site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली–दाहालबीच विषय मिल्यो मन मिलेन ! माओवादी प्रश्न– प्रचण्ड तल पर्नेगरी कसरी एकता गर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको एकता प्रक्रियाका बारेमा शीर्ष नेताकै धारणा सुन्ने हो भने कुनै पनि विवादित विषय बाँकी छैनन्, तर एकता हुन सकेको छैन । एकता घोषणा हुने भनिएको दिन पनि टरिसक्यो, अब नभनिएको दिनमा एकता हुन्छ भनेर नेताहरुले कार्यकर्तालाई सम्झाउने काम जारी राखेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शब्दमा भन्ने हो भने एकताका लागि अब जुत्ता तयार भइसक्यो, खुट्टा ताछेर पनि मिलाएर जुत्ता लगाउनैपर्छ । अर्को विकल्प छैन । अब दुनियाँको ताकतले एकता प्रक्रिया रोकिँदैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शब्दमा भन्ने हो भने अब केपी ओली र प्रचण्डले नचाहे पनि एकता भएरै छाड्छ ।

दुवै शीर्ष नेताले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका दिन भएको कार्यक्रममा व्यक्त धारणा हुन् यी । यति भन्दैगर्दा एमाले र माओवादी केन्द्रबीच कतिसम्म विश्वासको संकट छ भन्ने कुरा सोही कार्यक्रमको सुरुवातमै देखियो ।
कार्यकर्ता पार्टी एकता ‘भए हुन्छ नभए हुँदैन’ भन्ने तहसम्मको व्यवहारमा उत्रिए । शीर्ष नेताले नै एकआपसमा कटाक्ष गरे ।  त्यसले अझै पनि मुल विषय भन्दा विश्वासकै संकट रहेको देखाउँछ ।
माओवादी केन्द्रकै एक नेताले पनि शीर्ष नेतामा विश्वास बन्ने हो भने सबै कुरा मिलिसकेको बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँहरुकै कुरा सुन्दा कुनै पनि विषय विवादित देखिँदैन,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “विश्वासको वातावरण नै भएन भने ती सबै विषय फेरि जस्ताको त्यस्तै हुन्छन् । सबै विवादित हुन्छन् ।”
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शीर्ष नेताको मन माझिन बाँकी रहेकाले एकता प्रक्रिया अघि नबढेको बताउँछन् ।

“नेताहरुबीच मनमा केही माझिन बाँकी छ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “अब छिट्टै एकता हुन्छ । विषय मिल्न बाँकी केही छैन मन मिल्न मात्र बाँकी छ ।”

Global Ime bank

के हो अविश्वासको जरो ?
 

अहिले देखिएको विवादको मुल जरो अर्को कार्यकालमा को अध्यक्ष ? भन्ने नै भएको दुवै पार्टीका नेताको तर्क छ ।

“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टी एकताको लागि आफूलाई साढे दुईवर्ष प्रधानमन्त्री र महाधिवेशन पछाडि पार्टी अध्यक्षको ग्यारेन्टी गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माग गर्नुभएको छ, त्यो कुरा अहिले नै ग्यारेन्टी गर्न सकिँदैन,” एमालेका एक नेताले भने ।

तर एमालेमा पाँचवर्षसम्म कुनै पनि हालतमा प्रधानमन्त्री परिवर्तन गर्न नहुने र महाधिवेशनपछिको अहिले नै ग्यारेन्टी गर्न नसकिने समूहको वर्चश्व छ । उक्त प्रस्तावमा कोही पनि एमाले नेता तयार छैनन् ।   पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले नेता माधवकुमार नेपाललाई नजिक ल्याएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल झनै झस्किएको स्रोत बताउँछ ।

ओलीले पनि अहिले नै दाहाललाई महाधिवेशनपछि अध्यक्षको आश्वासन र लिखित रुपमा प्रतिवद्धता व्यक्त गर्न तयार देखिएका छैनन् । 

तर माओवादी केन्द्रका नेताहरु अहिले पनि पार्टी र सरकारमा ओली हाबी हुने र महाधिवेशनपछि पनि प्रचण्डको अस्तित्व नै समाप्त हुनेगरी मोर्चाबन्दी भएमा सधैं तल परिने अवस्थामा एकता गर्नुको कुनै औचित्य नरहने बताउँछन् ।
पार्टी एकतालाई दुवै दलका नेताहरुले शंकाको दृष्टिले हेरेका कारण पनि अघि बढ्न नसकेको माओवादी केन्द्रका अर्का नेता मणि थापा बताउँछन् ।

“विगतमा एमालेले माओवादी केन्द्रलाई दिएको चेक बाउन्स भयो । त्यसैले अब माओवादीले नगदमा खोजेको छ । विगतमा भएका सबै सहमति पूर्णरुपमा पालना भएको भए अहिले शंकाको दृष्टिले हेर्नुपर्दैनथ्यो,” थापाले भने, “माओवादी केन्द्रले पनि एमालेसँग भएको सहमति पालना गरेन होला । त्यसैले एकताको लागि अझै एकअर्कामा विश्वास नपुगेको देखिन्छ । म त भन्छु एकताको लागि सबैभन्दा ठूला कुरा विश्वास नै हो । लिखित सम्झौता पनि च्यातेर फालिदिए कसैको केही लाग्दैन ।”

लेनिन दिवसको कार्यक्रमले माओवादी झन दुःखी !

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र सचिव सरुवापछि माओवादी केन्द्रले एमालेलाई शंकाको दृष्टिले हेर्दै आएको छ ।  लेनिन दिवसमा गरिएको कार्यक्रममा एमालेको ‘हेपाहा’ प्रवृत्ति देखिएको माओवादी केन्द्रका नेता बताउँछन् ।

“राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रममा एमालेले मान्दै आएका नेताहरु मनमोहन, पुष्पलाल, मदन भण्डारीको मात्र फोटो राख्दा माओवादीले मान्दै आएका नेताहरुको फोटो नै राखिएन । लेनिनको जन्मदिनमा उनकै फोटो नहुनु महाभूल हो । केही नेताहरुलाई फकाएर कार्यकर्ताको मनोभावना नबुझी एकलौटी तरिकाले माओवादीलाई तल पारेर जान खोजियो । त्यसबाट झन कार्यकर्ताको मनमा चिसो पसेको छ,“ ती नेताले भने ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि एकतापछि अर्को महाधिवेशनसम्म संक्रमणकाल हुने भएकाले धेरै विषयहरु अहिले नै छिनोफानो हुनुपर्ने बताउँछन् ।

“महाधिवेशन नहुँदासम्म संक्रमणकालको अवस्था रहन्छ । त्यसैले अहिले नै सबै कुरा स्पष्ट भएपछि मात्र एकता गर्नुपर्छ, “पौडेलले भने । तर नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले विश्वासको संकट नरहेको तर्क गर्दै सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउँछन् ।

“पार्टी एकताबाट अब फर्किने कुनै त्यस्तो ठाउँ छैन,” नेम्वाङले थपे, “दुई अध्यक्षले सबैलाई मिलाएर लैजान खोज्दै हुनुहुन्छ । त्यसैले समय लम्बिएको हो । एकता नहोला कि भनेर कसैले पनि शंका गर्नुपर्दैन । मैले त बारम्बार भन्दै आएको छु जनताद्वारा हाम्रो एकता अनुमोदित भइसक्यो । अब घोषणा हुनमात्रै बाँकी छ ।“
फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC