site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘टुल्के’ देखि ‘डमरु’— एक ‘देजाभु’
Sarbottam CementSarbottam Cement

– कुमार शर्मा


भर्खरै बजारमा आएको खगेन्द्र लामिछाने अभिनीत÷लिखित चलचित्र ‘डमरुको डन्डिबियो’ हेर्ने अवसर त जुटेको छैन तर मिल्यो भने अवश्य हेर्छु— ‘स्पोर्ट्स ड्रामा’ जनरामा बनेको नेपाली फिल्म जो हो । लामिछानेका केही चलचित्र भने हेरेको छु । ‘टलकजंग भर्सेस टुल्के’मा उनी निश्चय पनि केही नयाँ सुवास लिएर आएका थिए । लामो समय मृतजस्तै अवस्थामा रहेको नेपाली सिनेमाको संसारमा ‘लुट’ ले ताजा सास भरिदिइसकेको थियो । त्यसमा नयाँ तरंग ल्याइदिने काम यिनै लामिछानेले गरे । ‘टुल्के’मा उनको पात्रले बोल्ने ठेट पश्चिमेली लवज, उनको हाउभाउ, उनले बोल्ने संवाद (अलि चर्कै टोनमा भए पनि)— सबै एक किसिमले नेपाली फिल्मका लागि रिफ्रेसिङ कुरा नै थिए । उनको अभिनय एकदम प्राकृतिक तथा सहज थियो । अझै पनि छ ।

‘पशुपतिप्रसाद’ को कथावस्तु बेग्लै भए पनि त्यसमा उनले खेलेको पात्रमा कता–कता ‘टुल्के’ झल्किन्थ्यो । संवादमा पहिलेजस्तै ‘लाउड’ उपस्थिति, एउटा मर्कामा परेको अनि नियतिले धोखा दिएको पात्र, अनि उस्तै लवज ! कता–कता ‘देजाभु’ भएजस्तो अनुभव भएको थियो । उनको ‘धनपति’ हेरेको छैन तर केही समीक्षाहरू पढेको थिएँ । ती समीक्षकले औंल्याएको एउटा कुरा यो पनि थियो— खगेन्द्र लामिछानेले पहिले खेलेका चरित्रहरूको पुनरावृत्तिजस्तो भयो । नयाँ केही भएन । उनले खेल्ने पात्र ‘स्टेरियोटाइप’ जस्तो भयो । यस्तै आरोप अर्का कलाकार दयाहाङ राईलाई पनि लाग्ने गरेको छ, ‘कबड्डी’ पछिका दिनहरूमा ।

Prabhu Bank
Agni Group
NIC Asia

हरेक राम्रा कलाकार समयसँगै, आफूले अभिनयमा बिताएका वर्षहरूसँगै ‘इभल्भ’ हुन्छन् शायद । उनीहरू कुनै एउटा निश्चित परिधिमा बाँधिन चाहन्नन्, ‘स्टेरियोटाइप’ हुन चाहन्नन् । कतै ‘स्ट्यागनेन्ट’ भइहालिन्छ कि भन्ने ठूलो पीर रहिरहन्छ । आफूले खेल्ने पात्रहरूलाई चलायमान बनाउन चाहन्छन्— एक हिसाबले ‘भर्सटाइल’ हुन चाहन्छन्  कलाकारको रूपमा । अभिनयका शुरुवाती वर्षहरुमा फर्मुला फिल्म धेरै खेलेका बलिउड नायक आमिर खान नयाँ शताब्दीको आगमनसँगै मानौं एउटा छुट्टै अवतारमा देखिए । त्यसअघि ‘मेला’ तथा ‘मन’जस्ता चलचित्रमा देखिएका आमिर नयाँ शताब्दीसँगै ‘दिल चाहता है’, ‘लगान’, ‘रंग दे बसन्ती’, ‘तारे जमिन पर’ तथा ‘धोबीघाट’ जस्ता फिल्ममा अलग–अलग भूमिकामा देखिए । ‘पिके’ हुँदै ‘दंगल’सम्म आइपुग्दा उनले आफ्ना समकक्षी सबै कलाकारलाई निकै पछि छोडिसकेका छन् । यो परिवर्तनको धेरैमध्ये प्रमुख कारणचाहिँ एउटै छ— उनी एक कलाकारको रूपमा ‘इभल्भ’ हुँदै गए ।

यस्तै कथा छ बलिउडका अर्का एक नायक इरफान खानको पनि, जो आफ्नो कलाकारिताले अन्तर्राष्ट्रिय स्तरमै परिचित छन् । आफ्नो करिअरका शुरुवाती वर्षहरूमा उनले अहिले हेर्दा अर्थहीनजस्ता लाग्ने थुप्रै चलचित्र गरेका थिए । उनी रातारात इरफान खान भएका होइनन् । ‘मकबुल’बाट शुरु भएको उनको ‘इभोलुसन’ ‘द नेमसेक’ हुँदै ‘पानसिंह तोमर’ अनि ‘लन्चबक्स’सम्म चलिरह्यो । एक कलाकारको रूपमा उनी सधैं ‘इभल्भ’ हुँदै आएका छन् ।

Global Ime bank

कलाकारको रूपमा खगेन्द्र लामिछाने अब्बल छन् । नाटकको पृष्ठभूमिबाट आएकाले पनि होला— उनको अभिनय अरुको भन्दा केही पृथक अनि प्राकृतिक छ । त्यसो त अहिलेको नेपाली सिनेमा जगतमा नाटकबाट आएकै कलाकारको दबदबा छ । रंगमञ्च ठूलो पर्दामा सरेको छ । उनको अर्को आकर्षक कुरा भनेको आफूले खेल्ने चलचित्रको कथा उनी आफैं लेख्छन् । चरित्र आफैं निर्माण गर्छन् । एक नायकका लागि यो एउटा ठूलो बोनस पनि हो— आफूले निर्वाह गर्ने चरित्रको परिकल्पना आफैं गर्ने । तर, कतिपय आवस्थामा यो ‘काउन्टर प्रोडक्टिभ’ पनि भइदिन सक्छ । एक लेखकको रूपमा पात्रको चरित्र निर्माण गर्ने कुरा अनि त्यसलाई पर्दामा अभिनयले उतार्ने कुरामा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखिन पनि सक्छ । ‘टुल्के’ देखि ‘डमरु’सम्म आइपुग्दा नेपाली चलचित्रका दर्शकले लामिछानेको एउटा तस्बिर बनाइसकेका छन् । उनको नभनौं, उनले खेल्ने पात्रहरूको तस्बिर । शुरुवातका दिनदेखि अहिलेसम्म आइपुग्दा त्यो तस्बिरमा खासै परिवर्तन आएको छैन । एक हिसाबले तस्बिर चलायमान छैन, ‘स्ट्यागनेन्ट’ भएको छ ।

कुनै पनि कलाकारको अभिनयमा दर्शकले ‘प्रेडिक्टेबिलिटी’ पाउनु कलाकारका लागि आफैंमा चुनौती पनि हो । फिल्मै नहेरी यदि दर्शक कुनै कलाकारको बारेमा धारणा बनाउनेतिर सोच्छन् भने त्यो अवस्था एक कलाकारका लागि कुनै ‘वेकअप कल’भन्दा कम होइन । नामको पछाडि ‘स्टेरियोटाइप’को ट्याग झुन्डिनु कलाकारका लागि पूर्णविराम त होइन, तर प्रश्नचिन्ह भने अवश्य हो ।

अमेरिकी अभिनेता तथा फिल्ममेकर क्लिन्ट इस्टउडले सन् १९६० देखि ९० को दशकसम्म लगभग एकैखालका चलचित्र बनाए तथा अभिनय गरे— ‘स्पागेटी वेस्टर्न’ जनराका फिल्महरू । तिनै फिल्ममार्फत उनले कलाकारको रूपमा एउटा परिचय पनि बनाए, जुन ७० को दशकतिर उत्कर्षमै पुग्यो । तर, ९० को दशकपछि उनले एकाएक फरक प्रकृतिका चलचित्र बनाए र तिनमा अभिनय पनि गरे । सन् १९९२ मा उनले बनाएको तथा अभिनय गरेको फिल्म ‘अनफर्गिभन’ अरु वेस्टर्नभन्दा एकदम फरक थियो । त्यसपछि बनाएका चलचित्रले उनको एक अलग छवि निर्माण गरे, उनको उपस्थितिले नयाँ उचाइ लियो । एक फिल्ममेकरको रूपमा मात्र नभई, अभिनेताको रूपमा पनि उनी गजब तरिकाले ‘इभल्भ’ भए ।

समयसँगै खगेन्द्र लामिछाने कलाकारको रूपमा ‘इभल्भ’ हुँदैछन्— त्यसमा कुनै शंका छैन । ‘टुल्के’देखि ‘डमरु’सम्मको यात्रा, कलाकारका रूपमा उनको ‘इभोलुसन’को एउटा च्याप्टर हो । आशा छ— वर्षहरु बित्दै जाँदा यसमा अनेक फरक–फरक च्याप्टर थपिँदै जानेछन् । कलाकारको रूपमा उनको छवि अरु चौडा हुनेछ ।

यसका लागि खगेन्द्र लामिछानेलाई अग्रिम बधाई तथा शुभकामना ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !