site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अधिकांश फ्लप, थोरै सफल
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल 


वि.सं. २०७४ साल पनि नेपाली चलचित्रका लागि राम्रो देखिएन । वर्षको शुरुमा केही चलचित्रले राम्रो व्यापार गरे पनि त्यसले निरन्तरता पाउन सकेन । तुलनात्मक रूपमा यो वर्षको शुरुका ६ महिनामा चलचित्रले राम्रो व्यापार गरे । त्यसपछिका महिना सुख्खा रहे । भलै वर्षको अन्तिममा प्रदर्शन भएको ‘शत्रु गते’ले भने राम्रो व्यापार गरिरहेको छ ।

चलचित्र ‘घामपानी’, ‘धनपति’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत–२’, ‘ए मेरो हजुर–२’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा–२’ले राम्रो व्यापार गरे । यी चलचित्रले करोडभन्दा माथि ‘ग्रस कलेक्सन’ गरे । चलचित्र ‘कृ’, ‘कान्छी’ र ‘मंगलम’ले पनि सन्तोषजनक व्यापार गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ले वर्षको शुरुमै सुखद ‘ओपनिङ’ गरेको थियो । यो चलचित्र वैशाख १ गते प्रदर्शन भएको थियो । केकी अधिकारी र दयाहाङ राई अभिनीत ‘घामपानी’ले करोडभन्दा माथि कलेक्सन गरेको निर्माण पक्षको दाबी थियो ।

असार २३ गते प्रदर्शित ‘धनपति’ वर्ष २०७४ मा सबैभन्दा पहिला धेरै व्यापार गर्ने पहिलो चलचित्र बन्यो । ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको ‘धनपति’मा खगेन्द्र लामिछाने र सुरक्षा पन्तको अभिनय छ । तर, यसले ‘पशुपतिप्रसाद’जस्तो प्रशंसा बटुल्न सकेन । समीक्षा पनि अपेक्षित राम्रो पाएन ।

Global Ime bank

‘म यस्तो गीत गाउँछु’ पनि करोडभन्दा माथि ‘ग्रस कलेक्सन’ गर्ने चलचित्रमा दरियो । पूजा शर्मा र पल शाह स्टारर यो चलचित्र सुदर्शन थापाले निर्देशन गरेका थिए । यसले पनि राम्रो समीक्षा पाउन सकेन । सांगीतिक पक्षमा भने यसले राम्रो प्रतिक्रिया पायो । दर्शक ‘प्रेमगीत–२’ भनेर झुक्किएर हेर्न गएको आरोप ‘प्रेमगीत–२’को निर्माण पक्षले लगायो ।

‘प्रेमगीत–२’ चलचित्र ‘म यस्तो गीत गाउँछु’ लगत्तै प्रदर्शनमा आयो । यसले निकै राम्रो व्यापार गरेको दाबी निर्माण पक्षको थियो । प्रदीप खड्का र एलिसा ठकुरी मुख्य भूमिकामा रहेको यो चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । म्यानमारका नेपालीभाषी र नेपालीलाई जोड्ने कथा उठाएको दाबी निर्माण पक्षको थियो । तर, यथार्थमा त्यस्तो नरहेको आलोचना सहनुपर्‍यो । यसले राम्रो समीक्षा बटुल्न सकेन । अघिल्लो सिक्वेलकै ब्याज खाएको निष्कर्ष समीक्षकको थियो । एलिसाको अभिनयलाई लिएर पनि आलोचना भयो । तर, चलचित्रले हलमा भने राम्रो कलेक्सन गर्‍यो ।

नायिका झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर–२’ पनि यो वर्ष करोड क्लबमा प्रवेश गर्ने अर्को चलचित्र हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँ मुख्य भूमिकामा रहेको चलचित्रले औसत समीक्षा बटुल्यो । पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि झरनाले ‘ए मेरो हजुर–३’ निर्माणको घोषणा गरिन् ।

असीम शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’ पनि यो वर्ष राम्रो व्यापार गर्ने चलचित्रको सूचीमा दरियो । नकारात्मक समीक्षा पाएको यो चलचित्रमा निश्चल बस्नेत र आसिफ शाह मुख्य भूमिकामा थिए । यही चलचित्रको ‘कुटुमा कुटु...’ गीत नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै ‘यूट्युब हिट्स’ पाउने गीत बन्यो ।

शुरुवातमा आक्रामक व्यापार गर्ने चलचित्रमा ‘छक्का पञ्जा–२’ पनि थियो । ‘छक्का पञ्जा’ नेपाली रजतपटमा सर्वाधिक व्यापार गर्ने चलचित्र थियो । त्यसको सिक्वेलले शुरुवाती कलेक्सनका सबै रेकर्ड तोडे पनि पहिलो चलचित्रको रेकर्ड भने उछिन्न सकेन । निर्माण पक्षको दाबीलाई मान्ने हो भने ‘छक्का पञ्जा–२’ले यो वर्ष रिलिज भएका सबै चलचित्रको कलेक्सनलाई उछिनेको छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ वर्षकै सर्वाधिक प्रतीक्षित भनिएको थियो । अनमोल केसी स्टारर चलचित्र हेर्न उनका फ्यानले दुई वर्षदेखि कुरेर बसिरहेका थिए । भारतमा मोडलिङ गरिरहेकी अदिती बुढाथोकीसँग स्क्रिन सेयर गरेका अनमोलको यो बहुप्रतीक्षित चलचित्रले राम्रो समीक्षा त पाएन नै, उनकै डाइहार्ड फ्यानसमेत निराश भए । साढे ३ करोड लगानी रहेको ‘कृ’ले ओभरसिज र डिजिटल मार्केटबाट लगानी मुस्किलले उठाएका खबरहरू आए । अनमोलको स्टारडम खस्किएको समाचार फिल्मी न्युज पोर्टलहरूले लेखे ।

यही वर्ष स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी श्रीमती श्वेता खड्का पनि आफ्नै निर्माणमा ‘कान्छी’ लिएर पुनः चलचित्र क्षेत्रमा फर्किइन् । ‘कान्छी’लाई श्वेताको फिल्मी करिअरको दोस्रो इनिङ्सका रूपमा हेरियो । आकाश अधिकारीले निर्माण गरेको यो चलचित्रलाई निर्देशकीय पाटोभन्दा श्वेताको पुनरागमनलाई सञ्चारमाध्यमले मसाला बनाए । चलचित्रले औसत समीक्षा पायो । व्यापार पनि राम्रै गर्‍यो ।

आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनी हल्लीखल्ली गर्दै अर्जुनकुमार ‘फाटेको जुत्ता’ लिएर आए पनि त्यसले दर्शकको मन जित्न सकेन । भलै यो पनि करोड क्लबमा भने प्रवेश गर्‍यो ।

छविराज ओझाको निर्माण र नवल नेपालको निर्देशनमा तयार चलचित्र ‘मंगलम’ पनि यही वर्ष रिलिज भयो । यो चलचित्र खासै प्रतीक्षित नरहे पनि व्यापार भने सन्तोषजनक नै गर्‍यो । छवि ओझाका चलचित्रले मल्टिप्लेक्स हल पाउँदैनन् भन्ने मान्यतालाई भने यो चलचित्रले भत्काइदियो । सानो संख्यामा भए पनि ‘मंगलम’ले मल्टिप्लेक्समा स्क्रिन पायो । छवि यसमै दंग परे ।

गत वर्ष ‘जात्रा’बाट चलचित्रका अधिकांश अवार्ड हात पारेका अभिनेता विपीन कार्कीका यो वर्ष दुइटा चलचित्र दर्शकसामु आइपुगे— अमित श्रेष्ठको ‘नाका’ र निगम श्रेष्ठको ‘लालपुर्जा’ । तर यी दुवै चलचित्र हलमा झुल्किएमात्रै व्यापार र समीक्षा दुवै राम्रो भएन । तर, विपीनले भने दुवै चलचित्रबाट कामको प्रशंसा बटुले ।

रमेश उप्रेती पनि लामो समयपछि यही वर्ष नेपाली रजतपटमा झुल्किए— ‘ऐश्वर्य’बाट नायक र निर्माताका रूपमा । दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रलाई रमेशको दोस्रो इनिङ्सका रूपमा हेरियो । निर्माणका हिसाबले राम्रो भनिएको यो चलचित्रले रमेशलाई भन्दा पनि भिलेन प्रशान्त ताम्राकारलाई ‘हाइप’ दियो । उनलाई नेपाली चलचित्रमा आशाको नजरले हेरियो ।

मिलन चाम्सले निर्देशन गरेको बायोपिक ‘ब्लाइन्ड रक्स’ यही वर्षको उत्तराद्र्धतिर आयो । दृष्टिविहीन युवती सृष्टि केसीको वास्तविक जीवनकथामा आधारित चलचित्रबाट राम्रै अपेक्षा गरिए पनि सफलता हात लाग्न सकेन । निर्माता निकेश लिम्बू रित्तो हात लन्डन फर्किए ।

पछिल्ला केही वर्षयता भारतीय चलचित्र उद्योगमा संघर्ष गरिरहेका खलनायक सुनील थापा ठूलो उत्साह बोकेर ‘शेरबहादुर’ खेल्न नेपाल आए । आर राजवंशीले निर्देशन गरेको चलचित्रले आफूलाई राते काँइलाबाट शेरबहादुर भन्ने परिचय दिन्छ भन्दै सुनील चलचित्रको प्रचारमा निकै हिँडे । तर, चलचित्रलाई हलबाट उत्रिनै हतार भयो । अंग्रेजी चलचित्र ‘डोन्ट ब्रिद’को हुबहु नक्कल भएको आरोपसँगै ‘शेरबहादुर’ले पानी पनि भन्न पाएन ।

वर्षको अन्तिममा आउन लागेको मिलन चाम्सकै अर्को चलचित्र ‘लिलिबिली’ पनि युवा दर्शकको प्रतीक्षामा छ । चल्चीका नायक प्रदीप खड्काले पनि धेरै आशा गरेको चलचित्र हो यो । तर, आशा गरेका चलचित्रबाटै दर्शक तथा समीक्षक निराश भइरहेका बेला यो कस्तो बनेको छ, हेर्न बाँकी छ ।

यो वर्ष प्रदर्शनमा आएर राम्रो व्यापार गरेका कुनै चलचित्रले पनि राम्रो समीक्षा भने बटुल्न सकेनन् । वर्षमा सयभन्दा धेरै चलचित्र प्रदर्शन हुँदै आएको नेपाली रजतपटमा आधा दर्जनले मात्रै राम्रो व्यापार गर्छन् । औसतमा ८—९ वटाले लगानी उठाउँछन् । बाँकी सबै चलचित्र घाटामा जाने गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ ।

नेपालमा बक्स अफिस लागू नभएको हुँदा चलचित्रले कति कलेक्सन गर्छन्, यकिन तथ्यांक आउँदैन । निर्माता तथा वितरकले दिएको रिपोर्टमा भर पर्नुपर्ने बाध्यता छ । यद्यपि यही वैशाख १ बाट नेपाली चलचित्र उद्योगमा बक्स अफिस लागू हुने चलचित्र विकास बोर्डले जनाएको छ । शुरुमा काठमाडौं उपत्यकामा लागू हुने बक्स अफिस प्रणाली साउनबाट देशभर विस्तार गर्ने तयारी बोर्डको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC