँग मैले कुरा गरेको पनि थिएँ, तर मलाई स्क्रिप्टमा चित्त बुझेन त्यसैले गरिन ।
तस्बिर अञ्जलीको फेसबुकबाट