काठमाडौं । सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्न पाउने भएका छन् । आईसीसीले आज (बुधबार) सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा सन्दीपले आगामी मे ३१ तारिखमा इंग्ल्याण्डको लडर्स्मा हुने वेष्ट इन्डिजविरुद्धको खेलमा खेल्ने उल्लेख गरेको हो ।
बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै विश्व ११ टिमबाट आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा सन्दीपले मौका पाएका हुन् । सन्दीप रहेको विश्व ११ टिमको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गनले गर्दैछन् ।
टिममा सन्दीपसँगै साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, हार्दिक पाण्डे, थिसारा परेरा र लुकी रोन्ची रहेका छन् ।
१७ वर्षीय सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । सन्दीपले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध आईपीएलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा नै उनले ४ ओभर बलिङ गर्दै मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए ।