site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपालमा चीन अब रहस्यमात्र रहेको छैन । चीनका प्रति नेपाली समाजमा चासो र लगावसमेत बढ्दै गएको छ । अति निकटता र भारत सरकारको हेपाहा व्यवहारका कारण भारतको संस्थापनप्रति नेपाली समाजमा अपेक्षाकृत बढी नै वितृष्णा पाइन्छ । चीनका हकमा भने त्यस प्रकारको वितृष्णा छैन । यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सञ्चार माध्यम, सामाजिक सञ्जाल, आर्थिक जगतलगायत समाजको सबै क्षेत्रमा व्यापक चर्चामा छ । प्रधानमन्त्री ओली चार जना मन्त्रीसहितको भीमकाय टोली लिएर बुधवार चीन भ्रमणमा जाँदैछन् । भ्रमणलाई नेपालको विकासमा फड्को मार्ने अवसर बनाउने प्रचार गरिएको छ । रेलमार्गदेखि तेल भण्डारसम्मका परियोजनामा भ्रमणका अवसरमा छलफल र सहमति हुने प्रचार गरेर जनअपेक्षा पनि सरकारी पक्षले बढाएको छ । तर, चीन भ्रमणमा पनि प्रधानमन्त्री ओलीले विकास परियोजनाभन्दा विश्वास र सद्भाव हासिल गर्न ध्यान दिनु उचित हुनेछ ।

चीन उदीयमान विश्व अर्थतन्त्र र सामरिक शक्ति हो । हिमालपारीको नेपाल चीनका लागि दक्षिण एसिया प्रवेश गर्ने सहज ढोका बन्न सक्छ । भारत दक्षिण एसियाली शक्ति हो भने चीन विश्व शक्ति बनिसकेको छ । तैपनि, चीनको विश्वव्यापी महत्त्वाकांक्षामा दक्षिण एसियामा भारत तगारो बन्न सक्छ । यस्तै, चीनलाई पश्चिमी मुलुकहरूले तिब्बतको विषय उठाएर भारतको सहयोगमा दक्षिण एसियाली भूभागबाट आफूलाई घेर्नसक्छन् भन्ने चिन्ता सधैँ रहेको देखिन्छ । नेपाल भने भौगोलिक र धेरै हदसम्म सांस्कृतिकरूपमा पनि भारतको नजिक हुँदाहुँदै पनि चीनको भरपर्दो मित्र रहिआएको छ । राणा शासनको अन्त्यपछि चीनसँग नेपालको सम्बन्ध कहिल्यै नराम्रो रहेन । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राज्यसँग सम्बन्ध नबिगार्ने चिनियाँ नीतिका कारण यस्तो सम्बन्ध लामो समयसम्म कायम रहन सकेको हो । नेपाल पनि चीनको सबैभन्दा भरपर्दो मित्र रहेको छ ।

Agni Group

अन्तर्राष्ट्रिय मञ्चमा चीन अपेक्षाकृत एक्लो हुँदादेखि नै एक चीनको नीति अपनाएको नेपालले सधैँ साथ र समर्थन दिएको थियो । अहिलेसम्म चीन र नेपालबीच अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य मतभेद देखिएको छैन । यसैले चीनसँग नेपालले भारतसँग जस्तो शंका निवारण गरिरहनुपर्ने अवस्था सायद छैन । यद्यपि, नेपालको राजनीतिक नेतृत्वले धेरैजसो भारततिर झुक्ने र ‘चिनियाँ कार्ड‘ प्रयोग गर्ने गरेर सन्देहका लागि भने सधैँ नै ठाउँ राख्ने गरेको छ । अब भने यस्तो अपारदर्शी र ढुलमुले कूटनीति प्रत्युत्पादक हुनेछ । दक्षिण एसियामा भारत र भुटानबाहेक अरू सबै मुलुकसँग चीनको निकट र सुमधुर सम्बन्ध छ । पाकिस्तान र श्रीलंकासँग त चीनको सामरिक विषयमा समेत रणनीतिक साझेदारी छ । यसैले अब नेपालले भारतलाई देखाएर चीनबाट फाइदा लिने रणनीति अपनायो भने प्रत्युत्पादक हुनसक्छ । यस्तै, चीन भ्रमणको सफलता अनुदानमा कतिवटा योजना बनाउने सहमति हुन्छ वा चीनले कति सहयोग दिन्छ भन्ने आधारमा मापन गरिनु मूर्खता हुनेछ । कतिपय आयोजना चीन वा भारतले सित्तैमा बनाइ दिने भने पनि विनम्रतापूर्वक अस्वीकार गर्नु नेपालको राष्ट्रिय हितमा हुनसक्छ ।

ऋण र अनुदानको धेरै लोभ गर्दा अहिले श्रीलंका वा पाकिस्तान ऋणको भासमा परेका छन् । नेपालले त्यस्तो गल्ती गर्नु हुँदैन । यसैले नेपाली भूमिबाट चीनविरुद्ध कुनै क्रियाकलाप हुन नदिने र भारतसँग सम्बन्ध सुधार्नु चीनबाट टाढिनु हैन भन्ने सन्देश दिन सके प्रधानमन्त्री ओलीको भ्रमण सफल हुनेछ । रेल, बिजुली, अरू विकास निर्माणका परियोजना त स्वाभाविकरूपमा अगाडि बढ्ने नै छन् । नेपालमा लगानीमैत्री वातावरण बनाउन सके चिनियाँ लगानीका लागि प्रधानमन्त्रीस्तरमा वार्ता गर्नै पर्दैन । चिनियाँ सहयोगमा कार्यान्वयन हुने परियोजना सञ्चालन गर्न संयुक्त संयन्त्र निर्माण गर्ने सहमति भएको जानकारी दिइएको छ । त्यस्तो संयन्त्र अपारदर्शी भयो भने चीनप्रतिसमेत जनमानसमा सन्देह उत्पन्न हुनेछ । यस्तै, चीनसँगको मित्रतालाई राजनीतिक लाभका लागि प्रचारवाजीको विषय बनाइयो भने त्यो पनि प्रत्युत्पादक हुनेछ । प्रधानमन्त्री ओलीको भीमकाय भ्रमण टोलीको चीन बसाइ सुखद होस् भन्ने शुभकामना ! धेरै छटपट नगर्ने हो भने विश्व प्रसिद्ध चिनियाँ आतिथ्य पाउनेहरूको भ्रमण यसै सुखद हुनेछ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०७५  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC