विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका लागि कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।
जिल्ला अदालत मोरङमा बुधबार करिब ६ घण्टा बिताएका गोरेलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाको कमाण्डमा रहेका बाक्लो संख्याका प्रहरीले कडा सुरक्षा दिएका थिए ।
बयानको पहिलो चरणमा अभियोग लागेका ६३ जनाको एक–एक गरेर फोटो देखाउँदै कस–कसलाई चिनेको छ भनेर सोधिएको थियो ।
उनले एम के अग्रवाल, भुजुङ गुरुङ, श्याम खत्री र अन्य भारतीय व्यपारीहरुको नाम लिएका थिए । को को भारतीय व्यापारीहरुको नाम लिए भन्ने बिषय खुल्न सकेको छैन । उनी पक्षका कानुन व्यवसायी यमबहादुर मगरका अनुसार अर्काे प्रसंगमा गोरेले भनेका छन्, “सनमको हत्या मैले गरेको हैन ।”
उनले सुन तस्करीमा आफूलाई फसाउन खोजिएको र आफू निर्दोष भएको दाबी गरेका छन् ।
यसअघि पक्राउ परेका व्यक्तिहरु नै प्रहरी हिरासतभित्र मारिएको भन्दै गोरेले आफू मानवअधिकारवादी संस्थाको निगरानीमा प्रहरीसँग बस्न तयार भएको बताएका छन् ।
उनले जिल्ला अदालत मोरङमा यस्तो माग गर्दै निवेदन दर्ता गराएका छन् ।
जिल्ला अदालतले भने चुडामणि उप्रेती गोरेको कडा सुरक्षा व्यवस्था गर्न प्रहरीलाई भनेको छ ।
आज पनि गोरेको बयान जारी रहनेछ ।