– रवि मिश्र
उहिले गिर्जाउ र प्रचण्डजी जसरी, अहिले ओलीजी र प्रचण्डजी जसरी पूरै तिनसे साठी डिग्री फनक्कै घुमेर, मिलनको डोरी कसेर ट्रम र किमजीले चमत्कार देखाएका छन् । यस चमत्कारले पूरा नरलोकमा आश्चर्यको उल्कापात गराएको छ ।
चमत्कार भन्ने जिनिस नेपालीको मात्रै औकातले भ्याउँछ । किनकि यो शब्द नेपालीमा मात्रै छ । अंग्रेजी, जापानी, चिनियाँ, फ्रान्सेली, जर्मन कुनै पनि भाषामा ‘चमत्कार’ भन्ने शब्द भेटिन्न । उनीहरू चमत्कार भन्नै जान्दैनन् । भन्नै नजान्ने कुरा गरेर कसरी देखाउनू ? हिन्दीमा पनि चमत्कार भन्ने शब्द छ भन्ने किम्बदन्ती पाइन्छ । तर, उनीहरूले चमत्कार जानेका छैनन् । उनीहरूसँग चमत्कार भन्ने जिनिस छैन भन्ने कुरा त ‘थ्री इडियट्स’ फिल्ममै स्पष्ट छ । चमत्कारको ठाउँमा बलात्कारको बलात्कार भनेर जग हँसाको हेर्नुस् त ।
अब नेपालीको छेउमा रहेको, नेपालीसँग सीमा जोडिएको, नेपालीसँगै रहनसहन, वेशभूषा मिलेका भारतीयहरूले त चमत्कार भन्नसम्म जानेका छैनन् भने कहाँ कहाँ समुद्रपारका अमेरिकी ट्रम्प र कोरियन किम सरले मिलेर चमत्कार देखाए ? यसमा पक्कै पनि नेपालीहरूको हात हुनुपर्छ । नेपालीबिनै गरेको कामले कसरी चमत्कार देखाउँछ ? ट्रम्प र किमले चमत्कार गरे रे भन्ने सुनेदेखि नै मभित्रको विश्लेशकत्व उर्लेर उल्का छ । यस बखताँ एकथान अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषण हान्दिम् कि झैं भा’छ । हावा पेलेर मिथ्यांकलाई तथ्यांकको कलेबरमा सत्यांक भन्दै ठेल्न हुटहुटी चलाउने यो विश्लेशकत्वको भूतलाई दुई–चार शब्दको बाट्या धूप सल्काउँदै तपाईंहरूसामु मन्छिन चाहन्छु ।
खासमा ट्रम्प र किमलाई मिलाएका नेपालीले नै हुन् । मेरो विश्लेषणले यही ठम्याउँछ । नेपालीबिना चमत्कार सम्भव छैन । किनकि नेपालीइतरको पहुँचमा चमत्कार छँदै छैन । किनकि ‘फू–मन्तरकी वाचा !’ भनेर नेपालीबाहेक अरुले भन्नै जानेका छैनन् । जसले ‘फू–मन्तर’ नै भन्न जानेका छैनन, फू–मन्तरै नगरी कसरी चमत्कार हुन्छ ? पूराका पूरा नेपालीकै जोडबलले चमत्कार भएको पक्का भएपछि यो चमत्कारमा को–को फू–मन्तरीको हात छ, कसको जोडबलले गर्दा चमत्कार सम्भव भयो ? जनता जान्न चाहन्छन् । हामी लेख्न चाहन्छम् ।
१) माधव सर
ट्रम्प र किमजीलाई मिलाउन नेपालीमात्रै होइन, पूरै नेपालको हात छ । खुद माधवकुमार नेपालको हात छ । थाहै छ— नेपालमा शान्ति–सम्झौता हुनुमा माधव सरको ठूलै भूमिका छ । उहिले पूरै विपरीत ध्रुवमा रहेका प्रचण्डजी र गिरिजाबाबुलाई धरी मिलाउन सक्ने माधव सरलाई किम र ट्रम्पलाई मिलाउनु खासै ठूलो कुरा थिएन । शुरुमा त कराइरहून् ठेट्नाहरू भनेर खासै चासो दिनुभएको थिएन उहाँले । पछि जब एक–अर्काले एकपछि अर्को शक्तिको दम्भ देखाउन थाले, माधव सरलाई झर्को लागेर आयो । ल भएन भनेर कोरिया जानुभो । कोरिया गएर किमजीलाई सम्झाउनुभो । अब माधव सरले नै सम्झाइसकेसी किमजीले उहाँको कुरा काट्न सक्नुभएन । ‘तपाईं यसै भन्नुहुन्छ भने ठिकै छन्त, मिलम्ला’ भन्नुभएछ ।
त्यसपछि लगत्तै माधव सरले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई फोन हान्नुभएछ । फेरि ओबामाजी माधव सरको पुरानो जिक्री हुनुहुन्छ । उहिले माधव सर राष्ट्रसंघीय महासभामा भाग लिन जाँदा ओबामाजीले हात मिलाएर ‘के छ माधवजी ?’ भनेको किम्बदन्ती पाइन्छ । यति भएसी ओबामाजीले माधव सरको कुरा काट्न सक्ने कुरा भएन । माधव सरले ‘लौ अब ट्रम्प र किमलाई मिलाउनुप¥यो’ भनेसी ओबामाले नि सम्झाउनुभएछ ।
पहिले त ‘मलाई सिकाउने ? सम्झाउने ?’ भनेर कड्किएका थिए रे ! पछि माधव सरको नाम लिएसी ट्रम्पजी नतमस्तक हुनुभएछ र ‘ल मिल्छु’ भन्नुभएछ । यसपछि ट्रम्प–किम सिंगापुर वार्ता फिक्स भएछ ।
२) ओली सर र प्रचण्ड सर
ट्रम्प र किमजीलाई मिलाउन ओली सर र प्रचण्ड सरको नि कम्ता हात छैन । दशैंअघिसम्म मारमुंग्री चलिरहेको कामरेड सरहरूको दशैंसँगै भएको झ्याप्पै मिलनले आश्चर्य आफैं आश्चर्यचकित भयो । ओली सर र प्रचण्ड सरको यो चमत्कारको खबर किमजीको कानसम्म पुगेछ । आणविक परीक्षणको होडमा रहेका किमलाई यो सुनेर चमत्कारको नया होड पैदा भएछ । अब म योभन्दा ठूलो चमत्कार प्रक्षेपण गरेर ओली–प्रचण्डलाई च्यालेन्ज दिन्छु भन्ने मुडमा पुग्नुभएछ । अनि नेपालको कम्युनिस्ट एकीकरणलाई चुनौती दिन कोरिया एकीकरणको चामत्कारिक मिसाइल परीक्षण गर्नुभो । यो देखेर ट्रम्पजीलाई नि च्यालेन्ज भो । त्यसपछि झन् चमत्कारको होडमा किमजीसँग वार्ता गर्नुभो ।
३) ऋषि सर र रवि सर
नेपालमा गौतम बुद्धकै हाइटका दुई महामानव पत्रकार हुनुन्छ । एक ऋषि सर, अर्का रवि सर । अमेरिकाले चन्द्र धरातलमा मान्छे उकालिसक्दा पनि एउटा अभाव चैं सधैं खड्किरहन्छ । त्यो अभाव हो— चन्द्र पदार्पण यात्रीको फोटोको पछाडि ऋषि सर नहुनु । त्यसैले अमेरिकाले ऋषि सरको कुरा हत्तपत्त काट्न सक्दैन । ताकि पछि मंगलm बुधमा जाँदा त्यो अभाव नदोहोरियोस् । उता उत्तर–कोरिया नि आफ्ना परीक्षणका दूरविने फुटोमा उहाँलाई छुटाउन चाहँदैन । एकदिन दुबैको सपनामा ऋषि सर प्रत्यक्ष हुनुभएछ र भन्नुभएछ, “तपाईंहरू मिल्नुहुन्छ कहिले ? १५ दिन, २० दिन, ३० दिन, ४० दिन ? कति ? जनता जान्न चाहन्छ ।” त्यसपछि किमजी र ट्रम्पजी असिनपसिन भएर ब्युँझनुभएछ । र, जनताको जान्ने चाहनाको सम्मान गर्दै वार्ताको मिति तोक्नुभएछ ।
यता रवि लामिछाने सरले ‘सीधा कुरा भूतसँग’ समेत भ्याएर श्रीमहादेवजीलाई फून हान्दै हुनुन्थ्यो । अब भूतलाई त नछोड्ने लामिछाने सरले आफूलाई नि छाड्दैनन् भन्ने दुबैलाई लागेछ । त्यसैबेला लामिछाने सरको टुँडिखेलमा उभ्याएर, घुमाएर, उडेर, जमाएर, नाकको डाँडी भाँच्चिने गरी हान्ने भिडियो भाइरल भो । यो सुनेर ट्रम्पजीले नाक छाम्नु भो र किमको नाक हेर्नुभो । सोच्नुभो, “धत् ! मेरो नाकको नि डाँडी भाँचेर त्यस्तो बनाइदिए भने ?”
किमले सोच्नुभो, “यही भाको नाक नि डाँडी भाँचेर सम्मै बनाए भने चेस्मा केमा अड्याउने ?”
त्यसपछि डाँडी जोगाउने एकसूत्रीय उद्देश्यसहित हतियारको दम्भ छाडी मिल्ने निष्कर्षमा पुग्दा भए ।