site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नख्खु जेलक एक जना बन्दीको रहस्यमय मृत्यु भएपछि सरकारले छानबिन गरिरहेको समाचार छ । नेपालको कारागारहरूमा बेलाबखत यस्ता रहस्यमय मृत्युका घटना हुनेगरेका छन् । केही वर्ष पहिले भरतपुर कारागारभित्रै कैदीहरूबीच भएको भिडन्तमा एक जनाको ज्यानै गएको थियो । नेपालको कारागार प्रचलित ‘नाइके प्रथा’ले कारागार व्यवस्थापनमा त सजिलो भएको छ तर त्यसबाट बन्दीहरूमाथि अत्याचार पनि हुनेगरेको छ । कारागार व्यवस्थापनसँगको मिलेमतोमा नाइकेहरू व्यापारव्यवसायमा संलग्न हुन्छन् । कैदीहरूको आर्थिक शोषण हुँदा विरोध गरेमा त्यसको दमन गर्ने गरिन्छ । अहिले छानबिनमा रहेको नख्खुका कैदीको रहस्यमय मृत्युको कारण खुलिसकेको छैन तर सार्वजनिक भएका समाचार हेर्दा कारागारभित्रको झगडा त्यसको कारण हुनसक्ने सन्देह उत्पन्न हुन्छ । मृत कैदीका परिवारले कुटपिटपछि मृत्यु भएको भन्दै न्याय मागेका छन् । सरकारले पनि उनीहरूको माग सम्बोधन गर्नैका लागि कर्मचारीहरूको समिति बनाएर छानबिन गर्न लगाएको हुनुपर्छ । 

कुनै अपराधको अभियोग लागेको वा अदालतले कसुरदार ठहर गरेको व्यक्तिलाई राज्यले कैदमा राख्छ । जघन्य अपराधका अभियुक्तलाई पुर्पक्षका लागि पनि कैदमै राख्ने गरिन्छ । कैदका राख्नुको तात्पर्य राज्यले सम्बन्धित व्यक्तिको सुरक्षाको जिम्मा लिनु पनि हो । उसको स्वतन्त्रता नियन्त्रण गरेपछि सरकारले निजको रक्षा पनि गर्नुपर्छ । यसैले त कैदीको भरणपोषणको दायित्व पनि सरकारकै हुन्छ । कारागारमा अभियुक्त र न्यायालयबाट ठहर गरिएका अभियुक्तलाई कस्तो व्यवहार हुनुपर्छ भन्ने विषयमा थुप्रैवटा अन्तर्राष्ट्रिय प्रावधान छन् । कैदीबन्दीलाई मानवोचित जीवनयापन गर्ने व्यवस्था कारागारमा हुनुपर्छ भन्ने निचोड यस्ता प्रावधानहरूको रहेको छ । दुर्भाग्य, संसारका अधिकांश मुलुकका कारागारमा मानवोचित भन्न सकिने वातावरण हुँदैन । भौतिक सुविधा भएकै कारागारमा पनि प्रशासनको दृष्टिकोण कैदीबन्दीप्रति सहानुभूतिशील हुँदैन भने नेपालमा त भौतिक सुविधा र मानवीय व्यवहार दुवै दृष्टिबाट कारागारहरू यातना गृहकै अर्कोरूपमा रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राज्यले जिम्मा लिएको व्यक्तिको रहस्यमय मृत्युले निश्चय पनि कारागार व्यवस्थापन र सुरक्षाको कमीकमजोरी र लापरबाही रहेको पुष्टि गरेको छ । केही वर्ष पहिले नेपालको कारागारमा रहेको व्यक्तिलाई अपराधी निसानेबाजले गोलीसमेत प्रहार गरेको थियो । यस्ता अपराधमा कारागारभित्रैका कर्मचारी र सुरक्षाकर्मी कसै न कसैको मिलोमतो हुन्छ । सामान्यतः सरकारी कर्मचारीलाई यस्तो कार्यमासंलग्न भएको भेटिएमा चेतावनी वा सामान्य सजाय दिएर उम्काइन्छ । कारागारभित्र जघन्य अपराध हुन नरोकिनुको एउटा मूल कारण सायद यो दण्डहीनता पनि हो । सरकारी कर्मचारीमात्र रहेको छानबिन समितिले घटनामा सुरक्षाकर्मी वा कर्मचारीको संलग्नता देखिएमा उम्काउने हुन् कि भन्ने सन्देह हुन्छ । यसैले छानबिन समितिमा सरकार कर्मचारीका साथै स्वतन्त्र व्यक्ति वा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई पनि संलग्न गराउनु उचित हुन्थ्यो । त्यस्तो समितिको प्रतिवेदन बढी विश्वसनीय हुनेथियो । 

 नख्खु घटनाको छानबिन समितिलाई कारागारभित्रका विकृति पनि केलाउने कार्यादेश रहेको समाचार छ । नाइके प्रथाले धेरै कारागारमा विकृति बढाएको घटना सार्वजनिक भएकाले समितिले त्यसमा पनि ध्यान दिएकै हुनुपर्छ । व्यक्तिको ज्यान गएको घटना सामसुम पार्ने प्रयास भयो भने समितिले आफ्नो कर्तव्य पूरा नगरेको ठहर्नेछ । विगतमा कारागार सुधारका लागि उच्चस्तरीय आयोगहरू पनि बनाइएका थिए । तर, तिनका प्रतिवेदन भने लागु भएनन् । कारागारमा राखिएका व्यक्तिहरूलाई सजाय दिइएको त हो कारागार स्वयंमा यातना गृह भने होइन । थुनामा राख्नुको मूल उद्देश्य व्यक्तिलाई पश्चाताप र सुध्रिने अवसर प्रदान गर्नु हो । यसैले अहिलेको भौतिक संरचनामा सुधार गर्नु आवश्यक छ । अहिले कारागारमा क्षमताभन्दा धेरै बन्दी राखिएका छन् । शिक्षा र स्वास्थ्यको सुविधा पनि अत्यन्त अपर्याप्त छ । यसैले सरकारको ध्यान कारागार सुधारमा पनि जाओस् । कारागार यातना गृह नबनोस् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC