काठमाडौं । थाइल्याण्डको बैंककमा जारी एएसबिसी युथ एसियन कन्फिडिरेसन बक्सिङ च्याम्पियनसिपमा नेपालले कमजोर प्रदर्शन गरेको छ । युथ ओलम्पिकमा छनोट हुने लक्ष्यसहित च्याम्पियनसिपमा सहभागी भएका दुई नेपाली खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।
च्याम्पियनसिपमा वेन्टम वेट ५६ केजी तौलसमूहमा नेपाली बक्सर सुरेन्द्र राई भारतीय बक्सर कुमार आकाशसँग अंकका आधारमा पराजित भए । प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो राउण्डमा भारतीय बक्सरले उचाइको फाइदा लिँदै सुरेन्द्रलाई रक्षात्मक खेल्न बाध्य बनाए । सुरेन्द्रले अन्तिम राउण्डमा दवाव कायम गरे पनि अर्को चरण पुग्न सकेनन् ।
त्यस्तै महिला ५७ केजी तौलसमूहमा नेपाली कुसुम तामाङ भियातनामकी खेलाडी डु होन गोकसँग दोस्रो चरणमा आरएससीको आधारमा पराजित भएको बक्सिङ संघका सदस्य श्याम अवालले जानकारी दिए । यो प्रतियोगिता यहीँ बर्ष अर्जे्न्टिनामा आयोजना हुने युथ ओलम्पिक खेलकुदको लागि एसियन छनोट समेत रहेको थियो ।