ब्लग

मोदीको भाषण प्रभावकारी हुनुको रहस्य 

रुपेश श्रेष्ठ 

मोदीको भाषण प्रभावकारी हुनुको रहस्य 

सार्वजनिक मञ्चहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने भाषणहरूको सकारात्मक होस् वा नकारात्मक चर्चा भने सधैँ हुने गर्छ । भाषणमा उनले उठाउने विषयको त चर्चा हुने भई नै हाल्यो त्यसबाहेक उनले प्रयोग गर्ने शब्द र शब्दावलीका साथै उनको भावभङ्गिमाको पनि चर्चा हुने गर्छ। यसका विभिन्न कारणमध्ये एउटा हो– ट्रम्पले गर्ने अभ्यास । महत्त्वपूर्ण भाषण गर्नुअघि ट्रम्पले समेत अभ्यास गर्छन् भन्ने सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर, विश्वका प्रभावशाली मानिने प्रायः सबै नेताले आफ्नो भाषणमा निकै मेहनत गर्छन् । राष्ट्रपतिका रूपमा अमेरिकी कंग्रेससामु भाषण दिनुअघि ट्रम्पले आफ्नो कारमा बसेर भाषणको अभ्यास गरेको संचारमाध्यमको क्यामरामा कैद भएको दृश्य त्यतिबेला सार्वजनिक पनि भएको थियो । 
 

Donald Trump filmed practising Congress address in his car - minutes before delivering speech

ट्रम्पका पूर्ववर्ति राष्ट्रपति बाराक ओबामाको भाषण कलाको तारिफ नगर्ने त कोही नहोलान् । ओबामा निकटहरूका अनुसार ओबामाले आफूले गर्ने अधिकांश भाषण आफैँ लेख्ने गर्थे र अभ्यास पनि गर्थे । सन् २००४ मा डेमोक्रेटिक नेसनल कन्भेन्सनमा ओबामाले गरेको भाषणलाई धेरैले उनलाई राष्ट्रपति बनाउने भाषण भन्छन् । 

कैयौं अमेरिकीमा आशा र भरोसाको संचार गर्न सफल त्यो भाषणको तयारीमा ओबामाले महिनौं लगाएको जानकारहरु बताउँछन् । भाषणकै तयारीका लागि उनले आफ्ना अरू काम छोडेर कैयौं रात होटलमा बिताएकी जे न्युटन स्मलले 'टाइम' पत्रिकामा उल्लेख गरेकी छन् । ओबामाले विभिन्न समयमा दिएका भाषणमा पनि उनले उत्तिकै मेहनत गर्नेगरेका थिए । त्यसबाहेक उनका सल्लाहकार र विज्ञ समूहको सहयोग त थियो नै । पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि आफ्नो भाषण आफैँ लेख्ने गरेको उनका निकटहरू बताउँछन् । 
अमेरिकी राष्ट्रपति ट्रम्प र पूर्व राष्ट्रपतिहरू ओबामा र क्लिन्टनमात्रै होइन, अमेरिकाका अरू थुप्रै राष्ट्रपतिहरूले आफ्ना भाषणमा गर्ने मेहनत र अभ्यासको चर्चा बेलाबखत भइरहन्छ । किनभने एउटा असल र प्रभावशाली नेताका गुणहरूमध्ये एउटा हो, उसको भाषण कला । 

हाम्रो सन्दर्भमा भने यस्तो प्रभावकारी भाषणकला भएका नेता कमै छन् । हुन त समय समयमा हाम्रा ठूलाठूला नेता र युवा नेताको भाषण कलाको हामीले प्रशंसा नगरेका होइनौ । तर, हरेक भाषणमा उत्तिकै ओज, विषय र तथ्यमा उत्तिकै गाम्भीर्य, स्वाभाविक र 'करिस्म्याटिक' शैली अनि उत्तिकै आकर्षक भावभङ्गीमा भएका नेता सम्भवत: एसियामै कमै छन् । छन् भने पिन उनीहरू ठाउँमा पुग्नसकेका छैनन् । हुन त सामियक नेपालमा पनि प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्मा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पनि आफ्नो भाषणका लागि काफी प्रशंसा बटुलेका छन् ।

पछिल्लो समय यो क्षेत्रकै सबैभन्दा प्रभावशाली भाषण कला भएका नेताका रूपमा परिचित छन् भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । भारतमा प्रधानमन्त्रीका रुपमा उनको कामको विश्लेषण फरक होला, नेपालसँगको उनको कूटनीति पनि फरक विषय हो । तर, भाषण कलाको हकमा चिनिएका नेतामा उनको नाम अग्रपंक्तिमा आउँछ । नरेन्द्र मोदीको भाषण कलाको प्रशंसा हुनुको मूल कारण भनेकै उनको तयारी र अभ्यास हो जुन मोदीले आफ्ना ३ पटक गरेका भ्रमणका क्रममा दिएका ३ वटा मुख्य भाषणहरूले प्रष्ट बनाउँछन् । 

मोदीको पहिलो नेपाल भ्रमणका क्रममा संविधानसभामा उनले दिएको भाषणमा संविधान सभाका सदस्यहरूले बारम्बार ताली र टेबल बजाएको हामीले बिर्सेका छैनौं । तेस्रो भ्रमणका क्रममा जनकपुरमा आयोजित अभिनन्दन कार्यक्रम र काठमाडौंमा आयोजित अभिनन्दन कार्यक्रममा मोदीले दिएका भाषण पनि उत्तिकै प्रशंसायोग्य रहे । तेस्रो भ्रमणसम्म आइपुग्दा भारतले नेपालमा दुई वर्षअघि लगाएको नाकाबन्दीका सम्बन्धमा आमरूपमा मोदीप्रतिको धारणा बदलिइसकेको हुँदा भाषणलाई हेर्ने दृष्टिकोण नै फरक पर्नु एउटा कुरा हो । तर, समग्रमा मोदीले पहिलोपटक संविधानसभामा र तेस्रो भ्रमणमा राष्ट्रिय सभागृहमा दिएका भाषण उत्तिकै प्रभावकारी थिए । 

यी तीनवटै भाषण फरक तर लिखित भाषण थिए । मोदीले गर्ने भाषणको एउटा विशेषता के हो भने महत्त्वपूर्ण मानिने अधिकांश अवसरमा उनका भाषण पहिले नै लेखिएका हुन्छन् । यी भाषण कुनै एक जना सल्लाहकार वा सहयोगीले मात्रै लेख्दैन । यी हरेक भाषणहरुमा ठूलै समूहको मेहनत हुन्छ । नेपालमा दिएका भाषणमा नेपालकै विषय विज्ञ र अनुसन्धाताको समेत संलग्नता रहेको भाषणमा उनले उल्लेख गरेका ससाना तथ्यबाट पनि प्रष्ट हुन्छ । भलै, त्यस्ता सहयोगीका बारेमा गोप्य नै राखिन्छ । मोदीको पहिलो भ्रमणताका पंक्तिकारले पाएको जानकारी के थियो भने भ्रमणको कम्तिमा २ साताअघि मोदीका कम्तीमा ४ जना सहयोगी भाषणकै तयारीका लागिमात्रै नेपाल आएका थिए । यसले भाषण लेख्नमात्र पनि मोदीको तयारी कस्तो हुने रहेछ भन्ने झलक मिल्छ । 

यसरी लिखित भाषण गर्दा पिन मोदीसँग कागज भने हुँदैन । हाम्रा नेताहरूले लिखित भाषण प्रस्तुत गरिरहँदा घोसेमुन्टो लगाएर अक्षरश: पूर्णविराम र अर्धविराम पनि ख्याल नगरी पढ्ने तरिका पनि मोदीमा देखिँदैन । बरु लेखिएकै भाषण भए पनि मोदीले प्रस्तुत गर्दा भावभङ्गीमा सहित, आवाजमा स्वाभाविक उतारचढाव अनि दर्शकसँग पर्याप्त साक्षात्कार देखिन्छ । यसो हुनुका २ वटा कारण छन्  । पहिलो कारण हो- लेखिएको भाषण मोदीले कागजमा नभई प्रम्प्टर (टेलिप्रम्प्टर) मा हेर्छन् र दोस्रो कारण भने अभ्यास हो । प्रम्प्टरको प्रयोग विश्वभरि नै सामान्य भइसक्यो । नेपालमै पनि शाही सम्बोधनहरूमा प्रम्प्टरको प्रयोग हुन्थ्यो । तर, सार्वजनिक समारोहमा भने यसको प्रयोगको प्रचलन हामीले बसाउन सकेका छैनौ । प्रम्प्टरमा लेखिएका अक्षर प्रष्ट देखिन्छन् र ती अक्षरलाई स्टेजको भित्री भागमा रहने वक्ताका सहयोगीले सार्ने काम गर्छन् । मोदीले यसपटकको भ्रमणमा जनकपुरमा बाह्रबिघा मैदानमा भएको कार्यक्रममा समेत प्रम्प्टर प्रयोग गरेको देखियो । यसरी प्रम्प्टरमा हेरेर बोल्दा दर्शकदिर्घामा बसेकाले भने आफैँतिर हेरेर बोलेको अनुभव गर्छन् । यसरी प्रम्प्टरमा हेरेर बोल्दै गर्दा पढेको भन्ने भान हुन नदिन जतिसक्दो स्वाभाविक भएर बोल्नुपर्ने हुन्छ । विषय र सन्दर्भअनुसारको भाव पनि प्रकट गर्नुपर्‍यो । हाउभाउ पनि स्वाभाविक रहनुपर्‍यो । 

किन कागजमा हेरेर भाषण गर्छन् हाम्रा प्रधानमन्त्री?

त्यसका लागि एउटा भाषणका लागि मोदीले कम्तीमा दुईपटक अभ्यास गरेको हुनुपर्छ । रोचक त के भने प्रम्प्टरमा भएको भन्दा एक शब्द पनि तलमाथि नगरी बोल्ने मोदीको शैली देखिन्छ, यही कारणले पनि उनको भाषण प्रभावकारी बन्छ । तर, मोदीको एकल प्रयासले उनका भाषण प्रभावकारी भएका भने होइनन् । 

यससँगै अन्तर्राष्ट्रिय फोरमहरूमा समेत मोदीले हिन्दीमा भाषण गर्नुको पनि अर्थ छ । सन् २०१६मा जापान भ्रमण ताका (जुन भ्रमणमा उनले बुध्द भारतमा जन्मेका हुन् भनेका थिए) दिएको भाषणमा समेत उनी हिन्दीमा बोलिरहेका थिए । अरु भाषामा दख्खल हुनु नहुनुसँग हिन्दीमा बोल्नुको सम्बन्ध छैन । बरू आफ्नो मातृभाषामा जत्तिको प्रभावकारी भाषण अरू कुनै भाषामा गर्न सकिँदैन भन्ने बोध मोदी र उनको समूहमा छ । उत्तिकै प्रभावकारी भाषान्तरण गर्ने जिम्मा अनुवादकहरूको । अनुवाद सहीरूपमा भयो भएन भन्ने सुपरिवेक्षणका लागि मान्छे खटाउनु पनि मोदीको अर्को विशेषता हो ।

मोदीको भाषण गर्ने र प्रभाव छोड्ने यो तरिकाबाट भारतीय भ्रमण दल र सहयोगी समूहको व्यवस्थापन शैली पनि झल्किन्छ । एउटा भाषणका लागि त यति मेहनत र तयारी हुन्छ भने आफ्नो राजनीतिक आकांक्षा र छिमेकी मुलुकसँगको सम्बन्धका बारेमा कति मेहनत र तयारी अनि नदेखिएका र नदेखाइएका तारतम्य होलान् ? हाम्रा नेतालाई सघाउने सल्लाहकार र विज्ञ समूहले यस्ता कुरा सिकेर लागू गर्ने कहिले होला?

(लेखक श्रेष्ठ सञ्चाररकर्मी एवं भाषण कलाका प्रशिक्षक हुन्)
 

तपाईंको मत