site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘आधा उज्यालो’को चमक
Sarbottam CementSarbottam Cement

– राजेश खनाल


कवितामा कहिल्यै हिँडिनँ म । कविताको गोरेटो असहज लाग्छ मलाई । त्यो गोरेटोमा पाइला टेक्नुअघि नै महसुस हुन्छ— कुनै डरलाग्दो अक्करे भीरमा छु । अनि आँखा चिम्म हुन्छ । यसरी अक्करे गोरेटो कहाँ हिँड्न सकिन्छ र ? घिस्रन पनि सक्दिनँ म ।

यही त्रासले तान्दैन कविताले मलाई । हो, कहीँ कतै सुनाइएका वा वाचन गरिएका कविता र कविका भावभंगिमाले कवितातिर अलिकति झुकाउला, त्यो फरक प्रसंग हो । यदाकदा यस्ता अवसर नजुर्ने होइनन्, जुर्छन् पनि ।

Prabhu Bank
Agni Group
NIC Asia

कविताले यति सजिलै आफ्नो भाव अभिव्यक्त गर्न सक्छ र ? यो प्रश्नले अचानक दाग्यो मलाई— कवि भीष्म उप्रेतीको कविता संग्रह ‘आधा उज्यालो’का पाना पल्टाएपछि । अन्तक्र्रिया कार्यक्रममा भीष्मले कविता सुनाएका हुन् । जमघटमा त्यसले कानलाई रसाएन । जमघटकै बीचमा संग्रहका केही पाना पल्टिए । हरफहरूमा नजर पुग्यो । कविताले हल्का तान्दै लग्यो ।

यतिबेला म डुबेको छु, ‘आधा उज्यालो’मा ।

Global Ime bank

तपाईंहरू पनि हिमाल जानुभएको होला 
कुनै अन्तर देख्नुभएको छ ?
भरिया 
र खच्चडको जीवनमा ?
(समानता-७०)

‘समानता’ शीर्षकका यी हरफहरूले चिथोरे एकपल्ट । मुगु, गमगढीको गोरेटोमा देखिएका भरिया र खच्चडको अविश्रान्त यात्रा नयनमा चित्रित भए ।

१२ वर्षअघि गमगढीबाट रारातिर जाँदा दुई–चार हुल भरिया र खच्चडको ‘भारी यात्रा’ दृष्टिगोचर भएका थिए । ती देखिए । केहीबेरमै ओझेल भए । म र मोहनहरि आचार्य रारावरिपरिका हरिया डाँडा, डाँडाका टुप्पामा जमेको हीराझैं चहकिलो सेतो हिउँ र नीलो जलको रंगमा लत्पतिन अगाडि बढ्यौं ।

पहाडी जीवनको त्यो कटुसत्यले शायद हामीलाई तानेन । भीष्मको यो कविताले यतिबेला मलाई फेरि त्यही गोरेटोमा पुर्‍याइदिएको छ । अनुभूत गर्दैछु, ती भरिया अनि खच्चड मेरै छेउबाट पहाडी जीवनको रंग छ्याप्दै हिँडिरहेका छन् ।

दुबैले दुःख बोकेका छन् पिठ्यूँभरि
दुबैले नुहाउन भ्याएका छैनन्
दुबै भोकै छन् र थाकेका छन्
जाडोले दुबैलाई जिस्काइरहेको छ उसरी नै
दुबैका आँखामा सपना छैनन्
बाटोको गन्धले 
दुबैका नाक भरिएका छन् ।
(समानता-७०)

भीष्मका कवितामा म लठ्ठिएँ । विम्बहरूमा भिज्न नसक्ने मलाई भीष्मका कविताले मीठो स्वाद दिए ।

विम्बमा घुस्न खोज्नु मेरा लागि कमजोर दाँतले ओखर टोक्न खोज्नुजस्तै हो । यस अर्थमा मेरा दाँत र आँत दुबै कमजोर छन् । त्यसैले पनि कवितासँगको सहयात्रा मबाट हुन सक्दैन ।

भीष्मका कविता छोटा हुन्छन् । गहकिला हुन्छन् । मन छुन्छन् । साथीहरूबाट सुनेको कुरा हो यो । यसरी मनग्यै भीष्मलाई पढेको थिइनँ ।

यो पटक नयाँ किताब ‘आधा उज्यालो’ उनैले दिए । मसिनो किताब भएकोले दुई–चार पाना पल्टाएर हेरें । स्वादिलो लाग्यो । ‘आधा उज्यालो’को चमक र स्वादमा रमाउने अवस्था बन्दै गयो । संग्रहका कैयन हरफले उज्यालोतिरको मार्गमा डो¥याए । नपुगेका ठाउँमा पुर्‍याए ।

त्यसो त अरुका कविताका केही हरफमा पनि म रमाएको छु । तथापि, ओखरको बोक्रा तोड्ने हिम्मत हुँदैन ममा । बोक्रा छोडाइएका स्वादिला ओखर खोज्छ यो मन–मष्तिष्कले पनि ।

शायद, यही भयो भीष्मको ‘आधा उज्यालो’ हेर्दा । यो किताबका कतिपय कविता मैले भयंकर स्वाद लिएर पढें । कतिपय हरफमा म आफैं समाहित भएको अनुभव गरें । कति हरफ पढ्दै आफ्नै जीवनलाई नजिकबाट नियालें ।

गाउँमा
जे पढे पनि भयो
नीलो र अविभाजित आकाश
हरिया बोट बिरुवा
तोरीका पहेंला फूल र लहराइरहेका बालीहरू
कान्लाहरू, खेतबारी
कुवा अथवा खोली– जे पढे पनि भयो
छानी छानी ।
(गाउँ-३४)

यतिबेला गाउँको अगाध मोहले जक्डियो । मन ढुक्क भएर आयो । गाउँको सम्झना भयो । खेत, बारी, आँप बगैंचा, बाटो— सबै आँखा अघिल्तिर आइपुगे । लाग्यो— उनीहरू सबै मलाई खोज्दै आएका छन्, भीष्मका काव्य हरफ भएर ।

हो पनि । वर्षौं बितेछ, गाउँ नगएको । जन्मथलो नपुगेको । बाढीले आक्रान्त बनाउँदा पनि गाउँ नै प्यारो थियो । गर्मीमा पसिनाले निथु्रक्क भिज्दा पनि गाउँ प्यारो लाग्थ्यो ।

अहिले राजधानीका सडक प्यारा हुन सकेका छैनन् । बिजुलीका खम्बा प्रिय हुन सकेका छैनन् । लत्रिएका तार आफ्ना हुन सकेका छैनन् । शायद सक्दैनन् पनि । किनभने मानिस फुर्सदमा छैन । हतारमा छ । हतारमा कहाँ केही देखिन्छ र ?

त्यसैले त भीष्म लेख्छन्ः

मान्छे भने कुदिरहेछन् कतै नहेरी
समयभन्दा पनि अघि जानु छ शायद मान्छेलाई ।
(तारहरू-१६)

हामी हतारमा छौं । हतारमा हामीले केही देखिरहेका छैनौं । हतारोकै परिणाम— हामी देशलाई केही दिन सकिरहेका छैनौं । दिन खोजेका पनि छैनौं । हतारको यो यात्रामा देशलाई बिर्सिदैं छौ शायद ।

सबभन्दा सस्तो
आज मान्छे भएको छ
र त्योभन्दा सस्तो भएको छ देश ।
...देशभक्ति अब
राष्ट्रिय गीतमा मात्र बाँचेको छ ।
(दृश्यचित्र-६)

स्वतन्त्रताको यथार्थ उनले कवितामा बोलेका छन् । स्वतन्त्र छन् अहिलेका मानिस । स्वतन्त्रता चाहेका थिए । स्वतन्त्रता पाएका छन् । तर कस्तो स्वतन्त्रता ?

मेरो स्वतन्त्रता 
मेरो लक्ष्य 
मेरो गन्तव्य
मेरो प्रतिबद्धता । 
म भने छु
तर तिमी छैनौ ।
(स्वतन्त्रता–११)

यसैले पनि ताने भीष्मका कविताले । लाग्यो— यी कविता होइनन्, मेरा मनका भावना हुन् । भीष्मको कलम माध्यममात्रै भएको हो । हुन सक्छ, उनले मेरै भावना अभिव्यक्त गरेका हुन् ।

उनका कवितामा म लुट्पुटिएँ, चास्नीमा माहुरी लुटपुटिएझैं । सरल भाषाशैलीको गहन कविताले ममा लोभ जगाएको छ । शायद मैले गलत भनिरहेको छैन ।

यो किताबका सबै कविता पढें, पाठक भएर । सम्भवतः यसअघि कविताको हकमा एउटा राम्रो पाठक हुन सकिरहेको थिइनँ म । त्यसैले पनि किताबका बारेमा आफ्नो अनुभव कोर्ने आँट गर्न सकें ।

भीष्मको ‘आधा उज्यालो’ सानो छ तर स्वादिलो छ । खँदिलो छ । गहकिलो छ । शब्दहरूको भीडमात्रै छैन, भावना पनि अथाह छ । उनका ५५ थान कवितामध्ये अधिकांशले मेरो मनलाई खल्बलाएका छन् । म त्यति कवितामा ध्यान नदिने मान्छे, भीष्मले मेरो जिब्रोमा आफ्ना कविताको स्वाद टाँसिदिएका छन् ।

समीक्षक वा समालोचकहरूले ‘आधा उज्यालो’लाई कसरी हेर्छन्, त्यो मेरो सरोकारको विषय होइन । तथापि, भीष्मको यो कविता संग्रहले मलाई कविताको गोरेटोमा हिँड्ने हिम्मत पैदा गरिदिएको छ ।
   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC