site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एक सर्को माया
Sarbottam CementSarbottam Cement

– जीएस पौडेल


८ अक्टोबर बिहान होटेलको एक्स्टेन्सन बज्यो । फोनको घण्टीले चिसो मौसममा सिरकमुनि लुकिरहेका जेरौल्डको निद्रा बिथोलिदियो । भित्ताको घडीमा बिहानको ठीक ६ बजेको थियो । जेरौल्डले सिरकबाट हातमात्र निकालेर मन नलागी–नलागी फोन उठाए, “हेल्लो !”

“सरी जेरौल्ड, तिमीलाई बिहानै डिस्टर्ब गर्ने त मन थिएन तर....”

Prabhu Bank
Agni Group
NIC Asia

फोनमा लुसीको आवाज आयो । जेरौल्डले निन्द्राकै तालमा सोधे, “तिमीहरू हिँडिसक्यौ ?”

“उम्, एयरर्पाेट पुगिसक्यौं ।”

Global Ime bank

“ए, ल ल आँखाभरि हेर्नू सगरमाथालाई, धित नमरुन्जेल !”

“सुन न जेरौल्ड !”

“भन न !”

“हुन त यो कुरा लुक्लाबाट फर्किएपछि मात्र भन्छु भन्ने सोचेकी थिएँ तर मनले पर्खिन मानेन ।”

“के कुरा हो र लुसी ?”

“मैले हिजो रातभरि धेरै सोचेँ । मनमा धेरै कुराहरू आए तर म अन्त्यमा एउटै निचोडमा पुगेँ ।”

“कस्तो निचोड ?”

“जेरौल्ड, तिमीले आफ्नो अपार्टमेन्ट बेच्ने बारेमा केही सोचेका छौ ?”

“मतलब ? मैले कुरा बुझिनँ लुसी ।”

“डियर, अब सँगै बस्ने भएपछि दुईवटा अपार्टमेन्ट किन चाहियो ?”

“ओ माई गड ! डियर, साँच्चै हो ? कतै म सपनामा त छुइनँ ?”

“हो जेरौल्ड, तिमी विपनामै छौ । तिमीले ठीक भनेका रहेछौ, एउटा पेपरमा गरेको हस्ताक्षरले मनको सम्बन्ध र भावना तोड्न सक्दैन । डिभोर्स हाम्रो आवेगले गरेको गल्ती थियो । मेरो मनले त्यो गल्तीलाई गल्ती सम्झेर माफी गरिदियो । धेरैथोरै गल्ती हामी दुवैको थियो । प्रेममा भएका ती गल्तीहरू एकपटकका लागि क्षम्य भए । अब वाचा गरौं, अर्कोपटक कुनै गल्ती दोहोरिनेछैन ।”

“वाचा भयो लुसी । तिमीलाई म कसरी भनौँ ! यतिखेर मेरो मनमा रङ्गीचङ्गी खुसीका फूलहरू फुलिरहेका छन् ।”

“भो भो, धेरै इमोसनल नहोऊ, फोनमै रोउला फेरि ! म लुक्लाबाट फर्किएपछि तिम्रो काखमा बसेर गनौँला, कति रङका कतिवटा फूल फुलेका रहेछन् ? अहिले फोन राखेँ, बोर्डिङको टाइम भयो ।”

“लुसी !”

“भन जेरौल्ड ।”

“इस लिबे डिस ।”

“इस लिबे डिस आओक, ए रुक रुक, जेडीले कुरा गर्ने अरे !”

“हेल्लो जेडी ।”

“जेरौल्ड, बधाई छ ।”

“ओ, तिमीलाई पनि सबै थाहा भइसक्यो ?”

“सबैलाई थाहा भएको कुरा मलाई थाहा नहोला र ! हे हे हे... ।”

“ओके ओके, राम्ररी घुमाएर ल्याउनू ।”

“म जाँदै छुइनँ, हाम्रो लुक्लाकै गाइडले हेर्छ ।”

“हो र ?”

“हो, म दिउँसो होटेल आउँछु । केही चाहियो भने भन्नू । साँझ हजुरमाँलाई भेट्न जाँदैछु । भोलि दशैँको टीका थाप्नका लागि ।”

“ओके, एकचोटि लुसीलाई देऊ त !”

“लुसी भित्र छिरिसकिन् ।”

फोन राखिसक्दा पनि लुसीसँग भएको संवाद जेरौल्डलाई सपनैजस्तो लागिरहेको थियो । उनी यति खुसी थिए कि जुन खुसीको बयानै गर्न सक्दैनथे । बिस्तारामै पल्टिएर जेरौल्ड धेरै बेरसम्म लुसीलाई सम्झेर टोलाइरहे । टोलाउँदा–टोलाउँदै चिसो मौसममा न्यानो सिरकभित्र बसिरहेका जेरौल्डलाई अलि अघि छोडेको निद्राले फेरि समात्यो ।

जेरौल्ड गुमेको माया पाएकोमा आनन्दको गहिरो निद्रामा डुबिरहेका थिए । फेरि उनलाई फोनकै घण्टीले बिउँझायो । त्यतिबेला बिहानको ८ बजिसकेको थियो, जेरौल्डले फोन उठाए, “हेल्लो !”

“हेल्लो, जेरौल्ड !”

उताबाट जेडीको आवाज आयो । उसको आवाजमा रोदन भरिएको थियो । जेरौल्डले सोधे, “जेडी, के भयो तिमीलाई किन रोएको ?”

“जेरौल्ड !”

“भन न जेडी, म सुनिरहेको छु ।”

“जेरौल्ड, लुक्ला एयरपोर्टमा ल्यान्डिङ गर्ने क्रममा यती एयरलाइन्सको प्लेन क्र्यास भयो ।”

“के भन्दैछौ तिमी ?”

“हो जेरौल्ड !”

जेडीको रोदन जारी नै थियो, उसले भन्दै गयो, “दुईजना अस्ट्रेलियन पर्यटक र हाम्रो ग्रुपका बाह्रैजना कोही पनि बँचेनन् जेरौल्ड । एकजना पाइलटको मात्र जीवितै उद्धार भएको खबर आएको छ । हेल्लो, हेल्लो जेरौल्ड, तिमी सुनिरहेका छौ ? हेल्लो.... !”

आँखा खुल्दा जेरौल्ड कुनै अस्पातलको बेडमा पल्टिरहेका थिए ।

त्यो रात बरदुबईको शान्त बारमा जेरौल्डले आफ्नो प्रेमको वियोगान्त कथा सक्दै गर्दा निकै अबेर भइसकेकोे थियो । मलाई बियरको नशा र जेरौल्डको कथा दुवै बेस्मारी चढेका थिए । ड्रिङ्कपछि ड्राइभ गर्ने त कुरै भएन, जेरौल्डलाई होटेलसम्म पैदल छोडेर म ट्याक्सीमा रसिदियाको आफ्नो कोठातिर लागेँ । त्यो रात मैले कोठामा पुगेर बेस्मारी उल्टी गरेँ । उल्टी गरेपछि बियरको नशा भने उत्रिँदै गयो तर जेरौल्डको कथा उत्रिएन, उत्रिँदै उत्रिएन । जुन आज आएर उत्रिएको छ ।

० ० ०

जेरौल्डको कथा सम्झिएर म टोलाइरहेको थिएँ, स्पिडबोट त रितिवीच् रिसोर्टको जेट्टी पो पुगिसकेछ । सेतो सेफ ज्याकेट लगाएका अग्ला र मोटा जेरौल्ड केही बूढा देखिएका थिए । आफ्नो रातो अनुहारमा चमक ल्याउँदै जेरौल्डले मलाई स्वागत गरेर अँगालो मिलाए । रिसेप्सनको फम्र्यालिटी पूरा गरेपछि डिनरमा भेट्ने कुरा तय गरेर म जेरौल्डसँग छुट्टिएँ र गल्फ कोर्टमा चढेर होटेलको कोठातिर लागेँ ।

पानीमाथि खम्बाहरू गाडेर बनाइएको वाटरभिल्ला साहै्र राम्रो थियो । फोनलाई चार्जमा राखेर बाथरुम छिरेँ । बाथरुमबाट फ्रेस भएर निस्किएपछि म कोठापछाडिको यार्डमा निस्किएँ अनि समुद्र हेर्दै चालिसे दाइले दिएको विशेष बाटो खर्चलाई सल्काएँ । त्यो खास चुरोटको धूवाँ पुत्ताउँदै गर्दा मलाई रक्बोको याद आयो । त्यति नै बेला कोठाबाट रिङ्टोनको आवाज पनि आयो । चालिसे दाइको फोन रहेछ । फोन उठाउनासाथ दाइले भने, “सकियो भाइ भेटघाट ?”

“सकिन–सकिन लाग्यो दाइ ।”

“अनि खानपिन ?”

“हजुरले दिएको बाटो खर्च चैं पिन भयो, खान चैं बाँकी नै छ ।”

“हा हा हा, हो र ! ल ल भाइ के छ भनेर नि !”

“तपाईं कता ?”

“अहमद जीएफको बर्थ डे पार्टीमा गयो, म एक्लै छु । चौराहाको क्याफेमा हेडिका र चिया खाँदै । बाहिर पानी पर्दैछ ।”

“ल ल दाइ, इन्ज्वई द रेन ।”

“ओके बाई ।”

म एकछिन बिस्तारामा पल्टिएँ । विशेष चुरोटले रमरम पार्दै थियो, फेसबुक खोल्न मन लाग्यो । साथीहरूको पोस्ट हेर्दै जाँदा राउधा अनलाइनमा भएको सङ्केत देखियो । मलाई बोलाउन मन लागिहाल्यो, “हाई, के छ खबर ?”

उसले पनि छिनमै जवाफ फर्काई, “सब ठीक छ, फेब्रुअरी रेनको लुप्त उठाउँदै छु ।”

“मालेमा पानी परिरहेको छ ?”

मैले थाहा नपाएजस्तो गरेँ । उसले भनी, “हो नि ! तिमी मालेमा छैनौ र ?”

“म त बा एटोलमा छु ।”

“ए हो र ? म त बाहिर जान लागेकी अब ।”

“झरीमा ?”

“झरीमा भिज्न मलाई खुब मन पर्छ ।”

“भिज्न त मलाई पनि मन पर्छ ।”

मैले मन नपरे पनि लेखिदिएँ । उसले पत्याइहाली, “साँच्चै ?”

“आई लभ रेन ।”

“त्यहाँ पानी परेको छैन ?”

“छैन ।”

“ए हो र ? ल ल म निस्किन्छु । पछि कुरा गराँैला ! बाई ।”

“ओके बाई ।”

उसले जाँदाजादै ‘पछि कुरा गराँंला’ भनेर गई । उसको कुराले मनमा एक भिन्न प्रकारको आनन्द दियो । ‘पछि कुरा गरौंला’ अर्थात् कथा जारी नै छ !

८ बजेतिर डिनर गर्नुअघि जेरौल्ड र म बारमा बसेर बियर पिउन थाल्यौं । त्यो दिन मलाई बियर मीठो लागिरहेको थिएन । त्यसै पनि खासै नपिउने मान्छे, त्यसमाथि पनि साँच्चै भन्नुपर्दा धूवाँको नशा लिन थालेपछि बियरको नशा ननिको लाग्दो रहेछ । ननिकै लागे पनि बियरका सौखिन जेरौल्डलाई साथ त दिनैप¥यो । बियर पिइरहँदा जेरौल्डले भने, “आलोक, तिमीलाई लागिरहेको होला कि मैले किन तिमीलाई भेट्न कर गरें !”

मैले जवाफमा मुण्टो हल्लाएर ‘हो’ भन्ने जनाउ दिएँ । जेरौल्डले भन्दै गए, “आलोक, अब म माल्दिभ्स छोडेर जाँदैछु ।”

“हो र ? किन के भयो र सेफ ?”

“अरू केही होइन आलोक, एउटा लामो भ्याकेसनमा जाने मन छ । मान्छेहरू भन्छन्– वर्षमा एक महिना फोन, इन्टरनेट र कामबाट छुट्टी लिनुपर्छ । मैले त कति वर्ष भयो एउटा राम्रो भ्याकेसन पनि लिएको छैन । लुसीको याद र यो बियरको साथ त जिन्दगीभर रहने नै छ, अरूचाहिँ सबै छोडेर म एउटा लामो भ्याकेसनमा जाने योजनामा छु ।” 

“कहाँ जानुहुन्छ सेफ ?”

“थाहा छैन आलोक ! एकान्त ठाउँमा गएर समय बिताउने मन छ, कहाँ पुग्छु ! तिमी यहीँ भएकोले जाँदाजाँदै एकपटक भेटौं भन्ने लाग्यो त्यसैले कर गरेको हुँ । फेरि भेट होला नहोला !”

जेरौल्डका कुराले मलाई कता कता नमीठो लाग्यो, त्यो बियरको स्वादजस्तै ।

“कहिले जानुहुन्छ ?”

“चाँडै जान्छु ।”

“जाने बेला मालेमा भेटौं न सेफ ।”

“हेरौं टाइमिङ कस्तो पर्छ !”

भोलिपल्ट बिहान ब्रेकफास्टपछि हामी मिटिङमा बस्यौं । जेरौल्डसँगै पर्चेजर जोन पनि थिए । मिटिङ अपेक्षा गरेभन्दा राम्रो भयो । काम सकेर स्पिड बोटमा चढेर हात हल्लाउँदै म धाराबन्धु एयरपोर्टतिर लागें । जेट्टीमा उभिएर जेरौल्ड हात हल्लाइरहेका थिए । शायद, अन्तिम भेट सोचेर ! तर, जिन्दगी लामो छ अनि धरती गोलो ! कसलाई के थाहा भोलिको झोलीमा के छ ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC