काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले क्विक्स बास्केटबल लिगमा अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार भएको खेलमा विशाल मिलन केन्द्रलाई पराजित गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।
विशाल मिलन केन्द्रको घरेलु कोर्टमा भएको खेलमा आर्मीले घरेलु टोलीलाई १११ – ९२ अंकले पराजित गरेको हो । आर्मीको जितमा शदिस प्रधानले ३४ तथा रविन खत्रीले २३ अंक जोडे । लिगमा अपराजित रहेको आर्मीको यो १२ औं जित हो ।
लिगको प्ले अफमा स्थान बनाईसकेको आर्मीले १२ खेलबाट ३६ अंक जोडेको छ । पराजित विशालको १३ खेलबाट २४ अंक छ । विशालको पनि प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।
होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत नै शुक्रबार भएको अर्को खेलमा साउथ साईडर्सले जित निकालेको छ । साउथ साईडर्सले जेभियर्स इन्टरनेसनल कलेजलाई ६९ – ५७ अंकले पराजित गरेको हो । साउथ साईडर्सको जितमा सन्जय बेन्जनकरले १८ अंक जोडे ।
जितसँगै प्ले अफबाट बाहिरीसकेको साउथ साईडर्सले १२ खेलबाट १२ अंक जोडेको छ । जेभियर्सको १३ खेलबाट ६ अंक छ । जेभियर्स लिगको पुछारमा रहेको छ ।
प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल ९पिडिसिएन० को आयोजनामा जारी प्रतियोगिताको बिजेताले २ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडी, सर्वा्धिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्नेछन् ।