बेनी, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीका गाउँलेले आशौच बारेर बसेका छन् । एक साताअघि रुम बेली गाउँका २८ वर्र्षीय धर्मलाल रोकाको शव मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिपमा बाकसभित्र राखेर गाउँमा ल्याई अन्त्येष्टि गरियो ।
मलेशियामा सुतेकै अवस्थामा मृत्यु भएपछि रोकाको शव गाउँमा ल्याइएको हो । एक दशकअघि उनका दुई जना सहोदर दाइ कतार र मलेसियामा यसैगरी मरेका थिए । मलेसियामै सोही हप्ता मालिका गाउँपालिका–२ रुम बेलीका बुद्धिबहादुर परियारको समेत सुतेकै अवस्थामा मृत्यु भयो । परियारको शव अहिले पनि अस्पतालमै छ र रुमको बेली गाउँले अर्को शवको प्रतीक्षा गरिरहेको छ । तीन छोरा वैदेशिक रोजगारीकै कारण गुमेपछि रोका परिवार अहिले सहाराविहीन भएको छ । पक्षाघातबाट ग्रस्त धनबहादुर रोका र दमको रोगबाट पीडित लीलमती रोका अहिले आफ्नो गरिबीलाई धिक्कार्दै सन्तान गुमाउनुको पीडाले छट्पटाइरहेका छन् ।
त्यस्तै अवस्था छ, बेलीकै बुद्धि परियारको परिवारको पनि । विगत ६ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका परियारको यही चैत १२ गते कोठामा सुतेकै अवस्थामा मृत्यु भयो । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उनको परिवारले शवलाई गाउँसम्म ल्याउन र काजक्रिया गर्नसमेत सकेको छैन । मृतक परियारका बुबा रनबहादुर परियार मिर्गौलाको रोगबाट ग्रसित छन् । उनी बैंकमा जग्गा धितो राखेर औषधि सेवन गरिरहेका छन् । छोरा आउला र बैंकको ऋण तिरेर जग्गा निखनौंला भन्ने उनको सपना चकनाचुर भएको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदूरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लालबहादुर रोकाले बताए ।
जिल्लाका दुर्गम गाउँमध्येमा पर्ने रुमको बेली गाउँमा सडक पुगेको छ । यातायातका साधन पनि गुड्ने गरेका छन् । तर आयआर्जनका लागि बलियो माध्यम नहुँदा गाउँका प्रायः सबै युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । उमेर ढल्केका पुरुष दैनिक ज्याला मजदूरीका लागि आरा चिर्ने, घर निर्माण गर्ने वा अन्य कामका लागि जिल्लाका विभिन्न गाउँमा पुगेका छन् । गाउँ पुरुषविहीन भएपछि पुरुषले गर्ने काम पनि महिलाले नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासी टेकी विकले बताए । वैदेशिक रोजगारले देशको अर्थतन्त्र धाने पनि रुमको बेली गाउँका लागि वैदेशिक रोजगार अभिशाप साबित भएको छ । रोजगारका लागि विदेश गएका युवाको धमाधम बाकसमा शव आउन थालेपछि गाउँलेको विदेश मोह भङ्ग भए पनि बाध्यता र दुःख भने कम हुन सकेको छैन ।
वैदेशिक रोजगारका लागि विदेश गएर न ज्यान, न धन भई अभिशप्त हुनुपरेका यी दुई प्रतिनिधिमूलक घटनाका पात्र मात्र हुन् । रोजगारका लागि विदेश गएका हजारौँ नेपाली यसरी नै सुतेकै अवस्थामा बितेका थुप्रै उदाहरण छन् । यसको यकिन तथ्याँक सरकारसँग छैन । सुतेकै ठाउँमा ज्यान गुम्नाका कारणबारे पनि सरकारी निकाय बेखबर जस्तै छ । वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका युवालाई आफ्नै गाउँठाउँमा रोजगारको व्यवस्था गरी विदेश जाने बाध्यता कम गर्न मालिका गाउँपालिकाले पहल गर्ने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
“गाउँका सम्भावनाको पहिचान गरी ती सम्भावनालाई प्रयोगमा ल्याई रोजगारी सृजना हुने खालको योजना बनाउँछौँ,” अध्यक्ष रोकाले भने । “आफ्ना युवालाई विदेशमा गुमाउनु पर्दाको पीडा हामीसँग छ, म पनि यस घटनाबाट अत्यन्त दुःखी छु,” अध्यक्ष रोकाले भने – “अब हामीले युवालाई गाउँमै स्वरोजगार हुने खालका केही ठोस कामहरु गर्नैपर्छ ।” खाडी मुलुकमा काम गर्ने अधिकांश युवाको ‘सडेन डेथ’ अचानक मृत्यु र ‘कार्डियाक डेथ’ मुटुको कारण मृत्यु हुने गरेको सरकारी अधिकारीको भनाइ रहेको छ ।
वैदेशिक रोजगारमा मृत्यु भएका नेपाली कार्यरत कम्पनी वा सम्बन्धित राजदूतावासले पठाएको पत्रलाई नै आधार मानेर मृत्युको कारण बताइने गरेको वैदेशिक रोजगार विभागका निर्देशक शशिकुमार लम्सालले बताए । मलेशियामा मृत्यु हुने नेपाली कामदारको शव परीक्षणको प्रतिवेदन हेर्नसमेत लामो समय कुर्नुपर्ने भएकाले पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन समस्या हुने गरेको बताइएको छ । मलेशियास्थित कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार मृतकको बीमाको लामो प्रक्रियाले अस्पतालबाट शव परीक्षणको अन्तिम प्रतिवेदन पाउन तीनदेखि छ महिना लाग्छ । “आजसम्म कुनै पनि मृतकको त्यस्तो रिपोर्ट दूतावाससँग छैन,” कार्यवाहक राजदूत खरेलले भने ।
युवालाई देशमै रोजगारको व्यवस्था गर्न नसके पनि विदेश गएका युवा सुरक्षित हुने र उनीहरुको मृत्यु भएमा मृत्युको कारणसहित शवलाई सकेसम्म परिवारको जिम्मा लगाउने सहज व्यवस्था सरकारले गर्नुपर्ने पीडितको भनाइ रहेको छ ।
ध्रुवसागर शर्मा (रासस)