‘‘हामीले फ्रान्समा इटालीलाई अझ बढी गम्भीरतापूर्वक लिनुपर्छ । यो अत्यन्त सफल मुुलुकबाट हामीले सिक्नसक्ने धेरै छन् ।’’
यो भनाइ शताब्दीयाैं पहिलेको जस्तो लागे पनि २०१५ मा इटालीका लागि फ्रान्सका राजदूतले यस दाँतेको देशको उपयुक्त प्रशंसा गर्दा भनेका थिए । त्यसैको अर्को वर्ष बेलायतको बहिर्गमनसम्बन्धी जनमत संग्रहका बेला इटालीका पत्रकारले मसँग युरोपियन युनियनका नेतृत्वकारी अनौपचारिक ‘क्लब अफ थ्री’ को समूहमा फ्रान्स र जर्मनीसँगै बेलायतको स्थान इटालीले लिन सक्ला भन्ने प्रश्न गरेका थिए ।
परन्तु, अहिले भने त्यति बेलाको आत्मविश्वास र आशा राजनीतिक वास्तविकताको गहु्रंगो बोझमुनि दबिइसकेको छ । अहिलेको इटाली त युरोपको ‘बिरामी मान्छे’ कहिलन उपयुक्त पात्र बन्न सक्छ । अहिले युरोपमा भइरहेका सबै गल्तीको निष्कर्षका रूपमा नभए पनि प्रतीकका रूपमा त्यसलाई इटालीको लक्षणका रूपमा पनि लिन सकिन्छ ।
अहिले युरोपलाई आर्थिक विषयमा उत्तर–दक्षिणमा र मूल्यमान्यताका सम्बन्धमा पूर्व–पश्चिममा विभाजन गरेर कमजोर तुल्याउने प्रवृत्तिको इटाललीले अनुकरण गरेजस्तो लागिरहेको छ । इटालीको हकमा उत्तर–दक्षिण विभाजनको आर्थिक वा सांस्कृतिक महत्त्व मात्र छैन । यो विभाजन त इटालीको राजनीतिक मानचित्रमा पनि पुनरुत्पन्न हुन्छ । भर्खरै संयसक्त सरकार गठन गर्ने दुई पार्टी– फाइभ स्टार मुभमेन्ट (एमफाइभएस) र लिग पार्टी (पहिले नर्दन लिग) को समर्थन मार्च ४ को निर्वाचनमा क्रमशः दक्षिण र उत्तर इटालीमा मात्र केन्द्रित थियो ।
इटाली भित्र पूर्व–पश्चिम विभाजन पनि छ तर यसमा भने मार्चमा विजयी शिर्ष दुई पार्टी एमफाइभएस र लिगका बीचमा नभएर पुराना मध्य बामर मध्य दक्षिणपन्थी दलहरूबीच रहेको छ जुन यसपटक सजिलै परास्त भएका थिए ।
युरोपका बाँकी भाग, खासगरी मेरो आफ्नै देश फ्रान्सले पनि सबै राम्रो भइरहँदा इटालीलाई उपेक्षा गर्ने गर्छ भने समस्या आइपर्दा पनि त्यसको संभावित परिणामलाई कम ठान्ने गर्छ । यद्यपि, यसपटक इटालीको अवस्था कति खराब भइसकेको छ भने यसको प्रभाव न्यून गर्न असम्भव देखिन्छ ।
यसरी पहिलो पटक युरोपेली संघको संस्थापक सदस्य मुलुकमा युरोपेली पद्धति तथा संस्थापन विरोधी शक्तिहरुको गठबन्धन सत्तामा आएको छ । इटालीयनहरुले पूरै युरोपेली सपनाको विकासका नकारात्मक असर पार्न सक्नेगरी राजनीतिक रुबिकन नदी पार गर्न रोजेका छन् । यसलाई स्पष्ट शब्दमा भन्दा हङ्गेरी वा पोल्यान्डकै शैलीमा दक्षिण युरोपको कुनै राष्ट्र पूर्वतिर गयो भने उत्तरमात्र नभएर पूरै पश्चिम अनदार लोकतन्त्रको प्रतिफल भोग्नु पर्नेछ ।
बेलायतले जस्तैे इटालीले ईयु छाडिहाल्ने जोखिम अहिले छैन भन्नेमा स्पष्ट होऊँ । किनभने बहुमत इटालीयनहरु यसका लागि तयार छैनन् । बरु, हङ्गेरी र पोल्यान्ड जसरी ईयुमा रहिरहने तर ईयुका नियमहरूको उपेक्षा गरेर यसका मूल्यलाई अनादर गर्न सक्ने जोखिम छ ।
यति हुँदाहुँदै पनि इटालीलाई उसका कुकर्महरुका लागि निन्दा गर्नु न न्यायोचित हुनेछ न फलदायी नै हुनेछ । बाँकी युरोप र विशेषगरी फ्रान्स मार्चको निर्वाचन परिणामका लागि अलिकति जिम्मेवार त छ । ठूलो सङ्ख्यामा आएका शरणार्थीको एक्लै व्यवस्थापन गर्नुपर्दा एइटालियनहरुले आफ्ना युरोपेली साझेदारहरुले उनीहरूलाई उपेक्षा गरेको महसुस गरेका थिए । उनीहरुले नागरिक समाजको सहयोगमा आफ्नो मानवीय कर्तव्यलाई सम्मानजनकरूपमा पूरा गरे जुन अरू देशहरुका लागि पनि अनुकरणीय हुनसक्छ ।
यसैको फलस्वरुप इटालीले ६ लाख शरणार्थीहरुलाई आफ्नो भूमीमा स्वीकार गर्दा सत्तामा भएकाहरू चुनावमा पराजित हुन पुगे । उनीहरु सही कार्य एक्लै गरेकामा दन्डित भए । यसले तिनलाई राम्रोमा चरम आदर्शवादीजस्तो भने र खराबमा सबैभन्दा अक्षम प्रशासकका रुपमा प्रस्तुत गर्यो ।
फ्रान्सका हकमा अरुसँगै आफ्नो हिस्साको जिम्मेवारीको पहिचान गर्नु एउटा विषय हो भने संस्थापक सदस्यका रूपमा युरोपियन युनियनकोे नियम उल्ल्ंघन गर्ने निर्णयमा सहमत हुनु अर्को विषय हो । ईयुका मूल्य मान्यता र नियमहरुलाई जानीजानी उपेक्षा गर्ने सदस्यलाई निष्कासन गरिने शक्तिशाली विधि र निषेधको प्रणाली न अहिलेको युरोपमा विद्यमान छ न भविष्यमा हुनेछ । योर्ग हैदरको उग्र दक्षिणपन्थी फ्रिडम पार्टी सन् २००० मा अस्ट्रियाको गठबन्धन सरकारमा सामेल भएका बेला युरोपेली संघले एकदमै छोटो अवधिका लागि प्रतिबन्ध लागु गरेको थियो ।
अब यस प्रकारको उदासीनताका लागि कुनै स्थान छैन । इटालीमा जे भइरहेको छ त्यसले फ्रान्स र युरोपेली सुधारको उसको आकांक्षामा प्रत्यक्ष असर पार्न सक्छ । राजनीतिक रुपमा कमजोर जर्मनीका साथै असहयोगी पूर्वी युरोप, गतिहीन स्पेन अनि अहिले युरोपको संस्थापक सदस्यमा एक प्रियतावादी सरकार सत्तामा रहने सम्भावना हेर्दा युरोपेली आदर्श ‘अझ निकट संघ’ मा विश्वास गर्ने फ्रान्स र यसका राष्ट्रपति इम्यानुअल म्यक्रोन ‘चर्को एक्ल्याइँ’मा पारिने जोखिममा देखिन्छन् ।
अहिले सबैले यस्तो अवस्थामा फ्रान्स त्यहाँ कतिन्जेल रहिरहन सक्छ भन्ने अनुमानमात्र गर्न सक्छन् । आज इटालीमा के भइरहेको छ त्यसले नै शक्तिशाली राज्य तर कमजोर नागरिक समाज भएको फ्रान्समा भोलि के हुन्छ भन्ने झलक दिन्छ । यसैले फ्रान्सले इटालीलाई अझ गम्भीर रुपमा लिनुपर्छ भन्ने इटालीका लागि फ्रान्सका राजदूतको कथन सही थियो । परन्तु, गलत कारणका लागि होइन ।
पेरिसस्थित इन्स्टीच्युट मोन्टेगका वरिष्ठ परामर्शदाता
(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्य)
Copyright: Project Syndicate, 2018.