काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले विपक्षी दलप्रति असहिष्णु भई सर्वसत्तावादी व्यवस्था कायम गर्न लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा उनले भने, “संविधानलाई आफू अनुकूल परिवर्तन गरी सर्वसत्तावादी व्यवस्था कायम गर्न सरकार उन्मुख रहेको देखिन्छ ।”
अध्यक्ष थापाले जनादेशअनुसार सरकारले अहिले मुलुकमा शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउने कार्यको थालनी गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधान र प्रजातन्त्रकै परिधिभित्र रही चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गर्ने प्रवृत्ति अहिले देखा परेको आरोप लगाए ।
अबको दुईदेखि तीन वर्षभित्रै सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका पनि उनले व्यक्त गरे । रासस