site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छोटे सेलिब्रिटी
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल 


केही महिनाअघि एउटा बालकले ‘सुन साइँली’ र ‘कुटुमा कुटु’ गीत गाएको यूट्युब भिडियो एकाएक भाइरल भयो । गीत गाउने उनको प्रतिभालाई धेरैले बूढी औंलो देखाएर ‘लाइक’ गरे । भिडियोको भ्युज बढेन मात्रै, उनलाई पढाउन, सहयोग गर्न खोज्नेको लाइनै लाग्यो ।

खोला किनारामा बल्छी थाप्दै र ताता सडकमा गाउँदै हिँड्ने अशोक दर्जी अहिले ‘यूट्युब सर्कल’मा मात्रै होइन, संगीतको दुनियाँमा पनि छाउन थालेका छन् । उमेरले बाल्यकाल ननाघे पनि उनको गलाले भने बाल्यकाल छोडिसकेको छ ।

Agni Group

भिडियो सार्वजनिक भएपछि स्थानीय सञ्चारमाध्यममा उनी ‘छोटे सेलिब्रिटी’ भए । धमाधम अन्तर्वार्ता आउन थाले । चञ्चले, चकचके अशोक जे बोल्थे, जे गाउँथे, त्यही जस्ताको तस्तै यूट्युब च्यानलमा अपलोड हुन्थ्यो । त्यसैले उनी छिटै ‘नोटिस’ भए । 

झापाको मिलडाँडा भालुखोला बस्ने अशोकको पारिवारिक अवस्था कमजोर थियो । बस्नलाई घर थिएन । सुत्नलाई ओछ्यान थिएन । खानलाई अन्न थिएन । उनी काँक्रा र उखुका केही लाँक्रासँग आफ्नो प्रतिभा साटिरहेका थिए । दुई–चार रुपैयाँमा सडकमा गाउँदै हिँडिरहेका थिए । उर्लाबारी फोकस टेलिभिजनले आयोजना गरेको एक कार्यक्रममा बेथल एडुकेसनल एकेडेमीका संस्थापक अध्यक्ष दीपक न्यौपाने पनि बोलाइएका थिए । त्यहीँ उनले घोषणा गरे, “यदि अशोक र उनको परिवार मञ्जुर छ भने म उनलाई कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था मिलाइदिन्छु ।”

Global Ime bank

अशोकको प्रतिभालाई उनको परिवारको गरिबीले किच्दै गएको थियो । परिणाम— प्रतिभा मर्ने प्रबल सम्भावना थियो । त्यो देखेका दीपकले उनलाई पढाउने निर्णय गरे । उनले दीपकका दिदी काजल र बहिनी सीतालाई पनि आफ्नै विद्यालयमा पढ्ने व्यवस्था मिलाइदिए ।

अशोक र उनका दिदी–बहिनीले पढ्ने व्यवस्था मिल्यो । उनका लागि सहयोगी हातहरू बढ्दै जान थाले । डीजे रूपकले अशोकको घर बनाइदिने भए । त्यसका लागि ९ सदस्यीय कार्यसमिति नै गठन भयो ।  त्यसका लागि ‘अशोक दर्जी ट्रस्ट’का नाममा पैसा संकलन गरेर घर बनाउने ‘मिसन’ शुरु भयो । यसकै लागि संगीतकार तथा गायक टंक बुढाथोकी ‘च्यारिटी शो’का लागि कतार पुगे । शुक्रबार उनले कार्यक्रम गरे ।

० ० ०

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं अशोकको प्रतिभालाई पनि उनको पारिवारिक विपन्नताले छेक्न सकेन । उनको प्रतिभा देखेका डीजे रूपकले उनलाई काठमाडौं ल्याए । संगीतकार तथा गायक टंक बुढाथोकीले उनको गायन प्रतिभालाई उजागर गर्ने जिम्मेवारी बहन गरे ।

उनले आफ्ना पाँच वर्षीय छोराका लागि भनेर वर्षौंदेखि राखेको गीत नै अशोकलाई दिने निर्णय गरे । ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन...’ बोलको गीतमा अशोकको स्वर मिसाउन थाले ।

स्टुडियो–९ मा रेकर्ड भयो । टंक आफैंले संगीत भरेको गीतको शब्द विराज नेपालीले लेखेका थिए । अशोकमा गायन प्रतिभा भए पनि सुर र तालमा उनी अभ्यस्त भइसकेका थिएनन् । त्यसैले बुढाथोकीले आमभन्दा अलि फरक ‘टेक्निक’ अपनाए ।

शुरुमा टंक गाउँछन्, लगत्तै अशोक उनलाई हुबहु नक्कल गर्दै पछ्याउँछन् । ठाउँ–ठाउँमा भने गीत ‘डोयट’का रूपमा समेत तयार गरिन्छ । आफ्नै परिकल्पनामा गीत तयार पारेका टंकले गीतको भिडियो बनाउन पनि आवश्यक ठाने । भिडियो निर्देशनसमेत उनी आफैंले गरे । शान्त चौतारीमा शीतल भिडियो तयार भयो । सिक्दै सिकाउँदै, गाउँदै गरेको लवजमा भिडियो तयार भयो ।

झापादेखि काठमाडौंसम्म अनपेक्षित रूपमा तय भएको  अशोकको यात्राले पूर्णरूप लियो । मे ९ (बुधबार) दिउँसो गीतको भिडियो रिलिज भयो । टंकले आफ्नै यूट्युब च्यानलबाट भिडियो बाहिर ल्याए ।

काँक्रा र उखुसँग झापाका सडकमा प्रतिभा साटिरहेका अशोकको गलाको जसरी अनपेक्षित रूपमा उजागर भयो, त्यसैगरी काठमाडौंको यात्रा पनि तय भयो । जसरी गलाको पहिचान र काठमाडौंको यात्रा शुरु भयो, त्यस्तै अनपेक्षित रूपमा उनको गीतले सफलता पनि हात पा¥यो ।

टंक बुढाथोकी, जसले अशोकलाई संगीतको सुर र ताल सिकाए, हात समाएर स्टुडियो छिराए र सँगसँगै गीत गाउन लगाए— तिनै टंकले राखेको भिडियोले छोटो समयमा सर्वाधिक धेरै हेरिने नेपाली गीतको रेकर्ड राख्यो । शुक्रबार बेलुकी साढे १० बजेसम्म त्यो भिडियो १८ लाख ४१ हजारले हेरिसकेका छन् भने यो अहिले नेपालको यूट्युब ट्रेन्डिङको १ नम्बरमा छ ।

टंकले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्, “मेरो आफ्नै रेकर्ड अशोक बाबुले ब्रेक गरेको देखेर भावुक अनि हर्षले सीमा नाघेको छ ! ‘रूपै मोहनी’को २४ घण्टामा ८ लाख ४२ हजार भ्युजलाई अशोक बाबुको ‘मनबिनाको धन’ गीतले २४ घण्टा नपुग्दै ८ लाख ५० हजार भ्युज नाघिसकेको छ ।”

० ० ०

स्वर त अशोकको राम्रै थियो । तर, कलिलो उमेर, विपन्न परिवार अनि स्टुडियोसम्मको पहुँच अभावका कारण उनलाई गीत कसरी रेकर्ड हुन्छ, थाहा थिएन । टंकले पहिलो दिन स्टुडियो लगेर गीत कसरी रेकर्ड हुन्छ भनेर देखाए । दोस्रो दिन झापाका सडकमा आफूले सबैभन्दा धेरै गाउने ‘२ रुपैयाँ’ चलचित्रको ‘कुटुमा कुटु’की गायिका मेलिना राईसँग भेटाए । तेस्रो दिन टंकले संगीतको सुर र ताल सिकाए । चञ्चले र चकचके अशोकले स्वर दिए । गीत तयार भयो । एकदिन दौरा–सुरुवालमा ठाँटिएर म्युजिक भिडियोका लागि शट खिचियो । भिडियो तयार भयो । बजारमा आयो । शायद दर्शकले मन पराए । गीतले अनपेक्षित भ्युज बटुल्न थाल्यो ।

अचम्म ! 

गीतले नयाँ–नयाँ रेकर्ड बनाउँदै गयो । अशोकको गीत ‘मनबिनाको धन’ले टंक आफ्नै गीतको रेकर्ड तोड्यो । टंकले संगीत भरेको तथा स्वर दिएको ‘शत्रु गते’ चलचित्रको ‘रूपै मोहनी’ गीत यसअघि सर्वाधिक छोटो समय (२४ घण्टा)मा धेरै हेरिने नेपाली गीतको रेकर्ड राखेको थियो । ‘मनबिनाको धन’ले त्यो रेकर्डमात्रै तोडेन, सबैभन्दा छोटो समयमा यूट्युब ट्रेन्डिङको १ नम्बरमा पुग्ने पहिलो गीतको रेकर्ड पनि राख्यो । गीत अपलोड भएको ७ घण्टामै १ नम्बर ट्रेन्डिङमा पुगेको थियो ।

आजकल यूट्युबको भ्युजका आधारमा गीतको लोकप्रियता मापन गर्न थालिएको छ । यसकै आधारमा गीत–संगीत, चलचित्र तथा त्यसका सर्जक, कलाकारको लोकप्रियता मापन गर्न थालिएको छ ।

यूट्युबमा अपलोड गर्नेबित्तिकै सर्वाधिक खोजी गरिने अथवा हेरिनेमा नायक अनमोल केसी, प्रदीप खड्का र पल शाह पर्छन् । उनीहरूका गीत र चलचित्रका ट्रेलरले सर्वाधिक चाँडो हेरिने गीत र ट्रेलरको रेकर्ड बनाउँदै आएका छन्, जसलाई भत्काउन जो–कसैलाई हम्मेहम्मे पर्छ । सक्छ त चलचित्र ‘छक्का पञ्जा’का गीत र ट्रेलरले मात्रै । यी सबैका नाममा रहेका रेकर्डलाई पनि अशोकको गीतले सजिलै उछिनिदियो । २४ घण्टामा १० लाखभन्दा धेरै पटक उनको गीत यूट्युबमा क्लिक भयो । घण्टामा १ लाखभन्दा धेरैले यो गीत हेरे ।

भ्युज र ट्रेन्डिङमा मात्रै होइन, यसले ‘लाइक’ र ‘कमेन्ट’मा पनि उल्लेख्य साथ पाइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC