झण्डै १५० वर्ष पुरानो ऐतिहासिक दरबार हाइस्कुललाई ०७२ सालको भूइँचालोले तहसनहस बनाएपछिको पुनर्निर्माण अझै सुरु भइसकेको छैन । सरकारले स्कुलको पुरानो भवनमा बस्न नमिल्ने भनी रातो स्टीकर टाँसेपछि विद्यार्थीहरु अस्थायी टहरामा पढ्दै आएका छन् ।
स्कुलका कर्मचारी पनि टहरामै बसेर कार्यसम्पादन गर्ने गरेका छन् । ११ वटा टहरा निर्माण गरी तीन वर्षदेखि दरबार र संस्कृत विद्यालयका विद्यार्थी पढाइँदै आएको छ । पुनर्निर्माण प्रकृयाका लागि विभिन्न चरणमा बैठक र दौडधुप गरेका विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोसँग बाह्रखरीका विजेता चौधरीले गरेको कुराकानी ।
विद्यालय पुनर्निर्माणको काम कहाँ पुग्यो ?
पुनर्निर्माणको लागि यसअघि विभिन्न चरणमा चीनको टिम, नेपालको एनआरए, पुरातत्व विभाग र महानगरपालिकासँग बसेर धेरै पटक छलफल भैसकेको छ । चीन सरकारले निर्माण कार्यको लागि जुन ठेकेदारलाई ठेक्का दिएको छ, ती ठेकेदारहरु नेपाल आइसकेका पनि छन् । तर, नेपालको तर्फबाट अझै नक्सा पास हुने कुरामा वडा कार्यालयमा काम अड्किरहेको अवस्था छ । त्यही भएर ढिला भएको हो ।
समस्या कहाँ छ, के कुराले वडा कार्यालयमा काम अड्किएको हो ?
समस्या त धेरै थिए तर अहिले दुई ठाउँमा मात्रै समस्या छ । दरबार स्कुलको स्वामित्वमा रहेको जुन जग्गा छ, त्यसमा ललितकला क्याम्पस, स्काउटलगायत केही सँधियारले विवाद उठाइरहेका छन् । स्काउटले भवनका केही भाग भोगचलन गरेको थियो । त्यस्तै ललितकलाले आफ्नो अनुकूल केही जग्गा भोगचलन गरेको थियो, जसको कानुनी आधार केही छैन । व्यवहारिक रुपमा प्रयोग गरेको मात्रै हो । उनीहरुले वडा कार्यालयमा बाटो चाहियो भनेर नक्सा पास हुन दिएका छैनन् । विद्यालयको जग्गाको सरजमिनको काम सकेर अस्थायी स्वीकृति दिने कुरो थियो तर उनीहरुको विरोधले सो काम हुन सकेन ।
अर्को समस्याचाहिँ भवन भत्काउनु भन्दा पहिले यहाँका विद्यार्थीहरुलाई र स्कुललाई अर्को ठाउँमा तत्कालका लागि सार्नु पर्ने छ । त्यसका लागि खाली जग्गा चाहिन्छ । हामीले अहिले संस्कृत विश्वविद्यालय बाल्मिकी क्याम्पसको पूर्वपटिको खाली भागका लागि पहल गरेका थियौं । त्यहाँका उपकुलपतिले दिनेजस्तो गर्नुभएको थियो । शिक्षा मन्त्रालयबाट समेत पहल भएर चिठी काटिएको छ । त्यो भएकोपनि १५ दिनजति हुन लागिसक्यो, हालसम्म हामीले पत्र पाएका छैनौं । यता विद्यालय नसरुन्जेल भवन भत्काउने काम पनि हुँदैन । दुई–तीन वटा संस्थाले हलो अड्काउने काम गरिरहेका छन् ।
स्काउट र ललितकलाले स्वामित्व खोजेको कुरा उठाउनुभयो, के माग छ उनीहरुको ?
उनीहरुले हामीलाई पनि विद्यालयको जग्गाबाट बाटो हुनुपर्छ भन्दैछन् । दरबार स्कुलको स्वामित्वमा रहेको जग्गा अर्काले लिन्छु भनेर भन्न पाउँदैन नि । कानुनी रुपमै नमिल्ने कुरामा पुनर्निर्माणको बाटो अड्काइरहेका छन् । ललितकला क्यापसको लागि कुनै अन्य ठाउँबाट सार्वजनिक जग्गा नछोएको भए अलिकति बाटो उपलब्ध गराउने नैतिक दायित्व हम्रो पनि हुन्थ्यो । तर सर्वजनिक बाटोमा धेरै फिट जोडिएको छ, जहाँ ७ वटा सटर निकालेर उक्त क्याम्पसले व्यापार गरिरहेको छ । यता हाम्रोतिरको जग्गाचाहिँ चाहियो भन्ने माग छ । हामीले सार्वजनिक जग्गामा तपाईंरुको बाटो छ भने हामीले दिने बाध्यता नै छैन भनेका छौं । उनीहरुले फोर्स बढी भयो भने पाइन्छ भन्ने हिसाबले निवेदन हालेका छन् । निवेदन हालेर केस बढाए समय लाग्छ र निर्माण कार्य पुनः थन्किन्छ ।
वडा कार्यालयले के भन्दैछ यस विषयमा ?
हामीले यस विषयमा वडा कार्यालयमा लिखित जवाफ दिइसकेका छौं । वडाले एक पटक उनीहरुलाई बोलाएर कुरा गर्ने आश्वासन दिएका छन् । उनीहरुको सार्वजनिक जग्गामा बाटो हुँदाहुँदै र विकासको काम नरोकिएकोले विद्यालयको स्वामित्वबाट जग्गा दिन मिल्दैन भन्ने हाम्रो अडान छ ।
भनेपछि यस वर्ष विद्यालय पुनर्निर्माणको काम होला नै भन्न सकिन्न ?
होइन, यस वर्ष त जसरी पनि काम सुरु हुन्छ । यी समस्या त केही समयमै सामाधान हुनेछ । मेरो भनाइ के छ भने स्कुल बन्नुपर्छ । यो एतिहासिक हो र सबैको चासोको विषय हो । तर कसैले पनि व्यक्तिगत स्वार्थका लागि आक्षेप लगाउने र अड्काउने काम नगरिदियोस् । चीनले ठेकेदार पठाइसकेको छ, अब ढिला गर्नु हुँदैन । विद्यालय बनेपछि हामी नेपालीकै छोरछोरी पढ्न पाउने हुन् ।
विद्यालयको स्वरुपको कुरामा अब त विवाद छैन ?
स्वरुप त यही हुन्छ । विवाद धेरै झेलियो तर हाल सबै समस्या समाधान भएको छ । भवन चार तले हुन्छ । बाहिरी स्वरुप यस्तै हुन्छ तर भित्र बलियो बनाउने कुरा आधार नै हो ।
लागत कति लाग्छ ?
लागत ठ्याकै यति भन्न सकिन्न, हाम्रो अधिकारको कुरा होइन तर ६० करोड जति लाग्ने मेले सुनेको हुँ ।
भर्ना अभियानले यसपालि कति विद्यार्थी तान्न सकियो ?
भुइँचालोपछि विद्यार्थी भर्ना दर एकदमै सुस्त थियो । एउटा कक्षामा १० जना बालबालिका भए सन्तुष्ट हुनुपर्ने अवस्था थियो । तर यसपटक आश गरेको भन्दा राम्रो भयो । नयाँ भर्ना ३० भन्दा धेरै त छैन तर आउने क्रम अझै जारी छ । पुराना १८० जना विद्यार्थीमध्ये १५० ले जाँच दिएका थिए । यसपालि विद्यालय सर्ने निश्चित थियो, त्यही भएर अभिभावकले बच्चा भर्नाका लागि ल्याउलान् भन्ने खासै आश थिएन । केही समयपछि अभिभावकलाई भेला पारेर विद्यालय सार्ने कुरा सार्वजनिक गर्ने छौं र बच्चा पढाइराख्न बुझाउने प्रयास गर्छौं । व्यवस्थापन समितिसँग विद्यार्थीको लागि सवारी साधन उपलब्ध गराउने कुरा गर्दै छौं । सानो बच्चा पनि नछुटोस् भन्ने हामी तयारी गर्दैछौं ।
विद्यार्थी संख्या बढाउन नसक्नुको कारण भवनमात्रै थियो त ?
होइन, संख्या नबढ्नुको कारण संरचनामात्रै नभए पनि मुख्य कुरा भने हो । अर्को समस्या भनेको आवासीय क्षेत्रभित्र यो एरिया नपर्नु, नजिकै धेरै स्कुलहरु हुनु र निजीको मोह धेरै भएर पनि सामुदायीक विद्यालयमा विद्यार्थी तान्न र टिकाइरहन समस्या छ । साना कक्षालाई केही आकर्षण दिन सकेका छैनौ । न कक्षा छ, न प्लेग्राउण्ड छ । हामीले कक्षा सञ्चालन गरेको जस्तो मात्रै छ ।