– रवि मिश्र
एक मित्र चौपट्टै प्रतिभावान । बेलाबखत दुई–चार थान कवितै हान्दिने । तर, आफूलाई भन्छन्— पूर्वकवि । खसखस लाग्थ्यो— कवि नि कसरी पूर्व हुन्छन् ? बरु पूर्वप्रधानमन्त्री हुन्छन् । पूर्वराष्ट्रपति हुन्छन् । पूर्वराजा हुन्छन् । पूर्वलडाकुदेखि पूर्वडाँकु हुन्छन् । पूर्वशासक हुन्छन् । पूर्वप्रशासक हुन्छन् । पूर्वपति हुन्छन् । पूर्वपत्नी हुन्छन् । पूर्वप्रेमी हुन्छन् । पूर्वप्रेमिका हुन्छन् । कविता लेख्ने कवि कसरी पूर्व हुन्छन् ?
खुद राष्ट्रकवि माधव घिमिरे यो उमेरमा धरी पूर्वकवि हुन सकेका छैनन् र वर्तमान कविकै रूपमा सम्मान ग्रहण गर्दै हिड्नुहुन्छ । देवकोटादेखि भानुभक्तसमेत पूर्वकवि भएका छैनन् । वर्तमान कविमै परान छोडे र आजसम्म कवि नै हुनुहुन्छ, पूर्वकवि भएका छैनन् । तिनीचाहिँ कसरी पूर्वकवि भए ? अब लौ न त अहिले आएर कविता लेख्न छोडे । उहिले कविता लेख्थे, त्यसैले पूर्वकवि भनुम् भने देहावसान भइसकेका कविहरूले पनि त कविता लेख्दैनन् । तर, पूर्वकवि किन भएका छैनन् ?
यस्ता प्रश्नहरूले खेदेर बसिनसक्नु भएसि मैले कथित पूर्वकविजीलाई सोधें, “तपाईं कसरी पूर्वकवि ? कवि नि पूर्व हुन्च ?”
कपुक (कथित पूर्वकवि)जीले भन्नुभो, “म काँ पूर्वकवि हुनू, म त ‘पूर्वकबि’ पो हुँ त !”
कुरो बुझियो— कबि भनेको त ‘कम्युनिस्ट बिग्रेको’ पो रहेछ । ती मित्र पूर्वकम्युनिस्ट बिग्रेका कसरी भए ? अहिले ‘कस’ (कम्युनिस्ट सप्रेका) भएका हुन् वा कम्युनिस्ट नै नभएर बिग्रेका मात्रै भएका हुन्— दिमागमा म्याराथन गरिरहेका प्रश्नहरू त थिए । तर, ‘कबि’ शब्दको ‘फूलफर्म’ पत्ता लागेसँगै अर्को चटारोले घे¥यो । कविहरू त आदिकवि, महाकवि, युगकवि, राष्ट्रकविसहित अनेक उपाधिले सोभित भइरहेको बेलामा ‘कबि’हरूलाई चाहिँ उपाधिले सुशोभित गराउनु पर्दैन ? फेरि अहिलेको सिजन नि त्यस्तै छ । कम्युनिस्ट ह्वात्तै बढेका । बढेकामा नि ‘कबि’कै बाहुल्यता ज्यादा । त्यसैले ‘कबि’हरूलाई अहिले नि उपाधि प्रदान नगरे कहिले गर्ने ?
कली बौलाएसी के लाग्छ ? अनेक देख्न पाइन्छ । घोर अनर्थ–अनर्थ प्रकारका । यस्तै अनर्थ अस्ति बिहीबार बेल्का देखियो । कम्युनिस्ट पार्टीको नि एकता । त्यही पनि साना हुन् र ? दुइटै बडे–बडे कम्युनिस्ट । यस्तो कहाँ देख्न पाइन्थ्यो र ? न अब पाइने नै छ ! यस अर्थमा सबैभन्दा कम्युनिस्ट बिग्रेका भनेका कामरेड केपी ओली र प्रचण्ड हुन् । एउटा हुन्च नि तरिका ! इतिहासदेखि वर्तमानसम्म फुटाउने जो परम्परा थियो । त्यसलाई यसरी तोड्न हुन्छ ? फुट्थ्यो र कम्युनिस्ट पनि कम्युनिस्ट जस्तो थियो । आज एक थियो त भोलि फुटेर दुई हुन्थ्यो । पर्सि त्यही फुटेर चार हुन्थ्यो । निपर्सि त्यो पनि फुटेर आठ हुन्थ्यो । यसरी फुट्दै फैलिँदै गरेर त कम्युनिस्ट यत्रतत्र सर्वत्र भएको थियो । त्यसैले त उबेलाको मरिचे पार्टी अहिले दुईतिहाइ नजिक पुग्यो । यसको लागि के मात्रै गरेनन् नेपालका कम्युनिस्ट पुर्खाले ? दरबारलाई सीधा हेर्ने कि छड्के हेर्ने भन्ने सवालमा पार्टी फुट्ने गर्थे । चीन र रुसलाई उठेर हेर्ने कि बसेर हेर्ने भन्ने बहसमा पार्टी फुट्थे । भारतलाई स्पिकर जोडेर गाली गर्ने कि मुखैले गाली गर्ने विषयमा पार्टी फुट्थे । नमस्ते मात्रै गर्ने कि घुँडामा ग्रन्च हान्ने विषयमा घनघोर परी पार्टी फुट्थे । माक्र्सको दाह्री राम्रो कि लेनिनको भनेर पार्टी फुट्ने गौरवमय इतिहासलाई लत्याउँदै फ्याट्ट पार्टी एकीकरण गर्दिएर कम्युनिस्टको इज्जतै फाले । यसरी कम्युनिस्टको हुर्मत लिने केपी कामरेड र प्रचण्ड कामरेड सबैभन्दा बिग्रेका कम्युनिस्ट हुन् । त्यसैले महाकबि हुन् ।
अब ‘आदिकबि’को उपाधि कसलाई दिने ? भानुभक्तलाई आदिकवि भनेझैं फ्याट्ट भन्नुहोला— यो त कामरेड पुष्पलाललाई दिनुपर्छ । हुन्न ! उहाँ ‘क’ अर्थात कम्युनिस्ट मात्रै हुनुहुन्छ । उहाँले बिग्रने सौभाग्य पाउनुभएन । बिग्रिन शुरुवात चैं कसले ग¥यो भनी खोज्ने हो भने ‘मैले हो’ भनेर आउनेको भीडै हुने र भीड थाम्नाको गाह्रोले अब ‘आदिकबि’को उपाधि नदिएर ‘आधीकबि’ दिएर महाकबि प्रचण्डले भनेझैं निरन्तरताको क्रमभंगता गर्नुपर्छ कि क्या हो ? तर ‘आधीकबि’को उपाधि पनि अहिलेका सबै कम्युनिस्टलाई जान्छ । किनकि अहिलेका कम्युनिस्ट र ट्ँवाट खाने बाहुन उस्तै हुन् । जात छ, गुण र चर्या छैन । त्यसैले सबै कम्युनिस्टहरू आधा कम्युनिस्ट हुन्, ‘आधीकबि’ हुन् ।
‘युवाकबि’ चैं विप्लप कामरेड हुन् । अरु सबै क्रान्तिबाट थाके पनि उनमा चैं युवा जोश छ । अझै पनि अल्लारे शैलीमा पटका पड्काउने, परेड खेल्नेदेखि नेपाल बन्द गर्नेसम्म गर्दैछन् । उनकै युवा जोशले गर्दा लोप हुन लागेको नेपाल बन्द अझै लोप हुनबाट जोगिएको छ । त्यसैले विप्लपजी ‘युवाकबि’ हुन् ।
‘आँसुकबि’को उपाधि कामरेड नारानकाजीलाई जान्छ । उहाँले उहिल्यै संविधानसभा विघटन हुँदा डाँको छोड्नुभा’को स्मृति जनमनमा ताजै छ । त्यसैले यो उपाधिको प्रमुख हकदार आँसुसागर कामरेड नारानकाजी नै हुन् । यो उपाधिका अर्का हकदार कामरेड प्रचण्ड नि हुन् । उनको कोमल मन र भावुक स्वभावको सम्मानार्थ पनि एकथान ‘आँसुकबि’ उपाधि दिनैपर्छ ।
‘आँसुकबि’को साथमा ‘डाँकोकबि’को नि व्यवस्था गर्नुपर्छ । नत्र फिलिममा गाई मर्दा डाँको छोड्ने एक पूर्वकृषिमन्त्री कामरेडको फिलिङ्सलाई आँसु शब्दले धान्न सक्दैन ।
‘जनकबिकेसरी’ चैं बाबुराम भट्टराई हुन् । ‘कबि’ भैसकेसी फुत्त कम्युनिस्ट नै छोडेर नयाँ शक्ति बनाएका बाबुराम गुरु सबैले छोड्दै जाँदै गरेर रित्तै भएसी अहिले ललाटमा चन्दन–केशरी लगाएर काशी जाने अवस्थामा पुगेकाले ‘जनकबिकेसरी’को सही हकदार उनै हुन् । थ्रेसहोल्डले थला परेका कामरेड सीपी मैनाली पनि ‘जनकबिकेसरी’ नै हुन् ।