site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन जिन्दगी
Ghorahi CementGhorahi Cement

– अक्षर काका


वाराणसी– कुनै बेला नेपाली साहित्यको केन्द्र थियो । तर, राजनीतिको ‘अखडा’ बन्दै गएपछि बिँडो थाम्ने अभिभारा दार्जिलिङ, सिक्किम, मणिपुरले पाए ।

त्यही मणिपुरले उत्पादन गरेको जाज्वल्य ‘मणि’ हुन्– महेश पौड्याल ।

Agni Group

जो साहित्य–सिर्जना, समालोचना र प्राध्यापन, तीनै आयाममाथि ‘जादु’ चलाइरहेका छन् ।

राणाशाहीको एकदलीय निरङ्कुशताले थातथलो छाडेर आप्रवासी बनेका र त्यहाँका मूलबासीसमेतको साहित्यिक साधना, आराधनाको केन्द्र थियो मणिपुर । त्यही सान्निध्यतामा हुर्किए । साहित्यिक चेतनारूपी बिरुवालाई झाँगिलो तुल्याए ।

Global Ime bank

जन्मस्थान त इलाम हो । सुलुबुङ, लिम्बू बहुल क्षेत्र । तर, लामो बसाइ रहेन त्यहाँ । लेकबेंसी बेहोर्न नसकेपछि झापा झरे उनीहरू ।

भारतसँग सीमा जोडिएको । शिक्षा–दीक्षामा पनि अग्रतहमै थियो सुदूरपूर्व । अद्यापि त्यसको छाप छ ।

बाबु शिक्षक थिए । त्यसको अमीट छाप पर्‍यो उनमा । बाल्यकालदेखि नै पठनमा अभिरुचि । साहित्यप्रति लगाव उस्तै, तिलस्मी !

धेरै आफन्त मणिपुर आसपास बस्थे । पढाइ पनि पारिकै तेजिलो । उतै पुर्‍याइए उनी ।

मणिपुर बस्दाका रोचक परिघटना मस्तिष्कमा संग्रहणीय छन् । मणिपुर नेपाली बहुल क्षेत्र । घरबाट कुनै कामका लागि बाहिर निस्कियो भने चार–पाँचवटा भाषासँग साक्षात्कार गनुपथ्र्यो । समाजको संरचना नै त्यस्तो छ त्यहाँ ।

“घरबाट बाहिर निस्कियो, पहिला बिहारीसँग जम्काभेट हुन्छ । नागा भेटेर अलि पर्तिर पुग्यो, कुकी फेला पर्छन् । कुकीसँग संवाद टुंग्याउँदा नटुंग्याउँदै मणिपुरीसँग बोलचाल गर्नुपर्छ । पाँचवटा भाषा पो छिचोल्नुपर्थ्यो !” सम्झन्छन् उनी ।

साहित्यसँग समागम

बाबु साहित्यका शिक्षक । संस्कृत भाषा–साहित्यको पनि धेरथोर ज्ञान थियो उनीसँग । त्यही जैविक गुण छोराछोरीमा पनि सर्‍यो । महेशकी दिदीले पनि साहित्यमै विद्यावारिधी गरिन् ।

पाठ्यपुस्तक अंग्रेजी साहित्यका । घरबाट पठाइदिनेको रोजाइमा पनि साहित्यकै पुस्तक पर्थे । पत्तै नपाई साहित्यतिर प्रवृत्त भए महेश ।

हाइस्कुल पढ्दाताका नै उनका कविता प्रकाशित भइसकेका थिए ।

‘ओह ! चेयर, माई चेयर’ प्रकाशनका हिसाबले उनको पहिलो कविता हो । ‘ओ क्याप्टेन, माई क्याप्टेन’ भन्ने वाल्ट ह्विटमेनले अब्राहम लिङ्कनमाथि लेखेको कविताबाट अनुग्रहित भएर पोलिटिकल ‘सटाएर’ गरेका थिए उनले । सन् १९९४, कक्षा ८ मा पढ्दाताकाकै कुरा हो यो ।

त्यसपछि धेरै समय उनी कवितामा अडिएनन् । कथातिर लहसिए । कक्षा ९ मा पढ्दा ‘लिभ टेकिङ’ शीर्षकमा कथा छापियो । यो नै उनको ‘डेब्यु’ कथा हो । लगत्तै ‘लाइफ फर लाइफ’ कथा लेखेर बाल्यकालमै साहित्य–चेतको दियालो झल्मल्याए ।

