विचार

ट्रम्पको डरलाग्दो छलाङ

क्रिस प्याटेन

ट्रम्पको डरलाग्दो छलाङ

अहिले उत्तरी गोलार्धमा वसन्त आएको छ । दिन लामो हुन थालेको छ, घाम चहकिलो हुन लागेको छ भने फूलहरू फूल्न थालेका छन् । परन्तु, विश्व व्यवस्थामा भने गुलाबी दृश्य कतै देखिँदैन । 

मध्यपूर्वमा इजरायलले सिरिया र इरानविरुद्ध सैनिक कारबाहीको धम्की दिएको छ । साउदी अरेबियाले पनि इरानको बढ्दो प्रभाव रोक्न इरानलाई ललकारेको छ । इजिप्टमा राष्ट्रपति अब्देल फतह अल सिसी राजनीतिक विपक्षीलाई तह लगाउन सेनाको प्रयोगसमेत गरेर शक्तिमा पकड बलियो बनाउँदैछन् र हालै एउटा जाली चुनावी जित पनि हासिल गरेका छन् । (अरबी सैनिकले अधिनायकवादले इस्लामी कट्टरपन्थलाई र अस्थिरता बढाउँछ भन्ने कहिल्यै बुझ्लान् ?) 

यो प्रवृत्ति भने मध्यपूर्वमा सीमित छैन । राष्ट्रपति भ्यादिमिर पुटिनले पनि भर्खरै चुनावी जित हासिल गरेका छन् । यद्यपि, उनको विजयको आंशिक कारण सुरक्षा सेवा र तिनको साँठगाँठका माफियालाई प्रयोग गरेर उनको सत्ताको सम्भाव्य विरोधीलाई तह लगाउनु पनि हो । क्रेमलिनलाई रुसी राजनीतिलाई धनाढ्यहरूको गिरोहको कब्जामा पुर्‍याएरमात्र चित्त बुझेको छैन । संसारभरको लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने काममा लागेको छ ।

अनि आउँछ चीन । चीनमा राष्ट्रपति सी जिनपिङ माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेता बन्न सबै अस्त्र प्रयोग गरेका छन् । मुलुकमा फेरि एक व्यक्तिको तानाशाही नचलोस् र कम्युनिस्ट पार्टीको भविष्य कुनै एक सर्वोच्च नेताको काँधमा निर्भर नहोस् भनेर देङ स्याओ पेङले सुरु गरेको दुई कार्यकालको पदावधि सीमा उनले समाप्त पारिदिए ।

हामीले स्वतन्त्र विश्वको अग्रणी मुलुक ठानेको संयुक्त राज्य अमेरिकाले समेत अहिले अन्धकारको सामना गर्नुपरेको छ । ह्यारी ट्रुमन, ड्वेट आइजनहावर, जर्ज एच डब्लु बुस, जोन एफ केनेडी र बाराक ओबामा जस्ता नेतको नेतृत्वमा यस मुललुकले अन्तर्राष्ट्रिय व्यवस्थालाई राम्रो बनाउन योगदान गरेको थियो । अहिले घमण्डी, पूर्वाग्रही, धोकेवाज, र अनैतिक देखिने डोनाल्ड ट्रम्पले त्यस परम्परालाई ध्वस्त पार्दैछन् ।

ट्रम्पले चुनाव जितेका बेला धेरैले ठानेका थिए उनी पदमा पुगेपछि सुध्रिनेछन् । चुनाव अभियानलाई पन्छाएर बुद्धिमान् सल्लाहकारहरूले उनलाई समाल्नेछन् र अन्ततः अमेरिकी सरकारले कसरी काम गर्छ भन्ने सिक्न उनलाई करै लाग्नेछ । तर, यो आशा नराम्ररी गलत सिद्ध भएको छ ।  

राष्ट्रपतिको दोस्रो वर्षमा त झन् अपेक्षा गरिएभन्दा पनि नराम्रोसँग उनले सत्ता सञ्चालन गरिरहेका छन् । जुनबेला मन लाग्छ त्यही बेला सल्लाहकारहरू वा अरू अधिकारीलाई बेइज्जततिपूर्वक हटाउने गरिरहेका छन् । हालै उनले विश्वलाई ट्रम्पको सनकबाट जोगाउन सक्ने ठानिएका उनको कक्षका सबैभन्दा परिपक्व व्यक्ति रेक्स टिलर्सनका ठाउँमा सीआईएका पूर्वप्रमुख आक्रामक स्वभावका माइक पम्पिओलाई विदेश मन्त्री बनाए । 

अझ खराब त पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरका ठाउँमा सायद पश्चिमी जगतकै सबैभन्दा खतरनाक दृष्टिकोण राख्ने कूटनीतिक अधिकारी जोन बोल्टनको नियुक्ति हो । बोल्टन ‘अमेरिका फस्ट‘का भक्त विरोधीहरूलाई सिध्याउने बदमास कर्मचारी हुन् ।

यसभन्दा पनि डरलाग्दो त बोल्टन विदेश नीतिका दृष्टिमा अरू बाजहरूलाई समाप्तै पार्ने बाज हुन् । इराकमा अमेरिकी आक्रमणको सबैभन्दा चर्को समर्थकहरूमध्येका बोल्टन सबै समस्याको सैनिक समाधान हुन्छ भन्ने ठान्छन् । उत्तर कोरियामाथि सैनिक कारबाही गरिहाल्ने वा इरानमा शक्ति प्रयोग गरेर सत्ता परिवर्तन गर्ने जस्ता उनका आग्रहहरू अपवाद हैनन् । 

बोल्टन र पम्पिओका कारण अमेरिका इरानसँग आणविक सम्झौताबाट पछि हट्ने र त्यस मुलुकमाथि पुनः आर्थिक प्रतिबन्ध लगाउने सन्देह बढेर गएको छ । त्यसो हुनसक्ने सन्देहमात्रैले पनि तेलको भाउ बढ्न थालेको छ जुन पुटिनलाई ट्रम्पको अर्को सौगात हो ।

आर्थिक नीतिका क्षेत्रमा पनि स्थिति खासै राम्रो छैन । अब ट्रम्पले आफ्नो आर्थिक टोली राष्ट्रवादीहरूबाट भरेका छन् र उनको लामो समयदेखिको संरक्षणवाद अब यथार्थमा परिणत हुने अवस्था देखिएको छ । चीनविरुद्ध बौद्धिक सम्पत्ति चोरी र र व्यापारिक धुत्र्याइँका विषयमा ट्रम्पको विरोध गलत हैन । उनको गल्ती के हो भने चीनलाई दबाब दिन जापान र युरोेपेली युनियनजस्ता मित्रहरूलाई साथमा लिनुको साटो मित्र र शत्रुमाथि एकतर्फीरूपमा भन्सार र अरू दुर्नियतपूर्ण अवरोधहरू लगाइदिए । यसले व्यापार युद्धको जोखिम बढाएको छ जस्बाट सबैको हानि हुन्छ । 

ट्रम्पको व्यवहारले विश्वमा अमेरिकी नेतृत्वलाई खस्काएकोमा कुनै आश्चर्य छैन । उदार लोकतान्त्रिक मूल्यप्रति ट्रम्पको अनादरले कुनै बेला अमेरिकाले प्रवर्धन गरेको विश्व व्यवस्थाका संस्थागत स्तम्भहरूलाई कमजोर बनाएको छ । यस अवनतिलाई रोक्ने एउटै उपाय युरोप, एसिया र राष्ट्रमण्डललगायत विश्वका अरू उदार लोकतन्त्रहरू क्रियाशील हुनु हो । 

आरम्भमा यी म’कहरूले स्वतन्त्र व्यापार र खुला बजारको रक्षाका लागि तत्काल अग्रसर हुनुपर्छ । विश्व व्यापार संगठनसँग सहकार्य गरेर उनीहरूले चीन र अमेरिका दुवैले गरेको दुरुपयोगलाई फिर्ता गराउन समन्वितरूपमा प्रयास गर्नुपर्छ ।

यसका अतिरिक्त यी मुलुकहरूले बोल्टनको हातमा बन्दुक नपरोस् भन्नाका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकजस्ता संस्थालाई प्रभावकारी बनाएर अन्तर्राष्ट्रिय विधिको शासनलाई सुदृढ गराउन पनि लाग्नुपर्छ । यसको तात्पर्य उत्तर कोरियाली संकटको शान्तिपूर्ण समाधान र इरानसँगको आणविक सम्झौताको समर्थनजस्ता विश्वमा सन् १९५० यता समृद्धि र शान्ति हासिल गर्न सहायक सिद्धान्तलाई पुष्टि गर्नु हो । 

ट्रम्प र उनको समूहले एकपछि अर्को नीतिलाई ध्वस्त गरिरहेका बेला विश्वका अरू लोकतन्त्रहरू प्रभावकारीरूपमा संयुक्त कारबाही गर्नुपर्छ । त्यसो गर्न सकेमात्र अमेरिकामा जिम्मेवार नेतृत्वको उदय नहुँदासम्म अन्तर्राष्ट्रिय समुदायले विश्व व्यवस्थालाई धानेर राख्न सक्नेछ । 

(अक्सफोर्ड विश्वविद्यालयका कुलपति)
Copyright: Project Syndicate, 2018.
 

तपाईंको मत