काठमाडौं । २१ औं संस्करणको विश्वकप फुटबल हुन करिब ३ सातामात्र बाँकी छ । चार पटक विश्वकप फुटबलको उपाधि उचाल्न सफल इटाली सन् २०१८ फिफा विश्वकपमा भने सहभागि हुने छैन । विश्वकप छनोटको खेलहरुमा राम्रो पदर्शन गरेर आफ्नो समुहमा दोस्रो भएको इटाली दोस्रो राउण्डको छनोटमा स्वीडेनसँग पराजित भएपछि विश्वकप पुग्ने सपना तुहिएको थियो ।
बाधक स्वीडेन
४ पटक विश्वकपको उपाधि उचाल्न सफल इटाली यो वर्षको विश्वकप भने खेल्न पाउने छैन ।
पहिलो राउण्डमा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने इटालीको सम्भावना बलियो थियो । तर विपक्षीमा स्पेन थियो । आफ्नो समूहका अन्य राष्ट्रलाई पराजित गर्न सके पनि स्पेनलाई पराजित गर्न नसक्दा इटाली पहिलो राउण्डबाट विश्वकपमा छनोट हुन सकेन ।
होम खेलमा इटालीले स्पेनलाई १–१ गोलको बराबरीमा रोकेपनि अवे खेलमा स्पेनसँग इटाली ३–० ले स्तब्ध बन्यो । स्पेन समूह जी को शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भयो भने दोस्रो स्थानमा रहेको इटालीलाई दोस्रो राउण्डबाट विश्वकपमा स्थान बनउने मौका रहेको थियो ।
दोस्रो राउण्डमा इटालीले विश्वकपमा पुग्नका लागि स्वीडेनलाई पराजित गर्नु पर्ने थियो तर, स्वीडेनसँग १—० गोलअन्तरले इटाली पराजित हुन पुग्यो भने विजेता स्वीडेन विश्वकपमा पुग्यो । स्वीडेनसँग पराजित भएसँगै इटाली सन् १९५८ पछि पहिलो पटक विश्वकप पुग्न असफल बनेको थियो ।
विश्वकपमा इटालीको यस्तो छ इतिहास
इटाली फुटबलमा सफल राष्ट्र गनिन्छ । इटालीले सन् १९३४ को दोस्रो विश्वकप फुटबलको आयोजना गर्ने अवसर पाएको थियो । मे २७ देखि जुन १० सम्म इटालीको विभिन्न ८ शहरमा आयोजना भएको विश्वकपमा ४ महादेशका जम्मा १६ राष्ट्रले भाग लिएका थिए ।
दोस्रो विश्वकपको उपाधि पनि आयोजक राष्ट्र इटालीले नै जित्दै उसले विश्व फुटबल इतिहासमा आफ्नो इतिहास लेखाउन सफल भएको थियो । फाइनल खेलमा चेकोस्लोभाकियालाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै इटालीले उपाधि उचालेको थियो ।
सन् १९३८ को तेस्रो संस्करणको विश्वकप फुटबल फ्रान्समा सम्पन्न भएको थियो । फ्रान्सको विभिन्न १० शहरमा आयोजना भएको विश्वकपको उपाधि यो पटक पनि इटालीले जितेको थियो । लगातार दोस्रो पटक इटालीले विश्वकपको उपाधि जित्दै अर्को इतिहास बनाएको थियो । त्यतिबेला इटालीले फाइनलमा हंगेरीलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।
इटालीले तेस्रो उपाधि स्पेनमा सम्पन्न सन् १९८२ को विश्वकपमा जितेको थियो । १२ औं संस्करणको विश्वकपको उपाधि इटालीले जित्दै सर्वाधिक ३ पटक जितेको ब्राजिलसँगको कीर्तिमानी बराबरी बनाएको थियो । इटालीले जर्मनीलाई ३–१ गोलअन्तरले पराजित गर्दै तेस्रो पल्ट उपाधि चुमेको थियो ।
इटालीले सन् २००६ मा चौथो पटक विश्वकपको उपाधि उचालेको थियो । जुन ९ देखि जुलाई ९ तारिखसम्म जर्मनीले १८औं विश्वकप फुटबलको आयोजना गरेको थियो । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै इटालीले चौथो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । निर्धारित समय र थप गरिएको समयसम्म दुबै टिमले १–१ गोलको बराबरीमा सकिएपछि फाइनल खेल पेनाल्टीमा धकेलिएको थियो ।
पटक पटक गरेर चार पटकको विश्वकप विजेता इटालीआफुले जितेको समय भन्दा पछि भने तुलनात्मक रुपमा भने कमजोर देखिएको छ । उसले सन् १९३८ पछि लामो समय विश्व कपको फाइनल यात्रा सम्म पनि तय गर्न सकेको छैन ।
१८ पटक विश्वकप खेलेको इटाली अहिलेसम्म ६ पटक फाइलमा प्रवेश गरेको छ भने त्यसमा ४ पटक विश्वकपको उपाधि उचाल्दा २ पटक उपविजेता बनेको छ । सन् १९७० मा मेक्सिकोमा सम्पन्न विश्वकपको फाइनलमा ब्राजिलसँग ४—१ गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै, इटाली अमेरिकामा भएको सन् १९९४ को विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा यो पटक पनि इटालीको लागि उपाधि चुम्ने बाधक ब्राजिल बनेको थियो । पेनाल्टी सुटआउटमा इटाली ब्राजिलसँग ३—२ गोल अन्तरले स्तब्ध बनेको थियो ।
त्यस्तै, इटाली सन् १९७८ मा विश्वकपमा चौथो भएको थियो भने १९९० मा तेस्रो स्थान हासिल गरेको थियो ।