काठमाडौं । नाट्य क्षेत्रमा युवापुस्ताको आर्कषण र सक्रियता बढ्दै गइरहेको छ । अरू विधाभन्दा पृथक मानिने नाट्य विधामा पछिल्लो समय युवा पुस्ताको आर्कषण र सक्रियता बढ्दै गएको हो । यद्यपि महिलाको संख्या भने यस रङ्ग क्षेत्रमा आशातीत देख्न सकिँदैन ।
तीसको दशकमा नाट्य क्षेत्रको अवस्था अहिलेभन्दा धेरै राम्रो थियो । टिकट दर जति नै बढी भए पनि दर्शकहरू टिकट किनेर नाटक हेर्न पुग्थे । राष्ट्रिय नाच घर, प्रज्ञा भवन, राष्ट्रिय सभा गृहजस्ता ठूलाठूला हलहरूमा नाटक हेर्न आउने खचाखच दर्शक देखिन्थ्यो । चालिसको दशकसम्म आइपुग्दा नाटक फेरि ओह्रालो लाग्न थाल्यो । २०६२ सालदेखि भने नेपाली नाट्य क्षेत्रको अवस्था सन्तोषजनक बन्न थालेको हो ।
गुरुकुल लगायत तिनवटा नाटकघर लगातार बन्द भएपछि अहिले फेरि विभिन्न स्थानमा नाटक घर बन्दैछन् । ती सबै नाटक घर बनाउन पनि युवापुस्ताको सक्रियता रहेको देखिन्छ । “उपत्यका भित्र मात्रै नभई उपत्यका बाहिर पनि नाटक घरहरु बन्दैछ,” चर्चित रंगकर्मी सुनिल पोखरेलले भन्छन् , “गुणस्तर दिगो राख्दै जाने हो भने नाटकको भविष्य राम्रो देख्न सकिन्छ ।” तथापि कतिपय स्थानमा भने नाटक प्रर्दशनको क्रममा दर्शकहरूबीच खबर राम्रोसँग नपुग्ने उनले बताए ।
अनामनगरमा सनील पोखरेलद्वारा नै सञ्चालित ‘ज्ञ नाटक घर’ मा नाटक सिक्न आउनेहरुमा सबै युवा पुस्ता छन् ।
चावहिलका प्रकाश गुरागाईं ‘‘ज्ञ नाटक घर’ मा एक महिनादेखि नाटकको प्रशिक्षण लिदैं आइरहेका छन् । आफ्नो सानैदेखिको ईच्छालाई पूरा गर्न उनी अहिले नाटक सिकिरहेका छन् । दिउँसोको समयमा ट्राभल एजेन्सीमा काम गर्ने प्रकाश विहान ७ बजेदेखि ११ बजेसम्म नाटक सिक्छन् । “आफूलाई मनदेखि जे कुरा गर्न मन लाग्छ त्यो गर्नपर्छ,” उनले भने “मेरो लक्ष्य नै नाटक सिक्ने भएकोले यसैप्रति मेरो लगाव बढ्दै गएको छ ।”
प्रकाशसंगै अन्य ११ जाना युवाहरू ‘ज्ञ नाटक घर’ मा नाटक सिकिरहेका छन् । नाटककै कारणले आफ्नो सोच बद्लिएको र यसले सकरात्मक सोचको विकाश गर्ने उनीहरूबताउँछन् ।
आफ्नो समय निकै व्यस्त हुँदाहुँदै पनि उनीहरू विहानको तीन घण्टा नाटकको लागि समय निकाल्छन् । पहिलाको पुस्ताहरूले नाटक खेलेको देखेर प्रेरित भएकै कारण उनीहरू पनि नाटक सिकिरहेका छन् । नाट्य क्षेत्रमा युवा पुस्ताको सक्रियता बढिरहेको समयमा पारिवारिक कारण र समयको अभावको कारणले गर्दा महिलाको संख्या भने कम देखिने गरेको छ । नाटकको प्रशिक्षण दिईरहेका चर्चित रंगकर्मी सुनिल पोखरेल भन्छन् “अहिलेसम्म मैले नाटक सिकाएकोमध्ये एउटा समूहमा मात्रै अलि पाको उमेरको मानिस आउनुभएको थियो ।”
ती बाहेक नाटक सिक्ने हरेक समूहमा युवा पुस्ताको मात्रै सहभागिता रहने गरेको उनले बताए ।
पोखरेलले भने “पछिसम्म नाटकको जगेर्ना गरिराख्न सरकारले पनि पहल गर्नुपर्छ । त्यसकोलागि नाट्य विद्यालय खोल्ने र अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्नु जरुरी छ ।”