काठमाडौं । तीनै चरणको निर्वाचनपश्चात् जारी हुन लागेको संघीय नेपालको बजेटको तयारी तीव्र रुपमा अघि बढेको छ । वित्तीय संघीयता कार्यान्वयन र गरिबी न्यूनीकरण गर्दै नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार गर्न केन्द्रित हुने अपेक्षा गरिएको यसपालिको बजेटबाट सेयर बजारले पनि यसक्षेत्रमा व्याप्त समस्या सम्बोधन गर्ने आश गरेको हो ।
त्यसो त अर्थतन्त्रमा बौद्धिक मानिएका नयाँ अर्थमन्त्रीले बजेट संसदमा प्रस्तुत गर्न तीन हप्ता पनि बाँकी छैन । यस्तो अवस्थामा अर्थमन्त्रीसँग पहिलेदेखि नै ‘टर्म नमिलेको’ भनिएका सेयर बजारका खेलाडी अर्थमन्त्रीले आफूहरुलाई च्याप्ने खालका नीतिगत योजना ल्याइहाल्छन् कि भन्नेमा सजग बन्न थालेका छन् ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल पनि अर्थमन्त्रीसँग पुँजीबजार डराएको स्वीकार्छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “अर्थमन्त्रीको विगत र वर्तमान गतिविधिबाट उहाँ पुँजी बजारप्रति खुसी हुनुहुन्न भन्ने देखिन्छ । त्यसकारण बजेटमा हामी मारमा पर्नेगरी उहाँबाट केही नीति आइहाल्छन् कि भन्नेमा हामी त्रसित छौं ।”
उनका अनुसार पुँजीगत लाभकर, मूल्य अभिवद्धि करलगायत विवादित विषय अझै सम्बोधन हुन सकेका छैनन् । उनले भने, “बजेटमा कारोबारमा भ्याट लगाए वा पुँजीगत लाभकर वृद्धि गरे लगानीकर्तामा नकारात्मक सन्देश जान्छ ।” उनका अनुसार बजेटमा सबै लगानीकर्ताको चासो छ । उनले भने, “ठूला र म्युचुअल फन्डका लगानीकर्ता पनि बजेटका प्रावधान अनुसार मात्र लगानी गर्छन् ।”
नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार बजारको भविष्य सुनौलो भए पनि केही फ्याक्टरले बजारलाई प्रभावित पारेको स्वीकार्छन् । उनले भने, “यहाँ प्रतिफल पाउनेमा सर्टेनिटी भएन । ब्याजदर, भ्याट कुरा परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा बजार पक्कै पनि बजेटको प्रतीक्षामा छ ।”
उनले थपे, “बजेटले भ्याट कुरा सम्बोधन गरोस्, लङ टर्म लगानीकर्तालाई करको चिन्ता गर्नु नपरोस् । एनआरएनलाई बजारमा प्रवेश गराओस् र पुँजी बजारमा ‘वन डोर पोलिसी’ अपनाउने व्यवस्था होस् ।” बजारका खेलाडी साना–साना कुराले बजारमा प्रभाव जमाउँछन्, तसर्थ यस्ता प्रोपागान्डा बनाउने कुनै बिन्दु बाँकी नराखियोस् ।”
नयाँ ब्रोकरलाई इन्ट्री, सेयर दायरा बढाउने व्यवस्था बजेटमा भए राम्रो हुने उनको भनाइ छ । उनले भने, “बसको सिन्डिकेट अन्त्य भयो, अब सेयर बजारको सिन्डिकेट पनि हट्नुपर्यो ।” अनलाइन प्रणाली कार्यान्वयन हुन लाग्नु बजारका लागि राम्रो खबर भएको उनी बताउँछन् ।
यद्यपि, बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सबैको राम्रो आए पनि क्रेडिट क्रन्चका कारण ब्याजदर उच्च रहँदा बजारमा उच्च गतिको सुधार हुन नसकेको जानकार दाबी गर्छन् । अहिले वास्तवमा बजार बढ्नुपर्नेमा घट्नुको प्रमुख कारण नै ब्याजदर नघट्नु रहेको उनीहरु बताउँछन् ।
अहिले बजार १४ सय अंकको हाराहारीमा घुमिरहेको छ । नयाँ वर्ष लागेझैं ह्वात्तै बढेको सेयर बजारले सही गति लिन नसकेको हो । बजारको अस्थिरता अघिल्लो साता ८.२३ अंकले घटेको बजार परिसूचक यससाता १७.७ अंकको गिरावट आउनुले संकेत गर्दछ ।
सेयर बजारको भविष्य ‘प्रेडिक्ट’ गर्न नसकिरहेकै अवस्थामा लगानीकर्ता भने अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको उनीहरु दावी गर्छन् ।
नेप्से परिसूचक ‘पेन्डुलम’झैं बनेको बजारको एक महिनाको परिसूचक ट्रेण्डमा देख्न सकिन्छ । वैशाख ९ गते यससाताकै उच्च बिन्दुमा रहेको बजार अहिले घटेर एक महिनाको अवस्थामा आइसकेको छ । यस्तोमा बजार बढ्ने आशामा उल्लेख्य लगानीकर्ता सेयर कारोबार गर्ने सक्ने अवस्थामा नभएको जानकारहरु बताउँछन् । यससाता सुरुका दुई दिन दोहोरो अंकले घटेको सेयर बजार त्यसयता मंगलबार १५ अंकले बढ्नुको अलावा सम्हालिन सकेन ।
यस महिनाको नेप्से परिसूचक ट्रेन्डः
परिसूचक घट्दा यससाता सेयर बजारमा १८१ कम्पनीका ४८ लाख १२ हजार कित्ता सेयर २ अर्ब १९ करोड रुपैयाँमा किनबेच भए । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
नेप्से बढ्दा यससाता लगानीकर्ताको सम्पत्ति २१ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गत साता १६ खर्ब ३ अर्ब १० करोड रुपैयाँ रहेको सेयर बजारको कुल पुँजीकरण यस साताको अन्तिम दिनसम्म आइपुग्दा १५ खर्ब ८२ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो ।
नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ३ दशमलव ७ अङ्कले घटेर २ सय ८४ दशमलव ५९ अङ्कमा आइपुगेको छ ।
यससाता नेप्सेमा कारोबारमा आएका सबै समूहका उपसूचकमा गिरावट आउँदा सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा बुटवल पावर कम्पनी अग्रस्थानमा रह्यो । बैंकको १२ करोड ७३ लाख ४० हजार रुपैयाँको कारोबार सिभिल बैंकका सेयर १० करोड ३० लाख रुपैयाँमा कारोबार हुँदै दोस्रो स्थान ओगटे ।
यस साता कारोबार भएको सेयर संख्याको आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहँदा कारोबार संख्याका आधारमा भने बुटवल पावर कम्पनी शीर्षस्थानमा रह्यो । यस साताभर ३ कम्पनीका सेयर नेप्सेमा सूचीकृत भए । तीमध्ये कन्काई विकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर छन् भने काबेली विकास बैंक र इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीका क्रमशः ३ लाख ५० हजार ५ सय ५० कित्ता र २८ लाख ६७ हजार २२५ कित्ता हकप्रद सेयर हरेका छन् ।