site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
काठमाडौंमा स्वच्छ हावा : नागरिकले के गर्ने ? 

नेपालको संविधान, २०७२ को धारा ३० को उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने‘ मौलिक हकको व्यवस्था छ । यही धाराको  (२) मा ‘वातावरणीय प्रदूषण तथा ह्रासबाट हुने क्षतिवापत् पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक‘ उल्लेख गरिएको छ । तर, काठमाडौं उपत्यकालगायत अधिकांश सहरी क्षेत्रका बासिन्दा धुलो, धुँवा र फोहरको जञ्जालबाट पीडित भइरहको छन् । यो दिनहुँ बढ्दो क्रममा छ । 

अव्यवस्थित बसोवास, योजनाविनाको बढ्दो सहरीकरण र कानुनी शासनको अभावमा काठमाडौं उपत्यकाका बासिन्दाहरु प्रताडित हुने क्रम विकराल बन्दै छ । परापूर्वकालदेखि तीन सहर भनेर चिनिने यस काठमाडौं उपत्यकालाई कागजमा  विभिन्न १८ वटा नगरपालिकामा विभाजन गरिए पनि  वास्तवमै यो एउटै सहर हो र भइरहेको छ । काठमाडौं नगरबाट विभिन्न तहको यात्रा पारगर्दै यो सहर अब महानगर भएको छ – अग्रेंजीमा ‘मेट्रोपोलिटन’ अझ झन्डै ‘कस्मोपोलिटन’ भन्न मिल्नेगरी । कम्तीमा तीन हजार वर्षको इतिहास बोकेको यो ठाउँ, यो नगर पछिल्ला केही वर्षमा जति आक्रान्त कहिल्यै भएन । दिनहुँ हरेक क्षण यो अलकापुरी बलात्कृत, दुत्कारित र प्रताडित भइरहेको छ । जतिसुकै ऐन कानून, अन्तराष्ट्रिय सन्धि, महासन्धि, योजना तथा कार्यक्रम भएखपनि यसका प्रति सरोकार राख्दैनन् । शासन व्यवस्था परिवर्तन भए, सरकारहरु फेरिए, स्थानीय सरकार बनाइए तर यो उपत्यका निरन्तर पेलिएको छ, थिचिएको छ, विनाशमा धकेलिएको छ, गनाएको छ र शोषणमा परेको छ । 

यसको आकर्षण, विस्तार र मनोहर मोहनीमा परेर यतै भुलिएको झन्डै तीस वर्ष हुनथालेको छ । मोहनी झन् झन् बढ्दो छ, मादकता झन् झन् थपिँदो छ । यो ठाउँ मरेकाट्टे छोड्नै मन नलाग्ने भएको छ । दुई दशकअघि १५ लाख जनसंख्या भएको यो उपत्यकाले हाल ५० लाख जनतालाई आश्रय दिइरहेको छ । दस वटा विशेष आर्थिक क्षेत्र र सातवटा प्रदेश तथा यसका सदरमुकाम तोकिए पनि काठमाडौं उपत्यका बाहिरका ७४ रै जिल्लाका मानिसको सपनाको सहर भइरहेको छ । वार्षिक करिब ५ लाख पर्यटकहरुलाई पनि स्वागत गर्न यस सहर तयारै छ ।

Agni Group

परन्तु, विगत केही समयदेखि यस सहरलाई कस्मो र मेट्रो हुने सनक चढेको छ । यसो हुन यसले बढीभन्दा बढी मान्छेहरुलाई आफूतिर आकर्षित गर्नु पर्छ । आफ्ना बासिन्दालाई टन्न पीउने पानी दिनुपर्छ । यसैगरी सहरका सडक तथा गल्ली चौडा हुनुपर्छ । निरन्तर निर्माण त हुनुपर्ने नै भयो । यी सबै गर्न योजना र त्यसलाई लागु गर्न  इमानदार  कार्यान्वयन  चाहियो । यसको ऐतिहासिक महत्त्व बुझ्ने नेतृत्व, योजनाविद् भए त  योजनाहरु बन्दा नै यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा मानवीय पक्षलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्थे होलान् । प्रविधि केही नभएका बेला मान्छेले हातैले काम गरेर त्यस्ता सुन्दर संरचना किन र कसरी बनाएका होलान् भन्ने सोच्थे होलान् । सनकमात्रै त पक्कै पनि होइन  होला । 

कस्मो र मेट्रो हुने  लहड र योजनाबद्ध विकास नहुँदा यो सहर एक गन्जागोल बस्तीमा रूपान्तरित हुँदैछ ।  जसले जे गरे पनि हुने ! सामूहिक र सामुदायिक जग्गा जमिन सबै जग्गा दलालको गिरोहको कब्जामा गइसके । यसको सांस्कृतिक र वातावरणीय पक्षमा निरन्तर क्षय भइरहेको छ तर सुधारका लागि सरकारी तथा गैरसरकारी दुवै पक्षबाट जमर्कोे भएको छैन । निजी क्षेत्रबाट व्यापारमा सिन्डीेकेट र कार्टेलिङबाहेक सामाजिक उत्तरदायित्वको त कल्पना पनि गर्न नसकिने अवस्था छ ।
यी र यस्तै बेथितिबीच यस लेखमा काठमाडौंको वातावरणीय समस्याका बारेमा चर्चा गर्ने जमर्को गरिएको छ । काठमाडौंको वातावरणको कुरा गर्दा धुलो र धुवाँ दुई मुख्य समस्या देखिन्छन् । पछिल्ला तीन चार वर्षदेखि चाँहि धुलोको समस्या पनि विकराल बन्दैगएको देखिएको छ । धुलोको समस्याको हलमात्र भए पनि वातावरणीय सुधार उल्लेख्य हुनेछ ।  यहाँ धुलोको स्रोत तथा समाधानका सामान्य उपायका चर्चा गरिनेछ । वायु प्रदूषणको मूल कारक धुवाँको सन्दर्भमा  अर्कै लेखमा चर्चा गरिनेछ  । 

Global Ime bank

धुलोका कारणहरु

विगत २ दशकदेखिको अधुरो सपना मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्न पाइप बिछ्याउन जताततै सडक र संरचना भत्काइयो । पानी ल्याउन पहिलो सर्त सुरुङ्गको निर्माण कहिलेसम्म भइसक्छ भन्ने निश्चित नहुँदै पाइप बिछ्याउन बाटाघाटा भत्काउँदा त्यसले काठमाडौंबासीलाई धुलो र सडक दुर्घटनाको ठूलो उपहार प्राप्त भयो । भनेको समयमा सुरुङ्गको निर्माण नसकिने हेक्का राखेर कुनै वैकल्पिक योजना बनाइएन । त्यसको मार आज पर्यन्त काठमाडौंले भोग्दैछ । आज काठमाडौंमा उड्ने धुलोको प्रमुख कारण यही देखिन्छ । 

यस सँगसँगै उपत्यकामा टेलिफोन तथा बिजुलीका तारहरु भूमिगत बनाउने र सडक विस्तारको काम सुरु भयो । तर, यो पनि अन्य योजनाजस्तै सोचविहीन देखियो । भत्काउनेसँगै बनाउन आवश्यक पर्ने संयन्त्रको न त विकास गरियो न त निर्माणका काम गर्ने निकायहरुबीच आवश्यक समन्वय नै । त्यसकारण सडकको एक छेउ भत्किएको र अर्को छेउ भत्काउन सुरु नै नभएको अवस्था वर्षौसम्म रहेको जताततै देख्न सकिन्छ । यस्तो अधकल्चो कामको परिणाम काठमाडौंंको वायुमण्डलमा धुलोको मात्रा कसरी बढ्यो भने बन्द कोठाभित्रको ओछ्यान टक्टक्याउँदासमेत हरेक दिन धुलोको पत्र भेटिन्छ ।  

हाम्रा सडक संरचना अचम्मलाग्दा छन् । बाटोको चौडाइको आधामात्र कालोपत्रे गरिन्छ र दुवैतिरका किनारा त्यतिकै छोडिन्छ । जब सडकमा गाडीहरु निस्किन्छन् ती सकेसम्म धेरै कमाउन, यात्रुलाई हिलोधुलो छ्याप्न र अरूलाई उछिनेर छिटो पुुग्ने हतारोमा हुन्छन् । त्यसो गर्दा गाडीहरु खुला ठाँउबाट घुइँकिन्छन् जसबाट बेस्सरी धुलो उँड्छ । पीच नभएको ठाँउबाट धुलो उड्नेमात्र हैन सडक किनारामा हिँड्ने मानिससमेत दुर्घटनामा परेका थुप्रै उदाहरण हामीले देखे सुनेकै छौं । 

मूल सडक पीच भए पनि काठमाडौंंका प्रायः सहायक सडकहरु कालोपत्रे छैनन् । वर्षामा पानी पर्न सुरु हुनेबित्तिकै त्यस्ता सहायक सडक गल्लीबाट मूल सडकमा पानीको भल आउँछ । अनि सडकै सडक पानी बग्न सुरु हुन्छ। सडकमा भएका खाल्डाखुल्डी र नमिलेको सडक सतहका कारण पानीको भलसँगै आएको माटो सडक किनारामा जम्मा हुन थाल्छ । पानी रोकिएपछि त्यही माटोमा गाडी चल्छ । सवारी साधनका कारण धुलो कसरी उड्न थाल्छ भने ५ मिनेटमा नै नाकदेखि घाँटीसम्म धुलो र बालुवाका कण हुन्छन् । 
यी बाहेक सिमेन्ट पसल, इट्टा बालुवाको डिपो, काठ र अन्य कारखाना, इँट्टा, बालुवाको अनियन्त्रित ओसारपसारलगायतका कामहरुबाट पनि वायु मण्डलमा धुलो उडिरहने हुन्छ । सडक किनारा सफा गर्दा त्यो धुलो हिलो सडक किनारामै छोडिनु पनि धुलाम्ये हुने अर्को कारण हो । 

अब के गर्ने ?
 

धुलोबाट बच्न नागरिक सचेतता र नागरिक कर्तव्य नै उत्तम सरल उपाय हो । सरकार तथा जिम्मेवार निकायहरु गैरजिम्मेवार तथा अनुत्तरदायी भएको यस अवस्थामा नागरिकहरुले आफूलाई प्रभाव पार्ने विषयमा आफैँ सचेत भई अगाडि बढ्नुको विकल्प छैन । त्यसका लागि हामी आफैँ निम्न काममा अग्रसर हुन सक्छौ कि?

१. आफ्नो टोल छिमेकमा निर्माण कार्य, सडक विस्तार हुने भएमा  कसले, किन, कुन योजनाअन्तर्गत, कस्तो गुणस्तरको बनाउन लागेको हो सामूहिकरुपमा बुझेरमात्र निर्माण वा भत्काउने काम गर्न दिने ।

२. टोलभित्रै सहमति भइनसकेको भए भत्काउने वा बनाउने काम गर्न नदिने । सडक विस्तारको क्रममा बाटाहरु बनिनसक्नुको मूल कारण भत्काउन सुरुगरिसकेको लामो समयसम्म टोलका केही घर तथा पर्खालहरु भत्काउन नदिएर काम अधकल्चो रहनु पनि हो । अतः पहिले साझा धारणा कायम गरेरमात्र निर्माण वा भत्काउने काम गर्न दिने ।

३. भत्काउने र निर्माण गर्ने ठेकेदार वा निकाय एउटै हुन् वा फरक हुन् बुझी एकै भए कार्ययोजना र फरक फरक भए समन्वय र कार्ययोजनासमेत हेरी सहमति कायम गरेरमात्र काम गर्न दिने । त्यतिकै अर्काको हो मेरो हैन भनेर भत्काउन नदिने । 

४. आफ्नो घर टोलको ढल निकास वर्षा आउनुअघि नै सफा गर्न  सम्बन्धित निकायलाई समयमै घच्घच्याउने  वा टोल समिति बनाई सफा गर्ने, वर्षाको पानी निकासको सुनिश्चितता गर्ने । 

५. सबैतिर कंक्रिट भएकोले आफ्नो टोलका खुल्ला ठाँउमा रुख बिरुवा रोप्ने, त्यहाँ पानी बगेको पानी जम्मा हुन दिने जसले जमिन मुनि पानी जान सकोस् । 

६. करौडोको घर बनाउन/किन्न र लाखौंको गाडी कुदाउन सक्ने हामीले आप्mनो टोलको सुधारका लागि अलिकति खर्च गर्न मन नखुम्च्याउने, बाटो धुलोरहित बनाउन इँटा बिछ्याउने वा अन्य उपाय अवलम्बन गर्ने । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC