एसईई परीक्षा दिएका भाइबहिनीहरूलाई चिठी 

शिव संकल्प

एसईई परीक्षा दिएका प्रिय भाइबहिनीहरू

(कृपया अभिभावकहरूले पनि ध्यान दिनुहोला)

नमस्कार । सञ्चै हुनुहुन्छ ? 

केहीदिन अघि अचानक सामाजिक सञ्जालमा हेलम्बुका तपाईँहरूका दाजु दीपकिरण खड्काले लेख्नुभएका तलका पंक्तिहरू देखेपछि यो चिठी नलेखी बस्न सकिन !  

उहाँले लेख्नुभएको थियो 

“शैक्षिक क्षेत्रका माफियाहरूले ल्याएको बेतुकको एसईईपछिको ब्रिज कोर्स झुक्किएर पनि गर्दै नगर्नुहोला ।“

अनि उसो भए के गर्ने त ? हो त्यसैको सेरोफेरोमा यो चिठी लेखिएको छ । 

हो ! ब्रिज कोर्स गर्दै नगर्नुहोस् ।  बरु गाउँ जानुहोस् ।  गाउँमै हुनुहुन्छ भने पनि खेतबारीमा जानुहोस् । बा, आमा, हजुरबा, हजुरआमाहरूसँग एकैछिन बस्नुहोस् । कुरा गर्नुहोस् । पुराना कुरा सोध्नुहोस् । नयाँ ठाउँको यात्रा गर्नुहोस् । संगीत, नृत्य, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, धातुकला, विभिन्न हस्तकला आदि सिक्नुहोस् । माटो र पानीसँग खेल्नुहोस् । बिरूवाका खस्रा र चिल्ला पातहरू छाम्नुहोस् । ऐसेलु, चुत्रो, बडहर, दहीकाम्लो, भक्याम्लो, जामुन, बयर, किम्बु, काफल, कटुस, हलुवावेद, अमारो, आरूबखडा, खुर्पानी, कागुनु, कुरिलो, जलुको, ठोट्ने, जरिङ्गो, ओल, हलहले, टुसा, निहुरो आदि जे जे फल, साग पाइन्छ खोजेर चाख्नुहोस् । धान, जौ, गहुँ, कोदो, फापर, उवा, सामा आदि अन्नहरू पनि चिन्नुहोस् र चाख्नुहोस् । कोइली, लाहाँचे, काफल पाक्यो, तित्रो, कालिज, जुरेली, न्याउली, गिद्ध, भ्याकुर, ढुकुर, सुगा, मैना, डाँफे, चाँचर, मुनिया, भारद्वाज, मुनाल, मलेवा, जलेवा, चखेवा, जलकौवा, धनेश, फापरे आदि चराका शब्द पाएसम्म सुन्नुहोस् ।

तुलसी, घिउकुमारी, अविजालो, भृङ्गीराज, गुर्जाे, गुदरगानो, पाखनभेद, ठूलो ओखती, कण्टकारी, अश्वगन्धा, सर्पगन्धा,  जटामसी, नीरमसी, पाँचऔँले, भलायो, अलैँची, चिराइतो, बोझो, सुगन्धवाल, डालेचुक, टिमुर, आँक, चरीअमिलो, लज्जावती, रातीगेडी, राजवृक्ष, सिन्केकाँडा, थकालीकाँडा, विजयसाल, टाप्रे, घोडटाप्रे, हर्राे, बर्राे, अमला, पिप्ला, मरिच, अदुवा आदि अनेक जडीबुटीहरू पनि चिन्न र तिनका उपयोग जान्न प्रयास गर्नुहोस् ।

झरना र खोलामा सँग्लो पानी कलकल बगेको कस्तो हुन्छ कतै गएर हेर्नुहोस्, सुन्नुहोस्, डुबुल्की मार्नुहोस् । चिलाउने र उत्तिस, साल र सल्लाको जङ्गलमा विचरण गर्नुहोस् । सल्लाघारीमा चैत वैशाखको हुरी चल्दा कस्तो सुनिन्छ सुन्नुहोस् । लालपाते, जाई, जुही, चम्पा, गुहेली, पारिजात, करवीर, आरू, नास्पाती, सुनाखरी, चाँदीखरी, घन्टीफूल, धसिंग्रे, बाबरी, बाह्रमासे, बेली, चमेली, रातकी रानी, गुँरास, गुलाफ, कमल, इन्द्रकमल, गलैँची, गुनकेशरी, कोइरालो, मालती, नागकेशर, प्याउली, बुकी, टाँकी आदि फूलको सौन्दर्य र सुगन्ध पाएसम्म अनुभव गर्नुहोस् । कतै गाउँतिर गएर रातिमा आकाशका ताराहरू हेर्नुहोस् । चन्द्रमाको बढ्दै गएको कान्ति र घट्दै गएको कान्ति, चम्किलो शुक्र अनि बुध, तीनतारे, घुमिरहेको प्रश्नचिह्न जस्तो सप्तर्षि,  उत्तर दिशा देखाउने ध्रुवतारो, झुरूप्प परेका कृत्तिका, वृश्चिक राशिको घुमेको पुच्छर, व्याधा र मृगशिरा आदि ग्रह र नक्षत्रहरू चिन्न प्रयास गर्नुहोस् । झ्याउँकिरी, किथ्रो वा भ्यागुताका ट्यारट्यार ध्यानपूर्वक सुन्नुहोस् । इतिहास, भूगोल र संस्कृतिका पाठ्यपुस्तक भिन्न पुस्तकहरू पढ्नुहोस् । नक्साहरू घोत्लिएर हेर्नुहोस् । उत्तर, दक्षिण, पूर्व, पश्चिम, आग्नेय, नैऋत्य, वायव्य र इसान दिशाहरू खुट्याउनुहोस् ।  पाटी, पौवा, सत्तल, बहाल, देवस्थलहरू, चौतारो, ढुङ्गेधारा, दरबार, पोखरी,  आदि प्राचीन धरोहरहरू घुम्नुहोस् । वृद्ध, असहाय र अनाथहरूलाई भेट्नुहोस् । जो सकेको सहयोग गर्नुहोस् ।

कुनै तथाकथित राम्रो मानिएको विद्यालयमा प्रवेश गरेर पुनः घोकन्ते ११ र १२ को चक्करमा पर्नुभन्दा अघि अलिकति जीवनलाई व्यापकरूपमा अनुभव गर्नुहोस् । जीवनमा सिक्नुपर्ने कुरा अनगिन्ती र व्यापक छन् । जीवनका मूल्यवान् दुई तीन महिना पनि सँधैजस्तो एकोहोरो कक्षाकोठामै नष्ट नगर्नुहोस् । पुनः पुरानै शैलीमा फर्कनु अघि तपाईँ र तपाईँको मस्तिष्कलाई ताजगीको आवश्यकता छ । तपाईँले यी दुई तीन महिना पनि अलिकति पृथक् बाँच्नसक्नुभयो भने जीवनभरको लागि अमूल्य बन्नेछ ।
तपाईँहरूको स्नेही दाजु,
शिव संकल्प
(पोखरा) 

प्रतिकृया दिनुहोस