site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निलो समयमा राता सिर्जनाहरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । राता सपना देख्नेहरुको भूमि हो रोल्पा । जनयुद्धको मोर्चामा अग्रिम भूमिका खेल्ने राता मान्छे जन्माउने सहिदको रक्तरञ्जित त्यो भूमिमा अझै पनि रगतका बाछिटाहरु मेटिएका छैनन् । त्यसैले अझै रोल्पालाई राता मान्छेको जिल्ला भन्न कोही हिचकिचाउँदैन । रोल्पालाई लालभञ्ज्याङ भन्न कसैको जिब्रो लकपकाउँदैन । 

आँखाभरी राता सपना देखेर आँगनको डिल छोडेकाहरुले बारुदको गन्धसँग खेल्दै गरेका बेला कल्पिएका दूर कल्पनाहरु भेट्टाउन अझै पनि पाइला चालिरहेकै छन् । फगत त्यसको रुप परिवर्तन भएको छ । १५ वर्ष अगाडि काँधमा राइफल हालेर जंगलमा लुक्दै देखेको सपना आज सहरमा बसेर देख्न थालेका छन् । बन्दुकको नालबाट सपना भेट्न खोज्नेहरु आज कलमबाट परिवर्तन खोजिरहेका छन् । रातो भूमिका राज एकान्तको यो कविता त्यसको सूचक हो  । 

छापामार योद्धाको सन्देश

Prabhu Bank
Agni Group
NIC Asia

तिमीलाई दिन्छु नभनेर नै
तिमीकहाँ छुटेछ
हँसिया र हथौडा अंकित रातो  रुमाल,
जो म तिमीलाई 
वर्षौ पहिले उपहारमा दिन चाहन्थेँ ।
अबको ठिक नौ महिनामा 
जन्मिनेछ छोरा
न्वारानको दिन उसको निधारमा 
यही रुमाल बाँधिदिनू,

सुँघाइदिनु बारुदको गन्ध
र विष्फोट नाम राखिदिनु उसको ।
कुनै विश्वविद्यालयको जरुरत छैन 
उसलाई किसानहरु चिनाइदिनू
र चिनाइदिनू–
हलोले जमिनमा लेख्ने बाङ्गाटिङ्गा अक्षरहरु ।

Global Ime bank

उसलाई मजदुरहरु चिनाइदिनू
र पढ्न लगाउनू
पसिनाले भिजेका श्रमका एकएक पानाहरु

उसलाई दलालहरुलाई चिनाइदिनू
चिनाइदिनू श्रमशोषक ठेकेदारहरु पनि 
ताकि उसले प्रश्न गरोस्
कसको पसिनाले बाँचिरहेछन् यिनीहरु
उत्तरआधुनिक जीवनशैली ?

सामन्ती जुँगा मुसारेर
गाउँमा केके गरिहिँड्छ मुखिया ?
एकथरी आमाहरु 
किन हेपिन्छन् एकाबिहानै पँधेरीमा ?
किन भयग्रस्त बाँचिरहेछ यो समाज ?
उसलाई सवालहरु चिनाइदिनू !

निश्चिन्त रहनु 
१६ वर्ष पुग्नुअगावै
उसले बुझिसकेको हुनेछ
कि, न्वारानको दिन
निधारमा बाँधिदिएर रातो रुमाल
किन उसको नाम विष्फोट राखियो 

० ० ०
आङ नै जिरिङ–जिरिङ पार्ने कविता राजले स्टेजबाट वाचन गरिरहँदा दर्शकदीर्घाबाट तालीको पर्रा छुटिरहेको थियो । राजको राजनीतिक चेत आउँदा जनयुद्ध अन्तिम चरणमा पुगिसकेको थियो । केही समयपछि देश शान्तिप्रक्रियामा अवतरण गर्यो । तर उनको बाल मनोविज्ञानमा परेको छापले भने उनलाई अझै छाड्दै छाडेन । रोल्पालीका हातहरुले बन्दुक छोडेर कलम उठाउन थाले । राजले जस्तै । लिवाङमा भएको ‘बृहत् साहित्य सम्मेलन’ र त्यहाँ सहभागी रोल्पाली श्रष्टाहरुको उपस्थिती र तीनका रचनाले यसलाई पुष्टि गरिरहेको थियो । 

गर्भमै तुहिएको अनन्तको सपना
मञ्चमा बसेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन ‘अनन्त’ले श्रष्टा समाजका द्रष्टा हुन्, उनीहरु राजनीतिज्ञर समाजभन्दा एक कदम अगाडि हुन्छन् भनेपछि उसैगरी रोल्पालीका हातहरु बज्न थाल्छन् । पुनले रवी (सूर्यको किरण) पनि नपुग्ने ठाउँमा कवि पुग्छन् भन्दै त्यसैले राजनीति, आर्थिक तथा समाजिक विषयलाई पनि साहित्यले मार्गदर्शन गर्नसक्छ र गर्नुपर्छ भनेपछि रोल्पाली उसैगरी हौसिन्छन् र उनले तालीले साथ पाउँछन् । “त्यसरी तपाईंहरुजस्तो अगाडि नै सोच्न नसक्ने भएकाले मचाहिँ राजनीतिज्ञ भएँ,” उनी ठट्यौली घुसाउँछन्, “हामीलाई अलिअलि पुग्ने अलिअलि नपुग्ने आश्वासन दिन आउँछ । कसरी अर्को पार्टीको मान्छेलाई आफ्नो पार्टीमा ल्याउने र कुन गाउँबाट कति भोट आउँछ भन्ने अंकगणित भने राम्रैसँग आउँछ ।” 

अर्थमन्त्रीसमेत भैसकेका पुनलाई पनि कुनै समय साहित्यप्रतिको रुचीले छपक्कै छोपिसकेको रहेछ । पढ्न त उनी पढ्थे नै, लेख्नसमेत उनी तम्सिसकेको अनुभव सुनाए । उनले मेक्सिम गोर्कीको ‘आमा’, ‘युद्धको गीत’, ‘बोलिभिया डायरी’ लगायतका थुप्रै पुस्तक पढे । विचार परिवर्तनका लागि सबैभन्दा प्रभावकारी माध्यम पुस्तक रहेको ठहर गरे । निर्णय गरेछन्– एउटा युद्ध उपन्यास लेख्छु । विषय र पात्र फुरिसकेको थियो । विम्व र प्रतीक निश्चित भैसकेको थियो । कथाको प्लट डिजाइन भैसकेको थियो । “युद्ध कसरी गर्ने भनेर छापामार तालिम दिने खालको पुस्तक लेख्ने सोचेको थिएँ,” उनी करिब डेढ दशक अगाडि फर्किन्छन् । कायर मनहरुलाई कठोर विचारमा ढाल्ने उनको सोच थियो । राता विचारहरुलाई कफन कसाउने सुर थियो । तर, राज्यसँग वार्ता र संवाद भयो । १२ बुँदे सहमति भयो । पार्टी शान्ति प्रक्रियामा आयो । पुनको पुस्तक गर्भभित्रै विलिन भयो ।   

बन्दुकको छायाँमा जन्मिएको सिर्जना
समाजमा उचनिच थियो । गरिबी र अभाव थियो । हुँदा खाने र हुने खाने वर्ग थियो । त्यसको दरार समाजमा परेको थियो । त्यसैको अन्त्यका लागि लाल विचारकहरुले जनयुद्ध छेडे । भलै दरार पुरियो या उस्तै छ ?अझ झन् पो बढ्यो ! समीक्षाको पाटो होला । तर भविष्यको जिन्दगीलाई कल्पिएर गरिने साहित्य सिर्जना जनयुद्धमा भयो । जुन कम भावना र बढी यथार्थ थियो । 

बन्दुकको छायाँमा क. क्षितिजले कविता, कथा लेखे, निवन्धमार्फत् आाफू र आफ्नो यथार्थ तथा भविष्यलाई अभिब्यक्त गरे । सुदूर क्षितिजको परिकल्पना गर्दै बोकेको बन्दुकसँगै उनले कलमलाई पनि युद्ध विजयका लागि सहारा लिए ।  राता सिर्जनाहरु काँधमा बन्दुक बोकिरहेका बेला पनि हुत्तिएर आउँथे । 'राज्य सत्ताको करमा परेड खेलिरहेकाहरुले लखेटिरहेका बेला' पनि दिमागभरी साहित्यका शब्द र प्लटहरु अंकुरण हुन्थे । क. क्षितिज ‘दुस्मन’ छायाँबाट टाढा पुगेपछि त्यसलाई सेतो पानामा उतार्थे । 

ब्रिगेडको जिम्मेवारी सम्हाले पनि उनको साहित्यीक मन शब्दहरुसँग बयली खेल्थ्यो । क्रान्तिका आवाजहरु शब्दमार्फत तरङगीत गर्थे । युद्धको चित्रण गरिएको साहित्य कुनै जनयुद्धको पक्षमा त कुनै राज्यसत्ताको पक्षपोषणमा केन्द्रित रहेको समकनलीन नेपाली साहित्यका बहस भैरहेका बेला क्षितिज भन्छन्, “बन्दुक बोकेर त्यसको छायाँमा सिर्जित साहित्य कसैको पक्ष र विपक्षमाभन्दा पनि म त्यसलाई यथार्थ साहित्य भन्न रुचाउँछु । त्यहाँ भावनाभन्दा पनि उथार्थ बढी हुन्छ । बिम्ब र प्रतीकको प्रयोगभन्दा पनि भोगिएका र उद्देश्यको प्राप्तिको कथा अधिक हुन्छ ।” 

क्षितिज कलाभन्दा विचारप्रधान भएर लेखिएको साहित्यलाई पक्षभन्दा पनि इमान्दार साहित्य हो भन्न रुचाउँछन् । भावना र बिम्बले साहित्यलाई कलात्मक त बनाउँछ तर विचार नै साहित्यको मेरुदण्ड हो भन्ने तर्क पस्किने उनको विचारमा–काँधमा राइफल बोकेर लेखिएको साहित्य बनिबनाउ हुँदैनन्, यो त इतिहास हो । यथार्थको धरातलमा टेकेर मुस्कुराइरहेका शब्दहरुको पुञ्ज हो । उनको यो विचारमा केही तथ्य होला, केही तर्क होला त केही विचारबाट प्रभावित अभिव्यक्ति पनि होला ।

तर सत्य हो,–युद्धले लडाइँ मात्रै होइन साहित्य पनि जन्माउँछ । बम, बारुद र बन्दुकको छायाँमा सिर्जित साहित्य युद्ध नजिक हुन्छ । प्रभावित हुनु नहुनु सर्जकमा भर पर्छ । उसले समातेको वाद र विचारमा निहित हुन्छ । 

पहिला रोल्पाले राता मान्छेहरु जन्मायो । परिवर्तनको प्रस्थानविन्दू बन्दुक नाचेको रोल्पाको भूगोलमा ९६९ जना घर फर्किएनन् । त्यसकै नियास्रोमा अहिले रोल्पाले श्रष्टा र सर्जकहरु जन्माइरहेको छ । 
हत्केलाको बार्दली बनाएर सन्तान आउने आसैआसमा वृद्ध शरीरलाई विश्राम दिएका आमाबुवाको सपना अब कविता र कथामा मात्रै अटाउँछ या सातदोबाटोको पाखामा फूल्ने रंगीन गुराँस जस्तै माटोमा मुस्कुराउँछन् ? श्रष्टाका सिर्जनाको मूल विषय तत्कालीन लाल सपना बनिरहेको छ । रातो विचारका सूत्रधारहरुलाई नवीन लोचनमगर जस्ता रोल्पाली श्रष्टाका यस्ता सिर्जनाहरुले खबरदारी गरिरहेका छन् । 

सुशोभित बनाउन जिन्दगीको सुरताल हुनुपर्छ । 

छोइन्छ पक्कै सगर तर ती चलन हुनुपर्छ । 

स्वार्थी हुन्छ मान्छे जव माथि माथि चढ्छ ।
सम्झिन्छ आफन्त मात्र अनिकाल हुनुपर्छ । 

अभिष्यको लक्ष्य छुनु, कुरुक्षेत्र चिस्याउँदै,
बोकेर परिभाषा चैनको, सतिसाल हुनुपर्छ ।

अहम्ताले विष पोख्छ रोकी विषको भेल,
सबैसबैको अस्तित्वमा अंकमाल हुनुपर्छ । 

अरु सबै निल्न खोज्ने, सबै टिकडम जसलाई, 
बाँचौँ भन्ने मानवताको सञ्जाल हुनुपर्छ । 

(रोल्पाबाट फर्किएपछि)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC