site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
४७ डिग्री डायरी
Ghorahi CementGhorahi Cement

— निष्प्रभ सजी 


आज घाम बिहानैदेखि पूरा तयारीका साथ उदाएको थियो । मर्निङ वाकमा निस्किन पनि सोच्नुपर्ने बनायो । बिहान ८ बजे नै यति पोल्दो घाम यसअघि मैले अनुभव गरेको थिइनँ । हतार-हतार गमलाका सबै फूल र बिरुवामा पानी हालेँ— तिनीहरूको आँत नसुकोस् भनेर । १० बजेपछि हिट वेभ शुरु भइसकेको थियो । झ्यालका शिशा बन्द गऱ्यौं— बाहिरको तातो हावा भित्र नआओस् भनेर ।

आज पनि सधैँझैँ मेरी ४ वर्षकी छोरीका केही प्रश्नहरू रोचक थिए— 

Agni Group

"बाबा किन झ्याल बन्द गरेको ?"

यो इराको पहिलो प्रश्न थियो । इरासँगै उनकी १५ महिनाकी बहिनी इमा पनि थिइन्, जो भर्खर हिँड्न थालेकी छन् । 

Global Ime bank

"इमा, बुनुलाई तातो हुन्छ त्यसैले ?"

इराले यसो भनेपछि आँखा ठूलो पारेर तर्सिएको पारामा मतिर हेरिन् । यसरी हेर्नु इराको आश्चर्यबोधको प्रतीक हो । इराले इमालाई एउटा दिदीले बहिनीलाई जसरी माया गर्नुपर्ने, हो त्यसरी नै गर्छिन् । यिनीहरूको माया यस्तै रह्यो भने हामी संसारकै सुखी बुवा-आमा हुनेछौँ ।

केही अगाडि इमा बिरामी थिइन् । केही दिन खोकीले छोडेन । इरालाई पनि इमा बिरामी भएको अनुभूति हुँदै गएर होला— एउटा बिहान इराले उठ्नेबित्तिकै ममीलाई गएर सोधिन्, "बुनुले राति खोकिन ?" 

एउटा परिपक्व दिदीले बहिनीप्रति देखाएको चिन्ताजस्तै परिपक्व थियो इराको स्नेह । जयन्ती र म भावुक भयौँ । त्यो अनुभूतिलाई आत्मसाथ गऱ्यौं । त्यो समयसँग आभारी भयौँ । 

आजै घरमा एउटा छेपारो पनि भेटियो । शायद ऊ पनि घाम छल्न भित्र पसेको थियो । नेपालतिरको माउसुली अलि सेतो हुन्छ । यताको कालो । पुच्छरमात्र देखियो भने नागदेवता हुन् कि भनेर तर्सिनुपर्ने खालको । यताको माउसुलीले पनि पुच्छरमा समात्यो भने पुच्छरै छोडेर भाग्छन् । इरालाई छेपारो देखेर डर लाग्छ । घरका सबैलाई लाग्छ । अलिअलि त मलाई पनि लाग्छ । 

हामीले घरबाट छेपारोलाई बाहिर फाल्यौं । इराले पहिलोचोटि छेपाराको पुच्छर हल्लिएको देखिन् । अचम्म मानिन् । छेपारो शायद उनलाई झनै रहस्यपूर्ण लाग्यो । उनको त्रासलाई कम गर्न मैले भनिदिएँ, "छेपाराको पुच्छरलाई नाच्न आउँछ । यो त नाचेको हो इरा ।"

इराले यसलाई अनुवाद गरेर मलाई सुनाइन्, "डान्सिङ टेल बाबा ?"

"हो इरा," मैले सहमति जनाएँ । तर, इरालाई छेपाराहरू फ्रेन्ड्ली हुँदैनन् र यिनीहरूलाई छुनु हुँदैन भनेर बुझाउन खोजेँ । मैले यसो भन्न नपाउँदै इराले इमातिर फर्केर भनिन्, "बुझ्यौ इमा ?"

इरा चाहन्छिन्— इमाले सबै कुरा बुझून् । तर, इमाले नबुझेको कुरा शायद इराले बुझिनन् । इमा त्यतिखेर आफ्ना भर्खर पलाएका चारवटा दाँत देखाएर मुसुक्क हाँसिन् । 

त्यो दिउसो इरा मसँगै कारमा थिइन् । हामी जयन्तीलाई लिन काममा जाँदै थियौँ । घरको आँगनबाट कारसम्म पुगुन्जेल उनको कलिलो छालालाई घामले छोयो । इरालाई यति त थाहा भयो कि घाम आज तातो छ । उनीले उनकै मीठो शैलीमा भनिन्, "घामले पोल्छ बाबा ।" 

इराले भन्न त घामले पोल्यो भन्न खोजेकी हुन् । आज इराले करिब १० बजेदेखि नै 'ममी लिन जाम्' भन्न थालेकी हुन् । उनलाई ममीको काम दिउँसोमात्र सकिन्छ भन्ने ज्ञान छैन । तर, बेलुका काम भएका दिन भने अँध्यारो नभैकन काम सकिँदैन भन्ने अन्दाज लगाउन सक्छिन् । जब अँध्यारो हुन्छ, अनि भनिहाल्छिन्, "अँध्यारो भयो बाबा, ममी लिन जाम् ।"

उनले प्राय: अंग्रेजीमा पनि उल्था गर्छिन् । घरमा नेपाली बोल्नुपर्छ भन्ने कुरा बिर्सेर अंग्रेजी बोलिहालिन् भने पनि आफैं हामीले नसोधिकन नेपालीमा सकेसम्म अनुवाद गर्ने प्रयास गर्छिन् । अड्किए हामीले सहयोग गर्छौं । आजको घामले गर्दा पनि उनलाई ममीकै पीर पऱ्यो । उनलाई लाग्यो— आजको घामले ममीलाई पनि काममा पोलिरहेको छ । उनको चाहना छ— ममीलाई छिटो घरमा ल्याउने । 

"छिटो जाम् बाबा, ममीलाई घामले पोल्यो ।"

यति सानो उमेरमा इराले जयन्तीलाई देखाएको माया जयन्तीले इरालाई गर्ने मायाजस्तै न्यानो छ । नि:स्वार्थ छ । लोभलाग्दो छ । म घरिघरि जयन्तीलाई पनि यो कुरा भनिरहन्छु । शायद छोराछोरीहरू बुवा-आमालाई बाल्यकालमा बढी माया गर्छन्, बुढेसकालमा कम । तर, बुवा-आमाले सन्तानलाई गर्ने मायाकाको आयतन र गहिराइ सधैं उस्तै रहन्छ । बाल्यकालमा पनि उस्तै, बुढेसकालमा पनि उस्तै । जयन्तीले प्राय: यसको उत्तर दिँदिनन् । मैले एकचोटि त यस्तो भनेको थिएँ, "बाउ-आमाले सन्तानलाई गर्ने मायामा मात्र स्वार्थ मिसिएको हुँदैन । अरु कसैको माया नि:स्वार्थ हुँदैन ।"

मैले यसो भन्दा जयन्तीले जवाफ फर्काएकी थिइन्, "अनि हामीले गर्ने मायामा ?"

त्यसपटक मैले जवाफ फर्काएको थिइनँ । मुसुक्क हाँसेर टारेको थिएँ । उनलाई पनि काममा जान हतार थियो । 

आजै इरालाई अर्को पीर थियो । गार्डेनमा एउटा प्लमको बिरुवा छ । तीनवाट फलेका थिए । दुईवटा झरे । एउटामात्र बाँकी थियो । हिजोमात्र सम्म पनि रातो-रातो हुन लागेको प्लम हेर्दै मैले सोचेको थिएँ— शायद एक–दुई दिनमै प्लम रातो हुन्छ । इरालाई पनि प्लम रातो भएपछि मात्र टिप्नुपर्छ भनेर सिकाएको थिएँ । जसरी हिजोमात्रै गार्डेनकै मेन्डरिन हरियोमै टिप्न खोज्दा मैले 'ओरेन्ज कलरको भएपछि टिप्ने हो, अहिले होइन' भनेर सम्झाएको थिएँ । आज बेलुका ४७ डिग्री तातेको घाम सेलाएपछि गार्डेनमा निस्किँदा थाहा भयो- चराले प्लम आधा खाएर आधा भुइँमा झारेछ । इराले यो थाहा पाएपछि चरासँग रिस पोखिन् । अघिल्लो सिजनमा सुन्तलाको बोटमा धेरै सुन्तला थिए । चराहरूले एक-दुईवटा सुन्तला खाँदा इरालाई त्यस्तो केही रिस उठेको थिएन । तर, एउटामात्र जोगाएर राखेको प्लम चराले खाँदा इरालाई रिस उठ्यो । इराले चरालाई इशारा गरेर भनिन्, "नटी बर्ड ।"

मैले इरालाई प्रश्न गरेँ, "तिमीले माम खान्छ्यौ, दूध खान्छ्यौ, तरकारी खान्छ्यौ । चरालाई भोक लाग्यो भने के खाने ?" 

इराले हाँस्दै भनिन्, "प्लम ।"

इराको चराप्रतिको रिस दिउँसोको घाम साँझपख सेलाएझैँ सेलायो । 

आज सूर्य भगवानले खै किन सिड्नीतिर अलि बढी नै तातो आँखाले हेर्नुभयो । केही ठाउँमा त ४७ डिग्री कटेछ । हाम्रो घरतिर पनि ४३ डिग्री थियो । गार्डेनमा ब्लुबेरीका माथिल्ला हाँगाका पात डढेर झुरुम्मै भएछन् । आज क्रिकेट खेल्नेहरूको पनि कपाल डढ्यो कि भनेर सोच्नु पर्ने ! अहिले चिसो हावा चलिरहेको छ । मेरो एकजना साथी मुस्ताफा अरबमा काम गर्छ । कहिलेकाहीँ कुरा हुन्छ । उसलाई सोध्छु, "कस्तो त्यतातिर ?"

उसले भन्छ, "अरु त ठीक छ यार, घाम भने तालुबाटै उदाउँछ ।"

शायद आजकल घामले धर्तीलाई नजिकैबाट छुन खोच्छ । शायद आजकल घाम मुस्ताफाले भनेजस्तै धर्तीको तालुबाटै उदाउँछ । पोल्ने गरी ।

nisprabhsaji@gmail.com

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०७५  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC