Skip Advt.
ad

साहित्य र कला

तीन आमाको छोरो

तीन आमाको छोरो

-  कल्पना प्रधान


मलेसियाको एक गाउँमा एक जना हिन्दु ब्राह्मण बसोबास गर्थे । ती ब्राह्मणको नाम विपस्वी थियो । उनी साधारण जीवन बिताएर धर्मकर्म गरी बसेका थिए । उनका तीन छोरी थिए, छोरा थिएनन् । जेठी छोरीको नाम रक्षा थियो, माइलीको राधा र कान्छीको रमा थियो । रक्षाले घरको हेरचाह गर्थिन्, राधाले धर्मकर्मको काम गर्थिन् । रमालाई दिदीहरूले कुनै जिम्मेवारी दिएका थिएनन् । उनी निकै राम्री थिइन् र साह्रै दयालु पनि । यसरी विपस्वीको घरमा गृहकला जानेका, धार्मिक र दयालु तीन किसिमका छोरी थिए । यस कुरामा छोरीका बुवा निकै गर्व गर्थे ।

तर, समयसँगै विपस्वीको मनमा छटपट हुन थाल्यो । उनका फूलजस्ता राम्रा छोरीहरू क्रमशः यौवनकालमा प्रवेश गर्दै थिए । ती राम्रा, कलिला सुन्दरी हाँस्दा र जिस्किँदा पनि पूर्णिमाको चन्द्रमाजस्ता तेजिला देखिन्थे । ती छोरीको विवाह गरिदिनुपर्ने जिम्मेवारी विपस्वीमा आइसकेको थियो । आफ्ना प्राणभन्दा प्यारा छोरीलाई बिदा गर्नुपर्ने पीडाले उनको मन बिथोलिन थालेको थियो ।

एकदिन उनको घरमा केही विद्यार्थी केटाहरू भाडामा बस्न आए । ती विद्यार्थीहरू पनि तीन जना थिए र आपसमा दाजुभाइ थिए । एउटै घरमा रहँदा ती दाजुभाइको रक्षा, राधा र रमाप्रति आकर्षण बढ्दै गएको थियो । केटीहरू पनि अध्ययनशील र राम्रा केटा देखेर त्यसै खुशी देखिन्थे । कतिपय बेलामा ६ जना बसेर सँगै कुरा गरेको देख्दा विपस्वी पनि आनन्दित हुन्थे । बिस्तारै केटा र केटीको मन मिल्दै गएको देखेर विपस्वीले पनि एकैपल्ट तीन छोरीको बिहे तिनै तीनजना केटासँग गरिदिए । विपस्वी आफ्ना छोरीहरूको गृहस्थी देखेर दंग थिए ।

बिस्तारै केटाहरूले पढाइ पनि सिध्याए । पढाइ सकिएको केही समयपछि तीनै ज्वाइँ आएर ससुरालाई भने, “पिताजी, हामी यहाँ बसेको पनि धेरै भयो । अब एकपल्ट श्रीमतीहरूलाई घरमा लगेर बाबु–आमासँग परिचय गराउने विचार गरेका छौं । ५–६ महिनापछि फर्केर आउँछौं ।”

ज्वाइँहरूको कुरा उचित थियो । उनले नाइ भन्न सकेनन् । एकदिन तीनै छोरी र तीनै ज्वाइँ विपस्वीको घर छाडेर हिँडे । तर, केटाहरूले ससुरालाई दिएको वचन पुगेन । उनीहरू घर पुगेकै वर्ष त्यो गाउँमा ठूलो अनिकाल लाग्यो । खेतहरू सबै सुके, पानीको मुहान बन्द भयो । गाउँमा अन्न र पानीका लागि ठूलो हाहाकार भयो । अब ससुराली फर्किने कुरा भएन । तीनै जनाले आ–आफ्ना श्रीमतीलाई सम्झाएर आफूहरू कामको खोजीमा टाढा गए ।

यता, तीन दिदी–बहिनीमध्ये जेठी रक्षाको गर्भबाट एकदम तेजिलो र राम्रो बालकको जन्म भयो । सबैजना मिलेर ती बालकको नाम त्रिदेव राखे । त्रिदेवले एकैपल्ट तीनजना आमा पाएसरह भयो । त्रिदेव जन्मिएका कारण दिदी–बहिनी तीनैजना जतिसुकै काम र दुःख सहेर पनि निकै हर्षित भएर बसे । त्रिदेवमा आफ्ना तीनैजना आमाको गुण आएको थियो । उनी व्यवहारिक थिए, धार्मिक थिए र निकै दयालु पनि थिए । उनमा तीनैजना दिदी–बहिनीको गुण आएको देखेर तीन आमा पनि निकै दंग थिए ।

त्रिदेव ठूलो भए, १५ वर्ष पुगे । तर, उनका बुवा र काकाको कुनै अत्तोपत्तो लागेको थिएन । उनी जसरी पनि आफ्ना बुवा र काकाको पत्तो लगाएर आमाहरूलाई खुशी बनाउन चाहन्थे । साथै उनको शिक्षा र अन्य कौशल पनि बढ्दै गएको थियो ।

उनी १६ वर्ष पुगेको दिन राति त्रिदेवले एउटा सपना देखे । सपना देखेपछि उनको निद्रा खुल्यो । राति झिसमिसे भएको थियो । बिहान करिब ४ बजेको हुँदो हो । उनी उठेर कोठाबाट बाहिर आए र कोदालो बोकेर ढिकी राखेको ठाउँमा खन्न थाले । एकाबिहानै एकोहोरो कोदालो चलाएको आवाजले आमाहरूको निद्रा पनि खुल्यो । उनीहरू बाहिर आउँदा त त्रिदेव धमाधम पिँढीमा ढिकीमुनि खनिरहेको देखे । सबैले बारम्बार त्रिदेवलाई सोधे, “किन यसो गरेको एकाबिहानै ?” तर, त्रिदेव कोहीसँग केही पनि बोलनन् । केवल खनिरहे । 

खाल्डो अलि गहिरो भएपछि अचानक कोदालो कुनै फलामको वस्तुसँग ठोक्किएको आवाज आयो । पित्तलको ठूलो घ्याम्पोमा कोदालोको फाली जुधेको थियो । त्यो सुनेर आमाहरू पनि छक्क परे । कोदालो फालेर त्रिदेव खाल्डोमा छिरे र बिस्तारै घ्याम्पोको वरिपरि माटो फाल्न थाले । तीनैजना आमाले पनि उनलाई सहयोग गरे । तर, घ्याम्पो निकै गह्रौं थियो । उनले घ्याम्पोको बिर्को खोलेर हेरे, भित्र त सुनै सुनका गरगहना र असर्फी थिए ।

“आमाहरू, मैले सपनामा यो घ्याम्पो देखेको थिएँ, त्यसैले कसैसँग नबोली खन्न थालेको । अब भेटियो । जानुस्, भित्रबाट यो सुन राख्ने भाँडा लिएर आउनुस् ।”

गरिबीले सताएको घरमा त्यत्रो सम्पत्ति आएको देखेर आमाहरू पनि चकित भए र सबैजना मिलेर सुन निकाले अनि घ्याम्पो पनि बाहिर निकाले ।

त्यो सम्पत्ति त्रिदेवले आफूले मात्र लिएनन् । गाउँको दुःख कम गर्नका लागि सामाजिक काममा खर्च गरे । कुलो, विद्यालय बनाउन उनले प्रशस्त खर्च गरे । पाटी, पौवा र दुःखीको घर बनाउन पनि उनले सुनको उपयोग गरे । उनको यस्तो गुणकारी काम देखेर गाउँलेले उनलाई सानै उमेरमा त्यो गाउँको मुखिया बनाए ।

उनी मुखिया भएको केही समयमा उनको कीर्ति फैलियो । उनका बुवा र काकाले पनि कतैबाट गाउँ बदलिएको समाचार थाहा पाए । उनका बुवा र काकाहरू पनि गाउँ फर्के । यत्रो वर्ष पैसा कमाउन नसकेको र आफैं बाँच्नका लागि काम गर्नु परेको व्यथा आ–आफ्ना श्रीमतीलाई सुनाए । आफ्नो छोराले प्रगति गरेको देखेर खुसी पनि भए । तर, आफूहरू विद्वान र समर्थवान् हुँदाहुँदै छोरा मुखिया भएको भने बाबुहरूलाई अलि सह्य भएन ।

त्रिदेवले एकदिन बाबु र काकाहरू मिलेर कसरी मुखियाको पद हत्याउने भनेर योजना बनाएको सुने । आफ्ना बाबु र काकाको त्यस्तो मती देखेर उनलाई त्यस गाउँमा बस्न मन भएन । उनी कसैलाई केही नभनी घर छाडेर हिँडे ।

धेरै दिन हिँडेर जाँदा उनले अनेक दुःख पाए । कहिले खान पाएनन् । कहिले पानी भएन । कति दिन झारपातसमेत खाएर गुजारा गरे । तर, उनलाई घर फर्कन मन भएन । उनी एकोहोरो हिँडिरहे । जाँदाजाँदा एक घना जंगलमा उनी बास बस्न पुगे । त्यो जंगलमा राक्षसको पनि बसोबास रहेछ । उनलाई त्यो कुरा थाहा थिएन । भोलिपल्ट एउटा गुफामा एक वृद्ध महिला लुकेर बसेको देखे । उनले त्यहाँ गएर ती महिलालाई सोधे, “आमा ! किन तपाईं यसरी एक्लै लुकेर बस्नुभएको ? यहाँ नजिकै कुनै गाउँ छैन ?”

त्रिदेवको कुरा सुनेर ती महिलाले मायालु पाराले तिनलाई हेरिन् र भनिन्, “बाबु ! यो राक्षसको गाउँ हो । यहाँका सबै मानिसलाई दुईजना राक्षसले मारेर खाइसके । म यहाँ गुफामा लुकेर बाँचेकी छु । म पनि मर्थें होला तर तिनले मेरी छोरी मधुमालालाई अपहरण गरेर राखेका छन् । ती छोरीको मायाले म जसोतसो बाँचिरहेकी छु ।”

उनको कुरा सुनेर त्रिदेव छक्क परे । उनी त्यसदिन त्यही गुफामा ती बूढी महिलाको पाहुना भए, जंगलमा पाइने कन्दमूल र फलफूल खाएर रात बिताए । भोलिपल्ट बिहान उनी लुक्दै जंगल घुम्दै थिए, त्यही बेला मान्छेभन्दा चार गुना ठूला दुइटा राक्षस आपसमा कुरा गर्दै गरेको देखे । ती राक्षसमा एक प्रकारको मनमुटाव भएको रहेछ । उनीहरूमा कोभन्दा को ठूलो भन्ने विवाद हुँदै रहेछ । त्रिदेवले निकै ध्यान दिएर तिनको कुरा सुने ।

ती राक्षसको कुराअनुसार यहाँ नजिकै उनीहरूको कुनै दरबार रहेछ । त्यस दरबारमा ती महिलाकी छोरीलाई उनीहरूले कैद गरेर राखेका रहेछन् । तर, उनीहरूमा आफूमध्ये को बलियो भन्ने विषयमा विवाद बढ्दै गयो । केही छिनमा त्यो विवाद निकै चुलियो । उनीहरू एक–आपसमा हात हालाहाल गर्ने अवस्थामा पुगे । 

उनीहरूको झगडा सुनिरहेका त्रिदेव अचानक रुखबाट हाम फालेर उनीहरूको सामु देखापरे । ती दुवै राक्षस त्रिदेवलाई देखेर टक्क रोकिए । तिनीहरूले आक्रमण गर्नुभन्दा पहिले त्रिदेवले भने, “तपाईंहरू मिलेर मलाई मार्न सक्नुहुन्छ तर फेरि पनि तपाईंहरूमा को बलियो र को ठूलो भन्ने विवाद सकिँदैन । पहिला यो विवाद सकौं अनि मलाई मारेर खानुभए हुन्छ ।”

त्रिदेवको कुरा ती राक्षसलाई चित्त बुझ्यो । तिनले सोधे, “को बलियो र को चाँडो भन्ने कुरा कसरी निक्र्यौल गर्ने त ?”

“तपाईंहरू दुवैजना त्यो अगाडिको पहाडको टुप्पोसम्म कुदेर जानुस्, त्यहाँ टुप्पामा पुगेर बेस्सरी कराउनुस् र यहाँ फर्केर आउनुस् । जो पहिले यहाँ पुग्छ, उही विजेता । उसैले मलाई मारेर खाए हुन्छ ।”

त्रिदेवको कुरा उनीहरूलाई मन पर्यो । तर उनीहरूले भने, “हामी नआउन्जेल तिम्लाई दरबारमा थुनेर राख्छौं ।” यो कुरामा त्रिदेवले मञ्जुरी जनाए । दुई राक्षसले त्रिदेवलाई दरबारमा लगेर थुने र आफूहरू डाँडातिर दगुरे ।

राक्षस डाँडामा दगुरेपछि त्रिदेव कोठामा बसेर बेस्सरी चिच्याए, “मधुमाला... मधुमाला... !”

अचानक एउटा मान्छेको आवाज सुनेर मधुमाला पनि कोठाबाट निस्केर बाहिर आइन् । उनलाई भने त्यो दरबारभित्र यताउति जान सुविधा थियो । उनले त्रिदेवको कोठाको ढोका खोलिदिइन् । त्रिदेवले बाहिर निस्किनेबित्तिकै मधुमालाकी आमा जिउँदै भएकी र चाँडै यहाँबाट भाग्नुपर्ने बताए ।

मधुमालाले भनिन्, “ती राक्षस चाँडै फर्किन्छन् । तिनमा बेजोडको शक्ति छ । पहिले त्यो शक्ति सिध्याउनुपर्छ अनिमात्र भाग्न सकिन्छ ।”

उनले ती राक्षसमध्ये एउटाको प्राण त्यस दरबारको छानोको टुप्पोमा रहेको त्रिशूलमा भएको बताइन् । त्यस्तै, अर्कोको शक्ति छिँडीमा रहेको दमाहामा रहेको बताइन् । त्यो त्रिशूल निकालेर सो दमाहालाई छेड्ने हो र सो त्रिशूललाई भाँचिदिने हो भने दुवैको प्राण सकिन्थ्यो ।

त्यसपछि त्रिदेवले समय खेर नफाली हतारहतार डरलाग्दो सुरिलो छतको टुप्पोमा रहेको त्रिशूल निकाल्न गए । त्यस्तो अप्ठ्यारोमा ठाउँमा बलियोसँग राखेको त्रिशूल निकाल्न निकै समय लाग्यो । त्रिशूल निकाल्न नपाउँदै दुवै राक्षसले डाँडाको टुप्पोमा पुगेर ठूलो आवाज निकाले । यो देखेर त्रिदेव निकै आत्तिए । तैपनि उनले बढो मेहनतसँग नहडबडाई त्रिशूल निकाले र दौडिँदै तल गएर सो त्रिशूलले दमाहा फोडे । योसँगै एउटा राक्षसको ज्यान गयो । तर, अर्को राक्षस दौड्दै दरबारसम्म आइसकेको थियो । उसले त्रिदेवलाई समात्नै लाग्दा त्रिदेवले एउटा बलियो ढुंगामा बेस्सरी त्रिशूल बजारे । धन्न पहिलो चोटमै त्रिशूल भाँचियो । त्रिदेवभन्दा एक हात पर पुगेको त्यो राक्षस डङ्गरङ्ग ढल्यो । 

दुवै राक्षस मरेपछि मधुमालालाई लिएर त्रिदेव उनकी आमा भएको गुफामा पुगे । आमाले दुवै जना आएको देखेर खुशी हुँदै उनीहरूलाई एक अर्कासँग मिलेर बस्ने आशीर्वाद दिइन् ।

केही दिन राक्षसको दरबारमा बसेपछि आफ्ना तीनजना आमाको यादले त्रिदेव निकै दुःखी भए । आफ्ना प्रेमी दुःखी भएको देखेर मधुमालाले उनलाई गाउँ फर्कन कर गरिन् । अनि दुवैजना गाउँ फर्किए ।

गाउँमा त्रिदेवका बाबुहरू निकै दुःखमा रहेछन् । उनले मुखिया पद पनि चलाउन सकेनछन् र भएको सम्पत्ति पनि सकेछन् । त्रिदेव पुग्नेबित्तिकै सम्पूर्ण गाउँलेले उनको जयजयकार गरेर पुनः मुखिया हुन आग्रह गरे । अनि आमाहरू पनि एकदमै राम्री बुहारी लिएर छोरा आएकोमा निकै खुशी भए । त्रिदेवले आफ्ना बाबु र काकालाई माफ गरिदिएर त्यो गाउँदेखि राक्षसको दरबारसम्मको सम्पूर्ण क्षेत्रको मुखिया भएर सबैलाई सुख दिई आफूले पनि सुखसँग जिन्दगी कटाए ।

तपाईंको मत