हाकिमसँग वनभोज

हाकिमसँग वनभोज

– राजु अधिकारी


ऊ एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ठूलो पदमा कार्यरत थियो । देश–विदेश घुमेको थियो, धेरै भाषाको ज्ञाता पनि थियो । त्यसैले मनग्गे पुस्तकहरू पढेको थियो । उसलाई पढ्नमा सोख पनि थियो । समाजमा भएका गरिबी, अन्याय र विसंगति निर्मूल गर्ने काम उसको संस्थाले गथ्र्यो । त्यो संस्थाका शाखाहरू विश्वका निकै देशमा थिए । विभिन्न गरिब देशका गरिब र पिछडिएका जनताको हितमा काम गरेको भन्दै हरेक वर्ष राष्ट्रिय– अन्तर्राष्ट्रिय पुरस्कार पाइरहन्थ्यो ।

धेरैजसो गैरसरकारी संस्थाहरूले समाजसेवाको नाममा आफ्ना लुकेका एजेन्डाहरूलाई प्रचार गर्थे तर त्यो संस्थाको उद्देश्य विशुद्ध समाजसेवा थियो । कुनै लुकेको एजेन्डा थिएन ।

ऊ ब्राह्मण परिवारमा जन्मेको थियो । उसका बाबु त्यो बेलाका पण्डित र जमिन्दार थिए । त्यसैले उसले पढ्ने राम्रो अवसर पाएको थियो । हुन त गाउँमा अझै पनि उसको जग्गा–जमिन थियो तर सबै परिवार शहरमा आएर बसेका थिए । कहिलेकाहीँ मात्र गाउँ जान्थे  बिदा मनाउन । बाबुको इच्छाअनुसार उसले गाउँको घर जस्ताको तस्तै राखेको थियो । अधिकांश समय मान्छे नबसे पनि त्यहाँ बैठक, भान्छा कोठा, शयन कक्ष, फूलबारी, पूजा कोठा सबै जस्ताका तस्तै थिए । त्यसको जगेर्ना गर्न उनीहरूले एकजना मान्छे पनि राखेका थिए । कहिलेकाहीँ ऊ परिवारसँग बिदा मनाउन जाँदा त्यहाँ कुनै सफाइ गर्नु पर्दैनथ्यो । उसले कतिपटक आफ्ना साथीहरूलाई पनि त्यहाँ लगेर बसालेको थियो ।

त्यो गाउँ निकै रमणीय थियो । तर, देशका अन्य ठाउँजस्तै त्यहाँ पनि समानता थिएन । स्रोतको बाँडफाँड अनुचित थियो । शिक्षा र स्वास्थ्यमा गरिबहरूको पहुँच थिएन । छुवाछुत उस्तै थियो ।

देश–विदेशमा समानताको प्रचार गर्ने ऊचाहिँ आफ्नै गाउँमा पिल्सिएका जनताको उद्धारमा लाग्न सकेको थिएन— बत्तीमुनिको अँध्यारोझैं ।

केही महिनाअघि उसको अफिसमा पहिलोपटक स्वदेशी हाकिम आए । त्योभन्दा पहिले विदेशबाटै आउँथे । तर, संस्थाको प्रशासनिक खर्च घटाउन संथाले प्रायः सबै देशका कार्यालयमा स्थानीयहरूलाई हाकिम बनाउने नीति लिएको थियो । लागत पनि कम हुने र स्थानीयलाई काम गर्न पनि सजिलो हुने हुँदा यस्तो निर्णय गरिएको थियो ।

कहिलेकाहीँ संस्थाको विदेशस्थित मुख्यालयबाट कर्मचारीहरू कार्यप्रगतिको अनुगमन गर्न आउँथे । नभए प्रायः सबैजसो सञ्चालनको जिम्मा तिनै स्थानीय हाकिमको हुन्थ्यो ।

स्थानीय मान्छे हाकिम भएपछि संस्थाका कर्मचारीहरूमा निकै खुशी छाएको थिए । बोलचालमा सजिलो, रहनसहन मिल्ने कारणले गर्दा उनीहरू खुशी थिए ।

ती हाकिमको थर उसले पहिले सुनेको थिएन । अलि अनौठो थियो हाकिमको थर । आजभोलि थरीथरीका थर सुनिन्छन् । अझ कसैले त नयाँ थर पनि आफैं बनाएका छन् । त्यसैले त्यो थर पहिले नसुनिनु अनौठो थिएन । पछि पत्ता लगाउँदै जाँदा थाहा भयो— उनी दलित रहेछन् । तर, के फरक प¥यो र ? आजभोलि छुत—अछुतको जमाना नै कहाँ रह्यो र ? त्यसमाथि संस्थाको कामै त्यस्तो विभेद हटाउनु थियो । अनि हाकिम नै दलित राख्दा त्यसबाट जनमानसमा राम्रो सन्देश पनि जान्थ्यो ।

आफू हाकिम भएर आएपछि उनले सबै कर्मचारीहरूलाई सानो पार्टी पनि दिए । सबैले उत्साहपूर्वक सहभागिता देखाए । कसैले पनि हाकिमलाई दलितको नजरले हेरेन । समाजमा आएको त्यो परिवर्तन देखेर हाकिम पनि खुशी र उत्साहित थिए ।

उसलाई पनि धर्म, जाति, छुवाछुत आदिले केही असर परेको थिएन । विद्यार्थी हुँदैदेखि नै उसले ती कुराहरूमा विश्वास गर्दैनथ्यो । ब्राह्मण भएकोले बाबु–आमाको मन राख्न अलिअलि मानेजस्तो गरे पनि उसले बाहिरचाहिँ जे पनि खाने, जोसँग पनि खाने गथ्र्यो ।

लुकिछिपी उसले ‘बिजुली सर्बत’, ‘ठूलो खसी’को मःमः अनि घरपालुवा ‘बँदेल’को मोटो मासु पनि खाइसकेको थियो । अझ देशमा ठूलो राजनीतिक÷सामाजिक परिवर्तन आएपछि र ऊ अन्तर्राष्ट्रिय संस्थामा जागिरे भएपछि त उसले केही बाँकी राखेको थिएन । तर, घरमा चाहिँ अझै खुलिसकेको थिएन ।

सबै धर्मलाई उसले समान व्यवहार गथ्र्यो । धर्म भनेको त्यतिबेलाको कानुन थियो भन्ने उसलाई पूर्ण विश्वास थियो । त्यतिबेला मानिसहरूलाई नैतिकतामा राख्न र समाजमा शान्ति स्थापना गर्न केही अगुवाहरूले ती नियम बनाएका थिए । तिनै नियमका पुस्तकहरू पछि धर्मग्रन्थ भए अनि तिनै नियम बनाएर उपदेश दिने मान्छेहरूलाई मानिसले कालान्तरमा देवत्वकरण गरेर ईश्वरको पगरी लगाइदिए भन्नेमा ऊ विश्वस्त थियो । तर, पनि उसलाई कुनै शिकायत थिएन । आफ्नो–आफ्नो धर्म मान्ने हो, त्यसलाई किन झगडाको बीउ बनाउनू ? ऊ यही सोच्थ्यो ।

त्यसैले समय–समयमा ऊ गुम्बा, चर्च, मस्जिद पनि जाने गथ्र्यो । त्यहाँ जाँदा उसलाई आनन्द आउँथ्यो । त्यहाँ आफ्ना लागि भन्दा पनि उसले समाजमा शान्ति छाओस् भनेर प्रार्थना गथ्र्यो । उसलाई थाहा थिएन— देवत्वकरण गरिएका ती मान्छेहरूले उसको प्रार्थना सुन्थे कि सुन्दैनथे तर उसलाई मनमा भने शान्ति अवश्य हुन्थ्यो ।

छोटो समयमै ऊ नयाँ हाकिमसँग निकै घुलमिल भएको थियो । उनी पनि उसलाई मन पराउँथे । बाहिर जाँदा पनि प्रायः उसलाई नै साथ लिएर जान्थे । हाकिमसँगै हिँडेर उसले आफ्नो जागिरमा प्रगति त गरेकै थियो, त्योभन्दा पनि महत्वपूर्ण कुरा उसले समाजलाई ऊ कति उदार र आधुनिक छ भनेर देखाउन चाहन्थ्यो । दलित हाकिमसँग कुनै संकोच नमानी सँगै बस्ने, खाने गर्छ भनेर प्रमाणित गर्न चाहन्थ्यो ।

त्यसो त उसले संसारका कयौं समुदायका मान्छेहरूसँग उठबस गरेको थियो । चिनियाँहरूसँग चपस्टिकले जुठो हालेर एउटै प्लेटबाट झिक्दै खाँदा उसलाई घीन लाग्दैनथ्यो । मुस्लिम साथीहरूसँग उनीहरूको चाडका बेला एउटै थालबाट सबैले झिक्दै खाँदा पनि उसलाई संकोच लाग्दैनथ्यो । गोराहरूको घरमा गएर खानासँगै रक्सीको चुस्की लगाउँदा उसलाई अर्कै आनन्द आउँथ्यो । ती सबै विदेशीहरूसँग त कुनै घीन र संकोच लाग्दैन भने हाकिम त आफ्नै समाजका, आफ्नै धर्मका व्यक्ति हुन्, उनीसँग केको घीन र संकोच ? उसले यस्तै सोच्थ्यो । अनि छुवाछुतविरुद्ध आफूले र आफ्नो संस्थाले गरेका कामको विवरण गर्वका साथ अरुलाई सुनाउँथ्यो ।

नयाँ हाकिम आएपछि उनले देशमा असमानताको स्थिति कस्तो छ भनेर जान्न देशव्यापी सर्वेक्षण गर्न लागाए । पहिलोपटक निकै विस्तारित प्रतिवेदन पेश गरियो । अधिकांश भागमा स्थिति सुधारोन्मुख थियो । केही भागमा निकै प्रगति पनि भएको थियो तर थोरै केही भागमा स्थिति अझै नाजुक थियो । त्यस्ता ठाउँमध्ये उसको गाउँ पनि एक थियो । तर, हाकिमलाई त्यो उसको गाउँ थियो भनेर थाहा थिएन ।

हाकिमले प्रतिवेदन पढेपछि त्यो गाउँ गएर वास्तविकता बुझ्ने विचार गरे । पहिलेजस्तै उसलाई पनि साथ लिएर त्यो गाउँको अवलोकन गर्ने हिँडे ।

देशको पश्चिम भागमा अवस्थित त्यो गाउँ जिल्लाको सदरमुकामदेखि केही किलोमिटरको दूरीमा थियो । अझै पनि त्यहाँ गाडी जाने राम्रो बाटो बनिसकेको थिएन । त्यसैले उनीहरू हिँडेरै त्यहाँ जानुपथ्र्यो । तर, हिँड्न पाउनु पनि राम्रै थियो । त्यसो गर्दा वरिपरिका दृश्यावलोकन पनि गर्न पाइने र त्यो गाउँको वरिपरिका अन्य क्षेत्रको अवस्था पनि बुझ्न पाइने हुँदा हाकिमलाई रमाइलो लागेको थियो ।

लगभग साढे दुई घण्टाको पैदलयात्रापछि उनीहरू त्यो गाउँमा पुगे । गाउँ अझै पनि २० वर्षपहिलेको जस्तो देखिन्थ्यो । अधिकांश घरहरू खरले छाएका एकतले थिए । घरका आँगनहरूमा फोहर बच्चाहरू खेलिरहेका थिए ।

त्यो फोहर र अस्तव्यस्त ठाउँमा एउटा सुन्दर घर टलक्क टल्केको देखिन्थ्यो । त्यो नै उसको घर थियो । तर, हाकिमले सोधेपछि मात्रै उसले त्यो कुरा खुलाएको थियो । उसलाई त्यो कुरा खोल्न अलि लाज पनि लागेको थियो किनभने समानता र विकासको कुरा गर्ने संस्थाको उच्च पदमा पुगेको कर्मचारीकै गाउँमा त्यो स्थिति हुनु लज्जाजनक विषय थियो । तर, त्यसमा उसको केही दोष पनि त थिएन । उसले एक्लै गर्ने पनि होइन, संस्थाको नीतिअनुसार परियोजन सञ्चालन गर्ने उसको काम हो । त्यसैले हाकिमले उसलाई अप्ठ्यारो नमान्न आग्रह गरे । ऊ अलि खुशी भयो ।

हाकिमले त्यो गाउँका घर–घरमा गएर बासिन्दाहरूसँग समस्या र समाधानका उपायबारे अन्तक्र्रिया गरे । उसले पनि ती कुराहरूलाई टिपोट गर्दै गयो । पत्तै नपाई दिन कति छिटो बितेछ । काम सकिँदा झमक्क साँझ परिसकेको थियो ।

फर्कनका लागि समय थिएन । एक त साढे दुई घण्टाको पैदल बाटो, त्यसमाथि बीचमा जंगल । रातिमा हिँड्नु सुरक्षित थिएन । त्यसैले उनीहरू त्यहीँ उसकै घरमा बस्ने निधो गरे ।

हाकिमलाई आफ्नो घरमा स्वागत गर्न पाउँदा उसलाई पनि खुशी लाग्यो ।

खाना बनाउने बेला भयो । ऊ अचानक अलिकति हच्कियो— भान्छामै त कसरी लानू र ? बुवाले थाहा पाउनुभयो भने त बर्बादै हुन्छ ।

उसले जुक्ति निकाल्यो— घरबाहिर आँगनमा पकाएर वनभोज जस्तो गरेर खाने ।

उसलाई अलिकति राहत भयो अनि आफ्नो बुद्धिमा गर्व पनि ग¥यो ।

स्थानीय धानको रसिलो भात, कुखुराको मासु, चामलको जाँडसँग उनीहरूले वनभोज मनाए । राति अबेरसम्म रमाइलो गफ गर्दै बिताए ।

सुत्ने बेला भयो । उसलाई फेरि अप्ठ्यारो प¥यो । शयनकक्ष दोस्रो तलामा थियो । शयनकक्ष जाने बाटोमा पूजा कोठा पथ्र्यो । त्यो पूजा कोठामा उनीहरूले कुल देवताको तरवार र ध्वजा राखेका थिए । प्रायः शहरमै बस्ने गरे पनि बुवाको निधन नहुँदासम्म उनीहरूले कुलदेवताको स्थान नसार्ने निधो गरेर त्यही घरमा राखेका थिए ।

उनीहरूका कुलदेवता अलि अप्ठ्यारा थिए, चोखोनिधो बढी खोज्थे । एकपटक जुठो कचौरा पूजा कोठामा परेका बेला उसको भर्खर जन्मेको छोरालाई अचानक कुलदेवता ‘लागेका’ थिए । पछि त्यो कचौरा त्यहाँबाट निकालेर शुद्धशान्ति गरेपछि मात्र छोरो निको भएको थियो ।

उसलाई प¥यो फसाद । के गर्ने अब ?

पहिलो त देवता रिसाउलान् भन्ने डर । दोस्रो बाबुले थाहा पाए भने बाबु रिसाउलान् भन्ने डर । उता, फेरि हाकिमले भेदवाव गरेको थाहा पाए भने उनी रिसाउलान् भन्ने चिन्ता । ठूलै धर्मसंकटमा प¥यो ऊ ।

उसले फेरि अर्को जुक्ति निकाल्यो र भन्यो, “सर, माथि सुत्ने धूलैधूलो रहेछ । आज अलि गर्मी पनि छ । बरु म खटिया बाहिर सार्छु, ताराहरूको मज्जा लिँदै बाहिरै सुतौं । रमाइलो पनि हुन्छ । एकरात त हो । के छ सरको विचार ?”

हाकिमलाई कुनै शिकायत थिएन । उनी राजी भए । खुला आकाशमुनि दुइटा खटिया मिलाएर ताराहरू नियाल्दै उनीहरू त्यहीँ सुते । ऊ ‘पाप’बाट जोगियो । राति उसलाई शान्तिको गहिरो निद्रा लाग्यो ।
 

प्रतिकृया दिनुहोस