site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘साँघुरो’ कोठाको फराकिलो यौनकथा
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


समय उड्ने र गुड्ने चलचित्रको थियो । जोयश पाण्डेलाई भने केही नयाँ खालको चलचित्र निर्माण गरौं भन्ने लागिरहन्थ्यो । समयको बहवभन्दा उल्टो बहनुको अर्थ लगानी डुबाउनु थियो । लगानीकर्ता लगानी डुबाउन होइन, सके कमाउने, नसके कम्तीमा सुरक्षित गर्न चाहन्थे । हिरो—हिरोइनबीच एक झलकमै माया बसेपछि शुरु हुने प्रेम कहानीमा भिलेन बनेर आउने पहलमान र रोक्न खोज्ने परिवार । यही सेरोफेरोमा चलचित्र बनिरहेका थिए । जोयशको सोचले भने निकै ठूलो छलाङ मारिसकेको थियो । उनी यौन मनोविज्ञानमा आधारित चलचित्र बनाएर नयाँ काम र चलिरहेको धार ‘ब्रेक’ गर्न चाहन्थे । तर, सजिलो थिएन । एकातिर लगानीको खडेरी, अर्कोतर्फ चलचित्र वितरकको अविश्वास ।

तर, आँटी मान्छेलाई बाघले आँखैन । जोयशले यौन मनोविज्ञानमा आधारित रहेर कथा सोचे । कथा र पटकथा तयार भयो । तर, समस्या उही— लगानी कसले गरिदिने ? उनले पटक–पटक आग्रह गरे– फिचर फिल्म बनाऊँ । तर, अहँ ! लगानी गर्नेले स्वीकृतिमा मन्टो हल्लाएनन् । फिल्म त बन्यो तर सर्ट फिल्म । नाम थियो, ‘अ वेकन आइज’ । जोयश आफैंले अभिनय गरे । सन् २००८ मा उनको फिचर फिल्मको सपना सर्ट फिल्मै खुम्चियो । तर, सपना मरेको थिएन । लगानी पाए बनाउँछु भन्ने मनको एउटा कुनामा चाहना सल्बलाइरहेको थियो ।

Agni Group

निश्चल बस्नेत चलचित्र ‘लुट’ लिएर आए । हिन्दी सूत्र अँगालेर बनिरहेका चलचित्रलाई यसले चुनौतीमात्रै दिएन, व्यापारमा पनि कीर्तिमान राख्यो । चलचित्रबाट सौगात मल्ल र दयाहाङ राई रातारात हिट भए । सौगात र दयाहाङभन्दा पनि निर्देशक निश्चलको हाइहाइ भयो । कारण थियो— समकालीन चलचित्रभन्दा ‘लुट’ बिल्कुल फरक र नौलो थियो । जोयशको पनि विषय फरक थियो । कलाकार फरक थिए । प्रस्तुति मूलधारभन्दा बाहिरको थियो । तर, उनले लगानी पाएनन् । निश्चलले मूलधारभन्दा फरक चलचित्र चलाएरै देखाइदिए ।

जोयशलाई काठमाडौंको गरिब व्यक्तिको कथा भन्न मन थियो । खोलाकिनारको सानो कोठामा बस्ने सुकुम्बासीको कथा भन्न मन थियो । त्यसमा पनि भर्खर विवाह गरेको जोडी परिवारसँगै एउटै कोठामा बस्नुपर्ने बाध्यात्मक परिस्थितिमा उनीहरूको यौनचाहना पूरा होला कि नहोला ? त्यसले उत्पन्न गराउने समस्या तथा विकृति कस्तासम्म हुन्छन् ? जोयशलाई यही कथा चलचित्रको भाषामा देखाउने मन थियो ।

Global Ime bank

‘लुट’ हिट भएपछि उनले आफ्नो कथाका लागि लगानीकर्ता भेट्टाए । समीर मैनालीले पैसा जुटाए । दिया मास्के, सुशांक मैनाली, दयाहाङ राई र अरुणा कार्कीलाई मुख्य भूमिकामा लिइयो । ‘साँघुरो’ फ्लोरमा गयो ।

चलचित्र भन्ने निर्देशकको आफ्नै शैली हुन्छ । आफ्नै तरिकाले चलचित्र बनाए जोयशले । हलमा रिलिज गनुपूर्व चलचित्रलाई सेन्सर बोर्डमा लैजानु थियो । चलचित्र लिएर उनी बोर्ड पुगे । दुई घण्टा लामो चलचित्र हेरिन्जेल बोर्डका सदस्य कोही बोलेनन् ।

“यौन मनोविज्ञानमा केन्द्रित रहेर चलचित्रका दृश्य खिचिएका छन् । यस्ता नेपाली चलचित्र कहिल्यै नरहेका बोर्ड सदस्यले चलचित्र काटेर पहिलेझैं सर्ट मुभी नै बनाइदेलान् भन्ने डर थियो,” जोयश सम्झिन्छन्, “तर उहाँहरूले त यौन मनोविज्ञानमा पनि यस्तो सरल भाषामा सफा चलचित्र बनाउनुभएछ भन्नुभयो ।”

चलचित्र सेन्सरबाट पास भयो । युनिभर्सल सर्टिफकेट पनि पायो । तर, त्यसलाई चलाउने कसरी ? नयाँ निर्देशक, नयाँ निर्माता, नयाँ विषयवस्तु र नयै प्रस्तुति । त्यो समय यस्ता चलचित्र हलमा लगाउनु फलामको च्युरा चपाएझैं थियो । न उनलाई चलचित्र चलाउन गर्नुपर्ने छक्कापञ्जा नै थाहा थियो, न अनुभव नै । बिग मुभिजमा आफैंले प्रोजेक्टर लगेर चलचित्र देखाएको सम्झना निर्देशक जोयशसँग ताजै छ । चलचित्र देखाउँदा देखाउँदै प्रोजेक्टर बिग्रिएर दर्शकले म्यानेजरलाई कुटेको पनि उनी सम्झिरहन्छन् ।

प्रदर्शनको तीतो अनुभव छ उनीसँग । “नौ वटा चलचित्रसँग ‘साँघुरो’ जुधाइएको थियो । आज एउटा समयमा लागेको चलचित्रको अर्को दिनको शो अर्कै हुन्थ्यो,” उनी भन्छन्, “त्यो बेला हामी सबै नयाँ थियौं । चलचित्र प्रदर्शनको तिकडम थाहा थिएन । शायद अहिले भइदिएको भए हामी चलचित्र राम्रै चलाउँथ्यौं ।”

हेर्नेजति सबैले राम्रो भने पनि ‘साँघुरो’ले दर्शक बटुल्न सकेन । एकातिर फरक स्वाद र शैली बोकेर आएको, अर्कोतिर नौ वटा चलचित्रसँगको प्रतिस्पर्धाका लागि ‘साँघुरो’का लागि हल पनि साँघुरो भयो । जोयशका नजरमा हलभन्दा पनि समय साँघुरो भयो । फलतः चलचित्र घाटामै गयो । उनी उठ्नै सकेनन् । नयाँ विषयमा चलचित्र बनाएर नयाँ ‘ट्रेन्ड सेट’ गर्ने उनको अभिलाषालाई ‘साँघुरो’को व्यापारले खुम्चाइदियो । ‘साँघुरो’ सकिएदेखि नै उनी फरक खालको चलचित्रमा होमवर्क गरिरहेका छन् । तर, अझै पनि त्यसले मूर्तरूप पाउन सकेको छैन । उचित समयको पर्खाइमा छन् उनी ।

‘साँघुरो’को कथा सामान्य छ । सुकुम्बासी बस्तीको छाप्रोभित्र आमा र छोरा जसतसो जिन्दगी कटाइरहेका हुन्छन् । हकर काम गर्ने कृष्ण (सुशांक मैनाली)ले एकजना ग्राहकको घरमा काम गर्ने कमला (दिया मास्के)बीच प्रेम बस्छ । विवाह हुन्छ । विवाह गरेको पहिलो रात पनि एकान्तमा बिताउन नपाएको यो नवजोडीका लागि आमा (अरुणा कार्की) बढी लाग्न थाल्छिन् । त्यही क्रममा गाडीले हानेर उनी घाइते हुन्छिन् । उपचार खर्चको अभावमा घाइते अवस्थामै उनी घरमा बस्न बाध्य हुन्छिन् । विवाह भइसके पनि यौनतृष्णा मेटाउन नपाएका छोरा–बुहारी कोठामा एक्लै समय बिताउन चाहन्छन् । तर, त्यसमा आमा नचाहेरै पनि बाधक बनिदिन्छिन् । यही कारणले कमलाले सुशांकसँग रुखो व्यवहार देखाउन थाल्छे । कथा यस्तै सामान्य दिनचर्यामा अगाडि बढ्छ ।

‘साँघुरो’को यो कथा कतै देखेसुनेका कारण उठाएको जोयश सुनाउँछन् । “त्यो समय अधिकांश चलचित्र कुनै न कुनै चलचित्रसँग मिल्न जान्थे । त्यो समय फरक विषयमा केही गहिराइमा पुगेर केही आफ्नै समाजको कथा भनौं भन्ने लाग्यो र यो कथामा काम गरें,” उनी सम्झन्छन्, “अहिले यो कथा युनिक नलाग्ला तर त्यतिबेलाका लागि यो नै नयाँ विषय थियो । त्यो बेला पनि थुप्रै विषय दिमागमा थिए । तीमध्ये यसैमा किन प्रयास नगर्ने भनेर कम्मर कसेको थिएँ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC