एजेन्सी । फ्रेन्च लिग फुटबलमा च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले बोर्डूअक्सलाई १–० ले पराजित गरेको हो ।
बोर्डूअक्सको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन जियोभानी लो सेल्सोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा सेल्सोले गोल गर्दै पिएसजीलाई जित दिलाए । बोर्डूअक्सविरुद्ध पिएसजीले दोस्रो रोजाईका खेलाडी मैदान उतारेको थियो ।
पिएसजीले गत साता पाँच खेल अगावै लिग वानको उपाधि जितेको थियो । यो जितसँगै पिएसजीले लिगमा ३४ खेलबाट ९० अंक जोडेको छ । पिएसजी दोस्रो स्थानको मोनाको भन्दा २० अंकले अघि छ । मोनाकोको ७० अंक छ । पराजित बोर्डूअक्स ४३ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।