site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
सन्दीपका दुई विकेट र नेकपाका दुई पाइलट
Sarbottam CementSarbottam Cement

गत साताको पहिलो दिन नेपालका दैनिक पत्रिकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएर फकेका समाचारले सबैभन्दा धेरै महत्त्व पाएका थिए । तर, सप्ताहान्तमा पुग्दा भारतको आईपीएलमा खेल्दै रहेका नेपाली खेलाडी सन्दीप लामिछानेको दुई विकेटको समाचार तथा नेपाल कम्युनिस्ट पार्टी गठनको समाचारले पत्रिकामा धेरै महत्त्व पाए । 

पहिले मोदीको विषयमा जाऊँ । मोदी भ्रमणको विषयमा धेरै पत्रिकाले धेरै समाचार प्रकाशित गरे पनि नयाँ पत्रिकाले गत साताको आइतवार दिएको शीर्षकमा सम्पादकको भावना झल्किएको थियो । ‘आए मोदी, गए मोदी’ शीर्षकको समाचारको दोस्रो शीर्षकमै नयाँ पत्रिकाले भ्रमणलाई कसरी हेर्दछ भन्ने झलक आएको थियो । सो पत्रिकाको दोस्रो शीर्षकमा लेखिएको थियो, ‘हरेक भ्रमणमा जस्तै पुरानै एजेन्डा दोहो¥याएर फर्किए भारतीय प्रधानमन्त्री’ ।  

मोदीको भ्रमणका सन्दर्भमा गोरखापत्र, राजधानी, कान्तिपुर तथा नागरिकले सम्पादकीय टिप्पणी गरेका थिए । गोरखापत्रले नेपाल–भारतबीचको सम्बन्ध जति निकट छ, त्यति नै समस्याग्रस्त पनि छ भन्दै खुला सीमाका कारण सिर्जित समस्या, व्यापार घाटा, भारतमा प्रतिबन्धित पाँच सय र एक हजारका भारतीय रुपियाँ सटही, ग्यास बुलेट सञ्चालन, जलविद्युत व्यापार, वस्तु निर्यातमा अवरोध जस्ता समस्या जस्ताको तस्तै रहेको बताएको छ । तर, यी समस्या हुँदाहुँदै पनि रक्सौल–अमलेखगन्ज पाइपलाइन, रेलमार्ग, अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यासआदि सकारात्मक पक्ष भएको बताएको छ । राजधानीले पनि मोदी भ्रमणको विषयमा सम्पादकीय लेख्दै भनेको छ, यस भ्रमणको क्रममा प्रदेश २ का मुख्य मन्त्रीको रोइलोबाहेक अति विरोध र अति भक्तिभाव दुवै रहेन । आगामी ६ महिनाभित्रमा दुई देशबीचका विगतमा रोकिएका सबै काम सम्पन्न गर्ने विषयमा मोदी सहमत भएको विषयलाई राजधानीले महत्त्वपूर्ण मानेको छ । नागरिकले भने संविधान सभाले जारी गरेको संविधानलाई जानकारीमा मात्र लिएर नेपालविरुद्ध नाकाबन्दी गरेको भारतले यसपल्ट नेपालको निर्वाचनको प्रशंसा गर्नुलाई संविधानको स्वीकोरोक्तिका रूपमा हेरेको छ । कान्तिपुरले पछिल्लो भ्रमणलाई द्विदेशीय सम्बन्धमा विश्वास निर्माणका दृष्टिले सफल भएको देखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मोदी भ्रमणको समाचारले सोमवारका पत्रिकामा पनि त्यतिकै स्थान पाए । मोदीलाई ओलीले सोधेको प्रश्नलाई नागरिकले मुख्य समाचार बनायो । ‘नेपालको भूमि भारतीय बाँधको कारण डुब्दा यहाँको मन दुख्दैन?’ भनेर ओलीले मोदीलाई प्रश्न गरेको र मोदीले यी समस्या समाधानका लागि अग्रसरता जनाउने बताएका थिए । कान्तिपुरले भने प्रधानमन्त्री ओली प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको संविधान विरोधी अभिव्यक्तिप्रति असन्तुष्ट भएको समाचार मुख्य बनाएर प्रकाशित गरेको थियो । राजधानीले पनि ओलीले भारतसँग बराबरी स्तरमा सम्बन्ध भएको दाबी गरेको समाचारलाई मुख्य बनायो । सँगै राजधानीले अरुण तेस्रोको शिलान्यासमा माओवादी रुष्ट भएको विषयलाई रंगीन बक्स बनाएको थियो । कान्तिपुरले यही विषयलाई ‘कूटनीतिक मर्यादाको बेवास्ता’ शीर्षक दिएर सम्पादकीय लेखेको थियो । नयाँ पत्रिकाले पनि अभिनन्दनको मञ्च प्रयोग गरेर मुख्य मन्त्री राउतले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न आमन्त्रण गरेको विषयलाई जायज मान्न सकिन्न भनेको थियो । मोदीको अभिनन्दनमा नेपाली प्रेसलाई सभा गृहभित्र प्रवेश गर्न नदिएको विषयलाई नागरिकले विरोध गर्दै सम्पादकीय लेखेको थियो । 

आक्रोशित गगन र अस्ताएका मणि

Global Ime bank

गत साताको मंगलवारको पत्रिकामा मुख्यतः दुई विषयले विशेष स्थान पाए । पहिलो नेपालका म्याराडोना भनिएका मणि शाहको निधनको समाचार थियो । धेरै पत्रिकाले मणिविक्रम शाहको निधनमा शोक प्रकट गरे । नागरिकले यो समाचारलाई एन्करमा प्रकाशित गर्यो, कान्तिपुरले एक कोलम बनायो भने राजधानीले शाहको पार्थिव शरीर र शोकविह्वल परिवारका सदस्यको तस्बिर सहित दोस्रो मुख्य समाचार बनायो । 

त्यसै दिन संसद्मा नेपाली कांग्रेसका युवा नेता गगन थापा आक्रोशित भएको समाचारले महत्त्व पायो । संसद्मा बोल्दै ओलीको सरकारलाई ‘महालम्पसारवादी’ भएको आरोप गगनले लगाए भने देउवालाई लम्पसार पर्दा घुँडा धँसियो भन्ने ओलीको घुँडामा भ्वाङै परेको कटाक्षसमेत गरे । यो समाचारलाई नागरिकले तीन कोलमको मुख्य समाचार बनायो । राजधानीले पनि यो समाचारलाई तीन कोलममा नै राख्यो तर नागरिक जत्ति गगनको भनाइलाई शीर्षकमा महत्त्व दिएन । गोरखापत्रले मुख्यमन्त्री राउतको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भन्ने समाचारलाई मुख्य बनायो । 

नेकपाको गठन

नागरिकले मंगलवारको पत्रिकामा कम्युनिस्ट एकीकरण प्रक्रिया ‘स्थगन’ भन्ने समाचार प्रकाशित गरेको भोलिपल्टै एकीकरणमा धेरै प्रगति भयो । बुधबारको पत्रिकाले एकीकरण चाँडै हुने संकेत ग¥यो । नागरिकलेनै ‘एकता छिट्टै हुन्छ’ भन्ने शीर्षकमा सानो समाचार बनायो । उता राजधानीले भने बुधबारकै पत्रिकामा ‘एकता विलम्बले एमाले र माओवादी नेता फुर्सदिला’ भन्ने समाचार प्रकाशित ग¥यो । 

अन्य पत्रिकाले यो विषयलाई निकै महत्त्व दिए । गोरखापत्रले मुख्य समाचार बनाउँदै ‘कुनै पनि समयमा पार्टी एकता हुन सक्छ’ शीर्षकमा प्रकाशित ग¥यो । हिमालय टाइम्सले ‘दाहाल र नेपाललाई एकता भाँडिने डर’ शीर्षकमा मुख्य समाचार प्रकाशित ग¥यो । कान्तिपुरले ‘एमाले–माओवादी सम्बन्ध ‘सुध्रिँदै’’ शीर्षकमा मुख्य समाचार बनायो । 

बिहीबार पार्टी एकताको घोषणाको तयारी सुरु भयो । हिमालय टाइम्सले तयारी भन्यो भने नागरिक, नयाँ पत्रिका, गोरखापत्र, कान्तिपुरले एकता हुने घोषणै गरिदिए ।

शुक्रवारका पत्रिका एमाले र माओवादी एकताको समाचारले रंगिए । सबैजसो पत्रिकाले यो समाचारलाई सात वा आठ कोलमको ब्यानर समाचार बनाए । कान्तिपुर तथा नयाँ पत्रिका दुवैले ‘इतिहासकै शक्तिशाली कम्युनिस्ट पार्टी’ भने । अझ नयाँ पत्रिकाको शीर्षकले ‘इतिहासकै शक्तिशाली पार्टी’ भनेर थप उपमा दियो । नागरिकले ‘शक्तिशाली कम्युनिस्ट पार्टी गठन’ शीर्षक दियो भने  गोरखापत्र तथा राजधानीले औपचारिक शीर्षक दिए । गोरखापत्रले ‘नेपाल कम्युनिस्ट पार्टी गठन’ भन्यो भने राजधानीले ‘अन्ततः नेपाल कम्युनिस्ट पार्टी’ भन्ने शीर्षक दियो । हिमालय टाइम्सले सबैभन्दा फरक र सहज शीर्षक दियो, ‘एक भए एमाले र माओवादी’ ।

शनिवार कान्तिपुरका सम्पादक सुधीर शर्माले विश्लेषण लेखे, ‘वाम विमानका दुई पाइलट’ । शर्माले अब कसरी अघि बढ्छ भनेर धेरै टिप्पणी नगरी किन एकीकरणको मनःस्थितिमा दुई नेता पुगे भन्ने विषयमा धेरै शब्द खर्च गरेका छन् । नागरिकले अब नेकपा राज्य संयन्त्रमा पनि शक्तिशाली भएको र ५६ प्रतिशत जनमत पाएको समाचार बनाएको छ । नयाँ पत्रिकाले ओलीको तस्बिरमात्रै प्रकाशित गरेर ओली सरकारका समृद्धि योजना भन्ने शीर्षक दिएको छ । 

सन्दीपको दुई विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली डेएर डेभिल्सको टिममा धेरै म्याचमा बेन्चमा नै बसे । जब दिल्ली यो प्रतियोगिताबाट बाहिरिने पक्का भयो तबमात्र छनोट समितिले उनलाई ग्राउन्डमा उत्रने मौका दियो । तर, आफूले खेलेको पहिलो खेलमा नै उनले रोयल च्यालेन्जर्स बैंगलोरका एबी डिभिलियर्स तथा भारतका कप्तानका रुपमा खेल्ने विराट कोहलीलाई सामना गरे । उनले चार ओभरमा केवल २५ रन दिएर एक विकेट लिए । यो उनको ठूलो उपलब्धि थियो । त्यो म्याच शनिवार मध्यरातमा सकिएकाले आइतवारका पत्रिकाले प्रकाशित गर्न भ्याएनन् । सोमवार भने केही पत्रिकाले यो समाचारलाई महत्त्व दिएका थिए ।

शुक्रवार राति दिल्लीको खेल चेन्नई सुपर किङ्ससँग भएको थियो । यो म्याचमा पनि उनको सामना भारतका प्रख्यात खेलाडी तथा पूर्व कप्तान महेन्द्र सिंह धोनी तथा सुरेश रैनासँग भएको थियो । सन्दीपले दुवैलाई दबाबमा राख्दै रैनाको विकेट समेत लिन भ्याए । दोस्रो खेलमा पनि उनले निकै सटीक बलिङ गरेका थिए । उनको खेलको विषयमा भारतका प्रख्यात स्पिनर अनिल कुम्बलेले समेत निकै चाख लिएर सल्लाह र प्रतिक्रिया दिए । 

ओझेलमा परेको समाचार

गत साता जेष्ठ २ गते बुधवार मकालु एयरको सिंगल इन्जिन जहाज हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त हुँदा जहाजका पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको मृत्यु भएको थियो । मकालु एयरको सो सेस्ना २०८–बी ग्रयान्ड क्याराभान नाइनएन–एजेयु जहाज सुर्खेतबाट बिहान ६ः१५ मा हुम्लाको लागि उडेको थियो । जहाज ६ः५५ मा नपुगेपछि हराएको खबर आएको थियो । यो समाचारलाई धेरै पत्रिकाले अपेक्षित महत्त्व दिएको देखिएन । यो जहाजले हुम्लाका लागि सरसामान बोकेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC