एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्टस आफ्नै मैदानमा दोस्रो स्थानको नापोलीसँग १ – ० ले स्तब्ध भएको हो ।
घरेलु मैदानमा अन्तिम समय सम्हालिन नसक्दा युभेन्टस पराजित भएको हो । नापोलीलाई जित दिलाउन कालिडो कौलीबलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा कौलीबलीले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै नापोली सिरी ए फुटबलको उपाधि होडमा फर्किएको छ । जितपछि नापोलीले शीर्ष स्थानको युभेन्टससँग अंक दुरी १ मा झारेको छ । नापोलीले सन् १९८९ – ९० को सिजनपछि सिरी ए फुटबलको उपाधि जित्न सकेको छैन । यता, युभेन्टस भने लगातार सातौं पटक लिग उपाधि जित्ने योजनामा रहेको छ ।
जितपछि नापोलीले ३४ खेलबाट ८४ अंक जोडेको छ । युभेन्टसको समान खेलबाट ८५ अंक रहेको छ । तेस्रो स्थानको रोमा र चौथो स्थानको लाजियोको समान ६७ अंक रहेको छ ।