डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपालका संयोजक हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले नेकपा माओवादी केन्द्र परित्याग गर्दै नयाँ शक्ति पार्टी नेपालको गठन गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा आफूहरुलाई चुनाव चिन्ह नदिएर सरकारले अन्याय गरेको बताउने भट्टराई प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग तालमेल गर्न पुगे ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको सुरुवाती सभामा उपस्थित भट्टराईले चुनावी तालमेल भने कांग्रेससँग गरे । आफ्नै पालामा परिवर्तन र विकास सम्भव भएको निरन्तर बताउने भट्टराई सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय नेतामा पर्छन् । नेपाल–भारत सम्बन्ध, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, नयाँ शक्तिको अवस्था, नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल, नयाँ शक्तिको भूमिका लगायतका विषयमा छलफल गर्नुअघि हामीले भट्टराईसँग केहीबेर सामाजिक सञ्जालका सम्बन्धमा पनि कुरा गर्यौं ।
प्रस्तुत छ, डा.भट्टराईसँग बाह्रखरीका बलराम पाण्डे र शिवनारायण गिरीले गरेको कुराकानीको अंशः
सामाजिक सञ्जालमा तपाईँ निकै सक्रिय हुनुहुन्छ । सामाजिक सञ्जालको शक्तिलाई कसरी बुझ्नुहुन्छ ?
म विज्ञानको विद्यार्थी हुँ । यसको प्रयोगबाट प्रविधिको विकास हुन्छ । पछिल्लो प्रविधिलाई पछ्याउनुपर्छ भन्ने मान्यता मैले राख्छु । पछिल्लो समयमा डिजिटलको आविश्कार भयो । कम्युटर, इन्टरनेटको जुन विकास भएको छ, त्यसको एउटा रुप सामाजिक सञ्जाल हो । यो सबैको साझा सम्पत्ति हो । सबैले यसको सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छु । अर्को भनेको फेसबुक र ट्वीटरको राम्रो पक्ष के हो भने यसले सीधै व्यक्तिदेखि व्यक्तिसम्मको सञ्चारलाई सजिलो बनाएको छ । ज्ञानको आदान प्रदान गर्न पाइन्छ । यसले ज्ञानको दायरालाई फराकिलो पार्न मद्दत पुर्याएको छ । तर कतिपयले यसलाई कुन्ठा पोख्ने माध्यम बनाएका छन् ।
मुलतः यो सामाजिक सञ्जाल हो । हामीमा अलिकति पासविक प्रवृत्ति पनि देखिन्छ । रिस, डाहा व्यक्त गर्ने थलो बनेको छ तर त्यस्ता कुराहरु न्युनिकरण हुँदै जान्छन् । यसलाई सबैले सदुपयोग गर्नुपर्छ । आगामी दिनमा जे विकास हुँदै जान्छ म त्यसलाई पछ्याउँदै जान्छु ।
सामाजिक सञ्जाल असामाजिक हुने खतरा देख्नुहुन्छ कि हुँदैन ?
त्यो सबैमा हुन्छ । टेलेग्राम सबैभन्दा पहिले सुरु भएको थियो । त्यो भन्दा पनि प्रिन्टिङ प्रेसको आविश्कार हुँदा धर्म गुरु एकदमै बढी डराएका थिए ।
हामीले सुनाउँदै आएको मन्त्र अब कागजमै छापिने भयो, सबैले पढ्न पाउने भए भनेर । अब बर्बाद र अराजकता हुने भयो भनेर ठुलै हो–हल्ला भएको थियो । सुरु सुरुमा त्यस्तो हुन्छ । सामाजिक सञ्जालले अराजकतातिर लैजाँदैन । अन्ततः ज्ञानविज्ञानले सही मार्गमै लैजान्छ । यसको प्रयोग सही तरिकाले हुनुपर्यो ।
कहिलेकाहीँ तपाईँप्रति नै खरो टिप्पणी र प्रतिक्रिया पनि व्यक्त हुन्छन्, सामाजिक सञ्जालमा आएका प्रतिक्रिया कत्तिको हेर्नुहुन्छ ? आफूलाई गालीगलौज गरेको विषयलाई कसरी लिनुहुन्छ ?
मैले दैनिक सामाजिक सञ्जाल हेर्ने गर्छु । केही अत्यन्त आपराधिक मनोवृत्तिका मान्छेहरु पनि छन् । उनीहरुका व्यक्तिगत निराशा कुन्ठा अभिव्यक्त गरेको पनि मैले देख्छु । मलाई फलो गरेका पनि केही त्यस्ता मान्छेहरु छन् जसले १७ हजारको हत्यारा मात्रै भनिरहेका हुन्छन् । उनीहरुलाई मेरो भनाई के हो भने तिनले क्रान्ति भन्ने नै बुझेनन् । क्रान्ति कति निर्मम हुन्छ भन्ने नै बुझेनन् । इतिहास कति ठुलो वलिदानीबाट परिवर्तन भएका छन् भन्ने नै बुझेनन् । त्यस्ता मुर्खहरुलाई गाली गर्नुभन्दा पनि सद्वुद्धि आओस् भनेर कामना गर्नुपर्छ ।
शुक्रबारदेखि भारतीय प्रधानमन्त्री नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाल र भारतबीचको सम्बन्ध पहिले र अहिलेमा के फरक छ । यहाँले बुझेको सम्बन्ध कस्तो हो ?
जतिबेलादेखि राष्ट्रिय राज्यहरु बने । त्यसबेलादेखि नै प्रत्येक राज्यले आफ्नो स्वार्थलाई केन्द्रमा राखे । यो चाणक्यको पालादेखि नै हो । अहिलेसम्मका सबै राजनीतिक शास्त्रसम्बन्धी बुझाई राख्नेहरुले यो कुरा सबैभन्दा पहिले बुझ्नुपर्छ ।
अर्को ठुला र सानाको सम्बन्ध के हुन्छ भने जहिले पनि ठुलाले सानालाई अधिनमा राख्न खोज्छ । र, सानाले ठुलाको पन्जाबाट उम्कने प्रयत्न गर्छ । यो व्रिटिश साम्राज्य हुँदादेखि नै हो । संसारभर नै त्यही हो ।
हामीभन्दा भारत कैयौं गुणा ठुलो छ । हामी सानो छौं । त्यसैले उसले अपवाद होइन नियमअनुसार नै हामीमाथि प्रभुत्व जमाउन खोज्छ । हामी फेरि उसबाट निस्केर आफ्नो स्वतन्त्रता कायम राख्नुपर्छ भन्छौं । यो सुरुदेखि नै चलिआएको द्वन्द्व हो । यसलाई हामीले घटनाभन्दा पनि प्रक्रियाका रुपमा बुझ्नुपर्छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणलाई सामाजिक सञ्जालमा पनि व्याप्त टिकाटिप्पणी भएका छन् । राष्ट्रवादी भनिएको सरकार नै लम्पसारवादी भयो भन्ने टिप्पणी आएका छन् । जनकपुर, काठमाडौं र मुक्तिनाथमा मोदीको लागि नागरिक अभिनन्दन आवश्यकता हो कि यो सामाजिक सञ्जालमा व्यक्त भएजस्तै लम्पसारवादको उदाहरण हो ?
हीनताबोधबाट ग्रसित हुनेहरु चाहे व्यक्ति होस् या राज्य कहिले अतिशयक्तिपूर्ण ढंगले प्रवृत्ति देखाउने अनि कहिले आफ्नो एउटा लाभको निम्ति ठुला विरोधका चर्का स्वर निकाल्ने प्रवृत्ति हामीकहाँ पनि सुरुदेखि नै छ ।
एउटा पक्ष अमरसिँह थापाहरु सीधै लडेर हाम्रो स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने प्रवृत्ति थियो । अर्को जंगबहादुर प्रवृत्ति हो । उनको प्रवृत्ति भनेको चाकडी नै गरेर लाभ लिनुपर्छ भन्ने प्रवृत्ति हो । फर्किएर हेर्दा कसले राम्रो गर्यो भन्दा यत्रो लाभ भयो तर हामी सुगौली सन्धीमा पुगेर हार्नुपर्यो ।
सुगौली सन्धी गर्दा हाम्रो एकतिहाई भु–भाग नै गुमाउनुपर्यो । त्यति गुमाएर भए पनि नेपाललाई बाँकी भाग बचाए त्यसैले भीमसेन थापाले राम्रो गरे भन्ने पनि छन् । अर्कोतिर मुर्खता गरेर टिष्टादेखि काँगडासम्म गुमाए भन्ने पनि छन् । तर सही त बचाएकै हो नि । त्यो नै नेपालको हितमा थियो ।
अर्को प्रवृत्ति भनेको जंगबहादुर प्रवृत्ति हो । माक्सले पनि नेपालबारे लेखेका छन् । जंगबहादुरलाई व्रिटिशको कुकुर हो भनियो । जंगबहादुरले भारतलाई रिझाउन आफैं सेना लिएर गए । तर पनि उनले नेपाली भुभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याए । अब यसरी हेर्दा परिणाम पनि प्राप्त भयो ।
एकातिरबाट हेर्दा एउटा बढी राष्ट्रवादी स्वाभिमानी पनि भए एकतिहाई भाग गुमाए । अर्काले दलाली गरे नयाँ मुलुक फिर्ता ल्याए । यस्ता विषय पहिलेदेखि नै आउने गर्छन् ।
हामी स्वाभिमान हुनुपर्छ तर बुद्धिमतापूर्वक नेपालको फाइदा हेर्नुपर्छ । त्यसैले कसैलाई दलालै भनिहाल्ने, अथवा फेरि चर्को अन्धराष्ट्रवादको नारा दिएर जनताको देशभक्तिपूर्ण भावना भड्काएर आफ्नो निजी लाभ लिने प्रवृत्ति गलत हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि दिएका अभिव्यक्ति र अहिले देखाएको व्यवहार एउटै हुन् या वाध्यतावस उहाँले यो व्यवहार देखाउनुपरेको छ, के लाग्छ यहाँलाई ?
केपी ओलीजीलाई मात्रै मैले दोष दिन्न । हाम्रो परम्परा नै त्यस्तै छ । सुगौली सन्धीपछिको अवस्था हेर्दा राजसंस्थाले नेपालको सार्वभौमसत्ताको रक्षा गर्यो भनेर भन्छन् । तर कोतपर्व हुँदा राजेन्द्र विक्रम शाह मलाई बचाइदिनुपर्यो प्रभु भन्दै लैनचौरमा पुगेकै हुन् । त्यहाँ पुगेर उनी लुरुलुरु फर्किएर आएकै हुन् । राजा त्रिभुवन दुतावासमै शरण लिन पुगेका हुन् ।
उनी अप्ठेरोमा परेको भए जनतासँग शरण लिन गएको भए पनि हुन्थ्यो । पाल्पा या गोरखा किन गएनन् त ? उनको पुरानो थलो गोरखा नै थियो त्यहाँ जनताले उनलाई शरण दिन्थे । राजा महेन्द्रलाई सबैभन्दा बढी राष्ट्रवादी भनिन्छ । तर उनकै पालामा कालापानी दिइएको हो । कोशी नदी पनि ९९ वर्षलाई भनेर दिइएको थियो सम्झौता पनि त्यहीअनुसार भएको थियो ।
सम्झौता १० वर्ष परीक्षणकालमा नै थियो । उनकै पालामा १९५४ को पालामा भएको सन्धीलाई अन्तिम रुप १९६४ मा दिइएको थियो । त्यसमा उनले नै १ थपेर १९९ बनाइदिए भनिन्छ । अब कोशी उनैले भारतलाई १९९ वर्षका लागि दिए । अहिले हामीले उनलाई नै सबैभन्दा बढी राष्ट्रवादी राजा भनिन्छ ।
आफ्नो लाभको निम्ति शासकहरुले यस्तो गर्ने गर्छन् । केपीजी पनि महाकाली सन्धीको पालामा खुलेरै लाग्नुभएको हो । जतिबेला हामीले विरोध गरेका थियौं । उहाँ हितमा छ भन्दै लाग्नुभएकै हो । पछि नाकाबन्दीका बेला अडान लिनुभयो । हामीले सबै विर्सेर राष्ट्रवादी भनियो । अहिले सबै कुरा छाडेर गरिरहनुभएको छ । त्यसैले राजेन्द्रविक्रम शाहदेखिकै यो निरन्तरताको अंग हो ।
तपाईँ पनि सरकारको नेतृत्वमा पुग्नुभयो । भारतसँगको सम्बन्धमा मात्रै किन यस्तो विषय उठिरहन्छ ? भारतले नै यहाँ माइक्रो म्यानेजमेन्ट किन गर्नुपरेको ? नेपाली कमजोर नै भएरै हो कि भित्र लुकेको अर्कै विषय छ ?
हामी अहिले त्यता जाँदै नजाऔं । सबैले गर्ने नै त्यही हो । ठुलोले सानोमा हैकम जमाउनु सामान्य प्रवृत्ति हो । किन भन्ने प्रश्न नै होइन । हामीले सोच्ने त नेपाल कसरी सवल बनाएर सार्वभौमसत्ताको रक्षा गर्ने र बलवान हुने नै हो । स्वाभिमानपूर्ण ढंगले विश्वमा अघि बढ्ने नै हो ।
त्यसो हो भने नेपालीको भारतप्रतिको दृष्टिकोणजस्तै चीनप्रति किन हुँदैन त ?
चीनको पनि नजर त्यही हो । दक्षिण पूर्वलाई हेर्ने हो भने हामी भारतप्रति कति सशंकित हुन्छौं उनीहरु चीनप्रति त्यो भन्दा बढी सशंकित छन् । मलेसिया, सिंगापुर, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया जानुस् हामी भारतप्रति जति सशंकित हुन्छौं चिनियाँप्रति उनीहरु त्यतिकै सशंकित हुन्छन् ।
जसको जहाँ बन्द, व्यापार हुन्छ उसले त्यहाँ प्रभुत्व जमाउन खोज्छ । चीन पनि हिमालको पारी आउनै चाहेन । किनकी उसलाई फाइदा नै थिएन ।
बहादुर शाहको पालामा हामी तिब्बतलाई आक्रमण गर्न गएकै हो । पछि चिनियाँले बेत्रावतीसम्म लखेट्दै ल्याएका हुन् । अनि चुप लागेर बसेकै हुन् । पहिले त ल्हासासम्म त हामी पुगेकै हौं । त्यसपछि चीन हिमालपारी आएन । जोसँग बढी लेनदेन हुँदैन उसँग झगडा पनि हुँदैन । चिनियाँ पुँजी, भारतीय, अमेरिकी र रुसी पुँजी एउटै हो । आफ्नो बजार विस्तार र प्रभुत्व जमाउने नै हो । चीन यता नआएको मात्रै हो । नेपाललाई जिस्क्याएर फाइदा पनि हुँदैन । बरु उता म प्रभाव जमाउँछु यता तँ जमा भनेको होला । यसमा चीन र भारतको नीतिमा कुनै फरक छैन ।
भनेपछि मोदीको नेपाल भ्रमण निरन्तरता मात्रै हो कि यसको खास अर्थ पनि छ ?
यो निरन्तरता मात्रै हो । खासगरी नरेन्द्र मोदी प्रधानमन्त्री बनेर आउनुभयो । भारतमा लामो समय नेहरु परिवार र कांग्रेसको राज्य लामो समय चलेको थियो । बीचमा केही समय विजेपीले चलायो । तर नरेन्द्र मोदीले बहुमत प्राप्त सरकार बनाएपछि नेपाल र छिमेकी देशहरुले अलि आशा गरेर हेरेका थिए । यसले पहिलोचोटी आएर उहाँले राजनीतिक भाषणमा नयाँपन राख्दा हामी सबै खुसी भयौं । तर अन्ततः राज्यको नीति भनेको राज्यकै नीति हुन्छ । उहाँ पनि त्यहीँभित्र रहेर पुरानै घटनामा फर्किनुभयो । नेपालीले नाकाबन्दी झेल्नुपर्यो ।
मेरै जिवनमा तीनवटा नाकाबन्दी झेलेको छु । २७ सालमा हामी अस्कल पढ्दैगर्दा नाकाबन्दी भएकै हो । हामी भारतको विरोधमा चर्का नारा लगाउँथ्यौं । २०४७ सालमा फेरि पारवहन सन्धीको विषयलाई लिएर नाकाबन्दी लगाएकै हो । पञ्चहरुले हामीमाथी हस्तक्षेप भनेर कुर्लिए । हामी लोकतन्त्रका लागि लडिरहेकाहरु चुप लागेर बस्यौं । कांग्रेस, कम्युनिष्ट कसैले पनि त्यो बेलाको नाकाबन्दीको विरोधमा आएनौं । तर ०७२ सालमा जुन विरोध भयो, त्यसबेला केपी ओलीजी पहाडिया राष्ट्रवादको पक्ष लिने ढंगले विरोधमा आउनुभयो । तर जनजातीहरु जो अधिकारका लागि लडिरहेका थिए उनीहरु चुप लागे । त्यसैले हामी कोही पनि राष्ट्रिय/अराष्ट्रिय होइनौं । हामी आफ्नो लाभको निम्ती आवाज उठाउने हो । मोदीजीको नेपाल भ्रमणलाई ठुलो अर्थ लगाएर हेर्न जरुरी छैन ।
तर सामाजिक सञ्जालमा निकै विरोध भएको छ नि ! हेर्नुभएको छैन ?
यसले हाम्रो अपरिपक्वता देखाउँछ । कुनै पनि देशसँग हाम्रा समस्या होलान् तर संरचनागत ढंगले हल गर्नुपर्छ । समग्र समीक्षा गरेर हल गर्नुपर्छ । इपीजीले काम पनि गरिरहेको छ । भारतलाई गाली गरेर पनि हुँदैन, लम्पसार परेर पनि हुँदैन । तर उहाँ (मोदी) आउँदा स्वागतमा कन्जुस्याईँ गर्नुहुँदैन । गालीगलौज गर्न हुँदैन । सोसल मिडियामा जसरी आएको छ त्यो पनि गर्नुहुँदैन । हाम्रो कुरा दह«ोसँग राखौं तर पाहुनालाई हामीले गाली गर्नुहुँदैन । यो हाम्रो संस्कार हुँदै होइन । हामीले हाम्रो सरकारलाई भन्ने हो । तर चीन अमेरिका जहाँबाट आएको पाहुना भएपनि गाली गर्नुहुँदैन ।
प्रसंग बदलौं ।
माओवादी छोडेर यहाँले नयाँ शक्ति पार्टी नेपाल बनाउनुभयो । अहिले नयाँ शक्ति पार्टीको अवस्था कस्तो छ ?
नयाँ शक्ति पार्टीको अवधारणा एउटा भविष्यमुखी अवधारणा हो । यो २ सय वर्ष पहिले एन्लाइटनमेन्ट वैचारिक राजनीतिक अभियानको रुपमा युरोपमा चल्यो त्यसैबाट नै फ्रान्सेली क्रान्ति हुँदै यहाँसम्म संसार आइपुग्यो । लोकतन्त्र समाजवाद त्यसैको उपज हो । यहाँसम्म आइपुग्दा हाम्रो चेतनाले नयाँ विचारको खोजी गरिरहेको छ । हिजो त्यो पुँजीवाद र साम्यवाद भन्ने अवधारणा थियो एन्लाइटनमेन्ट फ्रान्सेली क्रान्तिपछि आयो । विज्ञान र प्रविधिले संसार एकीकृत भइरहेको छ । उत्पादन प्रणाली पुँजी इत्यादीको विकास भएको छ । नयाँ विचारको खोजी, पुँजीवाद र साम्यवादभन्दा अगाडि बढेको विचार संसारभर खोजी भइरहेको छ ।
नयाँ शक्ति त्यसैको उपज हो । त्यसैले हामी पुँजीवाद र साम्यवादबाट अगाडि बढेको समाजवाद खोजिरहेका छौं । सहभागीतामुलक लोकतन्त्रमा आधारित विचारको खोजी हाम्रो प्रयत्न हो । त्यसमा टेकेर नेपाललाई कसरी अगाडि बढाउने ? भन्ने सन्दर्भमा नयाँ शक्ति अभियान सुरु गरिएको हो । भविष्यमुखी दिर्घकालीन अवधारणा भएको हुनाले २ वर्षभित्रै ठुलो परिवर्तन ल्याउँदैन ।
तर, नयाँ शक्ति पार्टी घोषणा समारोहमा जति मान्छे थिए, त्यति मान्छे अहिले तपाईंको पार्टीमा नै छैनन् । क्रमश: किन घट्दै गइरहेका छन् त ?
नयाँ शक्ति पार्टी नयाँ विचारको खोजी हो भन्ने कुरा मानिसले बुझेनन् । बाबुराम एउटा सक्षम व्यक्ति हो योसँग आएपछि सत्तामा गएर छिट्टै लाभ लिन पाइन्छ भन्ने अनेकथरीका मान्छेहरु आए मैले त्यसरी बुझेको छु । त्यसले गर्दा हाम्रो पार्टी उद्घाटनमा पनि धेरै भीडभाड भएको थियो । मलाई त्यतिबेलै थाहा थियो पञ्चायतविरुद्ध १० वर्ष लडियो ।
गणतन्त्र ल्याउन १० वर्ष हामी भूमिगत नै हुनुपरेको थियो । त्यसैले हाम्रो पार्टीको निर्माण हुन पनि समय लिन्छ भन्ने कुरा मलाई थाहा थियो । धेरै मानिस हौसिएर पनि आए । त्यसपछि तुरुन्त चुनाव आइहाल्यो । चुनाव चिन्ह नपाएर हामी अप्ठयारोमा पर्यौं । त्यस्तो बेलामा सोचेअनुरुप परिणाम नआउनु स्वभाविकै थियो । त्यो देखेपछि जो मान्छे तुरुन्त सत्तामा जाने सपना देखेका थिए ती मान्छेहरु भागाभाग गर्न थाले । त्यसले गर्दा नयाँ शक्ति बन्दैन भनियो । नयाँ शक्ति मैले नबनाएपनि अर्को व्यक्ति आएर बनाउनुपर्छ भन्ने मेरो अवधारणा छ । त्यसैले नयाँ शक्ति बन्छ भन्ने म विश्वस्त छु ।
तपाईंको नजिक भनिएका मान्छेहरु नै विस्तारै–विस्तारै पलायन भए, कोही पुरानै पार्टी मै फर्के नि ! यसलाई कसरी लिने ?
नयाँ शक्ति पार्टी नेपाल बनाउन मैले माओवादी पार्टी फुटाएर ल्याएको होइन । सुरुमा म एक्लै माओवादी पार्टी परित्याग गरेको थिए । नयाँ बनाउन मैले जिरो ग्राउण्डदेखि नै सुरु गरेको हो । नयाँ शक्ति माओवादीको टुक्रा होइन । कतिपय साथीहरु एमाले, माओवादीबाट र स्वतन्त्र तरिकाले आउनुभयो, उहाँहरु अझै हुनुहुन्छ, मान्छेले गएको मात्र देख्दोरहेछ, आएको देख्दैन रहेछ । त्यसैले संगठनको मुल पंक्ति हामीसँगै छ । अवसरको खोजी गर्ने मान्छेहरु गएका हुन्, त्यो सत्य हो ।
यसमा तपाईंको वा नयाँ शक्ति पार्टी नेतृत्वको कमजोरी छ कि छैन ?
कमी कमजोरी भन्दापनि पहिलो कुरा बुझाइमा एकरुपता हुनुपर्यो । बुझाइमा एकरुपता ल्याउन नसक्नु मेरो कमजोरी भयो । यो दीर्घकालीन योजना हो । यसले समय लिन्छ भनेर सायद मैले साथीहरुलाई बुझाउन नसक्नु मेरो कमजोरी हुनसक्छ । तर, जो मान्छे सत्ता र शक्तिको खोजीमा छ त्यसलाई म सुम्सुम्याएर राख्न त सक्दिनँ । राखेर फाइदा पनि छैन । उचालेको कुकुरले मृग पार्दैन भनेजस्तो हुन्छ ।
त्यसलै मैले नयाँ युवा साथीहरुलाई जोड गरिरहेको छु । हाम्रो केन्द्रीय कार्यकारी समितिमा झन्डै ४० प्रतिशत युवाहरु ४० वर्षभन्दा तलका हुनुहुन्छ । युवाहरुलाई नै अघि बढाउन खोजिरहेको छु । १० वर्षभित्र साच्चै नै मैले सोचेअनुसारको विश्वलाई नै नयाँ सन्देश दिनसक्ने, नेपाली समाजलाई अघि बढाउन सक्ने त्यस्तो वैकल्पिक शक्ति निर्माण हुन्छ भन्ने मेरो विश्वास छ ।
तपाईँ प्रधानमन्त्री, अर्थमन्त्री हुँदा सुधारात्मक कामहरु त गर्नुभएको थियो । सुधारको तहमा पुगेर सुरुवात पनि गर्नुभएको थियो । फेरि पनि त्यहीँबाट पनि त गर्न सक्नुहुन्थ्यो नि हैन र ?
तपाईंले ठीक कुरा उठाउनुभयो । कांग्रेस एमाले र माओवादीभित्र रहेर सधार त गर्न सकिन्छ । तर, सोचेजस्तो गुणात्मक फड्को र परिवर्तन गर्न सकिँदैन, त्यो सम्भव हुँदैन । एमाले र माओवादी मिलेर अहिले फुलेको ठूलो कम्युनिष्ट पार्टी बनाउँदैछन् । त्यो पार्टी हेर्दा ठूलो त हुन्छ । तर, तपाईंहरु हेर्नुहोला ५/७ वर्षपछि त्यो पनि पुरानै फेरि घिसेपिटे तालले जान्छ, पछाडि फर्कन्छ । कांग्रेस त ठूलो गतिरोधमा छ । अहिलेको नयाँ सोचशैली कांग्रेसमा छैन । त्यसैले जुकाले धेरै रगत चुसेर आफैँ खसेजस्तै कांग्रेस र कम्युनिष्टहरु पनि चाउरी पर्छन् । उनीहरुसँग नयाँपन केही पनि छैन । कांग्रेस र कम्युनिष्ट वैचारिक ढंगले स्खलित भएको र नयाँपन नभएका डाइनोसर जस्ता हुन् । एउटा बिन्दुमा पुगेपछि आफूलाई रुपान्तरण गर्न नसक्ने । एमाले, माओवादी र कांग्रेसको डाइनोसर आकारको छ त्यसको भविष्य म देख्दिनँ । त्यसैले नयाँ विचार आवश्यक छ भन्ने म मान्यता राख्छु ।
पुराना शक्तिहरुसँग रहेर सुधार त गर्न सकिन्छ । कहिलेकाहीँ साथीहरु आउनुहुन्छ र मलाई आउनुहोस् यहाँभित्रबाटै सुधार गरौं भन्नुहुन्छ । मैले साथीहरुलाई के भन्ने गरेको छु भने सुधार मात्रै गर्न हो भने त सकिन्छ । तर, मुलुकलाई चाहिएको छ गुणात्मक परिवर्तन । हिजोमात्रै अर्थमन्त्री र प्रधानमन्त्रीले सुझाव माग्नुभएको थियो । सुझावमा मैले सबै कुरा छोड्दिनुहोस् तपाईंहरुले सिम्पल सुत्र बनाउनुहोस् । दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर ल्याउने नीति के हो ? त्यसको लागि के गर्नुपर्छ ? भनेर भने । आर्थिक वृद्धिदरले मात्र क्रान्तिकारी रुपान्तरण ल्याउँछ । त्यसको जगमा टेकेर हामीले भनेको नयाँ प्रकारको उन्नत समाजवाद आउनसक्छ । तर, गरिबी र बेरोजगारीभित्र रहेर न लोकतन्त्र सुरक्षित हुन्छ न त उहाँहरुले भनेको साम्यवाद आउँछ ।
यहाँले उपेन्द्र यादवसँग एकताको प्रयास गर्नु भएको थियो, पछि टुट्यो, अझै पनि कोहीँसँग एकताको प्रयास जारी छ कि छैन ?
प्रयास त हामीले सबैसँग गरिरहेका छौं । हामीले भन्ने गरेका छौं जोसँग मुद्दा मिल्छ, एजेन्डा मिल्छ तत्काल सहकार्य गर्छौं । भ्रष्टाचारको विरुद्धमा र गोविन्द केसीको आन्दोलनमा हामीले सहयोग गर्यौं । विवेकशील साझा पार्टीका साथीहरुसँग अघोषित तरिकाले सहकार्य भयो । त्यस्तै नेपालको जातीय क्षेत्रीय विविधता छ, पहाड मधेस र तराईको बीचमा खस, आर्य, थारु र जनजातीको कलस्टर कायम गर्न त्यसको निम्ति संघीयताको प्रवर्द्धन गर्न, उपेन्द्र यादवजीहरुसँग हामी सहकार्य गर्छौं । अन्य मुद्दाहरुमा अन्य पार्टीसँग पनि गर्न सक्छौं । त्यसैले तत्काल पार्टी एकता नै गर्ने अवस्था हामीले देखेका छैनौं ।
नयाँ शक्तिको एमाले र माओवादीसँगको सम्बन्ध अहिले कस्तो हो ?
मैले उहाँहरुलाई के भन्ने गरेको छु भनेर तपाईंहरु कम्युनिष्ट ब्राण्डलाई छोडेर आउनुहोस् । माक्सवादको द्वन्द्वात्मक भौतिकवादको जुन प्रणाली हो, त्यो कुनै वाद धर्म होइन । विज्ञानलाई समातेर युगअनुसार आफूलाई सच्चा लोकतन्त्र र समाजवाद निर्माण गर्ने दिशामा र कम्युनिष्टको पुरानो खोल फ्याकेर समाजवादी शक्तिको रुपमा अगाडि आउन सक्नुहुन्छ भने सहकार्य गर्न तयार छौं भनेका छौं । असोज १७ गतेपनि भनेको हो अहिले पनि भनेका छौं । त्यसरी उहाँहरु आउन सक्नुहुन्छ, आँट गर्नुहुन्छ भने सहकार्य गर्दै भोलिको कुनै बिन्दुमा पुगेर एकता पनि हुनसक्छ ।
खासगरी एमाले संघीयताको मुद्दामा अत्यन्तै संकिर्ण छ । मधेस जस्तो अत्यन्तै संवेदनशील भूभागलाई बेवास्ता गरेर नेपालको राष्ट्रिय एकता कायम गर्छु भन्नु बडो मुर्खता हो । त्यसकारण उपेन्द्र यादवजीलगायत सबैको शक्तिलाई मिलाएर अगाडि जानुपर्छ भन्ने मेरो भनाइ हो । अहिले पनि केपी र उपेन्द्रजीसँग भेट्दा साच्चै तपाईंहरु समाजवादी शक्ति बनाएर जाने हो भने यी चार पक्षको बीचमा अहिल्यै कार्यगत एकता गरौं, पार्टी एकता होइन । कार्यगत एकता गर्दै गएर वैचारिक बहस चलाउँदै जाने हो भने एउटा समाजवादी शक्ति बन्छ । कांग्रेसभित्रका प्रदीप गिरीलगायतका साथीहरु पनि आएर समाजवादी शक्ति बन्न सक्छ । यो एउटा परिकल्पना मात्र हो । त्यसैले एमाले–माओवादीसँग पार्टी एकता गर्ने पक्षमा हामी छैनौं ।
एमालेसँग एकता गर्नुभन्दा अगाडि तपाईं उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बसेर एउटा पार्टी बनाउने बाहिर हल्ला छ, त्यस्तो वार्ता भइरहेको हो ?
केपी ओलीजीले बोलाएर नै म असोज १७ गते गठबन्धनमा जोडिन गएको हो । मैले के भन्ने गरेको छु भने समाजवादी पक्ष यदी आउँछ भने कांग्रेस कम्युनिष्ट भन्ने पार्टी विघटन गरिदिउँ, नयाँ ढंगले समाजवादी शक्ति बनाऔं । कांग्रेस, कम्युनिष्ट, फोरम र हामी सबैले विघटन गरेर समाजवादी शक्तिको रुपमा रुपान्तरण गरौं भन्ने मेरो पहिलो भनाइ हो । पुँजीवादी शक्ति बन्छ भने पनि बनोस् केही फरक पर्दैन ।
कि त त्यस्तो गरौं, मेरो एउटा प्रस्ताव जुन तत्काल हुने देखिँदैन । कांग्रेस र एमाले २०५२ सालअघि कै शक्तिहरु हुन् । त्यसभन्दापछि उदाएका शक्तिहरु माओवादी र मधेसवादी, थारु लगायतका शक्तिहरु हुन् । २०५२ पछि उदाएका शक्तिहरु सहकार्य गर्ने र एउटै पार्टी बनाएर नयाँ समाजवादी शक्ति बनाउने दोस्रो विकल्प हुनसक्छ । त्यसो हुन सक्दैन भने नयाँ शक्ति एक्लै भनेपनि वैकल्पिक शक्ति बन्ने आँट गर्छ ।
तपाईंले अघि भनेजस्तै एमाले र माओवादी फुलेको बेलुन जस्तै हुन् त ?
हो, वैचारिक राजनीतिक बहसमा उहाँहरु हुनुहुन्न । सत्ताको भागबन्डामा उहाँहरु हुनुहुन्छ । उहाँहरुलाई एकतापछि आफ्नो पोजिसन के हुन्छ भन्ने चिन्ता छ । उहाँहरुको भित्र र बाहिर पद र पोजिसनकै चर्चा छ । पार्टी भनेको विचारको वाहक शक्ति हो । विचार र कार्ययोजना भएको शक्तिलाई पार्टी भनिन्छ । क्लब होइन ।
क्लब अथवा कुनै समुह भनेको आफ्नो तत्कालिन स्वार्थको लागि हो । पार्टी त्यस्तो हुँदैन । त्यरकारणले गर्दा उहाँहरुको साइज त ठूलो हुन्छ । गुणमा त भित्रभित्रै मरणसि हुन्छ । त्यसले लामोसमय काम गर्दैन । त्यसकारणले एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताको ठूलो भविष्य देख्दिनँ ।
यहाँले प्रचण्डसँग लामो समय सहकार्य गर्नुभयो । मुलुकै परिवर्तन गर्छौं, राजनीतिक एजेन्डाहरु सकिए, अब आर्थिक समृद्धि नै हो भनेर एमालेसँगको एकतामा अघि बढ्नुभएको छ । सफल हुने सम्भावना तपाईंले कत्तिको देख्नु भएको छ ?
राजनीतिक एजेन्डा सकियो भन्नु नै बेकार हो । राजनीति सकिएपछि राज्य पनि सकिन्छ । माक्सको परिकल्पना साम्यवाद ल्याउने हो । राजनीति सकियो भन्नु बेकार हो । मैले भन्यो भनेर मानिसहरु भनेका छन् । तर, मैले कहिल्यै राजनीतिक मुद्दा सकियो भनेर भनेको छैन । रुप फेरिएको छ । गणतन्त्र आइसकेपछि एउटा चरण पूरा भएको छ । अब आर्थिक विकासको नयाँ चरणमा टेकेर अर्को प्रकारको राजनीति फेरि हुन्छ भन्ने मेरो भनाइ हो । त्यो क्लियर हुनुपर्यो । राजनीति र आर्थिक क्रान्ति अन्तर सम्बन्धित हुन्छन् । राजनीति अर्थ राजनीतिक प्रक्रिया हो, विकास हो । प्रचण्ड नयाँ किसिमले सोच्न सक्ने केही गरम भन्ने मान्छे चाहीँ हो । त्यसकारणले उहाँ एउटा डाइनामिक मान्छे पनि हो ।
नकारात्मक पाटो भनेको अत्यन्तै अस्थिर भइदिनुहुन्छ उहाँ । दृढतापूर्वक केही समय पनि नउभिएर फ्याट्टै जम्प हान्नुहुन्छ । उहाँ आफैँ पनि भन्नुहुन्छ– म जे पनि गर्न सक्छु भोलि अर्को पनि हुनसक्छ । मेरो कसैप्रति पनि दुर्भाव छैन । केपी, शेरबहादुर, प्रचण्डजीसँगै हिड्छौं । सबैबाट सिकौं भन्ने मलाई लाग्छ । व्यक्तिगत रुपमा सबैसँग राम्रो सम्बन्ध छ । अहिले भएको क्षमताले पुग्दैन भन्छु म । हाम्रो पुस्तालाई हामीले इमानदारितापूर्वक भनिदिनुपर्छ हिजो पञ्चायत र राजतन्त्रको विरुद्ध लडेर संघीय गणतन्त्रमा पुर्यायौं । नयाँ पुस्ताका साथीहरु आउनुहोस् । हामी सहयोग गरौं गर्छौं भन्नुपर्छ । कांग्रेस, एमाले र माओवादीका नेताहरु सबैले त्यसो भन्नुपर्छ । मैले आफ्नो मानसिकता बनाइसकेको छु । ४० वर्षभन्दा तलका युवाहरु हुनुहुन्छ उहाँहरुलाई अगाडि सारेर म पछाडि बसेर सहयोग गर्ने भन्नेमा म त्यहाँ पुगेको छु ।
संविधान जारी हुने बेलासम्म प्रचण्डसँगै रहनुभयो । लामो सहकार्य पनि गर्नुभयो । पछि छाडेर हिँड्नुभयो । तपाईँले प्रचण्डलाई धोका दिएको कि प्रचण्डले तपाईँलाई ?
कसैले कसैलाई धोका दिएको होइन । हामी मिलेरै गणतन्त्रसम्म पुगेका हौं । गणतन्त्र ल्याइसकेपछि अगाडि जाने बाटोमा हाम्रो मतभेद भएको हो । सुरुदेखिनै माक्सवादलाई बुझ्ने विषयमा विवाद हुन्थ्यो । माक्सवाद विज्ञान हो, गतिशील तरिकाले अगाडि लैजानुपर्छ भन्ने मेरो भनाइ २०३६ सालदेखि नै हो । मोहन विक्रमजीसँग काम गर्दाखेरि नै मेरो अडान त्यही हो । माक्सवाद विज्ञान हो धर्मशास्त्र होइन । उहाँहरुले त्यसलाई एउटा धर्मकै रुपमा ग्रहण गर्ने सोच रह्यो । यो विषयमा हाम्रो टक्कर परिराख्थ्यो । व्यक्तिगत रुपमा कहिल्यै हाम्रो दुस्मनी रहेन ।
तर बेलाबेलामा व्यक्तिगत रुपमा नै गालीगलौजमा उत्रिनुभयो । तपाईँलाई प्रचण्डले कसैले एकमहिना झेलेर हेरोस् भन्नुभएको थियो त ? तपाईँले पनि त्यस्तै भन्नुहुन्थ्यो ...
राजनीतिमा त विवाद संवाद हुन्छ । नियम नै त्यही हो । वाद प्रतिवाद र संवाद हुन्छ । एउटाले अर्कोको विरोध गर्छ अनि नयाँ संवादमा पुग्छ ।
हाम्रै पालामा समृद्धि भन्नुहुन्छ, त्यो सम्भव छ ?
सम्भव छ । त्यसको निम्ति २० वर्ष निरन्तर २ अंकको आर्थिक वृद्धिदर हुने नीति हामीले लिन सक्नुपर्छ । त्यो सम्भव छ । म ६५ वर्षको भएँ अझै २० वर्ष त बाच्छु । सन २०४० सम्ममा त्यो सम्भव छ । त्यसका लागि अहिले हामीले २ अंकको आर्थिक वृद्धिदर हासिल गरेर अगाडि जान सक्यौं भने त्यो संभव छ । मैले अर्थमन्त्रीलाई पनि त्यहि सुझाव दिएको छु ।
अन्त्यमा, वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन सक्छ भनेर कांग्रेस आरोप छ । पूर्वप्रधानमन्त्रीका हैसियतले त्यो सम्भावना देख्नुहुन्छ र ?
म त्यस्तो सम्भावना देख्दिनँ । अलि–अलि त प्रवृत्ति भइहाल्छ । हामी भर्खर–भर्खर लोकतन्त्रको अभ्यास गरेका छौं । त्यत्रो २ सय वर्ष लोकतन्त्रको अभ्यास गरेको ठाउँमा ट्रम्प जस्तो मान्छे आएका छन् । त्यो नियम नै हो । तर, अधिनायकवादतर्फ देश फर्कदैँन । अधिनायकवादतर्फ जान्छ भनेर भन्नु हल्ला मात्रै हो । अब जाने नै लोकतन्त्रतर्फ हो । लोकतन्त्रलाई समुन्नत बनाउँदै लैजानुपर्छ । अब लोकतन्त्र अगाडि नै बढ्छ पछाडि फर्कँदैन ।