“सन् २००० तिर ‘छुट्टी’ शीर्षकमा नेपाली कथा छापियो होला,” घुर्मैलो सम्झनामात्रै छ । घनश्याम कोइराला सम्पादक भएको ‘मञ्जरी’मा छापिएको हो त्यो ।

‘धड्कन’, ‘हाम्रो ध्वनि’ आशामका पुराना पत्रिकामा उनका बग्रेल्ती रचना छापिएका छन् । तिनताक ‘अल इन्डिया’ रेडियोले समेत उनका रचना वाचन गर्थ्यो । पुलकित हुन्थ्यो परिवार ।

काठमाडौं प्रविष्ट

स्नातक तहसम्मको पढाइ मणिपुरमा छिचोलेपछि काठमाडौंको मोहले तान्यो उनलाई । मणिपुर–अंग्रेजी साहित्यका लागि उर्वर, रसिलो, पोषिलो थियो । त्योभन्दा अझै उपयुक्त हुन सक्थ्यो दिल्ली । तर, उनलाई नेपाली साहित्यकै श्रीवृद्धि गर्नु थियो ।

नेपाली माटो र साहित्यिक रछ्यान भारतवर्षको भन्दा फराकिलो तुल्याउन सकिन्छ भन्ने भेउ पाएका महेश मणिपुरमै के अल्झन्थे ! काठमाडौंतिरै पखेंटिए ।

काठमाडौं आएपछि साहित्य साधना र जीवनको यायावारी समानान्तर बन्यो । सन् २००५ मा स्नातक पूरा गरे र त्यही साल अध्यापक नियुक्त भए उनी ।

“कान्छै उमेरमा विश्वविद्यालयमा पढाउने जिम्मेवारी पो आइलाग्यो त !” हात टेबलमा अड्याउँदै मच्चिएर हाँस्छन् उनी ।

जीवनको कथाक्रमले काठमाडौंको सहरमा डोहोर्‍याएझैं ०६७ सालमा उनले केही कथा संकलन गरे र संग्रह ‘अनामिक यात्री’ निकाल्ने योजना बनाए ।

भुँडीपुराण प्रकाशनबाट पुस्तक बजारमा आयो तर बजारीकरण आफूजस्तै ‘आलोकाँचो’ भयो । “कथा–सिर्जनाका हिसाबले लक्काजवान भए पनि प्रकाशनका दृष्टिले केटाकेटी नै थिएँ,” अहिले आत्मसमीक्षा गर्छन् उनी ।

खैर जे होस्, पुस्तकाकारका रूपमा साहित्यवृत्तमा व्याप्त भए महेश ।

त्यसपछिका कथा भने ‘मधुपर्क’, ‘गरिमा’ र अन्य आवधिक पत्रिकाका ‘खुराक’ बने ।

बाल–साहित्यमा समाश्रय

विम्बमा महेश ‘विहग’ हुन्, जसको अस्तित्व उडानमा मात्रै छ । शब्दकोशमै छैन थकान ।

०६५ यता भने उनी बालसाहित्यमा समाहार भए । त्यसको पनि रमाइलो प्रसंग छ ।

काठमाडौं आएको पट्ठो । जानेचिनेका आफन्ती छैनन् । भएका पनि दश–बाह्र कोश टाढा छन् । जागिरको खोजीले भक्तपुर पुर्‍यायो ।

दिउँसभरि अध्यापक । राति अभिभावक । शिक्षणले मात्रै पुगे त हुन्थ्यो ! कहिले त स्याहार–शुश्रूषासमेत आफ्नै भागमा पर्थ्यो ।

तीक्ष्ण दिमाग, तीव्र चेतनाका धनी महेश । बालसुलभ मस्तिष्कसँग समायोजित हुन समय पर्खिनु परेन । बालसङ्गतले बालसाहित्य प्रस्फरण हुँदै गयो भनौं ।

“बालबालिकासँग उठबस गर्दा म यति भरिएँ, विरेचन पो गर्न मन लाग्यो मलाई,” अनुहारमा खुसीका आभा फिँजिन्छन् । आकाशतिर हेर्दै पूर्ववत् लयमा फर्कन्छन् उनी ।

बाल उपन्यास, बाल गीत, बाल कथा लेख्न थालेपछि बाल साहित्यकारको सम्पर्कमा पुगे उनी । सम्पर्कसूत्र थिए– कार्त्तिकेय घिमिरे ।

“शिक्षाको परिचयबाट तानेर साहित्यमा प्रविष्ट गराउने कार्त्तिकेय नै हुनुहुन्छ,” घिमिरेप्रति उपकृत पनि छन् । शब्दैले चुक्ता गर्न खोज्छन् ‘ऋणभार’ !

तिनताक पञ्चतन्त्र । नीतिशास्त्र । उपदेशबाहक । जादुयी र तीलस्मी कथावाचनको धङधङीबाट माथि उठ्न सकेको थिएन बाल साहित्य । त्यसैको नेरोघेरोमा छ, अद्यपर्यन्त ।

बच्चाको समाजसँग हाम्रो साहित्यले संवाद गर्न जरुरतै ठान्दैन । वाक्क भएर उनले आलेखै लेखे कतिपय अखबारमा– नेपाली बालसाहित्यमा नायकको खडेरी छ ।

“बाल साहित्य पढेर त्यस्तै आदर्श पात्र आफूभित्र हुर्काउने अवस्था अहिले पनि छैन,” खुइयऽ काढ्छन् उनी । हुन पनि एउटै चरित्र विकास गर्दै लगेर बाल–मानसपटलमा आदर्श छाप छाड्न सकेकै छैन यहाँको बालसाहित्यले ।

०७० को शुरूआती दशकसम्मै रह्यो यो शृङ्खला । “नेपाली बालसाहित्य राम्रो छैन पनि भन्ने खुरुखुरु सिर्जना पनि गरिरहने विरोधाभाषपूर्ण भूमिका पनि रह्यो,” फिस्स हाँस्छन् उनी । त्यहीताक विद्यार्थी पुस्तक प्रकाशनले एकैपटक पाँचवटा कृति बजारमा ल्याएको थियो उनको ।

त्यहीबीचमै केही समय उनी नाटककर्ममा पनि रमाए । एकाङ्कीको शृङ्खला नै तयार पारे र पाँच भाग पूरा भएपछि छापे– ‘आमा नहुँदा एक साँझ’ । ०६८ सालको कुरा हो यो ।

तादीका सुस्केरा

०७२ सालमा प्रकाशित पौड्यालकृत उपन्यास ‘तादी किनारको गीत’ माझीहरूको मुर्च्छना हो । यायावारीका लागि खोला किनारमा बस्ने माझीहरूको जीजीविषा र जिगमिषालाई प्राञ्जल शिल्पमा उतारेका छन् उनले । र त, किशोर साहित्यका पाण्डुलिपिलाई प्रदान गरिने ‘गोविन्दबहादुर मल्ल ‘गोठाले’ पाण्डुलिपि’ पुरस्कार हात पर्‍यो ।

किन त तादी किनारकै गीत ?

तादी, इन्द्रावती, सुनकोसी जहीँको किनार हुन सक्थ्यो । नदीको पानी एकै भएझैं किनारका दुःखका रङ पनि फरक छैनन् ।

तर, माझी समुदायको बालविवाह र बालबोलीको प्रचलन खोतल्न तादीका स्याँठमा ठोक्किए उनी ।

विवाह के हो थाहा नपाउँदै विवाह बन्धनमा बाँधिन अभिशप्त माझी बालिका र किशोर नहुँदै बधू बन्नुपर्ने नियति बेहोरिरहेका माझी बालकलाई नै केन्द्रीय चरित्रका रूपमा उभ्याएर ‘तादी किनारको गीत’ रचना गरे ।

सुनकोसी र इन्द्रावतीका तटीय क्षेत्र– माझीहरूको उद्गम थलो हो । तर, उनीहरू अन्यत्र स्थानान्तरण हुन थाले । बसाइँ सरेर गएका ठाउँ चहार्दाचहार्दै नुवाकोटको तादी–किनार पुगेका हुन् महेश ।

‘तादी किनारको गीत’पछि अखबारी लेखन बढी सक्रिय भए उनी । तथापि किशोर वयका कथाहरूमा उनको कलम निर्निमेष चलिरहेकै थियो ।

पहिलो उपन्यासले पाठकको केही पंक्ति तयार गरेको थियो । तिनैले खोज्न थाले, “महेश पौड्याल कता हरायो ?”

त्यसको जवाफमा दुई वर्षपछि उनले ‘त्यसपछि फुलेन गोदावरी’ ल्याए । २० वटा कथा संग्रृहीत ‘अनि फुलेन गोदावरी’ ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको हो । अहिले बजारमा त्यसको चर्चा भइरहेको छ ।

समालोचना ‘संलाप’

कथा लेखन । बाल साहित्य– साधना । नाटकको एकालाप । उपन्यासको चरित्र निर्माण । साहित्यकर्ममा यतिले मात्रै चित्त बुझेन उनलाई । समालोचनातिर प्रविष्ट भए ।

“धेरै कुरा चित्त नबुझेपछि समालोचक हुँदो रहेछ मान्छे,” अट्टहास छाड्छन् उनी ।

विश्वविद्यालयको प्राध्यापक । हरेक दिन अरूका कृति समीक्षा, समालोचन गर्नुपर्ने, मौखिक । कथा, उपन्यास, नाटकादि रचना विद्यार्थी स्वयं पढेर आउँछ । त्यसको विवेचना गर्ने अभिभारा हो अध्यापकको । अतः उनी स्वतः समालोचक बने ।

सन् २००५ देखि सन् २०१० सम्म ‘द काठमान्डू पोस्ट’मा उनले घनिभूतरूपमा समीक्षा लेखे । कृतिमाथि धूवाँधार टिप्पणी गरे । सञ्जीव उप्रेती, गोविन्द भट्टराई, अभि सुवेदी, ज्ञानु पाण्डे, पद्म देवकोटा आदि प्रबुद्ध समालोचक सबैका कृतिमाथि विवेचना पस्किए ।

चर्को आलोचनाको सामना गर्नुपर्ला भन्ठानेको, झनै हौसला पो प्राप्त भयो । त्यसयता हौसियर निरन्तर समालोचनामा कलम चलाइरहेका छन् उनी ।

समालोचना नितान्त प्राविधिक कुरा हो । भाषिक ज्ञान, प्राञ्जल शब्द, साहित्य–चेतको व्यापकताले मात्रै पुग्दैन । विश्वव्यापी आयाम, वाद, विश्वसाहित्यको धार कता गइरहेको भन्ने अध्ययन, अन्वेषण उत्तिकै जरुरी हुन्छ । त्यसबाहेक समालोचनाबारे प्राविधिक ज्ञान अनिवार्य हुन्छ ।

उनलाई अंग्रेजीमा मात्रै दख्खल थियो । त्यससबीचमा उनले नेपाली समालोचनका सैद्धान्तिक पाटा–पक्ष केलाए । आत्मविश्वास झांगियो– नेपालीमा पनि लेख्न सक्छु । अहिले उनी नेपाली साहित्यका सबैजसो विधाका कृतिहरूको चिरफार गरिरहेका छन् ।

पछिल्लो समय नेपाली समालोचनाले कृतिको मूल्याङ्कनमात्रै गरिरहेकोमा चिन्तित छन् उनी । किताब किन्ने कि नकिन्ने, पढ्ने कि नपढ्ने भनेर द्विविधाग्रस्त पाठकलाई त्यसले त्राण दिन सक्छ । तर, सम्यक समालोचकले लेखकलाई संसारसापेक्ष हिँडाउन सक्नुपर्छ । मार्गनिर्दिष्ट गर्ने अभिष्ट बोक्नुपर्छ । विश्व साहित्यमा प्रविष्ट भएका धारबारे सूचित गर्न सक्नुपर्छ । पाठकलाई अवगत गराउन सक्नुपर्छ । आग्रह–पूर्वाग्रहको भारीले नेपाली साहित्यलाई पारि पुर्‍याउन सक्दैन । समयसँगै अध्ययन पद्यति पनि अमानक बन्दै जान्छ । अध्ययनमा नयाँ पद्धति व्युत्पादन गर्ने दायित्व पनि समालोचककै हो ।

“तर, यहाँ त कृतिको फगत विवेचना भइरहेको छ,” अन्तिममा उच्छ्वास छाडे उनले ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC