काठमाडौं । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिँदा एउटा अनौठो दृश्य देखियो । ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले पत्रकार सम्मेलनमा गोरेलाई उपस्थित गराउँदा उनको टाउकोमा रातो टोपी र आँखामा चश्मा थियो ।
कटनको सेतो पाइन्ट र कालो कपडाको जकेटमा देखिएका गोरेको हातमा हतकडी थियो । पत्रकारहरुले धमाधम गोरेको तस्बीर र भिडियो कैद गर्न थालेपछि गोरेको टाउकोमा रहेको टोपी हटाउन भनियो । गोरेले आक्रोशित हुँदै टोपीमात्रै झिकेनन्, मुखमा लगाएको कालो मुखौटी पनि झिकेर लौ हेर्नु भन्दै अनुहार देखाए । लगत्तै प्रहरीले गोरेलाई पछाडि लगिहाले ।
साढे ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा अनुसन्धान समितिले गोरेलाई मुख्य अभियुक्त मानेको छ । उनलाई रेडकर्नर नोटिस जारी गरेर खोजी तिव्र पारिएको थियो ।