site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भ्रमको एक सर्को कथा
Sarbottam CementSarbottam Cement

– जीएस पौडेल


भित्री मधेसमा जन्मिएँ, सामान्य परिवारमा । तराई–मधेस— गरिबी, असमानता, पछौटेपनको आदिम मानक छँदै थियो । तर, म जन्मे–हुर्केको परिवेश भने केही फरक थियो । त्यसको प्रभाव हुनुपर्छ— स्वभावमा भिन्न भएँ म । एकान्तबास, जिज्ञासु, कुतूहल, साहित्य–लालित्यको खोजी मेरा बाल्यकालका रोजाइ थिए ।

नवलपरासीको गैंडाकोटमा जन्मिएँ । त्यहीँ भयो पूर्वाद्र्धको शिक्षा–दीक्षा । घरतिर साहित्यिक माहोल त होइन, खै कसरी साहित्यतर्फ झुकाव बढ्यो । ६–७ कक्षामै पढ्दा माध्यमिक तहको पाठ्यक्रममा समाविष्ट भएका सम्पूर्ण कथा पढेर आस्वादित भइसकेको हुन्थें । नयाँ किताब हात परेको दिन साथीहरू कथा कता छ भनेर खोज्न थाल्थे, आफूलाई पाना नम्बर होइन, कथाका संवादसमेत कण्ठस्थ हुन्थे । हुन सक्छ— यही आदतले मलाई साहित्यतिर लहस्यायो । व्यवस्थापनको विद्यार्थी साहित्य–साधक पो बनेको छु !

Prabhu Bank
Agni Group
NIC Asia

माध्यमिक तह पढ्दा हुनुपर्छ— सरुभक्तको ‘पागलबस्ती’ हात पऱ्यो । मायावी कथा । जादुयी शब्द । कुतूहलकारी सङ्घटन । कल्पनातीत विघटन । गुरुप्रसाद मैनालीकृत ‘छिमेकी’लगायत कथा पढेर साहित्यस्वादित भएको मलाई ‘पागलबस्ती’ले भूकम्प ल्याइदियो । “यस्तो पनि उपन्यास हुन्छ ?” उपन्यासको परम्परावादी धारबाट विशृंखलित भएँ । अझ प्रष्ट्याऊँ न— कथाशिल्पको केटौले विम्बबाट पहिलोपटक बाहिर आएको थिएँ म ।

उपन्यास लेख्ने हुटहुटी पो जाग्यो । थाहा छैन— उमेर भयो कि भएन । थाहा छैन— कथा कसरी बुन्ने हो ! थाहा छैन— उपन्यासमा के–के तत्व हुन्छन् ! तर, पनि चुपचाप कलम समातें र लेख्न थालेँ । ‘गरिब’ शीर्षकमा त्यतिबेलै उपन्यासको पाण्डुलिपि तयार पारेको थिएँ । छाप्न त के योग्य हुन्थ्यो ! अन्तर्तलका भावनाक कापीमा छरिए भनौं न ।

Global Ime bank

आईए पढ्न बालकुमारी कलेज, चितवन आएँ । एक्लै थिइनँ, उपन्यास लेख्ने रहर पनि आफूसँगै आएको थियो । आँखा किताबमा, ध्यान कथामा पो हुन थाल्यो । उपन्यास नलेखी त्यहाँ पनि सुख पाइनँ । किशोरकालमै तीन उपन्यास लेखिभ्याएँ । तथापि छाप्ने लेठोतिर भने लागिनँ ।

बालकुमारी कलेजमा अध्यापिका सरस्वती रिजाल हुनुहुन्थ्यो । तिनताका चितवनमा नाम चलेको साहित्यकारमा गनिनुहुन्थ्यो । उहाँकै हातमा राखिदिएँ ती खेस्रा । अचम्म ! उहाँ त पुलकित पो हुनुभयो । फुक्र्याउनुभयो, “यो उमेरमा यत्तिको कथा बुन्न सक्नु चानचुने कुरा होइन, निरन्तरता दियौ भने तिमीले लेख्न सक्छौ । हतारचाहिँ पटक्कै नगर्नू । यी उपन्यास पनि राम्रा छन्, छाप्नेन–छाप्ने तिम्रो कुरा ।”

ममा उमङ्गको सीमा रहेन तर पनि ती खुसीले डोऱ्याएर छापाखानासम्म पुऱ्याएन । आईए पढ्दै केही कविता पनि लेखेको थिएँ । साहित्य–संरचना र विधाबारे जानकारीशून्य थिएँ तर पनि लेख्ने हुटहुटी भने अनेक कोणबाट पैदा हुँदै गयो । थपिँदै गयो । डायरीमै सही, मेटाउँदै पनि गएँ ।

पछि स्नातक पढ्न पीएन क्याम्पस पोखरा गएपछि भने साहित्य–लेखन ओझेल पऱ्यो । छोरा हुर्कियो, कामधामतिर लागोस्– परिवारको चाहना छँदै थियो । निजी विद्यालयमा अध्यापन गराउँदै कलेजका खुड्किला चढ्नुपरेकाले साहित्य–कर्ममा रमाउन भ्याएन ।

\"\"

० ० ०

साहित्यको छटपटी मालदिभ्समै बोकेर लगेको थिएँ । हुन त एमबीए गर्न गएको हुँ तर त्यहाँ मनको अर्को पाटो साहित्य–सूधामै रमाउँथ्यो । स–साना कथाकुथुङ्ग्रीले पछ्याउँथे तर ती उपन्याससम्म तन्किँदैनन् भन्नेमा ढुक्क थिएँ म । खोलालेझैं अलग्गै धारमा रमाउने मान्छे, नयाँ विषको खोजी गरिरहेको थिएँ । नयाँ शैली र विषयको खोजी त्यही सजिलो कहाँ थियो ! घण्टौं घोत्ल्याउँथ्यो मलाई । एकलास ठाउँमा घण्टौं समय व्यतीत गरेको छु ।

उपन्यास लेखनका लागि नयाँ विषय खोजी गरिरहेकै बेला अमेरिकी गणितिज्ञ ‘जोन न्यास’को जीवनगाथामा आधारित चलचित्र ‘अ ब्युटिफुल माइन्ड’ हेर्ने मौका मिल्यो । उसो त हलिउड चलचित्रमा रमाउने मान्छे म । नवीन शैलीको व्युत्पादन र कथा वाचनमा पश्चिमेली आयामका केस्रा केलाउने पनि । जोन न्यासको बायोपिक ‘अ ब्युटिफुल माइन्ड’ हेरेपछि मस्तिष्कमा अर्को सुनामी आयो । वास्तवमा भ्रम र रहस्यको पोको थियो त्यो । र, यस्तै इन्द्रजाले कथा बुन्ने सपनाले ‘एक सर्को माया’मा पु¥याएको हो मलाई ।

जोन न्यास हलुसिनेसनको शिकार थिए । त्यसपूर्व मैले हलुसिनेसनमाथि नै बनेको अर्को चलचित्र ‘द सिक्स्थ सेन्स’ पनि हेरेको थिएँ । वास्तवमा भन्नुपर्दा यिनै दुई चलचित्र हुन्, ‘एक सर्को माया’का सूत्रधार ।

उपन्यास लेख्न बस्दा दिमागमा एकसरो कथा थियो । ‘भ्रम’का किस्सा थप्दै जाने र कथाक्रमसँगै पटाक्षेप गर्दै जाने पूर्वतयारी थियो तर लेख्न बसेपछि कथाले अनेक मोड लिन थाल्यो । लेखकको नियन्त्रणमा मात्रै कहाँ रहँदो रहेछ र उपन्यास ! पात्रको भावना र मर्मलाई आत्मसात गर्दा अनेकन कथा र उपकथाको सिलसिला तयार भयो । र, १ लाख ५० हजार शब्द पो नाघ्यो । यत्रो भीमकाय उपन्यास तयार होला भनेर सपनामा पनि चिताएको थिइनँ ।

० ० ०

‘अ ब्युटिफुल माइन्डले’ चुप लाग्न दिएन, कथाक्रम तयार पारें । मालदिभ्समै बस्ने भएकाले मालदिभ्सको परिवेश उपन्यासको ‘सिन’ बनाउन मन लाग्यो । खाँचो थियो एउटा पात्र, जसले उपन्यासलाई त्राण देओस् । घटना र परिवेशलाई स्वाभाविक लयमा गति देओस् । त्यसकै लागि फातिमा भन्ने पात्र अघि बढाएको थिएँ तर फातिमाले कथानुभूति नै गराउन सकिन ।

त्यसपछि गुगुलको सहायताले मालदिभियन मोडलहरूको खोजी शुरू गरें । किबोर्डमा इन्टर के दबाएको थिएँ, पर्दामा देखिइन्– ‘राउदा आतिफ’ ! छेवैमा उनको उपनाम मुस्कुराइरहेको थियो– ‘माल्दिभियन गर्ल विथ द अक्वा ब्ल्यु आइज !’

पहिलो तस्बिरले नै मोहनी पो लगायो मलाई !

तस्बिरमा दिएको सूचना पछ्याउँदै जाँदा पत्ता लाग्यो– तीन महिनाअगावै बंगलादेशको ढाकामा उनको मृत्यु भइसकेको रहेछ ! सुसाइड बताइए पनि उनको परिवार मान्न तयार थिएन र बारम्बार भन्दै आइरहेको रहेछ– राउदाको हत्या नै भएको हो ।

यति सुन्दर युवतीको रहस्यमयी मृत्यु ? त्यो थाहा पाएपछि झन् निद्रा लागेन र उनलाई नै चरित्रका रूपमा उभ्याएँ । राउदा आतिफको आमुख तस्बिर उनीप्रतिको श्रद्धाञ्जली नै हो ।

० ० ०

कापीमा उपन्यास लेख्न त शुरू गरें तर लेख्न सकिनँ । ६ पानासम्म अघि बढेको हुँदो हुँ, चार पाना त खेरै गयो । सप्ताहन्तको समय थियो । कोठमामा साथीहरू टन्नै थिए– ध्रुव पाण्डे, अशोक पौडेल, कुमार सापकोटा ।

“उपन्यास लेख्न थालेको यस्तो पो भयो !” उनीहरूलाई देखाउँछु त हौस्याउन पो थाले, “यस्तो राम्रो छ, यसलाई पूर्णता देऊ !”

मलाई थाहा थियो, उनीहरूले मलाई हौस्याएका मात्रै हुन् तर त्यसैलाई प्रेरणा मानेर अघि बढ्दा उपन्यासले बाटो पाउँदै गयो ।

शुक्रबार उनीहरूकै कोठामा पुगेर म उपन्यासको पाण्डुलिपि वाचन गर्थें । उनीहरू कमीकमजोरी औंल्याउँथे । बाटोसमेत देखाइदिन्थे ।

आठ–नौ महिनाका सप्ताहन्त यसैगरी सकिए होला हाम्रा । शुरूमा हौस्याएको मात्रै लाग्थ्यो । “उपन्यास कहाँ पुग्यो, कहिले सकिन्छ ? केही सन्दर्भ सामग्री चाहिन्छ कि ?” पछि त फोनै पो गर्न थाले उनीहरूले ।

शुरूशुरूमा त रमाइलो मान्दै लेख्दै थिएँ, पछि आफैं भ्रमको कुहिरोभित्र छिरेजस्तो पो प्रतीत हुन थाल्यो । कतिपय पात्रहरू सपनामै आएर कथा ‘न्यारेट’ गर्न थाले ।

एकजना मालदिभ्सकै साथी थिए, सेनाबाट सेवानिवृत्त ! कथाको मुख्य पात्र लागू–लतको शिकार भएकाले ड्रग्स सेवनका कतिपय प्राविधिक कुराहरूको जानकारी चाहिन्थ्यो । उनैसँग सहायता माग्थें । म पनि दुव्र्यसनीकै भान पर्दो रहेछ कि के हो, उनी बारबार संशय व्यक्त गर्थे, “कतै तिमी पनि एडिक्ट त होइनौ ?”

काठमाडौंका सडकमा मध्यपानको लती हिँडेझैं माल्दिभ्सका गल्ली चहार्छन् त्यहाँ चरेस प्रयोगकर्ता ! ती दृश्यले पनि उपन्यासलाई जीवनसादृश्य तुल्याउन मलजल गरे ।

 

(जीएस पौडेलकृत ‘एक सर्को माया’लाई बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो ।)

(अक्षर काकासँगको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC