site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कतारको कहर
Ghorahi CementGhorahi Cement

– सरिता अर्याल


मनभरि बेचैनी छ । भुइँचालोमा हल्लिएको घरजस्तो भएको छ शरीर । दिमाग ठीक ठाउँमा छैन । त्यसै उथलपुथल भएको छ मन । छिमेकी दिदीको घरमा एक कचौरा चिनी पैंचो लिन गएकी थिएँ । भिनाजुले मलाई देख्नासाथ सोधिहाल्नुभयो, “के छ मीना खबर ?”

अभाव र आँसुमा बितिरहेको मेरो जीवनमा खबर त के हुनु थियो र ! भनिदिएँ, “ठीकै छ भिनाजु ।”

Agni Group

चिनी लिएर आँगनमा आइपुगेकी मात्र थिएँ, भिनाजुले फेरि पनि रोक्दै भन्नुभयो, “कतार जान्छ्यौ त ? म मिलाइदिन्छु ।”

यो कस्तो प्रस्ताव थियो, मैले बुझ्नै सकिनँ । कतारको नामै सुनेर आत्तिएँ । टेकेको जमिन भासिएको अनुभव भयो । शरीरमा चिटचिट पसिना आउन थाल्यो । बिस्तारै भनें, “भिनाजु, मरे पनि आफ्नै आँगनको तुलसीको मठमा मर्छु । एक त विदेश, त्यसमा पनि कतार, भो–भो जाँदै जान्नँ ।”

Global Ime bank

भिनाजु मेरो अनुहारमा हेरेर उभिरहनुभो, केही बोल्न सक्नुभएन । उहाँलाई जान्छु पनि नभनी म घर आएँ । उहाँको प्रश्नले दिनभरि कोपिरह्यो । कतारले च्वास्स च्वास्स घोचिरह्यो । मुटु छेडेको अनुभूत गरिरहें । आँखाअगाडि मेरो अतीत नाच्न थाल्यो । आफ्नो दुर्भाग्यको प्रारब्धलाई सम्झिन बाध्य भएँ । सम्पूर्ण विगत सिनेमाको रिलझैं घुम्न थाल्यो । नचाहँदा–नचाहँदै पनि कालो अतीतमा रुमलिन पुगें । आफ्नो मुटुभित्र साँचेको अमिट माया, जसलाई आदर्श पुरूषमात्र होइन, भगवान् मानेकी थिएँ, उही श्रीमान्को अनुहार आँखाअगाडि आइरह्यो । आँखा चिम्लिँदा पनि उनैलाई देखिरहें ।

० ० ०

म उनकी कान्छी थिएँ । कान्छी स्वास्नी भए पनि भगाएर ल्याएकी कान्छी थिइनँ । झ्याइँझ्याइँ पञ्चेबाजासहित भित्रिएकी थिएँ । सम्झँदा पनि सपनाजस्तो लाग्छ । मान्छेको जीवन काँचको खेलौना हो कि क्या हो ? केही बुझ्न सकिँदो रहेनछ । यस्तै–यस्तै कुराले मन भरिएको थियो । कतारले फेरि झस्कायो ।

७ वर्षअघि छिमेकी गाउँकी केटीसित मेरा श्रीमान्को विवाह भएको रहेछ । दुई सन्तान जन्मिएपछि परिवारलाई सुख दिन उनी रोजगारीका लागि कतार हान्निएका रहेछन्, गाउँको अस्थायी मास्टरी जागिर छाडेर । तन्नेरीहरू गाउँ रित्याएर विदेशतिर लागेको देख्दा उनलाई पनि लोभ लागेछ । दुई–चार वर्ष विदेशमा बस्ने, पैसा कमाउने, छोराछोरीलाई पढाउने र गाउँमा पक्की घर बनाउने सपना उनले पनि बुनेछन् ।

उनले दुःख गरेर कमाएको सबै पैसा घर पठाउन थाले । उनी ढुक्क थिए— श्रीमतीले उनको पसिनाको मूल्य बुझेकी छ । तर, मानिसको जीवन सोचेजस्तो सोझो बाटामा हिँड्दो रहेनछ । गाउँबाट कसैले खबर गर्‍यो, “तिम्री श्रीमती कता गइन् गइन्, अत्तोपत्तो छैन ।”

उनको घरमा छोराछोरी एक्लै थिए । केटाकेटीको रुवाबासी सुनेर गाउँले छक्कै परे । यस्ता लालाबाला छोडेर कसरी भाग्न सकिहोली ? डर र भोकले कहालिएका केटाकेटीलाई छिमेकीहरूले आश्रय दिए । उनलाई थाहा थिएन, श्रीमती कहाँ गएकी हो ! उनले कतारबाटै ससुरालीलगायत सबै आफन्त र चिनेजानेका सबैसँग गुहार मागे । भोलिपल्ट उनकी दिदी आएर घरको ढोका खोलिन् । दुई सन्तान छोडेर पोइल गएकी भाइबुहारीले छोडेको घर सम्हालिदिइन् । भाइका छोराछोरी ल्याएर हेरिन् । तर, आफ्नो पनि घरजम भएकी दिदी भाइको घरमा कति दिन बस्न सक्दथिन् र ! भदाभदै लिएर गइन् आफ्नै घरमा ।

यो कुरा गाउँभरि जंगलको डढेलोझैं फैलियो । गन्ध सुगन्धभन्दा छिटो फैलिँदो रहेछ । त्यस्तै भयो । सानो भए पनि उनको घर थियो । अब, त्यो उजाडिएको थियो । चार जनाको त्यो सानो संसार हेर्दाहेर्दै खरानी भएको थियो ।

कम्पनीसँग सम्झौतामा बाँधिएका उनी उतिबेलै घर फर्किन पाएनन् । कम्पनीले पासपोर्ट फिर्ता दिएन । सम्झौताअनुसार काम गरेको एक वर्षपछि पाउने बिदामा उनी घर आए । घरमा मुसाको राज थियो । जताततै प्वालैप्वाल । माकुराको जालो र पाप्रा उप्किन थालेका भित्ता । घरको अवस्था देखेर उनी डाँको छोडेर रोएका थिए रे ! भोलिपल्ट दिदीका घरमा गएर आफ्ना छोराछोरी लिएर आएछन् । उनका दिन तिनै केटाकेटीको स्याहार र घरधन्दा गर्दै बित्न थालेका थिए ।

त्यतिबेला मेरो उमेर कलिलै थियो । ७ कक्षामा पढ्दै थिएँ । १३ वर्षमा टेकेकी मात्र थिएँ । एकदिन स्कुल जाँदै थिएँ, काकाले मलाई बाटामै रोक्नुभयो । उहाँको साथमा एकजना नौला मानिस थिए । उनले मलाई नियालेर हेरिरहेका थिए । उनले मेरो नाम र कक्षा सोधे । केहीबेर उभिएर हेरे । मैले प्रश्नको सहज उत्तर दिएँ । केही बेरपछि काकाले स्कुल जाऊ भन्नुभयो । खुरुखुरु स्कुलतिर लागें ।

बेलुका घरमा थाहा भयो— बाटो रोकेर बोल्ने त बिहे गर्नका लागि मलाई हेर्न आएका मानिस पो रहेछन् ! मेरो उमेर बिहे गर्ने त हुँदै होइन तर बाबुआमाका अगाडि मेरो के लाग्थ्यो र ? मेरो विद्यार्थी जीवन त्यही दिन सकियो । उनले मलाई हेरेको चारै दिनको दिन मेरो बिहे भयो । हिजोसम्म मैले मेरो ठानेको घर, त्यो दिनबाट माइती घर बन्यो ।

मेरो जीवन खै कता मोडियो, थाहै भएन । धेरै पढेर सुब्बा हुने सपना थियो । पानीको फोकाझैं फुट्यो । यौन के हो भन्ने कुरा थाहै नपाई कुमारीत्व नष्ट भयो । म कुमारीबाट सीधै दुई छोराकी आमा बन्न पुगेकी थिएँ । घर भित्रिएको दिनदेखि नै ती अञ्जान बालबालिकाको अबोध मायामा लुटपुटिन पुगें । उनीहरू तोते बोलीमा घुम्टो उठाउँदै ‘तिमी आमा हौ ?’ भनेर सोध्थे । भित्रैबाट मातृत्व फुटेर आउँथ्यो । मन करुणाले भरिन्थ्यो ।

बिहे भएको भोलिपल्ट बिहान आँखा खुल्दा छोरो छेउमा बसेर मलाई नै हेरिरहेको रहेछ । मेरो गालामा कलिला हत्केलाले सुम्सुमाउँदै भन्यो, “तिमी टाढा नजाने आमा हौ ?”

छोराको आवाजले निदाइरहेको बाबुलाई पनि बिउँझाइदियो । म केही बोल्न सकिनँ । उठेर छोरालाई काखमा लिएकी मात्र के थिएँ, उनी भावुक हँुदै बाहिर निस्किए । केहीबेरपछि म पनि बाहिर निस्किएँ । यताउता हेरें, उनी पिँढीमा बसेर रोइरहेका थिए । भर्खर घरमा भित्रिएकी थिएँ, बोल्ने हिम्मत भएन । उनका आँखाबाट बलिन्द्रधारा आँसु निस्किएको देखेर माया लाग्यो । तर, पनि के भयो भनेर सोध्न सकिनँ । उनी रुँदा म पनि रुन थालें । हामी दुवै रुन थाल्यौं । उनको आत्मा दुःखले बिलबिलाएको थियो । मैले उनलाई सक्दो खुसी राख्न चाहें ।

समयले हामीलाई धेरै पर धकेल्दै थियो । हामी दुई, हाम्रा दुईमा खुसी थियौं । घरका अगाडि एउटा सानो घुम्ती राखेर पसल चलाउँथ्यौं । आम्दानी थोरै भए पनि असीमित खुसी थियो । हाम्रा घरमा पाँचौं सदस्यले आउने संकेत दियो । म सुत्केरी भएँ । लक्ष्मी आइन् घरमा । एकरात जंगली हात्तीले हाम्रो सानो घर भत्काइदियो । घरको मर्मत गर्दा केही ऋण लाग्यो । पसलले जेनतेन चुलो बाल्ने काममात्र हुन्थ्यो । आम्दानीको कुनै अरू स्रोत थिएन । एकरात उनले गह्रुँगो मनले अप्ठ्यारो मान्दै मेरो गाला सुम्सुम्याएर भने, “कालू, तिमीले मलाई धोका दिन्नौ भने एकपल्ट फेरि म विदेश जान चाहन्छु । केही पैसा कमाएर पहिला ऋण तिरौंला । अनि ठूलो पसल किनेर चलाउँला । हुन्छ ?”

मायाले पुर्न खोज्ने लोग्नेलाई मैले किन धोका दिन्थें ? तर, उनी विगतदेखि त्रसित थिए । विगतको त्यो त्रासदीबाट भावुक बनेका थिए । पुरानो घटनाले उनलाई तर्साइरहेको थियो । घरको आर्थिक अवस्था सुध्रिने आशामा उनको कुरामा नाइँ भनिनँ । पसल बेचियो । ऋण लिइयो । उनी विदेश जान तयार भए ।

उनलाई छोड्न काठमाडौंसम्म गएँ । जाने बेला उनले एउटा मोबाइल किनेर दिँदै भने, “म हप्तामा एकदिन फोन गर्नेछु । जुन दिन तिमीले मेरो फोन उठाउन्नौ, त्यो दिन तिमीले मलाई धोका दिएको बुझुने छु ।”

धेरै माया गरेकी रहिछु क्यारे, उनको कुराले मन चिसो भयो । कस्तो विश्वास नगरेका होलान् जस्तो लाग्यो । केही नबोली उनको आदेश शिरोपर गरें । एक त भर्खरको उमेरमा पाएको लोग्नेलाई बिदा गर्नु छ, त्यसमा पनि के–के कुरा सुन्नुपर्दा मन त दुख्छ नै । त्यही पनि छुट्ने बेलामा उनको न्यानो अँगालोमा एकपटक बेरिएँ । ‘छिट्टै आउनू ल’ भनेर हाँसेरै बिदा दिएँ ।

उनी लागे कतारतिर । तीन महिनाको कमाइले ऋण तिरियो । चौथो महिनाको कमाइले घरका आवश्यक सामान किनियो । हामीले नयाँ कपडा लगायौं । हप्ताको एकदिन मोबाइलमा गफ गरेर नै हामी खुसी थियौं । अब पैसा बैंकमा राख्न थालेका थियौं । हाम्रो सानो संसार क्रमशः सुन्दर हुँदै थियो । हामी फोनमा योजनाहरू बनाउँथ्यौं । हाम्रा स्वप्नील योजनाहरू अनगिन्ती हुन्थे ।

उनले बारम्बार भन्थे, “अब वर्ष पुगेपछि म आइहाल्छु । तिमीलाई धेरै माया गर्छु कालु ।”

‘कालु’ उनले राखेको प्रिय नाम थियो । मायाले हराएको बेलामा उनले मलाई ‘कालु’ भन्थे । ‘कालु’ भनेर बोलाएपछि म पनि पूरै हराउँथें ।

उनी कतार गएको ९ महिना बितिसकेको थियो । अब ३ महिनामात्र बाँकी थियो आउन । तर, समय छोटिँदै गए पनि हामी दुईका लागि दिन लम्बिँदै र रात झन् चिसिँदै गएका थिए । भोलि फोन आउने दिन मनमा व्यग्रता बढ्यो । सपना साह्रै बिग्रिरहेका थिए यो हप्ता । तीन छोराछोरी त सँगै थिए । सुविस्तै थिए । उनलाई पो सञ्चो भएन कि भनेर मन पिरोलिरहेको थियो । हिजो त सबै मन्दिरमा गएर धूपबत्ती पनि बालेर आएँ । सात समुद्रपार भएका खसमलाई केही नहोस् भनेर साँझ–बिहान तुलसीको मठमा दियो पनि बाल्थें । साँझ मठमा बत्ती बालेर भित्र पस्नै मन लागेन । थ्याच्च पिँढीमै बसिरहेकी थिएँ ।

तिनै भिनाजुका परिवार सबै आए हाम्रो घरमा । सबै मलिन थिए । मनमनै सोचें— एकसाथ सबैजना किन आए ? कोही पनि बोलिरहेका थिएनन् । उनीहरू आधा घण्टाजति बसे के–के कुरा गर्दै । अँध्यारोले संसारलाई निलिसकेको थियो । तर, मेरो चुलो बलेको थिएन ।

दिदीले सोधिन्, “किन खाना नपकाएको ?”

मन पिरोलिएको कुरा सुनाएँ । एकाएक दिदी मलाई अँगालो मारेर रुन थालिन् । भिनाजुले आकाश–पाताल देखाएर सम्झाउँदै, कतारमा काम गर्दागर्दै करेन्ट लागेर उनी मरेकोे खबर सुनाउनुभयो ।

“तिम्रो भाग्यमै यस्तै लेखेको रहेछ । धैर्य गर, उसको आत्मालाई स्वर्गमा बस्न देऊ...” भिनाजु के–के भन्दै हुनुहुन्थ्यो, मैले सुन्न सकिनँ । चिसै भुइँमा ढलें । म होशमा आउँदा गाउँलेहरू आँगनभरि थिए ।

म झल्याँस्स भएँ । मेरा आँखाअगाडिको उज्यालो संसार अँध्यारो भइसकेको थियो । बोल्नका लागि मसँंग वाणी थिएन, रुनका लागि आँखामा आँसु पनि थिएन ।

हिन्दू संस्कारअनुसार लोग्नेको लाश नजलाएसम्म म विधवा हुन्नथें । उनले मेरो गलामा पहिराइदिएको पोते मृत्युको खबर आएको तीन हप्तासम्म रह्यो । लाश ल्याउनका लागि सबै कानुनी काम सकियो । तीन हप्तापछि एउटा गाडी आयो— ठूलो काठको बाक्सा बोेकेर । बाक्सा तुलसीको मठअगाडि राखियो । दिदीले मलाई समाएर बाक्साछेउमा पुर्‍याइन् । बाक्सा खोलियो । मलाई लागेको थियो— यो तीन हप्तामा हाड र छालामात्र आइपुग्ला । होइन, बाक्साभित्र त मेरा उनी चीरनिद्रामा सुतेका रहेछन् ।

उनले भनेका थिए, “विदेशमा भएको बेला मलाई धोका नदेऊ ल ।”

तर, यो कत्रो बेइमानी ! उनी आफैंले मलाई धोका दिए । मनमनले सम्झें । म केही बोल्न सक्ने अवस्थामा थिइनँ । मन र शरीर चेतनाशून्य भएको थियो । सिंगो संसार पानीबिनाको सुख्खा खोलाको बगरजस्तो देखिन्थ्यो ।

विधि, संस्कृतिअनुसार मृत्यु संस्कार पूरा गरेर लालाबाला सम्हाल्दै थिएँ । बाढीले भत्काएको मन डिल मिलाएर सम्हाल्दै थिएँ । भिनाजु आएर भन्नुभयो, “कतारको कम्पनीले चिठी पठाएको रहेछ । परिवारले पाउने क्षतिपूर्तिको रकमसम्बन्धी खबर रहेछ ।”

यो सबै प्रक्रिया भिनाजुले नै हेरिदिनुभएको थियो । भिनाजुबाटै थाहा पाएकी थिएँ, २७ लाख आउँछ रे भन्ने कुरा पनि ।

कतारबाट पैसा आएछ । भिनाजुले नै मलाई पैसा लिने अफिसमा पुर्‍याउनुभयो । मेरो नागरिकता हेरेपछि हाकिम भिनाजुसित रिसाए । उनले भिनाजुलाई हकार्दै भने, “यिनी मृतककी श्रीमती होइनन् । कसलाई लिएर आएको ?”

हामी छक्क पर्‍यौं । भरे सबै बुझ्दा थाहा भयो— लोग्नेले अघिल्लो विवाह दर्ताको कागज खारेज नै गरेका रहेनछन् । पासपोर्टअनुसार पहिलेकै श्रीमती कानुनी हकवाला हुने रहिछे । हामी खाली हात फर्कियौं । मेरा आफन्तहरूले अघिल्लीको खोजी गरे । पत्तो पनि लाग्यो । अर्कोसँग घरजम गरेर बसेकी थिई ऊ । आफन्तहरूले ऊसित भेटेर सबै कुरा सम्झाएछन् । भोलिपल्ट अड्डामा भेट्ने कुरा मिलाएर उनीहरू फर्किए । भोलिपल्ट हामी अड्डामा पुग्यौं । हामी पुगेको केही समयपछि ऊ पनि आई । कागजपत्रमा सही गरेपछि हाकिमले उसैलाई चेक दिए र भने, “कानुनले प्रमाण हेर्ने भएकाले प्रमाणअनुसार हामीले चेक उहाँलाई नै दियौं । अब तपाईंहरू मिलाउनुस् ।”

हामी सबै बाहिर निस्कियौं । आफन्तले ऊसँग चेक मागे । ऊ रिसले पड्किई, “म पोइल गएको भन्ने के प्रमाण छ तिमीहरूसँग ? म माइतमा गएर बसेकी थिएँ । यो पैसा मेरा छोराहरूको हो । के देखेर बिहे गरेकी थियौ तिमीले ? आफ्नो–आफ्नो भाग्यले खाने हो ।”

त्यसपछि ऊ रिक्सा चढेर हिँडी ।

(अर्यालको कथा संग्रह ‘पुरुष’बाट । यो पुस्तक बीएन पुस्तकले प्रकाशन गरेको हो ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC